अमेरिकी चुनावको अन्तर्य: जित्ला कसले ?

नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ। सारा संसारकै नजर यो चुनावमा केन्द्रित छ। नहोस् पनि किन, युरोप र मध्यपूर्वमा भयानक लडाई चलिरहेको छ। यी लडाइँहरूको भविष्य यो निर्वाचनसँग गाँसिएको छ।

यस पटकको अमेरिकी राष्ट्रपतिको चुनावमा सधैंझैं दुईवटा प्रमुख पार्टीहरूको उम्मेदवारहरू प्रतिस्पर्धारत छन्। डेमोक्र्याटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीको तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प। मूलधारका मिडियामा कम चर्चा भए पनि अर्का एक जना उम्मेदवार पनि यो चुनावमा उठेका छन्। ती हुन् ग्रीन पार्टीको तर्फबाट जिल स्टेन। जिल स्टेनको पार्टीले डेमोक्र्याटिक र रिपब्लिकनभन्दा धेरै प्रगतिशील, सामाजिक न्याय, निःशुल्क स्वास्थ्य सेवा र युद्ध विरोधी मुद्दाहरू उठाउने गर्दछ। त्यस्तै, जिल स्टेनले अमेरिकाले इजरायललाई दिँदै आएको सैन्य सहयोग बन्द गर्ने माग पनि गर्दछ। तर जिल स्टेनले चुनाव जित्ने सम्भावना असम्भव जस्तै छ।

यस पटकका चुनावका उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्प दुवै असामान्य उम्मेदवार हुन्। वर्तमान राष्ट्रपति जो बाइडेन आफ्नो शारीरिक र मानसिक रूपमा यो चुनावमा उठ्न नसक्ने भएपछि उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारिएको थियो। जबकि बाइडेन मस्तिष्कक्षय हुने रोगबाट ग्रसित रहेको खबर उनी राष्ट्रपति भएकै समयदेखि नै आएको थियो। तर यो खबरलाई अमेरिकी मूलधारका मिडियाहरूले कन्स्पिरसी थ्योरीको रूपमा बेवास्ता गर्दै आएका थिए। जब यो कुरा बाइडेन र डोनाल्ड ट्रम्पबीचको टिभी बहसमा सार्वजनिक भयो, त्यस बेला डिप स्टेट उनको साटो कमला ह्यारिसलाई अगाडि सार्न बाध्य भयो।

एक पटक राष्ट्रपति भइसकेका ट्रम्पलाई अझै पनि अमेरिकी डिप स्टेटले विश्वास गर्दैन। यसको मूल कारण के हो भने ट्रम्प अरू देशमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने र युद्धमा भाग लिने नीतिको विरोधमा छन्। उनको यो नीतिले गर्दा अमेरिकाको सैन्य-औद्योगिक संरचनालाई ठूलो घाटा लाग्ने गर्दछ। अझ त्यसमाथि, ट्रम्प युक्रेनलाई सैन्य सहयोग दिने नीतिको विरोधमा छन्। जसले गर्दा उनी अमेरिकी डिप स्टेट माझ झनै अलोकप्रिय छन्। उता, कमला ह्यारिस भने वर्तमान सरकारको नीतिको निरन्तरताको पक्षमा छिन्।

अहिले पनि अमेरिकाका प्रायः सबै प्रमुख सञ्चार माध्यमले कमला ह्यारिसलाई समर्थन गरेका छन्। प्रमुख अमेरिकी अखबार वासिङ्टन पोस्टले मात्र कुनै पनि उम्मेदवारलाई समर्थन दिने इन्कार गरेको थियो। डोनाल्ड ट्रम्पलाई एलन मस्कको स्वामित्वमा रहेको ट्विटर र पत्रकार टकर कार्ल्सनको मिडियाले मात्र पूर्णरूपमा समर्थन गरेको छ। जसले गर्दा उनी अमेरिकी मूलधारका मिडियासंग लडिरहेका छन्। यो चुनावमा ट्रम्पलाई सहजै जित्न भने अमेरिकी डिप स्टेटले दिने छैन। चुनावी अभियानकै बीच ट्रम्पलाई दुई पटक मार्ने प्रयास भएको थियो। जसमध्ये एक पटक उनी बालबाल बचेका थिए।

ट्रम्प र ह्यारिसबीचको नीतिगत भिन्नता अमेरिकामा आप्रवासी समस्याको बारेमा छ। ह्यारिस अमेरिकामा विदेशी आप्रवासीलाई सहज रूपमा आउन दिने पक्षमा छिन् भने ट्रम्प आप्रवासीहरूलाई रोक्न मेक्सिकोमा पर्खाल लगाउनेदेखि लिएर उनीहरूलाई आफ्नो देश फिर्ता पठाउनेजस्ता कडा नीतिको पक्षमा छन्।

यो चुनावमा कसले जित्छ भनेर अहिले नै भन्न निकै गाह्रो छ। यो चुनावमा पटक पटक उतारचढावहरू आएका छन्। सुरुमा जनमत सर्वेक्षण (ओपिनियन पोल)हरूमा बाइडेनभन्दा ट्रम्प अगाडि थिए, पछि कमला ह्यारिस आएपछि उनी ट्रम्पभन्दा अगाडि रहेकी थिइन्। त्यसपछि ट्रम्प ह्यारिसभन्दा निकै माथि थिए। अहिले केही सर्वेक्षणहरूले ह्यारिसलाई ट्रम्पभन्दा अगाडि देखाइरहेका छन् भने कहिले बराबरीको अवस्थामा देखाइरहेका छन्।

यो चुनावमा जसले जिते पनि त्यसले खासै तात्विक फरक भने पार्ने वाला छैन। किनकि अमेरिकाको स्वरूप र चरित्र भने धेरैजसो भाग उस्तै रहनेछ जस्तै; अन्तहीन युद्ध र प्रतिबन्धहरू, वाल स्ट्रिटको प्रभुत्व, वातावरणको विनाश, धनिहरूको लागि स्वर्ग, संसारको सबैभन्दा ठूलो जेल प्रणाली, जलवायु संकट निवारणमा बाधा, प्यालेस्टाइनमा नरसंहार आदि इत्यादि।

प्रख्यात अमेरिकी लेखक गोर भिडालले भन्थे, प्रजातन्त्रले तपाईंलाई छनोटको अनुभूति दिन्छ, जस्तो कि पेनकिलर X र पेनकिलर Y, तर दुवै केवल एस्पिरिन मात्र हुन्!!

Image: https://s.france24.com