किन फूलको रङ र वास्नाहरु थरिथरिका हुने गर्छन् ?

यस संसारमा फूल मन नपर्ने शायदै कोही होलान् । रङ्गीविरङ्गी फूलहरु अनि फरक फरक सुगन्धका कारण ढकमक्क फुलेका फूलहरुको दृश्यले सबैलाई लोभ्याउने गर्छ । तर के तपाईंले कहिल्यै सोच्नु भएको छ फूलको रङ्ग र सुगन्ध पनि किन फरक फरक हुने गर्छ ? यसो हुनुको जैविक तथा वैज्ञानिक कारण तथा तिनको उपदेयता के हो ?

फूलका रङ्ग र सुगन्ध फरक हुनुका जैविक र वैज्ञानिक कारणहरूसँग विभिन्न अनुकूलन प्रक्रिया र विकासवादी रणनीतिहरू जोडिएका छन्। फूलहरु फुल्न तथा विरुवाहरुमा फल फल्नका लागि परागसेचन गर्ने मौरी भँमरा पुतली लगायतका विभिन्न परागणकर्ताहरू (pollinators)  हुने गर्छन् । ती परागणकर्तालाई आकर्षित गर्न र प्रजनन सुनिश्चित गर्न फूलका भिन्नभिन्न सुगन्धहरु तथा रङ्गहरुको विविधताले महत्त्वपूर्ण भूमिका खेल्छन्।

फूलको रङ्गको विविधता

फूलको रङ्ग बोटबिरुवाले विकासक्रममा हासिल गरेको एउटा प्रमुख विशेषता हो। फूलको रङ्गले परागणकर्तालाई आकर्षित गर्न मद्दत गर्छ। रङ्ग फरक-फरक परागणकर्ताहरूसँग तालमेल मिलाएर अनुकूल हुन्छ:

मौरीहरू विशेषगरी नीलो, पहेँलो, र बैजनी रङ्गका प्रति आकर्षित हुन्छन्। फूलले यी रङ्गका पिग्मेन्टहरू (pigments) उत्पादन गरेर उनीहरूको ध्यान तान्ने प्रयास गर्छ।

पुतलीहरू पनि बत्ती र गुलाबी रङ्गमा आकर्षित हुने गर्छन्। यसले गर्दा फूलहरुको परागसेचन प्रक्रियामा सहयोग हुन्छ।

धेरैजसो चराहरू चाहिँ  रातो रङ्गतर्फ बढी आकर्षित हुन्छन् । त्यसैले रातो रङ्गका फूलले चरा परागणकर्ताहरूलाई आकर्षित गर्छन्।

जस्तै एन्थोसायनिन्स (anthocyanins), फ्लाभोनोइड्स (flavonoids), र करोटेनोइड्स (carotenoids)  जस्ता प्राकृतिक पिग्मेन्टहरूका कारण फूलहरु रङ्गीविरङ्गी हुने गर्छ ।  यी पिग्मेन्टहरू सूर्यको उर्जा अवशोषण गरेर बोटबिरुवाको अनुकूलनमा सहयोग गर्छन्।

फूलको वास्ना थरिथरिका हुनुको कारण

फूलहरूको वास्ना फरक-फरक हुनुको प्रमुख कारण पनि  परागणकर्तालाई आकर्षित गर्नका लागि हो। फूलहरूले हावामा विभिन्न रासायनिक यौगिकहरू छोड्छन् । तिनलाई प्रायः "फ्लेभोनोइड्स" र "टेर्पेन्स" भनिन्छ। यी यौगिकहरूले परागणकर्ताहरूलाई आफूतिर आकर्षित गर्ने काम गर्छ ।  

मौरी, भमरा, र पुतली जस्ता परागणकर्ताहरू ताजा र मिठो सुगन्धप्रति आकर्षित हुन्छन् । उदाहरणको लागि गुलाब वा चमेली जस्ता फूलले दिनको समयमा सुगन्ध फैलाउँछ । यी बेलामा यी कीराहरू पनि  सक्रिय रहेका हुन्छन्।

सामान्यतया चराहरु सुगन्धको आधारमा फूलतर्फ आकर्षित हुँदैनन् ।तिनीहरू फूलको रङ्गको आधारमा आकर्षित हुने गर्छन् ।

रातको समयमा विचरण गर्ने  चमेरा, कीटपतङ्गहरूलाई भने रङहरुले भन्दा पनि  सुगन्धयुक्त फूलहरू आकर्षक लाग्छ। रातमा केही फूलहरूले यस्ता तीव्र गन्ध छोड्छन् ताकि परागणकर्ताहरू सजिलै आकर्षित हुन सकुन् ।

फूलको रङ्ग र सुगन्धको उपदेयता

यसरी फूलको रङ्ग र सुगन्धले निश्चित परागणकर्तालाई आफूतिर आकर्षित गरेर परागसेचनको प्रक्रियालाई सम्पन्न गर्ने गर्छ । त्यषसले फूलको प्रजनन र बीउ उत्पादनलाई सुनिश्चित गर्छ।

त्यसैगरी, परागणकर्तासँग तालमेल मिलाएर उत्पन्न भएको रङ्ग र सुगन्धले निश्चित बोटबिरुवालाई प्रतिस्पर्धात्मक लाभ दिन्छ । यसले गर्दा उनीहरूको प्रजाति दीर्घकालसम्म टिकिरहने अवस्था पैदा हुन्छ। त्यसबाहेक, फूलको रङ्ग र सुगन्ध परागणकर्तासँग विशेष सम्बन्ध बनाउँछ, जसले गर्दा फूलहरू आफ्नो वासस्थानको परिस्थितिअनुसार अनुकूलित हुन्छन्।

यसरी, फूलहरु रङ्गीचङ्गी हुनु र त्यसको  सुगन्धमा विविधता हुनु बोटबिरुवाको जैविक र विकासवादी अनुकूलनको परिणाम हो । त्यस कुराले फूल तथा बोटविरुवाहरुको परागसेचन प्रक्रियालाई सजिलो बनाउँछ र बोटबिरुवाको प्रजननप्रक्रिया सफलतापूर्वक सम्पन्न हुने कुरालाई सुनिश्चित गर्दछ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।