‘कति समयसम्म संसारले यो अकारण क्रूरताको दृश्य सहनेछ?’

साँच्चै नै ‘अन्यायको महासागर’ !

यतिखेर इजरायलले प्यालेष्टिनी जनताविरुद्ध नरसंहारको ताण्डव मच्चाइरहेका छन् । मानवीय मूल्य मान्यताहरु तथा अन्तर्राष्ट्रिय कानूनहरुको मर्यादाको निर्मम हत्या गर्दै इजरायलले प्यालेष्टिनी जनतामाथि गरिरहेको बर्बर दमनले दोस्रो विश्वयुद्धकालमा नाजी जर्मनीले यहुदीहरुमाथि गरेको बर्बर दमन र जातीय नरसंहारको पुनरावृत्ति गरिरहेको छ । फरक यति मात्रै छ, हिजो नाजी दमनको शिकार यहुदीहरु बनेका थिए भने अहिले नाजीहरुको ठाउँमा यहुदीका आवरण धारण गरेका जायोनवादीहरु (Zionists) उभिएका छन्, अनि बर्बर दमन र जातीय सफायाको घृणित दमनचक्रको शिकार निर्दोष प्यालेष्टिनी जनताहरु बनिरहेका छन् ।

सबैभन्दा अनौठो र उदेकलाग्दो कुरा त के देखिएको छ भने, हिजो हिटलरको दमनचक्रलाई रोक्न सारा विश्व एकजूट भएर जुर्मुराएको थियो । उसको नृशंश दमनचक्रका विरुद्ध अमेरिका, बेलायत, रुस जस्ता तत्कालीन महाशक्ति राष्ट्रहरुले प्रतिरोधी युद्ध सञ्चालन गरेका थिए । त्यस क्रममा करोडौं रुसी जनताहरुले समेत बलिदान दिएर हिटलरको नाजी दमनको अन्त्य गरिदिएका थिए । तर यतिखेर यहुदी इजरायलले चलाएको त्यस दुश्चक्रको समर्थनमा हिजो नाजीविरुद्ध लड्ने अमेरिका र बेलायत आफैं खडा भएका छन् र त्यसलाई सही ठहर्‍याउन उनीहरुले ‘इजरायलको आत्मरक्षाको अधिकार’को संकथन रचेका छन् । त्यो संकथन इजरायलले प्यालेष्टिनी जनतामाथि रचेको बर्बर दमनचक्र तथा जातीय नरसंहारको प्रतिरक्षामा ढाल बन्दै आएको छ । तर त्यस संकथनले आफ्नै भूमि र थातथलोबाट लखेटिएका तथा शरणार्थी शिविरहरुमा नारकीय जीवन बिताउन बाध्य बनाइएका लाखौं–करोडौं प्यालेष्टिनी जनताहरुको ‘आत्मरक्षाको अधिकार’बारे भने बोल्दैन । प्यालेष्टिनी जनताले चलाएका प्रतिरोधी युद्ध र प्रतिकारका गतिविधिहरुलाई त्यसले ‘आतंकवादी गतिविधि’ घोषणा गरिदिन्छ ।  र, सबैभन्दा खतरनाक कुरा त के हुन्छ भने, अन्याय र अत्याचारका विरुद्ध आवाज मुखर गर्नुपर्ने तथा वाचडगको भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोकेका तथा आफूलाई स्वतन्त्र भनेर नथाक्ने ֯सञ्चार माध्यम’हरु पनि त्यही संकथनको राग अलाप्न छाड्दैन । फलत: दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो अन्याय र जातीय उत्पीडनको यो घटनालाई फुक्कीफाल साँढे बनेर इजरायलले निरन्तर चलाइरहेको छ ।

प्यालेष्टिनी जनतामाथि भइरहेको यो भीषण अन्याय र अत्याचार अनि त्यसमा कथित स्वतन्त्र भन्न गर्व गर्ने सञ्चारमाध्यमहरुले अपनाइरहेको दोग्ला चरित्रलाई छोटो चलचित्र ‘अन्यायका महासागर’ (Oceans of Injustice, ११ मिनेट १५ सेकेन्ड) ले गज्जबसँग उठाएको छ । सतही रुपमा हेर्दा  सही जस्तो लाग्ने गरी मिडियामा समस्यालाई नाटकीय ढङ्गले प्रस्तुत गरिने गरेको भए पनि वास्तवमा त्यसले वास्तविक अर्थमा सत्यको  चित्रण गर्दैन भन्ने कुरालाई चलचित्रमा गम्भीरतापूर्वक उठान गरिएको छ । चलचित्रले विश्वव्यापी सञ्चार माध्यमहरूले यो द्वन्द्वलाई कसरी गलत रूपमा बुझाइएको छ भन्ने कुरालाई भण्डाफोर गरिदिएको छ ।  साथसाथै, यो अत्यन्तै काव्यात्मक लघु चलचित्रले स्वतन्त्रता, न्याय र समानताको लागि प्यालेस्टिनी जनताको संघर्षबारे जनचेतना फैलाएको छ ।

सन् २०१७ मा प्रदर्शन भएको यस छोटो चलचित्रले प्यालेस्टिनी जनताले वर्षौँदेखि भोगिरहेको अन्याय, प्यालेस्टिनी भूमिमा भएको कब्जा र त्यससँग सम्बन्धित समस्याहरूको मर्मलाई देखाउन खोजेको छ। निर्देशक ब्रुनो दे श्यामप्रिस र लेखक फराह नबुल्सीले निर्माण गरेको यस चलचित्रले विश्वव्यापी सञ्चारमाध्यमले प्यालेष्टिनीहरुको सवाललाई प्रस्तुत गर्ने चित्रणको आलोचना गरेको छ, जहाँ उनीहरूले प्यालेस्टिनी जनताको संघर्षलाई सही तरिकाले बुझाउन सकेका छैनन्।

यस चलचित्रमा समेटिएका प्रमुख विषयहरूमा प्यालेस्टिनीहरूको भूमिगत जीवन, उनीहरूलाई गरिएको अन्याय, र अन्तर्राष्ट्रिय समुदायको निष्क्रियता पर्दछन्। चलचित्रले दर्शकलाई मर्मस्पर्शी दृश्यहरू र शक्तिशाली सन्देशमार्फत यो अन्यायको बारेमा सचेत गराउने प्रयास गरेको छ। यस चलचित्रले रोजगारी, स्वतन्त्रता, र मानव अधिकारहरूको अभावमा जीवन बिताइरहेका प्यालेस्टिनी जनताको जीवनको पीडादायी यथार्थलाई केन्द्रमा राख्दै, उनीहरूको दैनिक जीवनमा हुने अन्यायलाई उजागर गर्छ। दशकोंदेखि चलिरहेको यो अन्यायले प्यालेष्टिनी जनतालाई कसरी थिचिरहेको छ भन्ने विषयमा चलचित्र केन्द्रित छ।

यसमा प्यालेस्टिनी भूमिमा भएको कब्जाका कारण उनीहरूको मौलिक अधिकार खोसिएको, उनीहरूलाई आफ्नै भूमि र जीवनबाट वञ्चित गरिएको, र अन्तर्राष्ट्रिय समुदायले यस अन्यायलाई पर्याप्त मात्रामा सम्बोधन नगरेको विषयलाई देखाइएको छ।

चलचित्रले यो अन्यायको गहिराइ बुझाउन विशेष गरी विभिन्न घटनाहरू, यातनाहरू, र कठिनाइहरूको वर्णन गर्छ। प्यालेस्टिनी जनताको मानव अधिकार, जीवनशैली, र अस्तित्वमाथि निरन्तर रूपमा भइरहेको आक्रमणलाई देखाउँदै यो चलचित्रले अन्यायको महासागरजस्तो ठूलो विषयलाई उजागर गरेको छ।

यस चलचित्रको सकारात्मक पक्ष भनेको यसले छोटो समयमा प्रभावकारी रूपमा प्यालेस्टिनी जनताको मुद्दालाई उठाएको छ। साथै चलचित्रको दृश्यहरू अत्यन्तै भावनात्मक छन्, जसले दर्शकलाई यो विषयको गहिराईमा डुब्न र समस्याको बारेमा गहिरिएर सोच्न उत्प्रेरित गर्छ ।  "Oceans of Injustice" ले उठान गरेका विषयवस्तुले यो दमन कति लामो समयसम्म चलिरहनेछ, र यस विषयमा विश्वले कस्तो कदम चाल्नुपर्नेछ भन्नेबारे दर्शकलाई सोच्न बाध्य पार्छ ।

वास्तवमा, यस चलचित्रले उठाएका विषयवस्तुहरु अहिले इजरायलले प्यालेष्टिनी जनतामाथि चलाइरहेको नरसंहारको भयानकताको पृष्ठभूमिमा उनीहरुमाथि भइरहेको विश्वव्यापी अन्याय र अधिकारको मुद्दालाई सम्बोधन गर्न अत्यन्तै ढिलाइ भइरहेको यथार्थबोध गराउने सवालमा  झनै  सान्दर्भिक छ।

यस चलचित्रको शुरुमा समुद्रमा उठिरहेको लहर देखाइन्छ र ब्रटेन रस्सेलको चर्चित भनाइ देखाइन्छ– कति समयसम्म संसारले यो अकारण क्रूरताको दृश्य सहनेछ? (How much longer is the world willing to endure this spectacle of wanton cruelty?)

वास्तवमै आजको यक्ष प्रश्न पनि यही हो ।