जापानमा बच्चाभन्दा बढी पाल्तु जनावरहरु !

जापानमा बच्चाभन्दा बढी जनावरहरू पालिएको तथ्यले धेरैलाई आश्चर्यचकित तुल्याएको छ ।

एक तथ्याङ्कअनुसार जापानमा १६ वर्ष मुनिका करिब १.७ करोड बच्चाहरू छन्, जबकि बिरालो र कुकुरहरू मात्र लगभग २ करोड छन्। यो तथ्यले जापानको सामाजिक संरचनामा आएको विचित्रको परिवर्तनलाई स्पष्ट पार्छ।

वास्तवमा, यो अवस्था जापानको जन्मदरको कमी र वृद्ध जनसंख्याको कारण उत्पन्न भएको हो। जापान जन्मदर धेरै कम भएका विश्वका देशहरूमध्येमा पर्दछन् ।  

सन् २०२० को जनगणना अनुसार, जापानको जनसंख्या घट्दो क्रममा छ। खासगरी, चर्को महंगी तर धान्नै नसकिने जीवनस्तरका कारण धेरै मानिसहरूले आफ्नो करियरमा ध्यान केन्द्रित गर्ने र बच्चा जन्माउने जिम्मेवारीलाई पछि धकेल्ने प्रवृत्ति अपनाएका छन्। यसले गर्दा परिवारमा बच्चाहरूको संख्या घट्दै गएको छ।

यो स्थितिमा  युवा जोडीहरूले बच्चा जन्माउनको सट्टा पालतू जनावरलाई प्राथमिकता दिन थालेका छन्। जापानमा धेरै मानिसहरूले बच्चा जन्माउनुको साटो, पालतू जनावर पाल्न सजिलो र आर्थिक रूपमा व्यावहारिक मानिरहेका छन्। बच्चा जन्माउनु, हुर्काउनु र शिक्षाको लागत धेरै भएकोले मानिसहरूले पालतू जनावरलाई एक प्रकारको साथीको रूपमा प्राथमिकता दिइरहेका छन्।

यस्तो स्थितिमा जापानमा पालतू जनावर पाल्ने संस्कृतिमा ठूलो वृद्धि भएको छ। पालतू जनावरका लागि विशेष अस्पताल, होटल, लुगा, र खानाको उपलब्धताले पालतू जनावरलाई पाल्नु सहज बनाएको छ। साथै, एक्लोपनको समस्या झेलिरहेका वृद्धहरू र बच्चा नजन्माएका दम्पतीहरूको लागि पालतू जनावरले साथीको रूपमा महत्वपूर्ण भूमिका खेल्ने गरेको देखिएको छ ।

अहिले जापानमा बढ्दो यो प्रवृत्तिले भविष्यमा जापानको जनसंख्यामा थप चुनौतीहरू ल्याउने संकेत गरेको छ। बच्चाहरूको संख्या घट्दै जाँदा, भविष्यमा काम गर्ने जनशक्तिको अभाव हुने निश्चिछ छ । स्वभाविक रुपमा यो स्थितिमा बदलाव आएन भने त्यसले अर्थतन्त्रमा असर पार्न सक्नेछ । अर्कोतिर श्रम गर्न सक्ने युवाहरुको संख्यामा भारी गिरावट आउने तर अर्कोतिर वृद्धजनहरूको संख्या बढ्दै जाँदा त्यसले नयाँ खालको समस्या पैदा गर्ने कुरा पनि निश्चितै छ ।अहिले नै पनि जापानमा बृद्धजनहरुको हेरचाह गर्ने जनशक्ति कम भइसकेको र प्रत्यक्ष–अप्रत्यक्ष रुपमा बाहिरी मुलुकहरुबाट गएका मानिसहरुको ठूलो हिस्साले त्यो जिम्मेवारी निर्वाह गर्दै आइरहेका छन् ।

यस समस्यालाई समाधान गर्न जापान सरकारले परिवार निर्माणलाई प्रोत्साहित गर्ने बच्चा जन्माउन र हुर्काउन आवश्यक सहायताहरू उपलब्ध गराउने योजनाहरू लगायतका विभिन्न नीतिहरू ल्याउने प्रयास गरिरहेको छ ताकि जनसंख्याको घट्दो दरलाई नियन्त्रणमा ल्याउन सकियोस् ।

संक्षेपमा भन्दा, जापानमा पालतू जनावरहरूको संख्या बच्चाहरूको तुलनामा बढी हुनुले जापानको सामाजिक र जनसांख्यिकीय संरचनामा आएको गहिरो परिवर्तनलाई झल्काउँदछ । यो प्रवृत्ति जारी रह्यो र जापानीहरुमा बालबच्चा पैदा गर्ने कुरामा चासो कम हुँदै गयो भने त्यो जापानको भविष्यका लागि चुनौतीपूर्ण विषय बन्ने निश्चित छ ।

Image: https://i.pinimg.com