गोपाल किरातीद्वारा विकसित विचारहरुको संश्लेषण प्रस्ताव
प्रस्तुत आलेखका लेखकद्वय हामीहरु निश्कर्षमा पुग्यौं, नेपालमा पहिचानसहितको समाजवादी आन्दोलनले चुनौतिको पहाड छिचोल्न नसक्नुको गम्भीरतम् कारण यसको वैचारिक सँश्लेषणमा अकर्मन्यता नै हो। त्यस अकर्मन्यतालाई निर्मतापूर्वक तोड्न हामीले ऐतिहासिक जोखिम उठाउने संकल्प गर्नै पर्दछ। विध्यमान परिस्थितिमा यसरी मात्र वैचारिक-राजनीतिक तयारीको मूलढोकामा लागेको गोर्खे ताला खोल्न सकिने हुन्छ र जनअपेक्षा अनुकुल पहिलो र दोस्रो जनआन्दोलनका उपलब्धीहरुको रक्षा गर्दै तेस्रो जनआन्दोलनको सर्वत्र बाढी सृष्टि गर्न सकिन्छ। यस गम्भीरतम् आवश्यकता पूर्तितर्फ प्रस्तुत आलेखको विषय-वस्तु सगौरव केन्द्रित छ ।
आठ दशक लामो राजनीतिक अभ्यासका घटनाहरु हुन्, जहानियाँ राणाशासनको अन्त्यसंगै जनवाद र प्रजातन्त्रको राजनीतिक नारा उरालिए पनि लोकतन्त्र र गणतन्त्रमा पुग्दा समेत न श्रमिकवर्ग, लिङग र जातजातिका जनता अधिकार सम्पन्न हुन् पाएका छन्, न त देशको राष्ट्रिय स्वाधीनता सुदृढ नै भएको छ। बरु उल्टै प्रत्येक राजनीतिक परिवर्तन उप्रान्त मुट्ठीभर नेताहरु अभिजातवर्गमा निर्लज्ज बदलिन्छन। उत्पीडित जनताको सपना लुटिन्छ, सहिद र घाईते योद्वाहरुमाथि धोखाको बज्रपात हुन्छ, आम जनसाधारणको दिनहीन अवस्था अझ चौपट बन्न पुग्छ। त्यसको परिणामस्वरुप आवरण मात्रको आंशिक परिवर्तनहरु सिधै जोखिममा पर्न जान्छन्।
आखिर गणतन्त्र नेपालमा पनि भइरहेको त्यही छ, जुन २००७ देखि २०१७, २०४६ हुँदै २०६२/६३ अघि हुँदै आएका थिए। अर्थात व्यवस्थाको नाम र नारा फेरिन्छ, शासक फेरिन्छन्। तर, देश र जनताको जीवन झन कष्टकर बन्न पुग्छ। परिणामस्वरुप अतीतमुखी विचार हावी बन्न खोज्छ। भविष्यमुखी कार्यभारतर्फ दृढ अग्रसर रहनु पर्ने पुस्ता सीमित उपलब्धीहरुको रक्षामै ऊर्जा खर्चन बाध्ये बन्छ। यसरी पृथ्वीका कैयन मुलुकहरु कर्दासेप सिद्वान्तको सभ्यता उचाइतिर सानदार विचरण गरिरहँदा नेपाल र नेपाली समाजको मूल आवादि भने राजनीतिमा अतीतमुखी प्रतिगमनसंग लड्न, जनजीविकामा गाँस, बास, कपासको हण्डर भोग्न र आन्तरिक राष्ट्रियतामा पहिचानको संकट तथा बाह्य राष्ट्रियतामा नव-औपनिवेशिक पराधीनता झेल्नमै अभिशप्त रहनु परेको छ।
उपरोक्त यावत नियतिको संहार कसरी गर्न सकिएला त? अग्रगामी सोंचका नेपालीहरुको निम्ति आम ऐतिहासिक महत्वको प्रश्न यो हो। त्यसैले हामीहरु ठोस निश्कर्षमा पुगेका हौं, नयाँ वैचारिक संश्लेषणको झण्डा शाहसपूर्वक उठाउने अठोट गर्नै पर्दछ।
१. पछिल्लो पृष्ठभूमि
नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्रको समर्थनमा पूर्वमा प्रदेश नाम कोशी थोपर्ने अपराध गरे। २०७९ फागुन १७ गते राती कायरतापूर्वक थोपरिएको पहिचान विरोधी कोशी नाम खारेज आन्दोलनमा जनता हठात सडकमा ओर्लिए। आदिवासी तथा प्रगतिशील जनको यस न्यायपूर्ण आन्दोलनमा प्रारम्भदेखि नै हामीहरु सहभागी छौं। खासगरी, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र पहिचानमा आधारित प्रदेश पुन:नामाङ्कन अभियान समितिको पहलमा गठित "प्रदेश १ पुन:नामाङ्कन संघर्ष समिति" मा आ-आफ्नो संगठनबाट हामीहरु घटक बनेर सहभागी रहँदै आयौं। २०७९ चैत ५ गतेको विराटनगर सभामै आफ्नो मन्तव्यमा गोपाल किरातीले भनेका थिए- "प्रदेश पुन:नामाङ्कनको मुद्दा राजनीतिक विषय हो। तसर्थ हामीले दीर्घकालीन राजनीतिक मोर्चाको पहल गर्नु पर्दछ।"
२०८० असार पहिलो हप्ता विराटनगरमा संघर्ष समितिको रणनीति तयारी भेला थियो। नन्द कन्दङ्वाद्वारा प्रस्तुत प्रतिवेदनमाथि बोल्नेक्रममा किरातीले नै भनेका थिए, "संघर्ष समितिलाई राजनीतिक मोर्चामा बदलेर अघि बढौ!" धरानस्थित २०८० पुसमा संघर्ष समितिको भौतिक उपस्थितिको बैठक बस्यो। त्यस बैठकमा गोपाल किरातीको प्रस्ताव तथा कृष्ण चोङ्बाङ, प्रेम येक्तेन र रामभक्त कुरुम्बाङ्को विशेष-जोड समर्थनबाट तेस्रो जनआन्दोलन पहलको निर्णय गरियो। लगत्तै २०८० माघ २० गते चुम्लुङ भवन, ललितपुरमा आयोजित मार्गदर्शन भेलाले गोपाल किराती संयोजक रहेको "तेस्रो जनआन्दोलन तयारी समिति" गठन गरियो। २०८० चैत पहिलो हप्ता घेदुङ कार्यालय, बौद्वमा बसेको तयारी समितिको दुई दिने बैठकमा संयोजक किरातीले आधारभूत महत्वको लिखित प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदनको शीर्षक थियो, "तेस्रो जनआन्दोलन तयारी समितिको राजनीतिक एवं संगठनात्मक प्रस्ताव।"
प्रस्तुत प्रस्तावअन्तर्गत खासगरी मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा विकसित समाजवादी लोकतन्त्रको अर्थराजनीतिक कार्यदिशा अभिव्यक्त छ। अझ व्यवस्थित रुपमा प्रकाशित "देशभक्त जनसेना" शीर्षक आलेख विचारको केन्द्रीय तत्व बनेको छ, जुन गोपाल किरातीद्वारा विकसित समाजवादी लोकतन्त्रको नवीन कार्यदिशा हो।
प्रकारान्तरले, २०८१ बैसाखमा डा. महेन्द्र लावती संयोजकत्वमा पहिचानवादी मोर्चा गठन भयो। आन्दोलन र चुनावी मोर्चावन्दीको उद्देश्यमा गठित पहिचानवादी मोर्चा स्वभाविक रुपमा तेस्रो जनआन्दोलन तयारी समितिको घटक बन्नु पर्दथ्यो। यसर्थ कि तेस्रो जनआन्दोलन समिति प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिको कार्यदेशमा अघि बढिरहेको थियो। तर, साथीहरुले उल्टो प्रक्रियातिर जोड गरे। फेरि पनि पहिचान पक्षधरहरु जुट्नु पर्ने वस्तुगत आवश्यकता भन्दै तेस्रो जनआन्दोलन तयारी समितिका अधिकाङ्श सदस्यहरु पहिचानवादी मोर्चामा जुट्ने सहमति गरियो। विभिन्न घटक पृष्ठभूमिबाट २०८१ साउन र भदौमा हामीहरु जुटेको पहिचानवादी मोर्चाको दस्तावेजमा पनि समाजवादी लोकतन्त्रको कार्यदिशाका केही विचारहरु समेटिएका छन्। परन्तु, त्यत्तिले मात्र पहिचान र अधिकार यहाँ सम्भव हुँदैन। यसर्थ मोर्चाको सफलताकै निम्ति पनि विचारधारात्मक राजनीतिक कार्यदिशाको समग्रतामा संश्लेषण प्रस्ताव तथा जिम्मेवार बहशको मार्गचित्र खुल्ला छ, भनेर मान्नु पर्दछ। जसले, हिमालयको देशबाट वैज्ञानिक सारतत्व उजागर गर्न सकियोस्।
उपरोक्त आधारभूमिमा सहलेखकद्वय हामीहरु अध्ययन र बहशको निश्कर्षमा पुग्यौं कि गणतन्त्र नेपालयता विचारधारात्मक राजनीतिक कार्यदिशा विकासको केन्द्रमा गोपाल किरातीको योगदान नि:संकोच वस्तुवादी र क्रान्तिकारी छ। जसलाई, कुनै बिना पूर्वाग्रह नेपालको राजनीतिक आन्दोलनमा वैज्ञानिक उपलब्धीका रुपमा स्थापित गरेर मात्र पहिचान र अधिकारलगायत देश जिम्मा लिने शक्ति निर्माण सम्भव छ। यसर्थ समाजवादी लोकतान्त्रिक विचारका नेता तथा पूर्वमन्त्री गोपाल किरातीद्वारा विकसित विचारहरुको निम्न संक्षेप विश्लेषण र अझ संक्षेप संश्लेषण यहाँ प्रस्ताव जमर्को गरेका छौं।
२.समाजवादी लोकतन्त्रको विचारधारा, कार्यदिशा र कार्यक्रम
गोपाल किरातीद्वारा विकसित "समाजवादी लोकतन्त्र (Socialist Democracy)" को वैचारिक पदावलीले विचारधारा, राजनीतिक कार्यदिशा र अर्थराजनीतिक कार्यक्रमलाई एकसाथ अभिव्यक्त गरेको छ। जसलाई, निम्न रुपमा बुझ्न सकिन्छ:
क. विचारधाराको तहमा समाजवादी लोकतन्त्रलाई राजनीतिक समानताको आधारमा आर्थिक समानता र मानवीय स्वतन्त्रता प्रत्याभूत गर्ने नवीन विचारधारा हो, भनिएको छ। सर्वप्रथम बहुदलीय प्रणालीभित्र बहुवर्गीय प्रणाली विकासद्वारा वर्गीय, लैङ्गिक र जातजातीय जनसंख्याको पूर्ण समानुपातमा-तीन आयामको प्रतिनिधि- निर्वाचन प्रणाली सुनिश्चित गरिने हुन्छ, जसबाट सापेक्षित राजनीतिक समानता स्थापित गरिन्छ भने त्यस स्वरुपको शक्तिशाली प्रतिनिधिसभाले देश र जनहित अनुकुल आर्थिक कार्यदिशा स्वयं निर्धारण गर्ने तागत राख्दछ। समाजवादी लोकतन्त्रमा एक आधारभूत चरण मिसृत अर्थतन्त्र नै अख्तियार गर्नुपर्ने स्वत: स्पष्ट छ। विचारधाराको प्रश्नमा यहीँनिर दुई छिमेकी प्राथमिकताको अन्तर्निभर राष्ट्रिय अर्थतन्त्र किरातीले मार्गदर्शन गरेका छन्। जसको बलमा एकातिर देश र जनतालाई समृद्व तुल्याउन सकिने छ भने अर्कातिर अमेरिकालगायत पश्चिमा साम्राज्यवाद मुक्त नेपाल पनि बन्न सक्दछ।
समाजवादी लोकतान्त्रिक विचारधाराको विश्वदृष्टिकोण वैज्ञानिक दर्शनमा आधारित रहनुपर्ने किराती प्रस्ताव जुन छ, तथ्यको आधारमा सत्य खोज्ने, वस्तु र घटनालाई वैज्ञानिक ढंगले हेर्ने र बुझ्ने तथा क्रान्तिकारी ढंगले बदल्ने विधिको मार्गनिर्देश गर्नेछ। जसमा उत्पीडनको राज्यव्यवस्थाबाट (श्रमिकवर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तजनलाई) मुक्तिको राज्यव्यवस्थामा बदल्ने दर्शन अन्तर्निहित रहेको छ।
ख. राजनीतिक कार्यदिशा: गोपाल किरातीको प्रस्थापनामा दुई चरणको समाजवादी कार्यदिशा प्रस्तावित छ। त्यसमा प्रारम्भिक चरणको समाजवाद र विकसित चरणको समाजवाद भनेर विन्यास गरिएको छ। प्रारम्भिक चरणको समाजवादमा बहुवर्गीय प्रतिनिधि निर्वाचन प्रणालीका आधारमा बहुदलीय प्रणाली यथावत कायम छ भने विकसित चरणको समाजवादमा के कसो गर्नुपर्ने हो, सम्बन्धित पुस्ताले निर्धारण गरुन, भनिएको छ।
उपरोक्तमध्ये प्रारम्भिक चरणको समाजवादलाई समाजवादी लोकतन्त्रको कार्यदिशा भनिएको हो, भन्नेमा प्रष्टता जरुरी छ। जसमा वर्ग, लिङग र जातजातिको जनसांख्यिक राजनीतिक समानताका आधारमा दलीय लोकतान्त्रिक प्रतिस्पर्धा सुनिश्चित गरिएको हुनेछ।
ग. राजनीतिक कार्यक्रम: समाजवादी लोकतन्त्रको राजनीतिक कार्यक्रममा मुख्यत: निर्वाचन प्रणाली पर्दछ। विध्यमान पहिलो हुनेले व्यक्ति जित्ने निर्वाचन प्रणाली वस्तुत: दलाल पुँजीवादी, एकलजातवादी, पुरुषसत्तावादी भ्रष्ट निर्वाचन प्रणाली प्रमाणित भइसकेकोले त्यसलाई समूल खारेज गरि समाजवादका लागि समाजवादी निर्वाचन प्रणाली स्थापित गर्नुपर्नेमा यस कार्यक्रमको सम्पूर्ण जोड छ। जसमा वर्गीय आयाम अन्तर्गत मजदुर जनसंख्या, किसान जनसंख्या र पुँजीपति जनसंख्याको पूर्ण समानुपातमा वर्गीय प्रतिनिधि, लैङ्गिक आयाम अन्तर्गत महिला-पुरुष जनसंख्याको पूर्ण समानुपातमा लैङ्गिक प्रतिनिधि र जात-जातिहरुको जनसंख्याको पूर्ण समानुपातमा सामुदायिक प्रतिनिधि निर्वाचित हुनेछन्।
यसो गर्दा वर्गीयतर्फ जुनसुकै दलबाट भए पनि मजदुरको २० प्रतिशत, किसानको ६५ प्रतिशत र पुँजीपतिको १५ प्रतिशत संघीय सांसद चुनिने हुन्छन। त्यस्तै लैङ्गिकतर्फ महिलाको ५० र पुरुषको ५० तथा सामुदायिकतर्फ जातिगत जनसंख्याको पूर्ण समानुपातमा ब्राम्हणको १२ प्रतिशत, दलितको १३ प्रतिशत, खसको १८ प्रतिशत, मधेसी-मुस्लिमको २० प्रतिशत र जनजाति आदिवासीको ३६ प्रतिशत संघीय सांसद निर्वाचित हुनेछन्। जसबाट वर्गीय, लैङ्गिक र जातजातीय राजनीतिक अन्तर्विरोध सर्वथा हल गरिन्छ।
निर्वाचन प्रणालीका अतिरिक्त समाजवादी लोकतन्त्रको कार्यदिशामा आर्थिक, साँस्कृतिक एवं बाह्य र आन्तरिक राष्ट्रिय स्वाधीनता सम्बद्व यावत कार्यक्रमहरु विकसित छन्। त्यस सम्बन्धमा क्रमश: छलफल गरिने छ।
घ. कार्यकारी प्रमुख चुन्ने व्यवस्था: समाजवादी लोकतन्त्रमा दलित, मधेसी-मुस्लिम, जनजाति आदिवासी र खस-आर्यको सामुदायिक चक्रप्रणालीमा देशको कार्यकारी प्रमुख चुन्ने व्यवस्था गरिने छ। जसले, दलित मूलको नेतालाई गणतन्त्र नेपालको प्रधानमन्त्री बन्ने राजकीय विधि सुनिश्चित गर्दछ। त्यसरी नै मधेसी, आदिवासी र खसको पनि।
ङ. समाजवादी लोकतन्त्रको कार्यदिशाले संविधानको प्रस्तावना र धारा ३ मा उल्लेखित बहुजातीय, बहुसाँस्कृतिक, बहुभाषिक आधारमा पहिचानको संघीयता सशक्त कार्यान्वयन गर्दछ।
च. संगठन: समाजवादी लोकतन्त्रको राजनीतिक संगठन साम्यवादसम्म जाने कि नजाने भन्ने विवादलाई एक आधारभूत चरण थाँती राखेर नेपाल देश र नेपाली समाजको वर्तमान समस्या हल गर्ने विचारधारात्मक कार्यदिशामा केन्द्रित रहने छ। जसका निमित्त पहिचान पक्षधर मार्क्सवादी र पहिचान पक्षधर उदार पुँजीवादीहरु दुवैलाई संगठित हुन मिल्ने राजनीतिक मोर्चा स्वरुपको सांगठानिक कार्यदिशा अख्तियार गरिन्छ। व्यक्तिगत रुपमा मार्क्सवादी वा उदार पुँजीवादी जो पनि सदस्य रहन मिल्ने, तर संस्थागत रुपमा चाहिँ समाजवादी लोकतन्त्र लागू गर्दै अघि बढ्ने स्वायत्तता र केन्द्रीयता आधारित संगठन प्रणाली अख्तियार गरिन्छ। किनभने, साम्यवादी मन्त्र जप्ने दल तथा नेताहरु र पुँजीवादी मन्त्र जप्ने दल तथा नेताहरु कसैले पनि नेपाली जनताको मर्मबोध गर्न सकेनन् र अनुभवको आधारमा भन्नैपर्छ, तिनले किमार्थ मर्मबोध गर्ने पनि छैनन्। पहिचानवादी वा मजदुर-किसान, महिला वा देशभक्तहरु एक्ला एक्लैले पनि क्रान्तिको कार्यभार पार लगाउन सकिने देखा पर्दैन।
यहीँनिर समाजवादी लोकतन्त्रको संगठन दीर्घकालीन राजनीतिक मोर्चाको यौगिकतामा आधारित रहने विचार महत्वपूर्ण ठहर्छ।
३. किराती विचारधारा-जिन्दावाद!
राजनीतिमा विचारधारा (वस्तुत: चिन्तनधारा) बन्नको निम्ति सामान्यत: तीन मौलिक आधारको माग गर्ने गरिन्छ। त्यसमा पहिलो, दर्शनशात्र, दोस्रो-राजनीतिक अर्थशास्त्र र तेस्रो, राज्यव्यवस्था अथवा समाजवाद पर्दछन्। यस सम्बन्धमा गोपाल किरातीका निम्न मौलिक योगदानको सर्वप्रथम चर्चा गरौं:
क. दर्शनको क्षेत्रमा: वास्तवमा माघ २०७७ मा प्रकाशित "ब्रम्हाण्डीय विचारधारा" शीर्षक पुस्तिका किरातीको दर्शन सम्बन्धित रचना हो। त्यसबाट उनले भनेका तीन कुरालाई उल्लेख गरौं:
पहिलो, उन्नाइशौं शताब्दीमा मार्क्स-एङ्गेल्सले अन्तर्राष्ट्रिय मानवको माग गरे। जसलाई, कम्युनिस्ट भन्नुपर्छ, भनियो। जुन जुन मुलुकमा अन्तर्राष्ट्रिय चेतनाको मानव उपस्थित भए, ती ती मुलुकमा महान क्रान्तिहरु सम्पन्न भए। बिशौं शताब्दीमा सोभियत वैज्ञानिक युरी गागरीन अन्तरिक्षको यात्रा गरि पृथ्वीमा सकुशल फर्के। त्यस उप्रान्त अन्तर्राष्ट्रिय चेतनाले मात्र मानिस क्रान्तिकारी बन्न नसक्ने भए। किनभने, मानव जातिको जिज्ञाशा पृथ्वी बाहिर अन्तरिक्षतर्फ मोडियो। एक्काइशौं शताब्दीमा एक अमेरिकी राष्ट्रपतिले १६ हजार संख्याको अन्तरिक्ष सेना घोषणा गरे। अब अन्तरिक्षीय चेतनाले मात्र विश्वमा सामाजिक क्रान्ति सम्भव नहुने भयो, समग्र ब्रम्हाण्डीय चेतनाको मानिस चाहियो। त्यही ब्रम्हाण्डीय चेतनाको मानिस निर्माण गर्नलाई नै गोपाल किरातीले ब्रम्हाण्डीय विचारधारा प्रस्ताव गरेका हुन्।
ब्रम्हाण्डीय विचारधाराको सैद्वान्तिक आधारमा किरातीले निम्न समीकरण प्रस्तुत गरेका छन्:
भौतिकवादी समाज विज्ञानका प्रणेताहरु कार्ल मार्क्स, भ्लादिमिर इल्यिच लेनिन र माओ त्सेतुङ हुन् भने भौतिकवादी ब्रम्हाण्ड विज्ञानका प्रणेताहरु कार्ल मार्क्स, अलबर्ट आइन्स्टाईन र स्टेफन हकिङ हुन्।
किरातीले भनेका छन्, मार्क्स-एङ्गेल्सको द्वन्दात्मक भौतिकवादी दार्शनिक खोज अघि दर्शनको काम केवल दुनियाँको ब्याख्यामा सीमित थियो। मार्क्सको खोज उप्रान्त भने दर्शनको काम बल्ल दुनियाँ बदल्नेतर्फ अग्रसर बन्यो। यसरी द्वन्दात्मक भौतिकवादको जगमा मात्र लेनिन, स्टालिन र माओद्वारा समाज विज्ञानको प्रयोग सम्भव भयो भने द्वन्दात्मक भौतिकवादको प्रयोगबाट मात्र आइन्स्टाईनको सपेक्षतावाद र हकिङको एकीकृत भौतिकवाद सम्भव भएको हो।
अतएव किरातीको निश्कर्ष छ, समाज बदल्न हिंडेका क्रान्तिकारीहरुले ब्रम्हाण्ड विज्ञानमा अब्ब्ल बन्नुपर्छ। जसले, उत्पीडितवर्ग, लिङग र जातजातिलाई ब्रम्हाण्डीय चेतना भरोस्। सैद्वान्तिक भौतिक विज्ञानका अध्येताहरु समाज विज्ञानमा जिम्मेवार बन्नुपर्छ। तब मात्र तिनको योगदान मानव सेवामा समर्पित हुनेछ।
दोस्रो, सैद्वान्तिक संरचनामा किरातीले चिन्तन र कर्मको संरचनागत श्रीङ्खला तोकेका छन्। त्यो हो- ब्रम्हाण्डीय विचारधारा, समाजवादको भूमण्डलीकरण रणनीति र राष्ट्रिय राजनीतिक कार्यक्रम। त्यही राष्ट्रिय राजनीतिक कार्यक्रम हो, समाजवादी लोकतन्त्रको कार्यदिशा।
तेस्रो, बौद्व दर्शनको समाजशास्त्र र विपश्यना विज्ञानलाई ब्रम्हाण्डीय विचारधाराको एक सिद्वान्त मानिएको छ।
भनिरहनु पर्दैन, त्यस पुस्तिकामा अभिव्यक्त ब्रम्हाण्डीय विचारधारा वस्तुत: गोपाल किराती विचारधारा हो।
ख. राजनीतिक अर्थशास्त्रको क्षेत्रमा: दुई छिमेकी प्राथमिकताको अन्तरनिर्भर राष्ट्रिय अर्थतन्त्र समाजवादी गणराज्य नेपालका निमित्त मौलिक दृष्टिकोण हुनेछ। जसले, वैदेशिक नीतिको पनि नयाँ आधार खडा गर्न सकियोस्।ए दलाल पुँजीको समूल राष्ट्रियकरण बाहेक राजकीय, सामुदायिक र निजी सम्पति प्रवर्द्वन नीतिको मार्ग प्रशस्त छ। जसबाट मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा समाजवादी लोकतान्त्रिक अर्थशास्त्र विकास गर्न सकिनेतर्फ विशेष मार्गदर्शन स्वत: प्रष्ट छ।
ग. राज्यसत्ता र शासनव्यवस्थाको क्षेत्रमा: दुई चरणको समाजवादी कार्यदिशा र समाजवादी लोकतान्त्रिक निर्वाचन प्रणालीको कार्यक्रम सर्वथा नवीन विचार हो। जसले, देशभक्त समाजवादी राज्यसत्ता र समाजवादी लोकतान्त्रिक शासनव्यवस्था प्रत्याभूत गर्दछ। जुन, गोपाल किरातीको सार्वभौम वैचारिक योगदानमा पर्दछ।
घ. स्थानीय तह पुन:संरचनाको क्षेत्रमा: २०६५ मा, संस्कृति तथा राज्य पुन:संरचनामन्त्री हुँदा गोपाल किरातीले "आठ सय जिल्लाको नयाँ नेपालको विचार" प्रस्ताव गरे। ७५ जिल्ला जनताबाट र चार हजार गाविस (गाउँ विकास समिति र नगरपालिका) सरकारबाट टाढा भएकाले गाविसको संख्या घटाउने र जिल्लाको संख्या बढाउने प्रक्रियाबाट नागरिकलाई प्रशासनिक सुगमता प्रत्याभूत गर्ने विचार थियो त्यो। जिल्ला नै नभनिए पनि २०७३ मा आएर ७५३ स्थानीय तहको नयाँ संरचना देशले स्वीकार गर्यो। किरातीको एक मात्र यो विचार, जसले गणतन्त्रलाई जनसमुदायमाझ बहाल गरेको छ।
ङ. वैचारिक संश्लेषण प्रस्ताव: आधुनिक नेपालको राजनीतिमा राष्ट्रियस्तरका विचारकहरु पुष्पलाल श्रेष्ठ र वीपी कोइराला हुन्। २००६ मा पुष्पलालले राष्ट्रियता, जनतन्त्र र जनजीविका खातिर जनवादी गणतन्त्रको माग गरे भने २०१२ मा वीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद खातिर बहुदलीय प्रजातन्त्र माग गरे। गणतन्त्रसम्म पुष्पलाल र वीपीको विचारले सेवा गरेको भन्दै त्यसयता साम्यवादी पुष्पलाल र उदार पुँजीवादी वीपीको विचारलाई एकीकृतगरी "देशभक्त समाजवादी लोकतन्त्र" को तहमा नयाँ संश्लेषण गर्नुपर्छ, भन्ने ऐतिहासिक प्रस्ताव किरातीले नै गरेका छन्। वैचारिक विकास प्रक्रियामा अब स्पष्ट हुन्छ, जनवादको कार्यक्रम प्रस्तुत गर्ने पुष्पलाल र प्रजातन्त्रको कार्यक्रम प्रस्तुत गर्ने वीपीपछिको राष्ट्रिय विचारक गोपाल किराती हुन्। जसले, समाजवादी लोकतन्त्रको मौलिक कार्यक्रम प्रस्तुत गरेका छन्।
वीपी कोइरालाको बहुदलीय प्रजातन्त्रलाई बहुदलीय जनवाद नाम दिएर मदन भन्डारीहरु दलाल पुँजीवादतर्फ हाम्फालेका हुन्। राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको सवालमा कांग्रेस र एमालेवीच किञ्चित भिन्नता नदेखिनु त्यही भन्डारी विसर्जनको परिणाम थियो। प्रजातन्त्र र जनवाद दुवै पदावलीलाई अंग्रेजीमा "डेमोक्रेसी" भनिएबाट मदन भन्डारीको विसर्जन स्वत: प्रमाणित छ।
बादलद्वारा प्रस्तावित तत्कालीन माओवादीको प्रचन्डपथ पुष्पकमल दहाल, बाबुराम भट्टराई, मोहन बैध्य, बादल समेतले चर्पिखानामा स्वयं मिल्काए। जसको अब कुनै औचित्य रहेन।
निश्कर्षमा, उपरोक्त पृष्ठभूमि र मौलिक योगदानका आधारमा गोपाल किरातीद्वारा विकसित विचारहरुको दृढतापूर्वक संश्लेषण गर्नु पर्दछ। त्यो वस्तुत: "गोपाल किराती विचारधारा (Gopal Kiraty Thought) हुनेछ, संक्षेपमा "किराती विचारधारा"।
४. प्रयोजन:
उपरोक्त संश्लेषण प्रस्तावको प्रयोजन निम्न अपेक्षामा केन्द्रित छ:
क. संसदबाट देशद्रोही एमसीसी-एसपीपी सम्झौता पारित गर्ने र चीन-भारत छिमेकीहरु तथस्ट रहेको राष्ट्रसंघीय प्रस्तावमा (बहुध्रूवीय विश्वव्यवस्था निम्ति लडिरहेको) रुस विरुद्व मतदान गर्ने शासक दलहरु अमेरिकी साम्राज्यवादका प्रत्यक्ष दलाल हुन्। संविधानसभाले बर्खास्त गरिसकेको ज्ञानेन्द्र शाहलाई पुनर्स्थापना गर्ने नारा दिएर अमेरिकी मानसपुत्र नातीलाई शासनमा पुर्याउन खोज्ने राजावादीहरु पनि अमेरिकी दलाल हुन्। ती सबै खाले दलालहरुलाई बेदखल गरि वास्तविक अर्थमा गणतन्त्र र संघीयता कार्यान्वयनद्वारा देश, जनता, वर्ग र समुदायको नयाँ राजनीतिक धार सुदृढ गर्न नयाँ विचार र नयाँ विधि विकासमा वैचारिक संश्लेषणको प्रखरता टड्कारो छ। जसबाट सम्पूर्ण साझेदारीको स्वाधीन र समृद्व नेपाल निर्माण गर्न सकियोस्।
ख. मरेपछि मात्र गुणगान गाउने मृत्युवादी चिन्तन प्रवृत्ति अन्त्य गरी देश र जनताको पक्षमा योगदान गर्ने मानिस जीवित रहँदै निजको विचारलाई सँस्थागत गरि निजबाट अझ व्यापक सेवा जुटाउने जीवनवादी चिन्तन प्रवृत्ति स्थापित गर्नलाई गोपाल किरातीका विचारहरुको संश्लेषण महत्व अपरिहार्य ठानिएको हुँदा यो आलेख प्रस्ताव गरियो।
ग. गणतन्त्र नेपालमा धेरै गुटहरुले समाजवादको नारा दिने गरेका छन्। ती कसैले पनि समाजवादको मूर्त कार्यक्रम भने प्रस्तुत गर्न सकेका छैनन्, सक्ने पनि छैनन्। तर, देशभक्तिपूर्ण सर्वहारा जीवन बाँचेका गोपाल किरातीद्वारा मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा प्रष्ट पहिचानसहित समाजवादको कार्यदिशा र कार्यक्रम प्रस्तुत गरेका छन्।
घ. सामान्यत: चीन-भारत, रुस, जापान, यूरोप, अमेरिका र ब्रम्हाण्ड नै पर्ढ्नुपर्छ, तर मुख्यत: नेपाल पढ्नुपर्छ। किनभने, मुख्यत: नेपाल बुझ्नुपर्छ र मात्र यसलाई सही दिशामा बदल्न सकिन्छ, भन्ने दृष्टिकोण नै किरातीको वैचारिक विकासको देशभक्तिपूर्ण मौलिक योगदान हो। जसको सम्मानजनक संश्लेषणबाट मात्र नेपालमा राजनीतिक, आर्थिक, साँस्कृतिक क्रान्तिको मार्गचित्र व्यवस्थित गर्न सकिन्छ।
ङ. खड्गप्रसाद ओली जस्ताहरुको टप्पर्टुइयाँ प्रवृत्तिले राजनीतिक क्षेत्रलाई विचारहीन, गरीमाहीन र अत्यन्तै सतही तुल्याइरहेको दु:खद स्थिति छ। विचार त्यो औजार हो, जसको अभावमा मानव जाति सभ्यता युगमा आउनै सक्दैनथ्यो। सभ्यताको अभावमा वर्तमान एक्काइशौं शताब्दीमा विज्ञान-प्रविधिको युग किमार्थ सम्भव हुँदैनथ्यो। अत: गणतन्त्र नेपालको राजनीतिक, आर्थिक, साँस्कृतिक क्षेत्रलाई वैचारिक महत्व दिलाउने अपेक्षा यस प्रस्तावको अर्को उद्देश्य हो।
उपरोक्त वैचारिक संश्लेषण जमर्कोद्वारा हामीहरु आफ्नो कर्तव्य उजागर गर्न अग्रसर बनेका छौं। लेखकद्वय हामीहरु ढुक्क छौं कि नि:सन्देह, शोषित उत्पीडित नेपाली जनता साँचो अर्थमा पहिचानसहितको समाजवादी लोकतन्त्रद्वारा अग्रगति चाहन्छन भने गोपाल किराती विचारधाराले गुणात्मक परिवर्तन, स्वाधीन राज्य निर्माण र समतायुक्त शासनव्यवस्था अवश्य हासिल गर्नेछ।
अन्त्यमा, नेपाली श्रमिकवर्गीय आन्दोलन जसरी मृत्युशैयामा छटपटाउँदो छ, पहिचान आन्दोलनको पनि हामीलाई अनुभव छँदैछ। कुल परिणाम देशको सार्वभौमिक स्वाधीनता धरापमा परिरहेछ। त्यस विरुद्व मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा नयाँ राष्ट्रिय एकीकरणद्वारा देश जिम्मा लिने सामर्थ्यको समाजवादी कार्यदिशामा वर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तहरु दृढतापूर्वक उठौं, किराती विचारधारा-जिन्दावादको नारामा जुटौं! अरु मानिस जे मन लाग्छ भन्दै गरून्, देशभक्त समाजवादीहरु सरासर क्रान्तिको तयारीमा अघि बढौ!
(लेखकद्वय चोङ्बाङ र अधिकारी पहिचानवादी मोर्चा सम्बद्व नेता हुन्।)
प्रतिक्रिया