अमेरिकी डलरको भण्डारण ओरालो लाग्दै !
वैश्विक अर्थतन्त्रमा अमेरिकी डलरको आधिपत्यलाई चुनौती दिने प्रक्रियाहरु तीब्र बन्दै जाँदा सन् १९९५ यता पहलो पटक अमेरिकी डलरको भण्डारण ६० प्रतिशतभन्दा तल पुगेको छ ।
खासगरी, युक्रेनयुद्धको बहानामा अमेरिकाले सन् २०२२ मा रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि तथा रुसबाहिर रहेको उसको सम्पत्तिहरु रोक्का गरेपछि अमेरिकाले वैश्विक मुद्राको हैसियतमा रहेको डलरलाई सामरिक हतियारको रुपमा प्रयोग गर्ने गरेको आरोप कडा रुपमा उठेको छ । त्यसमेसोमा अमेरिकी दवाब र प्रतिबन्धहरु खोज्ने क्रम तीब्र भएको छ र त्यसको मुख्य अगुवाइ ब्रिक्स समूहमा आबद्ध राष्ट्रहरुले गरिरहेका छन् । स्मरणीय के छ भने, ब्रिक्सको सबैभन्दा मुख्य राष्ट्रहरु ब्राजिल, रुस, भारत, चीन र दक्षिण अमेरिका रहेको छ ।
खासगरी, ब्रिक्समा आबद्ध राष्ट्रहरुले डलरको विकल्प खोज्ने सिलसिलामा विगत दुई वर्षदेखि डलरको सट्टामा सुन सङ्कलन गर्दै आएको छ र केन्द्रीय बैंकहरूको भण्डारणलाई सुनजस्ता बहुमूल्य धातुहरूसँग विविधीकरण गरिरहेको छ। पछिल्ला १८ महिनामा, विकासशील देशहरूको केन्द्रीय बैंकहरूले ८०० टन सुन संयुक्त रूपमा खरिद गरेका छन्। ब्रिक्सको मुख्य साझेदार तथा विश्वकै दोस्रो ठूलो अर्थत्नत्र भएको चीन एक्लैले पछिल्ला १५ महिनामा २२५ टन सुन खरिद गरेको छ।
रूस, चीन, र भारत सुनका शीर्ष खरिदकर्ताहरूमा पर्छन् र उनीहरूले यस बहुमूल्य धातुको मूल्यलाई माथि धकेलिरहेका छन्। "वर्षको हालसम्मको तथ्यांकअनुसार, विश्व सुन परिषदले जानकारी दिएअनुसार, यसै वर्ष मात्र विभिन्न देशका केन्द्रीय बैंकहरूले अचम्मलाग्दो रूपमा शुद्ध ८०० टन सुन खरिद गरेका छन्, जुन गत वर्षको सोही अवधिभन्दा १४% बढी हो । यसरी सुनको खरिद बढ्नु भनेको ती मुलुकहरुले आफ्नो केन्द्रीय बैंकहरूमा डलरलाई प्रतिस्थापन गर्दै सुन भण्डारण गरिरहेका छन्। यस कार्यमा मुख्यत: ब्रिक्समा आबद्ध मुलुकहरु अगाडि छन् । त्यसले यसले अमेरिकी डलरको भण्डारणमा भयानक गिरावट ल्याइरहेको छ ।
डलरको विकल्पको खोजी हुँदै जाँदा
अन्य गैर-परम्परागत भण्डारण मुद्राहरू पनि ब्रिक्स र विकासशील देशहरूको केन्द्रीय बैंकमा प्रवेश गरिरहेका छन्। केन्द्रीय बैंकहरूले अमेरिकी डलरको भण्डारण घटाउँदै छन् र त्यसको सट्टा सुन राख्दै आफ्नो भण्डारणलाई विविधीकरण गर्दै छन्।
ब्रिक्स राष्ट्रहरूको केन्द्रीय बैंकमा भण्डारणको रूपमा सुनले प्राथमिकता पाउँदा अमेरिकी डलरले घाटा बेहोर्नुपर्ने पक्का छ। अहिले डलरको भण्डारणमा देखिएको भारी गिरावटले डलरमुक्तीकरण (de-dollarization) को सवाल अमेरिकी डलरका लागि समस्याजनक बन्न सक्ने सङ्केत गर्छ। खासगरी, विकसित मुलुकहरुको समूह जी७ भन्दा पनि ब्रिक्सको कूल ग्राहस्थ उत्पादन बढी भइसकेको अहिलेको विश्वमा उदीयमान अर्थतन्त्रहरू ब्रिक्समा आबद्ध छन् र थप हुने क्रत्म बढेको छ । यस कुराले विश्व वित्तीय प्रणालीमा अमेरिका र पश्चिमी देशहरूलाई पछाडि पार्न सक्छ।
पछिल्लो पटक ब्रिक्समा देशहरु समावेश भएर यसको आकार बढिसकेको छ भने हालसम्म लगभग ४० देशहरू BRICS गठबन्धनमा सामेल हुन इच्छुक छन्। हेक्का राख्नुपर्ने कुरा के छ भने अहिले ब्रिक्समा जोडिएका तथा जोडिने क्रममा रहेका सबै राष्ट्रहरू उदीयमान अर्थतन्त्रका हुन् र एशिया, अफ्रिका, र दक्षिण अमेरिका बाट आएका छन्।
ब्रिक्स गठबन्धनले विश्व अर्थतन्त्रमा हावी अमेरिकी डलरको एकाधिकारलाई भङ्ग गर्नको लागि सुनमा आधारित मुद्रा ल्याउने योजना बनाइरहेको छ। त्यसो भयो भने सन् १९७१ मै सुनबाट आफूलाई अलग गरेको तथा पेट्रो डलरको आधारमा विश्वमा एकछत्र जस्तै हैकम चलाइरहेको डलरको साम्राज्य ढल्ने छ । सम्भवत: ब्रिक्सको नयाँ मुद्राको निर्माणको बारेमा घोषणा आगामी २०२४ को अक्टोबरमा हुने ब्रिक्सको शिखर सम्मेलनमा गरिने सम्भावना छ। यतिखेर ब्रिक्सको लक्ष्य भनेको नै अमेरिकी एकाधिकारकलाई तोड्दै बहु ध्रुवीय वित्तीय संसारको सिर्जना गर्नु हो जहाँ विकासशील देशहरूको अमेरिकी डलरसँगको सम्बन्ध कमजोर र सीमित हुनेछ।
भविषयमा वैश्विक व्यापार डलरभन्दा पनि बेसी मुख्यतया सुनमा आधारित ब्रिक्सको नयाँ मुद्रामा हुने पक्का छ । अहिले नै पनि कतिपय वैश्वविक व्यापारहरु अन्य विकासशील देशहरूको स्थानीय मुद्रामा गर्ने सिलसिला शुरु भइसकेको छ । चीन र रूसजस्ता देशहरूले आफ्ना मुद्राहरू (चीनी युआन र रूसी रुबल) द्विपक्षीय व्यापारमा प्रयोग गर्न प्रवर्द्धन गर्दै आएका छन्, जसले द्विपक्षीय व्यापारमा अमेरिकी डलरमाथिको निर्भरतालाई स्वाट्टै घटाएको छ। यस कुराले उनीहरूलाई डलरमाथिको पराधिनतालाई तोडेर आफ्ना स्वदेशी अर्थतन्त्रहरूलाई सुरक्षित राख्न मद्दत गर्नेछ । किनभने अमेरिकी डलरलाई भण्डारण गर्न जोखिमयुक्त हुने र कुनै पनि बेला अमेरिका दाहिने नहुँदा त्यसले भयानक परिणाम ल्याउन सक्ने रुस, इरान लगायतका देशहरुमाथि अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध र नाकाबन्दीले देखाइसकेको छ ।
अमेरिकामा पर्ने सम्भाव्य असरहरु
यदि BRICS ले डलरबाट टाढा हुन्छ भने प्रभावित हुने प्रमुख अमेरिकी क्षेत्र भनेको बैंकिङ्ग र वित्तीय क्षेत्र हुनेछ। अमेरिकाका बैंकरहरूले अमेरिकी डलरको भविष्यको सुरक्षाका लागि ठोस कदम चाल्न बाध्य हुनेछन्। थप रूपमा, नयाँ मुद्रा जोडीहरूले विदेशी विनिमय बजारमा केन्द्रित स्थान लिनेछन् जसले अमेरिकी डलरमा थप दबाब पर्नेछ।
साथै, बैंकहरूले विश्वभरि लाखौं डलर ऋण दिन्छन् र वितरण गरिने रकम महत्वपूर्ण रूपमा घट्न सक्छ। त्यसैले, अमेरिकी डलरको आपूर्ति र मागको संरचनामा गिरावट आउनेछ र ब्रिक्सको डलर-विमुख पहलहरूको कारण बैंकहरूलाई पहिलो चोट लाग्नेछ। अमेरिकी बैंकहरू पहिले नै संकटमा छन् र २०२० देखि नै धेरै बैंकहरू बन्द हुने र दिवालियापनको सामना गरिरहेका छन्। यो प्रक्रियामा थप तिब्रता आउनेछ ।
यदि बैंकिङ क्षेत्रले पहिलो चोट खायो भने, त्यसपछि स्वाभाविक रूपमा अमेरिकी वित्तीय क्षेत्रमा पनि प्रभाव पर्नेछ। अमेरिकाको वित्तीय क्षेत्र विस्तृत छ र यसमा उपभोक्ता सामान र खुद्रा, प्रविधि, र फिनटेक जस्ता विभिन्न क्षेत्रहरू समावेश छन्। त्यसका असरहरुले पैदा हुने महंगाइले अमेरिकी बजारमा पनि असर गर्न सक्छ र दैनिक आवश्यकताहरूको मूल्यमा वृद्धि हुन सक्छ।
प्रतिक्रिया