‘होचो कद’को लघुताभाष नेपोलियन कम्प्लेक्स !
नेपोलियन कम्प्लेक्स (Napoleon Complex) एक मनोवैज्ञानिक अवधारणा हो, जसमा शारीरिक रूपमा होचो व्यक्तिहरू (विशेषगरी पुरुषहरू)ले आफ्नो कदको कमीको क्षतिपूर्ति गर्न आक्रामक, हठी, र अत्यधिक महत्वाकांक्षी व्यवहार देखाउने गरिन्छ। यो अवधारणा प्रायः फ्रान्सका सम्राट नेपोलियन बोनापार्टसँग जोडिन्छ, जसलाई प्रायः ‘छोटो मानिसको आक्रोश’ भएको भनिन्छ। यद्यपि यो अवधारणाले धेरै जनसमूहमा चर्चा पाएको भए पनि यसको वैज्ञानिक मान्यता विवादास्पद छ। नेपोलियन कम्प्लेक्सका कारण मानिसहरूमा शारीरिक कदसँग सम्बन्धित मनोवैज्ञानिक प्रतिक्रियाहरू कत्तिको प्रबल हुन्छ भन्ने विषयमा पनि बहस चल्ने गरेको छ। तर व्यापक दायरामा यसलाई मानिसमा रहेको अरु कमी कमजोरीहरु लुकाउन चाहने तथा कसैले त्यसलाई औंल्याइदियो वा इंगीत गरिदियो भने मात्रै पनि भयंकर आक्रोशित हुने व्यवहारसँग पनि जोडेर हेरिने गरिएको पाइन्छ ।
नेपोलियन कम्प्लेक्सको ऐतिहासिक पृष्ठभूमि
नेपोलियन बोनापार्ट (१७६९–१८२१) को समयमा, उनलाई प्रायः एक आक्रामक, महत्वाकांक्षी, र सत्तामा लोभी सम्राटको रूपमा चित्रित गरिन्छ। के भनिन्छ भने सन् १८०३ मा युरोपमा युद्ध चर्केको बेला फ्रान्सको पहिलो गणतन्त्रका प्रथम कन्सुल, नेपोलियन बोनापार्टले बेलायतमाथि आक्रमण गर्न इङ्ग्लिस च्यानल पार गर्ने योजना बनाउँदै बउलोन नजिक २,००,००० सैनिकहरू जम्मा गरेका थिए।
बेलायतीहरूले त्यस भयानक आक्रमणलाई रोक्न तयारी गरिरहेको बेला अंग्रेज व्यंग्यकार र कार्टुनिस्ट जेम्स गिलरेले भविष्यका फ्रेन्च सम्राटलाई लक्षित गर्दै बनाएका कार्टुनहरूमा नेपोलियनलाई जिद्दी बच्चाको रूपमा चित्रण गरे, जो आफ्नो इच्छाअनुसार कुरा नहुँदा रिसाउँथ्यो। गिलरेले आफ्नो कार्टुनमा नेपोलियनलाई "सानो बोनि" भनेर नामाकरण गरेका थिए । उनका ती कार्टुनहरुमा नेपोलियनलाई अरू सबैभन्दा धेरै सानो देखाइएको थियो ।त्यसले बोनापार्टलाई ठुलो अहंकार भएको सानो मानिसको मिथकलाई मजबूतीसँग स्थापित गर्यो।
त्यसो त नेपोलियनको वास्तविक उचाइ ५ फिट ६ इन्च (१.६८ मिटर) थियो । त्यो भनेको त्यसबेलाको औसत उचाइभन्दा बढी नै थियो । तर उनी औसतभन्दा बढी नै उचाइ रहेको तथ्यलाई बङ्ग्याएर सामान्यतया औसत मान्छेभन्दा धेरै होचो कदको रूपमा चित्रण गर्नु राजनीतिक प्रचारको हिस्सा थियो, जसले विपक्षीहरुलाई उनलाई कमजोर देखाउन प्रोत्साहित गर्यो। समयसँगै, यो धारणाले केवल नेपोलियनको कद मात्र नभई सत्तामा रहेका अन्य होचो व्यक्तिहरूलाई पनि मनोवैज्ञानिक रूपमा जोड्ने कोशिश गर्यो, जसले गर्दा यसले नेपोलियन कम्प्लेक्स (Napoleon Complex) भन्ने अवधारणाको जन्म भयो।
मनोवैज्ञानिक दृष्टिकोण
नेपोलियन कम्प्लेक्सको मनोवैज्ञानिक आधार भनेको होचो कद भएका मानिसहरूले आफूलाई "कमी भएको" महसूस गर्न सक्छन्, जसलाई उनीहरू आफ्नो व्यवहारमा अति प्रतिस्पर्धात्मक, आक्रामक, र महत्वाकांक्षी भएर ढाकछोप गर्ने कोशिश गर्छन् भनेर मानिन्छ ।
यस अवधारणाअनुसार के मानिन्छ भने होचो कद भएका मानिसहरू कहिलेकाहीँ आफूलाई अरूसँग तुलना गर्दा कमजोर महसुस गर्छन्, जसले गर्दा उनीहरू आफ्नो कदको कमीलाई ढाकछोप गर्ने माध्यमको रूपमा आक्रामक व्यवहारलाई प्रयोग गर्ने गर्छन्। यस्ता मानिसहरूले धेरै आक्रामक वा प्रतिस्पर्धात्मक व्यवहार देखाउँछन्।
कद होचो भएका व्यक्तिहरूले प्रायः आफूलाई अरूभन्दा कम योग्य महसुस गर्दा उनीहरू बढी प्रतिस्पर्धात्मक बन्ने प्रयास गर्छन्। यो अवधारणा अनुसार नेपोलियन कम्पलेक्सले ग्रसित मानिसहरूले आफ्नो भौतिक रूपलाई सामाजिक प्रतिस्पर्धामा बढावा दिन मानसिक क्षतिपूर्तिको प्रयास गर्न सक्छन्।
नेपोलियन कम्प्लेक्स भएका मानिसहरू आफूलाई अरूसँग तुलना गर्दा कमजोर देखिने डरले गर्दा आक्रामक वा अत्यधिक महत्वाकांक्षी बन्ने प्रयास गर्छन्।
अनुसन्धान र नेपोलियन कम्प्लेक्सको वास्तविकता
त्यसो त नेपोलियन कम्प्लेक्सको अवधारणालाई केही अध्ययनहरुले चुनौती पनि दिएका छन् । उदाहरणका लागि, नेदरल्यान्ड्समा गरिएको अध्ययनले होचो व्यक्तिहरूले बढी आक्रामक व्यवहार देखाउँछन् भन्ने मान्यता पुष्टि गर्न सकेको छैन। अक्सफोर्ड युनिभर्सिटीद्वारा सन् २००७ मा प्रकाशित एउटा अध्ययनले होचो कद भएका मानिसहरू वास्तवमा कम आक्रामक हुन्छन्, र उनीहरू प्रायः जोखिमबाट टाढा रहने प्रवृत्तिमा हुन्छन् भन्ने देखाएको थियो । उक्त अध्ययनले "नेपोलियन सिन्ड्रोम" भनेको मिथक हो भन्ने निष्कर्ष निकाल्यो ।
तर, केही अनुसन्धानहरूले भने यस विषयमा आंशिक समर्थन पनि देखाएका छन्। सन् २०१८ मा Evolution and Human Behavior मा प्रकाशित एक अध्ययनले देखाएको छ कि होचो कद भएका पुरुषहरूमा शक्ति प्रदर्शन गर्ने र सामाजिक प्रतिष्ठा खोज्ने प्रवृत्ति बढी हुन सक्छ। उक्त अध्ययनले सामाजिक रूपमा शारीरिक कदको महत्त्वले मानिसको आत्म-छविलाई असर गर्छ, र यसले उनीहरूको व्यवहारमा असर गर्न सक्छ भन्ने निष्कर्ष निकालेको थियो ।
नेपोलियन कम्प्लेक्सको सामाजिक प्रभाव
नेपोलियन कम्प्लेक्सको अवधारणा केवल मनोवैज्ञानिक सीमामा सीमित छैन। समाजमा, शारीरिक कदलाई धेरै सन्दर्भमा मूल्याङ्कन गरिन्छ। धेरै पेशागत क्षेत्रहरूमा, लामो कदलाई आत्मविश्वास र नेतृत्वको प्रतीक मानिन्छ। राजनीतिमा पनि यो अवधारणाले प्रभाव पार्ने गर्छ । उदाहरणका लागि, लामो कद भएका राजनीतिज्ञहरूलाई प्रायः सशक्त नेताको रूपमा देखाइन्छन्। यसको विपरीत, होचो व्यक्तिहरूले नेपोलियन कम्प्लेक्सको आरोप खेप्नुपर्छ, जसले गर्दा उनीहरूलाई कमजोर वा अत्यधिक प्रतिस्पर्धात्मक मानिने सम्भावना हुन्छ।
आलोचना
नेपोलियन कम्प्लेक्सको अवधारणालाई व्यापक रूपले आलोचना गरिएको छ। यसले शारीरिक कदको आधारमा मानिसहरूको मानसिक अवस्था वा व्यवहार पूर्वनिर्धारित हुन्छ भन्ने गलत मान्यतालाई सामाजिक र सांस्कृतिक धारणाको रुपमा स्थापित गर्ने गर्छ । तर वास्तविकतामा त्यो कुरा सत्य होइन । धेरै मनोवैज्ञानिकहरूले नेपोलियन कम्प्लेक्सको यो धारणालाई अस्वीकार गरेका छन् । उनीहरुको भनाइमा मानिसको व्यवहार धेरै कारकहरूको संयोजनबाट निर्माण हुन्छ, त्यस कुरामा शारीरिक कद एकमात्र निर्धारण कारक होइन।
त्यसो त हाम्रा समाजमा कतिपय मानिसहरु यस्ता पनि हुन्छन् जसलाई आफ्नो कमी कमजोरी राम्ररी थाहा छ तर ऊ त्यो कुरालाई सार्वजनिक रुपमा स्वीकार्न सक्दैन । ऊ आफूलाई अरुले कमजोर ठानेको, मानेको देख्न चाहँदैन । उसलाई आफ्ना कमी कमजोरीहरु थाहा छ तर अरुका सामु त्यो स्वीकार्न उसको अन्तरआत्माले दिँदैन । अरुको सामु उसलाई आफूलाई सबै कुरा थाहा भएको, त्यसबारे जानकार रहेको देखाउने चाहना सदैव रहन्छ । लघुताभाषको अनुभूतिले सिर्जना गर्ने यो ‘जान्ने देखिने’ अवस्थालाई पनि आजभोलि कतिपयले नेपोलियन कम्प्लेक्स भनेर भन्ने गरेको पाइन्छ ।
Image source: https://www.washingtonpost.com/
प्रतिक्रिया