कृष्ण सेन ‘इच्छुक’ का दुई कविता

जेल

म पर्खालभित्र छु

तिमी पर्खालबाहिर छौ

म पहराभित्र छु

तिमी पहराबाहिर छौ

म यातना गृहमा छु

तिमी खुल्ला शिविरमा छौ

शिकारीले बाँधेको छाँद होस्

अथवा त्यो उसको फाँद होस्

के फरक पर्‍यो र ?

मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी

जहाँ काट्नु परे पनि त्यो जेल हुन्छ ।

 

जहाँ, जीवन बन्धनहरुभित्र कैद हुन्छ

जहाँ सुन्दर सपना सधैं अवैध हुन्छ

जहाँ मुक्त आकाङ्क्षाहरु बन्देज हुन्छन्

जहाँ हार्दिक भावहरुमा ठेस लाग्छ

अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि

निर्धक्क स्वास फेर्न प्रतिवन्ध हुन्छ

बन्दूकको पहरा होस्

अथवा त्यो कानूनको घेरा होस्

के फरक पर्‍यो र ?

मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी

जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ ।

 

जहाँ बेला कुवेला रमन घुमिरहन्छ

जहाँ कारण–अकारण साइरन बजिरहन्छ

सडकमाथि बेलगाम घोंडाको टापजस्तै

जहाँ चर्को आवाज गरी मार्चपास चलिरहन्छ

अनि जहाँ मौसम–बेमौसम बारुदहरु गर्जेर

सधैं रगतको झरी परिरहन्छ

पर्खालभित्र होस्

अथवा त्यो पर्खालबाहिर होस्

के फरक पर्‍यो र ?

मित्र, सधैं छातीमा चाँदमारी थापेको जिन्दगी

जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ ।

 

उही दिन सधैं, उही रात सधैं

उही विहान र साँझ साथ छ

उही स्वप्नभंग विवश जिन्दगी

उही गतिहीन समय–साल छ

निकासविनाको बन्द तालजस्तै

जहाँ गन्दा समाजसाथ अँधेरो बास छ

कुनै अनाम देश होस्

अथवा त्यो प्रिय स्वदेश होस्

के फरक पर्‍यो र ?

मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी

जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ । à

 

 

बन्दी छोराको पत्र

म मरे पनि

देशका जम्मै सन्ततिहरु

तपाईंकै प्रियपुत्र हुन् आमा

तपाईंकै सपनामा

ती आज सुनबुट्टे विपना कुँद्दै छन्

संसार सजाउने तिनका रहरहरुमा

तपाईंले आशीष थप्दै जानोस्

जिन्दगी फुलाउने तिनका संकल्पहरुमा

तपाईंले विश्वास भर्दै जानोस्

कर्मपथका यी योद्धाहरुलाई

तपाईंले ममता बाँढ्दै जानोस्

तपाईंका पुत्रहरु आँधीसँग जुध्न सक्छन्

तपाईंका पुत्रहरु समयसँग भिड्न सक्छन्

ती त तीब्रगामी गतिका अग्रगामी बाहकहरु हुन्

काँधमाथि तिनले सम्पूर्ण ब्रम्हाण्ड बोक्न सक्छन् ।

त्यसैले गति रोकिदैन

अँधेरो युगको कायाकल्प हुन्छ आमा

इतिहास रचिन्छ/इतिहास फेरि रचिन्छ

र, फेरि नयाँ युगको नवीन यात्रा शुरु हुन्छ

र, फेरि नयाँ जीवनको नौलो कथा शुरु हुन्छ ।

(नोट: यो कविताको एक अंशमात्र हो ।)