प्रारम्भिक कालदेखि नै हाम्रो समाजको वास्तविक अन्तरविरोध र भौतिक अवस्थालाई बुझ्ने कुरामा वाम आन्दोलन चुक्यो

नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको पथविचलनका मुख्य कारणहरु: डा‍. खगेन्द्र प्रसाई

कम्युनिष्ट आन्दोलनको पथविचलनबारे थुप्रै कोणहरुबाट व्याख्या विश्लेषण गर्न सकिन्छ । नेपालका कम्युनिष्टहरुले यसबारे आआफ्नो ढङ्गबाट व्याख्या गर्ने गर्छन् । तर यसबारे जुनविधिबाट व्याख्या विश्लेषण गरिनुपर्ने हो, त्योबाट चाहिँ धेरै टाढा हुन्छौं । ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट कम्युनिष्ट आन्दोलनको विचलनको चर्चा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

भौतिक परिस्थितिको आधारमा कुनै पनि चीजको सम्भावनालाई हामीले आँकलन गर्नुपर्छ । समाजवाद, हिजो भनिएको जनवाद अथवा जेसुकैको सम्भावनालाई पनि भौतिक परिस्थितिको आधारमा बुझेर गरियो भने त्यो वास्तविक वैज्ञानिक हुन सक्छ, नबुझी गरियो भने त्यो काल्पनिक हुन्छ । काल्पनिक समाजवादी र भौतिकवादी समाजवादीको अन्तर नै यति हो ।

वाम आन्दोलनले प्रारम्भिक कालदेखि नै हाम्रो समाजको वास्तविक अन्तरविरोध र भौतिक अवस्थालाई बुझ्ने र त्यो भौतिक अन्तरविरोधमा आइरहेका बदलावहरुलाई बुझ्ने कुरामा नराम्ररी चुक्यो ।

अध्ययन, ज्ञान उत्पादनमा पार्टी, संगठन सिंगै लाग्ने र सिङ्गो बामआन्दोलनलाई बौद्धिकीकरण गर्ने प्रक्रियामा चुकेपछि ज्ञान उत्पादन हुँदैन, ज्ञान उत्पादन नभएपछि समाज बदलिँदैन ।

पुँजीवादले हरेक १०–१२ वर्षमा चोला फेरिबस्दो रहेछ । त्यसक्रममा त्यसले हरेक साना तथा ठूला देशलाई एउटा अवसर सिर्जना गरिदिँदो रहेछ । १९७० मा पुँजीवादमा आएको संकटले चीन, भियतनाम, सिङ्गापुर, अफ्रिका, ल्याटिन अमेरिकाका देशहरुलाई पुँजी लिने कुरामा अवसर सिर्जना गर्यो । पुुँजीवाद बदलिएर वित्तीय पुँजीवाद भएको छ, त्यसले शासन गर्ने प्रक्रिया शुरु भएको छ । तर हाम्रा छलफल, दस्तावेजहरुमा अझै सामान्तवाद भनिरह्यौं ।

दुनियाँमा सबै परिवर्तनशील छ भन्ने मार्क्सवादी हामी, तर पुँजीवादलाई परिवर्तनमा बुझौं भन्नेबित्तिकै अब म संशोधनवादी भइहाल्छु! सामन्तवाद मुर्दावाद भनुन्जेल म क्रान्तिकारी भइरहन्छु, पुँजीवादमा बुझौं, सामन्तवाद छैन भन्नेबित्तिकै म अब संशोधनवादी हुने भए ।

प्रगतिशील रुपान्तरण आन्दोलनले असोज ९ गते आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको पथ–विचलनका मुख्य कारणहरु’ शीर्षकको अन्तरक्रियात्मक विचार गोष्ठी कार्यक्रम– श्रृङ्खला २मा  डा. खगेन्द्र प्रसाईले व्यक्त गरेका विचारहरु भिडियोमा हेर्नुहोस् ।