इजरायलका दुई अमानवीय युद्ध रणनीतिहरु
बिगत लामो समयदेखि पश्चिम एशिया अशान्त छ। जसको प्रमुख कारण इजरायल-प्यालेस्टाइन द्वन्द्व हो। इजरायल-प्यालेस्टाइन विवाद कहिल्यै निको नहुने घाउजस्तै बल्झिरहेको छ। गत वर्ष अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि यो विवादले झन् उग्र रूप लिएको छ। अहिले त यो द्वन्द्व लेबनान र इरानसम्म फैलिइसकेको छ। इजरायलले लडिरहेको लडाइँबारे राम्रोसँग बुझ्नको लागि उसको युद्ध सञ्चालन सम्बन्धी सिद्धान्तहरू जान्न जरुरी हुन्छ। इजरायलको युद्ध सम्बन्धी दुईवटा महत्वपूर्ण सिद्धान्त रहेका छन्। ती सिद्धान्तहरू हुन्:-
१. दाहिया डकट्रिन (Dahiya Doctrine)
२. हानिबल निर्देशन (Hannibal Directive)
दाहिया डकट्रिन इजरायली सेनाको त्यो बर्बर सैन्य नीति हो, जसले शत्रुपक्षका आम नागरिक र गैर-सैनिक संरचनाहरू माथि समेत व्यापक र असामानुपातिक बल प्रयोगको अनुमति दिन्छ। दाहिया डकट्रिन लेबनानको राजधानी बेरुतस्थित दाहिया भन्ने स्थानको नामबाट राखिएको हो। यो ठाउँमा लेबनानी प्रतिरोध आन्दोलन हिजबुल्लाहको मुख्यालय रहेको थियो। २००६ मा भएको हिजबुल्लाह र इजरायलबीचको लडाइँको क्रममा इजरायली सेनाले यो ठाउँमा भयानक बमबारी गरेको थियो। जस क्रममा आम नागरिकहरू बस्ने घरहरू, बिजुली उत्पादन गृह र प्रसारण संरचनाहरू, खानेपानीका पाइपलाइनहरू, ढल निकास प्रणाली, सडक, पुल, र त्यहाँ रहेको बन्दरगाहलाई समेत ध्वस्त पारिएको थियो। साथै, सो बमबारीमा करिब १००० जना मानिसहरूको मृत्यु भएको थियो। जसमध्ये एकतिहाइ बालबालिकाहरू थिए।
दाहिया सैन्य नीति लागू गरिएदेखि इजरायलले लेबनान र प्यालेस्टाइन लगायतका ठाउँहरूमा जनधनको क्षतिको पर्वाह नगरी व्यापक मात्रामा बल प्रयोग गरिरहेको छ। गत वर्षदेखि हमाससँग सुरु भएको युद्धमा इजरायलले गाजामा जनधनको पर्वाह नगरी प्यालेस्टिनीहरू माथि व्यापक बल प्रयोग गरेको छ। जस क्रममा हालसम्म ४१ हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ।
दाहिया डकट्रिनको प्रतिपादन इजरायली सेना जनरल गादी इस्केनकोटले गरेका थिए। यो सिद्धान्त प्रतिपादन गर्दा उनी इजरायली सेनाको उत्तरी कमाण्डका प्रमुख थिए। पछि उनी २०१५ मा इजरायली सेना प्रमुख समेत बनेका थिए। गादी इस्केनकोटले भनेका थिए- २००६ मा बेरुतको दाहिया क्षेत्रमा जे भएको थियो, त्यो इजरायलतर्फ आक्रमण गर्ने प्रत्येक गाउँमा हुनेछ। हामी त्यहाँ व्यापक मात्रामा असमानुपातिक शक्तिको प्रयोग गरेर ठूलो क्षति र विनाश गर्नेछौं। हाम्रो दृष्टिकोणमा तिनीहरू गैर-सैनिक गाउँहरू होइनन्, बरु सैनिक अखडा हुन्। यो सुझाव होइन, यो योजना हो। र यसलाई अनुमोदित गरिएको छ।
यो सैन्य नीति लागू गरिएदेखि इजरायलले लेबनान र प्यालेस्टाइन लगायतका ठाउँहरूमा जनधनको क्षतिको पर्वाह नगरी व्यापक मात्रामा बल प्रयोग गरिरहेको छ। गत वर्षदेखि हमाससँग सुरु भएको युद्धमा इजरायलले गाजामा जनधनको पर्वाह नगरी प्यालेस्टिनीहरू माथि व्यापक बल प्रयोग गरेको छ। जस क्रममा हालसम्म ४१ हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ। जसमध्ये १६ हजारभन्दा बढी केटाकेटीहरू छन्। त्यस्तै, इजरायलले हालसम्म गाजामा गरेको बमबारीबाट भत्किएका घरहरूको कंक्रिटको थुप्रोको वजन ४२ मिलियन टन रहेको अनुमान छ। जसलाई हटाउन मात्र १५ वर्ष लाग्न सक्छ। अहिले लेबनानमाथि पनि इजरायलले त्यस्तै प्रकारले निर्मम बमबारी गर्न थालेको छ। जस क्रममा दुई हप्ताभित्रै २००० मानिसहरूको मृत्यु भइसकेको छ।
अन्तर्राष्ट्रिय कानुनअनुसार दाहिया डकट्रिन गैरकानुनी कार्य हो। अन्तर्राष्ट्रिय कानुनअनुसार युद्धको क्रममा समेत असमानुपातिक बल प्रयोग गर्नु र गैर-सैनिकहरूलाई निशाना बनाउनु अनि गैर-सैनिक संरचनालाई ध्वस्त पार्नुलाई निषेध गरिएको छ। यसलाई युद्ध अपराध मानिन्छ। अन्तर्राष्ट्रिय कानुनका विद्वान रिचार्ड फाल्कका अनुसार - हमास वा हिजबुल्लाहजस्ता विरोधीहरूका नागरिक संरचनालाई सैनिक निशाना मान्नु युद्धको कानुनका आधारभूत मान्यताहरू र सार्वभौमिक नैतिकताको उल्लङ्घन मात्र होइन, हिंसाको यस्तो सिद्धान्तको स्वीकृति हो जसलाई यसको सही नामले सम्बोधन गरिनुपर्छ: त्यो हो राज्य आतंकवाद।
इजरायली सेनाको अर्को त्यस्तै प्रकारको निर्देशन छ, जसलाई हानिबल निर्देशन भनिन्छ। यो निर्देशन अनुसार इजरायली सैनिकहरू दुश्मनको कब्जामा नपरोस् भनेर अधिकतम बल प्रयोग गरिन्छ। जसमा बन्धक बनेको आफ्नै सैनिकको मृत्यु वा घाइते भए पनि कुनै वास्ता गरिदैन। यो निर्देशनको प्रेरणा कार्थेजीयन सेनानायक हानिबलबाट लिइएको हो। उनले इसापूर्व १८१ मा रोमन सैनिकहरूको बन्दी बन्नु भन्दा आत्महत्या गर्नु श्रेयस्कर हुन्छ भनेर विष पिएका थिए।
हानिबल निर्देशनको सुरुवात १९८५ को जिब्रिल सम्झौतापछि भएको मान्न सकिन्छ। १९८५ मा प्यालेस्टिनी लडाकु समूह पपुलर फ्रन्ट फर लिबरेशन अफ प्यालेस्टाइन - जनरल कमान्डका गुरिल्लाहरूले ३ जना इजरायली सैनिकहरूलाई कब्जा गरेका थिए। आफ्ना सैनिकहरू छुटाउनको लागि इजरायलले आफ्ना जेलमा रहेका ११५० जना प्यालेस्टिनी बन्दीहरूलाई छोड्नुपरेको थियो। यसरी आफ्ना सैनिकहरू दुश्मनको हातमा पुगेपछि त्यसको चर्को मूल्य चुकाउनु परेपछि इजरायलले यो निर्देशन लागू गरेको हो। हानिबल निर्देशनका सर्जक जनरल योसी पेलेडलाई मानिन्छ। उनी १९८६ ताका इजरायली उत्तरी कमाण्डका प्रमुख थिए। उनले त्यस बेला लेबनानी लडाकु समूह हिजबुल्लाहले आफ्ना सैनिकलाई बन्धक बनाउन खोज्दा यो नीति लागू गरेका थिए।
इजरायलले हानिबल निर्देशन यस आधारमा उचित ठान्छ कि कैदीहरूको अदला-बदलीले राजनीतिक रूपमा महँगो परिणाम चुकाउनुपर्छ। बरु यसको साटो आफ्ना सैनिकको ज्यानको मूल्यमा भए पनि यो अपहरण प्रयासलाई रोक्नु उचित हुन्छ भन्ने रणनीति इजरायलमा विकास भएको हो।
सुरुमा, हानिबल निर्देशनले शत्रुपक्ष र उनीहरूको सवारीसाधनलाई रोक्न हल्का हातहतियारको प्रयोगको अनुमति दिएको थियो। समयसँगै यसको व्याख्या फराकिलो हुँदै गयो, जसमा आक्रमण हेलिकप्टर लगायत भारी सैन्य बलको प्रयोगसमेत हुन थाल्यो।
इजरायलले यो निर्देशन यस आधारमा उचित ठान्छ कि कैदीहरूको अदला-बदलीले राजनीतिक रूपमा महँगो परिणाम चुकाउनुपर्छ। बरु यसको साटो आफ्ना सैनिकको ज्यानको मूल्यमा भए पनि यो अपहरण प्रयासलाई रोक्नु उचित हुन्छ भन्ने रणनीति इजरायलमा विकास भएको हो। लामो समयसम्म इजरायलले यो निर्देशनबारे सार्वजनिक चर्चा गर्न प्रतिबन्ध लगाएको थियो। २००३ मा इजरायली अखबार हारेत्जले एउटा लेखमा यसबारे खुलासा गरेको थियो।
गत वर्षको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि उसले बन्दी बनाएका थुप्रै इजरायली नागरिक र सैनिकहरूलाई गाजा पट्टीतर्फ लाँदै गर्दा हानिबल निर्देशनको प्रयोग गरिएको थियो। हारेत्जका अनुसार हमासका लडाकुहरूले गाजापट्टीतर्फ लाँदै गरेका इजरायली बन्दीहरूलाई रोक्न इजरायली सैनिकहरूले हेलिकप्टरबाट गोलीबारी गरेर मारेका थिए। अहिले इजरायलको ध्यान हमासको कब्जामा रहेका बन्धकहरूलाई वार्ता गरेर छुटाउन भन्दा हमासलाई ध्वस्त पार्नतर्फ केन्द्रीत छ ।
अहिले पश्चिम एशियामा चलिरहेको युद्धलाई रोक्न राष्ट्रसंघ, स्वयं इजरायलका मुख्य संरक्षक अमेरिकाले समेत बारम्बार अनुरोध गर्दा र युद्धविरामका खाकाहरु अघि सार्दा तथा हमास–हिजबुल्लासँगको पटकपटकको अप्रत्यक्ष वार्तापश्चात पनि इजरायल प्यालेष्टाइन र लेवनानलाई धूलीसात पार्न उद्दत देखिनुको अन्तर्य पनि उसले अपनाएका माथिका दुई नीति नै मूलरुपमा हावी रहेको स्वत: देखिन्छ । ‘इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ’ भन्ने भाष्यलाई अघि सारेर जसरी अमेरिका र युरोपेली राष्ट्रहरुले उसको पक्षपोषण गर्दै आइरहेको छ, त्यसले समग्र राष्ट्रसंघको अस्तित्वलाई समेत बारम्बार औचित्यहीन बनाउने काम गरेको छ । आत्मरक्षाको नाममा इजरायलले एकपछि अर्को युद्धअपराध गरेर बर्वरताको ताण्डव मच्चाउँदा समेत उसलाई रोक लगाउने कुरामा राष्ट्रसंघ निरीह देखिनुको अर्थ के हो भने यतिखेर विश्वमा मानवाधिकार र अन्तर्राष्ट्रय कानूनको सम्मान–पालना भन्ने कुरा एकादेशको कथा भइसकेको छ । अमेरिका र केही पश्चिमा राष्ट्रहरुको आर्थिक–भौतिक समेतको सहयोगमा अहिले खुल्ला साँढेजस्तै अन्धधुन्ध आतंक मच्चाइरहेको इजरायलले तत्काल खाडी क्षेत्रलाई युद्धको संत्रासमय भुँमरीमा त जाक्दै लगिरहेरहेको छ । त्योभन्दा पनि खतरनाक कुरा चाहिँ के हो भने अहिले इजरायलले इरानसँग प्रत्यक्ष युद्धको वातावरण सिर्जना गरेर अमेरिकालाई समेत यस युद्धमा तथा इरानविरुद्ध प्रत्यक्ष मुठभेडमा उतार्ने कोशिश गरिरहेको देखिन्छ । कदाचित अमेरिका यस युद्धमा प्रत्यक्ष समावेश भयो भने त्यसले विश्वमा नयाँखालको सामरिक ध्रुवीकरणको प्रक्रियालाई तीब्र बनाउने छ । युक्रेन युद्धपछि इरानसँग नयाँ खालको सामरिक गठजोडमा अघि बढेको रुस अनि इरानको बलियो व्यापारिक साझेदार बन्दै गइरहेको चीनको भूमिका त्यसबेला तटस्थता मात्रै रहनेछैन । सम्भवत: इरानले आणविक हतियार निर्माण गर्नेछ भने उसले अहिले वैश्विक तेल व्यापारको २०–२५ हिस्सा ओगट्ने स्ट्रेट अफ हर्मिजलाई ठप्पा पारिदिने अवस्था पनि आउन सक्नेछ, जसले विश्व अर्थतन्त्रमै भयानक उथलपुथल ल्याउन सक्ने छ । यी समग्र स्थितिको जम्मा जोड भनेको कालान्तरमा विश्व अर्को भयानक विश्वयुद्धको दिशातिर मोडिने अवस्था पैदा हुनु नै हो ।
प्रतिक्रिया