इजरायलमाथि इरानको ‘प्रतिकार–हमला’ !

‘गाजा र लेबननमा भएको घातक आक्रमण तथा वरिष्ठ हमास, हिजबुल्लाह र आईआरजीसी नेताहरूको हत्या तथा ‘इस्लामी गणतन्त्र इरानको राष्ट्रिय सार्वभौमसत्तालाई जिओनिस्ट शासनद्वारा उल्लङ्घन गरेको प्रतिकारस्वरुप’ इरानले इजरायलका महत्त्वपूर्ण सैनिक र सुरक्षा केन्द्रहरूमा दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । इरानले लगभग १८० मिसाइल प्रहार गरेकोमा धेरैलाई "आयरन डोम" प्रतिरक्षा प्रणालीले अवरुद्ध गरेको इजरायलले जनाएको छ । तर इरानले ‘ट्रू प्रोमिस– २’ नाम दिइएको यस आक्रमणमा ९० प्रतिशत मिसाइलहरुले लक्ष्यभेदन गरेको दावी गरेको छ ।इजरायली सेनाले पनि केही मिसाइलहरुलाई रोक्न नसकेको कुरा स्वीकारेको छ । इरानी मिसाइलमध्ये कतिपयलाई अमेरिकाले लक्ष्यभेदन गर्नुअघि नै नष्ट गरिदिएको थियो ।

इरानी आक्रमणको प्रतिरोधमा इजरायलले 'आश्चर्यजनक' प्रतिकारात्मक आक्रमणबाट उचित जवाफ दिने चेतावनी दिएको छ । इजरायली सेनाले सामाजिक सञ्जाल "X" मा  एक पोस्ट गर्दै इरान विरुद्ध आफ्नो सटीक र चकित पार्ने आक्रमण क्षमताहरू प्रदर्शन गर्न समय छान्ने जनाएको छ। साथै, इजरायली सेनाले आफ्नो "बलियो हवाई प्रतिरक्षा प्रणाली"को उल्लेख गर्दै शत्रुलाई लक्ष्य प्राप्त गर्न रोक्न सक्ने क्षमता प्रमाणित गरेको दाबी गरेको छ।

इरानले पनि इजरायलले जवाफी हमला गरेमा योभन्दा गम्भीर ‘क्रसिंग’ आक्रमणहरूको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको लागि इरानको मिशनले उक्त आक्रमणलाई "जायज, तार्किक र वैध प्रतिक्रिया" भनेको छ । उसले जुन इजरायली शासनद्वारा इरानको राष्ट्रिय सार्वभौमिकतामा हस्तक्षेपको प्रतिशोधस्वरूप सो आक्रमण गरेको जनाएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह खमेनीले मिसाइल प्रहारको चित्रसहित "दैवी विजय" को कुरानको श्लोक सार्वजनिक गरेका छन्।

इरानका राष्ट्रपति पेसेश्कियानले इजरायलका नेताहरूलाई तेहरानसँगको द्वन्द्वबाट टाढा रहन चेतावनी दिँदै यो आक्रमण "इरानको नागरिक र हितहरूको रक्षा" मा गरिएको बताए।

यसअघि इरानले इजरायलमाथि आक्रमण गर्नुअघी अमेरिकालाई पूर्व चेतावनीसहितको जानकारी दिने गरेको थियो । तर यस पटक इजरायलमाथि मिसाइल आक्रमण अघि इरानी सरकारले अमेरिकालाई कुनै पूर्वचेतावनी नदिएको कुरा इरानको संयुक्त राष्ट्रसंघको मिशनले एक वक्तव्यमा मार्फत जनाएको छ । तर हमलापछि ‘गम्भीर चेतावनी दिइएको’ वक्तव्यमा जनाइएको छ  ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पिन समाचार ब्रिफिङमा भने कि इरानी सरकारबाट आक्रमणको पूर्वचेतावनी प्राप्त नभएको जनाएका छन् ।तर अमेरिकी अधिकारीहरुले  आक्रमणको केही घण्टा अघि इरानले आक्रमणको तयारी गरिरहेको "संकेत" पाएको बताएका थिए । अमेरिकाले यसपटकको आक्रमण गत अप्रिल महिनामा गरिएको आक्रमणभन्दा दोब्बर रहेको समेत जनाएको छ ।

घटनाको लगत्तै जोर्डनले आफ्नो सेनालाई उच्च सतर्कतामा राखेको छ । 

Image source: https://www.middleeastmonitor.com