लेबनान-इजरायल सीमामा २१-दिन लामो युद्धविरामको आह्वान

लेवनानमा इजरायलले गरेको हवाइ हमलाका क्रममा हताहती हुनेहरुको संख्या बढ्दै जाँदा उक्त युद्ध समग्र पश्चिम एशियामै विस्तार हुने आशंका बढ्दै गइरहेको छ । यस्तो स्थितिमा इजरायललाई बलियोसँग समर्थन गर्दै आएका अमेरिका, संयुक्त अधिराज्य (यूके) र युरोपेली संघ (ईयू) सहितका सहयोगीहरूले लेबनानमा अस्थायी युद्धविरामको आह्वान गरेका छन्।

अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य र कतार समावेश १२ सदस्यीय उक्त समूहले तत्काल लेवनानमा तथा गाजा क्षेत्रमा २१-दिन लामो युद्धविरामको प्रस्ताव गरेको छ । त्यसरी युद्धविरामको प्रस्ताव गर्नुका कारणमा युद्ध अन्त्यको लागि कूटनीतिक समाधानको सम्भावनालाई अगाडि बढाउन जनाएको छ।

सो समूहले जारी गरेको साझा वक्तव्यमा हाल चलिरहेको लडाइँ "असह्य" भएको र त्यसले  क्षेत्रीय रूपमा ठूलो हिंसा फैलिन सक्ने जोखिम उत्पन्न गरेको जुन इजरायल र लेबनान दुवैका नागरिकहरूको हितमा नरहेको उल्लेख गरिएको छ ।

यो वक्तव्य इजरायलका सैन्य प्रमुखले बुधबार सेनालाई ‘लेबनानमा हिज्बुल्लाहलाई लक्षित गरेर गरिएका व्यापक हवाई आक्रमणले सैनिकहरूलाई "शत्रु भूमिमा प्रवेश गर्न" बाटो खोल्न सक्ने संकेत गरेको’ भनी दिएको सन्देशको पृष्ठभूमिमा आएको छ ।  

उता अमेरिकी राष्ट्रपति बाइडेनले बुधबार साँझ व्हाइट हाउसमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा ‘युद्धविरामका लागि युरोप र अरब राष्ट्रहरूबाट महत्वपूर्ण समर्थन रहेको र महत्वपूर्ण कुरा युद्ध थप नबढोस्" भन्ने बताएका थिए ।

२१-दिनको युद्धविरामले थप वार्ताहरू गर्न र "जटिल सम्झौतामा" पुग्न मद्दत गर्ने आशा सम्बद्ध पक्षहरुले लिएका छन् । यसक्रममा अमेरिकाले लेबनानको सरकारसँग वार्ता गरिररहेको र  त्यसपछि लेबनान सरकारले हिजबुल्लासँग संवाद गर्ने जिम्मेवारी लिने बुझिएको छ ।

यसअघि नै लेवनानमाथि इजरायलले गरेको हमलालाई लिएर संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले तत्काल युद्धविरामको आह्वान गर्दै "नरकको ढोका खुल्दैछ" भनी चेतावनी दिएका थिए ।

अक्टोबर ७ को घटनायता इजरायलले गाजा क्षेत्रमा चलाएको नरसंहारको ताण्डवको कारण चालिसौं हजार प्यालेष्टिनीहरुको हत्या भइसकेको छ भने अहिले पछिल्लो चरणमा लेवनानमा गरेका हवाइ हमलामा पनि दिनहुँ सयौं मानिस हताहत भइरहेका छन् । यस युद्धका कारण गाजाक्षेत्र, लेवनान तथा स्वयं इजरायलको सीमाक्षेत्रबाट लाखौं मानिसहरु विस्थापित भइरहेका छन् ।

हिज्बुल्लाहले गाजामा गरिएको नरसंहार नरोकिएसम्म इजरायलविरुद्धको  आक्रमण बन्द नगर्ने बताएका छन्।

संसारको सबैभन्दा ठूलो गैरराज्यीय सैनिक संगठन मानिएको हिजबुल्लाह अत्याधिक हातहतियारले लैस संगठन हो । योसँग पूरै इजरायलको कुनै पनि क्षेत्रमा प्रहार गर्न सक्ने मिसायलहरु रहेको बताइन्छ । हिजबुल्लाहले केही दिनअघि इजरायली जासूसी एजेन्सी मोसादको मुख्यालयमा तेल अविभतर्फ मिसाइल प्रहार गरेको थियो, जुन त्यस्तो जनघनत्व भएको क्षेत्रमा हिज्बुल्लाहले हमला गरेको इतिहासमै  पहिलो घटना हो। इरानको समर्थन रहेको आरोप लाग्ने गरेको हिजबुल्लाहसँग इजरायलको युद्ध चर्किँदै जाँदा चल्ने आक्रमण प्रत्याक्रमणको सिलसिला चल्दै इजरायलले लेवनानमा गाजा क्षेत्रमा जस्तै नरसंहार र विध्वंश मच्चाउने सम्भावना त छँदैछ, त्यसका साथसाथै स्वयं इजरायलले पनि कस्तो क्षति भोग्ने हो त्यो अहिल्यै भन्न नसकिने विश्लेषकहरुले बताउँदै आएका छन् । कतिपय सैन्य विश्लेषकहरुले त केसम्म पनि भनेका छन् भने पूर्ण रुपमा युद्ध चर्केर गयो भने हिजबुल्लाहको मिसाइल र रकेटहरुलाई इजरायलको विश्वचर्चित आइरन डोमले धान्न सक्नेवाला छैन । यसै सन्दर्भमा लाल सागरमा हुति समूहले प्यालेष्टाइनको समर्थनमा गरिररहेको समुद्री हमलालाई निस्तेज गर्न सफलता प्राप्त गर्न नसकिरहेको अमेरिकाले लामो समयसम्म अमेरिकाले इजरायललाई सुरक्षा प्रदान गरिरहन नसक्ने भनी केही समयअघि गरेको टिप्पणी पनि अर्थपूर्ण मानिएको छ ।