नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको पथविचलनका मुख्य कारणहरु
सत्तामा पुग्नुअघि कम्युनिस्ट पार्टीहरुले देखाएको जोश र जाँगरको केही अंश मात्रै पनि प्रयोग गरेको भए समाजवाद उन्मुख कार्यक्रम लागु गर्न कुनै कठिनाइ हुँदैन थियो
आज मलाई बोल्न जुन विषय दिइएको छ, त्यसमा दुई शब्दहरु प्रमुख छन्– पथ र विचलन । नेपाली कम्युनिस्ट आन्दोलन पथ विचलित हुनु/गराउनुमा प्रमुख भूमिका खेल्ने पात्र त त्यसका अग्रदस्ताहरु नै हुन् होलान् । अर्थात् कम्युनिस्ट आन्दोलनको गाडी गुडाउन ड्राइभिङ्ग सिटमा बसेका कम्युनिस्ट पार्टीहरु ! त्यसैले यो शीर्षकमा बोल्ने तयारी गर्दा आज मलाई एउट चुट्किलाको सम्झना आयो, त्यसैबाट शुरु गर्न चाहन्छु । र शुरुमै भनिहालुँ, आज म धेरै गम्भीर कुरा बोल्ने मूड मा छैन । यति गम्भीर विचलनहरु छन् कि त्यसमा परिहासको लेप लगाइएन भने झेल्नै गाह्रो हुन्छ ।
यो समय सपनाहरुको मृत्यु भएको समय हो । भारतका क्रान्तिकारी कवि अवतार सिंह पाशले भनेका थिए, “सबसे खतरनाक होता है सपनो का मर जाना ।’’ सपनाहरु अरु देशमा पनि मर्छन्, हाम्रोमा पनि मरे । तर हाम्रो बिडम्बना के छ भने जसले सपनाहरुलाई जन्म दिए, तिनीहरुले नै एकपछि अर्को गर्दै सपनाहरुलाई मृत्युको घाटमा पुर्याउँदै गए । अब अनेक चिन्ताहरूले थिलथिलो भएको तपाईंहरुको मनलाई म थप बोझिलो किन बनाऊँ? त्यसैले झन्डै तीन दशकअघिको एउटा ‘जोक’ सुनाउने अनुमति चाहन्छु ।
यो समय सपनाहरुको मृत्यु भएको समय हो । सपनाहरु अरु देशमा पनि मर्छन्, हाम्रोमा पनि मरे । तर हाम्रो बिडम्बना के छ भने जसले सपनाहरुलाई जन्म दिए, तिनीहरुले नै एकपछि अर्को गर्दै सपनाहरुलाई मृत्युको घाटमा पुर्याउँदै गए ।
सन् १९९४ मा म बोस्टन युनिभर्सिटी अमेरिकामा उच्च अध्ययनको लागि गएँ। त्यतिबेला बिल क्लिन्टन अमेरिकाका राष्ट्रपति थिए । रुसमा बोरिस येल्त्सिन राष्ट्रपति थिए, र चीनमा चियांग चमिन । येल्त्सिन रुसलाई पूरै पुँजीवादी दिशातर्फ लान तत्पर थिए । चियांग चमिन तंग सियो पिङको सुधारवादी नीति अनुरुप अघि बढ्न खोजिरहेका थिए तर, तर सोवियत संघको विखण्डनले चिन्तित थिए । त्यस परिदृश्यमा १९९७ मा न्युयोर्क टाइम्सको एउटा लेखमा यो चुटकिला प्रकाशित भयो । कस्तो भनेः
“एउटा हाइवेमा तीवटा गाडी लस्करै जाँदै रहेछन्, पहिलो गाडी बिल क्लिन्टनको, दोश्रो बोरिस येल्त्सिनको, तेस्रो चियांग चमिनको । केही अगाडि दायाँ र बायाँ मोडिने मोड रहेछ । दायाँपट्टिको साइनबोर्डमा पुँजीवाद लेखिएको रहेछ, बायाँपट्टिको साइनबोर्डमा समाजवाद । बिल क्लिन्टन इन्डिकेटर लाइट पनि नबाली सिधै दायाँतर्फ मुडेछन् । पछि आइरहेको येल्त्सिनले दायाँ इन्डिकेटर लाइट बालेर दायै मुडेछन् । अन्तिम गाडी चलाइरहेका चियांग चमिनले भने निर्णय गर्न नसकेर पछाडिको सिटमा बसेका तंग सियाओ पिङलाई के गरौं ? भनेर सोधेछन् । तंगले भनेछन् “बायाँपट्टिको बत्ती बाल र दायाँपट्टि गाडी लैजाउ !!’’
त्यसको बीस वर्षपछि सन् २०१६ मा चीनमा राजदूतको कार्यकाल सकेर म नेपाल फर्किने बेलाको एउटा बिदाइ अवसरमा मेरो होस्ट चिनियाँ विदेश मन्त्रालयका एक उपमन्त्रीबाट यो चुटकिला फेरि सुन्न पाएँ । उनी रमाइलो मूडमा थिए, हामी चिनियाँमाथि यस्तो व्यंग्य पनि गर्छन् भनी सुनाइरहेका थिए । अब, यस कार्यक्रमका आयोजकहरुले पथ–विचलनको सन्दर्भमा मलाई निम्तो गर्दा यो चुटकिला किन सम्झना आयो भन्ने तपाईंहरुले बुझिहाल्नु भयो होला । चियांग चमिनले तङको सल्लाह माने कि मानेनन् त्यो म समय रहेछ भने भनुँला । तर नेपाली कम्युनिस्ट आन्दोलनका गाडी चलाइरहेका मुख्य मुख्य गाडी चालक सबैले यो चुटकिलाको तंग कै सल्लाह मानेको देख्छु !
यति भनेपछि पथ–विचलनका धेरै कारणहरु खोतल्नु पर्दैन होला । मेरो भनाइ यहीँ टुङ्ग्याए पनि हुन्छ । तर दिएको समय अझै अलि बाँकी नै छ । त्यसैले आफूलाई लागेका केही कुराहरु बुँदागत रुपले राख्न चाहन्छु ।
१. पथ–विचलनको शाब्दिक अर्थले पनि आफूले हिँड्नु पर्ने मार्ग नहिँडेको वा हिँड्न छोडेको भन्ने बुझाउँछ । नेपाली कम्युनिस्ट आन्दोलनले यात्रा गर्नु पर्ने पथ कुन थियो? उत्तर सरल छ । नेपाली कम्युनिस्ट आन्दोलनले हिँड्नुपर्ने बाटो भनेको समाजवादको बाटो हो । पथ–विचलन यसकारणले भइरहेको छ कि गणतन्त्रको स्थापनापछि यसले समाजवाद जाने बाटोतर्फ हिँडेन । इन्डिकेटर लाइट त त्यसतर्फ बाल्न चाहिँ छोडेको होइन, तर गन्तव्य भने पुँजीवादकै विकास देखिन्छ । यसलाई परिहासको भाषामा भन्ने हो भने अहिले सत्तामा भएका पार्टीहरुले “नेपालमा समाजवादको विकासको लागि पुँजीवादको चरम विकास अपरिहार्य छ’’ जस्ता मन्त्रोचारण गरिरहेका छन् भन्दा अतिशयोक्ति हुने छैन । यो श्री चैतन्य मिश्रजस्ता चिन्तकहरुको ठूलो सफलता हो भन्ने मलाई लाग्छ ।
अहिले सत्तामा भएका पार्टीहरुले “नेपालमा समाजवादको विकासको लागि पुँजीवादको चरम विकास अपरिहार्य छ’’ जस्ता मन्त्रोचारण गरिरहेका छन् भन्दा अतिशयोक्ति हुने छैन ।
२. नेपाली समाज विकासको अहिलेको चरणमा नेपाली विशेषतासहितको कस्तो समाजवाद भन्नेमा भनी पनि खासै अन्योल छैन । २०७२ को गणतन्त्रात्मक संविधानले प्रस्तावनामा नै नेपाली विशेषताको समाजवादको रुपरेखा खिचेको छ । हाम्रो संविधानको प्रस्तावनाको त्यो अंश पढेर सुनाउने अनुमति चाहन्छुः
“बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई सरंक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने ।’’
समाजवादको लक्ष्य प्राप्त हुने मार्गचित्र के हो ? हाम्रो अन्यौल त्यहाँ छ। वर्ग संघर्ष र आत्मिक विकासका कुन कुन मोड पार गरेर त्यो लक्ष्य हासिल गर्न सकिन्छ ? त्यस बारेको गम्भीर गृहकार्य र त्यसतर्फ पाइला चाल्ने प्रयत्नको अभाव छ ।
यो भनेको एक लोक कल्याणकारी राज्यको परिकल्पना हो, जो समाजवादप्रति प्रतिबद्ध छ र त्यसतर्फ उन्मुख पनि । तर यो युरोपेली देशहरुमा अभ्यास गरिएको वेलफेयर स्टेटभन्दा फरक र उन्नत अवधारणा हो । हाम्रो संविधान निश्चित रुपले निजी स्वार्थ र सामाजिक स्वार्थको मिश्रित दस्तावेज हो । तर यसले नेपालका बामपन्थी शक्तिहरुलाई समाजवादतर्फ सचेत रुपले अग्रसर हुने मार्ग खोलिदिएको छ । संविधानमा टेक्दै हामी भन्न सक्छौं– “किनकि हामी समाजवादतर्फ अग्रसर हुन चाहन्छौं र हामी पुँजीवाद मै अल्झिएर बस्न चाहदैनौं त्यसैले हामीलाई समाजवादप्रति प्रतिबद्ध लोककल्याणकारी राज्य चाहिएको छ ।’’
३. त्यस्तो प्रकारको समाजवादको लक्ष्य प्राप्त हुने मार्गचित्र के हो ? हाम्रो अन्यौल त्यहाँ छ। वर्ग संघर्ष र आत्मिक विकासका कुन कुन मोड पार गरेर त्यो लक्ष्य हासिल गर्न सकिन्छ ? त्यस बारेको गम्भीर गृहकार्य र त्यसतर्फ पाइला चल्ने प्रयत्नको अभाव छ । र पथ–विचलन त्यहीँ भएको छ ।
त्यो पथ–विचलन किन भएको छ भने नेपालको अहिलेको संक्रमणकालीन समाजको चरित्र निरुपण गर्न र तदनुसार समाजवादउन्मुख कार्य योजना बनाउन हामी सफल भइरहेका छैनौं । सामन्ती समाजबाट भर्खर बाहिरिदै गएको नेपाली समाजले अहिले पुँजीवादी चरित्र ग्रहण गर्न थालको छ, र ऐतिहासिक भौतिकवादी नियमअनुसार पहिले पुँजीवादको पूर्ण विकास हुनु्पर्छ अनि समाजवादको गन्तव्यमा पुगिन्छ भन्ने तर्क बलशाली छ । तर यो कट्मेरो पुँजीवादलाई विकास गरेर समाजवाद आउँछ भन्ने कुरासंग म सहमत छैन किनकि अहिलेको नवसाम्राज्यवादी युगमा विदेशी वित्तीय पुँजीबाट पालितपोषित, न्यून औद्योगिक पुँजी र विप्रेषणमा टिकेको नेपालको सामाजिक आर्थिक व्यवस्थामा सामन्ती अवशेष र दलाल पुँजीवाद दुवै सहअस्तित्वमा, एकअर्काको पुरक भएर रहेका छन्, यी दुइमध्ये पुँजीवादी चरित्रको प्रधानता हुनुले यस प्रकारको उत्पादन प्रणालीलाई सामन्तवाद मिसिएको वर्णशंकर पुँजीवाद (Hybrid Capitalism) भनिनु उचित हुनेछ । तर यसले सामन्ती सम्बन्धहरुको उन्मुलन गर्नुको सट्टा एउटा लामो समयसम्म प्राक पुँजीवादी वा अर्धसामन्ती सम्बन्धहरुको पुनर्उत्पादन गरिरहन्छ । उदाहरणको लागि वित्तीय पुँजीसंग सम्बधित मिटरव्याजीहरुको चरम सामन्ती शोषणको नेपाली र दक्षिण एशियाली अनुभव हाम्रो अघि छ ।
त्यसैले यो वर्णशंकर पुँजीवादलाई विकसित भइरहन दिने हो भने यसले सामन्ती अवशेषहरु कै पुनरुत्पादन गरिरहन्छ, वातावरणको विनाश गरिरहनेछ, शोषण उत्पीडनलाई तिब्र र व्यापक बनाइ नै रहनेछ, र समाजवादी गन्तव्यमा पुग्न ढिलाइ मात्र गरिरहन्छ । समाजवादतर्फ हिँड्न यो वर्णशंकर पुँजीवादलाई छिटो भन्दा छिटो विस्थापित गर्न आवश्यक छ भन्ने मेरो मत हो ।
वर्णशंकर पूँजीवादलाई विकसित भइरहन दिने हो भने यसले सामन्ती अवशेषहरु कै पुनरुत्पादन गरिरहन्छ, वातावरणको विनाश गरिरहनेछ, शोषण उत्पीडनलाई तिब्र र व्यापक बनाइ नै रहनेछ, र समाजवादी गन्तव्यमा पुग्न ढिलाइ मात्र गरिरहन्छ ।
४. त्यो कसरी गर्ने? अर्थात् हामी समाजवादतर्फ अग्रसर कसरी हुने? यति बेला मलाइ ‘समाजवाद’ शब्द को प्रथम प्रयोगकर्ता रबर्ट ओवेनको सम्झना भइरहेको छ जो मजदूरहरुको सहकारी समाज निर्माण गर्न कृतसंकल्पित थिए र आफू फ्याक्ट्री मालिक भए पनि त्यसमा मजदूरहरुको स्वामित्व हुनुपर्ने मान्यता राख्दथे । स्मरण रहोस्, १८३० मा शुरु गरिएको यो अभ्यास १९१७ को अक्टोबर क्रान्तिपछिको सोभियत रुस, १९४९ पछिको चीनमा र अन्य समाजवादी मुलुकहरुमा विशाल रुपले लागु गरियो । त्यसभन्दा अघि २० औं शताब्दीको शुरु मै स्विडेन, डेनमार्क, नर्व, फिनल्याण्ड जस्ता नोर्दिक देशहरु, जो आज लोककल्याणकारी व्यवस्थाका प्रतिनिधि देश मानिन्छन्, उनीहरुले पनि ओवेन कै सहकारी अनुभवबाट उत्प्रेरणा लिएका थिए । सामन्तवादी समाजबाट बाहिर आइरहेको देशहरुले पुँजीवादी मार्ग अवलम्बन नगरी समाजवादतर्फ बढ्नु थियो भने त्यसो गर्नु अनिवार्य थियो । त्यसैले विश्वभरि नै त्यस किसिमको रुपान्तरणको प्रयोग भयो र आज पनि त्यसका विभिन्न रुपहरुमा विकास हुने क्रम जारी छ ।
बामपन्थी शक्तिहरुको हातमा राज्य सत्ता भएको बेला सहकारी आन्दोलन सुदृढ हुनु र उत्पीडित जनताको स्वामित्वको माध्यम बन्नुको सट्टा गरिव निमुखाहरुको शोषणको माध्यम कसरी बन्न पुग्यो?
तर नेपाल को बिडम्बना के छ भने यहाँ सहकारी भन्ने शब्दनै यति बदनाम भएको छ कि यो पुँजीवादको वैकल्पिक अवधारणा नभएर भ्रष्टाचारको पर्याय बनिरहेको छ । ‘पंचायत’ शब्द जस्तै ‘सहकारी’ शब्द पनि जनता ले सुन्न नरुचाउन थाले भने आश्चर्य मान्नुपर्ने छैन । तर पनि प्रश्न त उठाउनु पर्छ विशेष गरी कम्युनिस्ट आन्दोलनका चालकहरुलाई ! के सहकारी समाजको जगबिना समाजवादको यात्रा सम्भव छ? बामपन्थी शक्तिहरुको हातमा राज्यसत्ता भएको बेला सहकारी आन्दोलन सुदृढ हुनु र उत्पीडित जनताको स्वामित्वको माध्यम बन्नुको सट्टा गरिब निमुखाहरुको शोषणको मध्यम कसरी बन्न पुग्यो? करोडौंको संख्यामा गरिब जनताहरु सहकारीका सदस्य बनेका हुन्, उनीहरुलाई उत्पादन र वितरणको कार्यमा अग्रसर गराउन राज्यले किन अभिरुचि लिएन? वर्ग संघर्ष र वर्ग रुपान्तरणको रापिलो प्रक्रिया बाट नखारिइ त्यस्ता सहकारी समाज परिवर्तनका वाहक बन्न सक्दैनन् । सहकारीसम्बन्धी वर्गीय अडान राख्न नेपाली कम्युनिस्ट आन्दोलन र पार्टीहरु किन सफल नभएका होलान्?
नेपालको बिडम्बना के छ भने यहाँ सहकारी भन्ने शब्द नै यति बदनाम भएको छ कि यो पुँजीवादको वैकल्पिक अवधारणा नभएर भ्रष्टाचारको पर्याय बनिरहेको छ ।
सहकारी भनेको पुँजीवादी उत्पादन र वितरणको वैकल्पिक अवधारणा थियो । ‘जोत्ने को पोत’ को पुँजीवादी नाराको सिमाहरुलाई नाघ्ने सामर्थ्य राख्दथ्यो । पुँजीवादको विकल्प दिने हो भने अब हामीले स्वावलम्बनमा आधारित ‘नयाँ प्रकार को सहकारी’ ( a cooperative of new type) को अवधारण व्यवहारमा ल्याउन र सफल अभ्यास गर्न आवश्यक छ, जसले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार र वातावरण, सबै क्षेत्रमा मुख्य भूमिका खेलोस् र जसलाई राज्यको प्रबल सहयोग सुनिश्चित होस् । अहिलेको जस्तो भ्रष्टाचारको वाहक बनेको ऋण तथा बचत सहकारी होइन, सामाजिक उत्पादन सम्बन्ध, परिवर्तनको अग्रदस्ता, समाजवादी जनवादको प्रारम्भिक रुप, सहकारी लोकतन्त्रको अभ्यास केन्द्र र समाजवादको भ्रुणको रुपमा जनताले स्वामित्व लिने र संचालन गर्ने नयाँ सहकारी । इतिहास साक्षी छ, सहकारी निजी स्वार्थलाई साझा स्वार्थमा रुपान्तरण गर्ने मानसिकताको विकास गर्ने मध्यम हो । समाजवादउन्मुख लोककल्याणकारी राज्यको आधारशिला हो ।
सत्तामा पुग्नुअघि कम्युनिस्ट पार्टीहरुले देखाएको जोश र जाँगरको केही अंश मात्रै पनि प्रयोग गरेको भए समाजवाद उन्मुख कार्यक्रम लागु गर्न कुनै कठिनाइ हुँदैन थियो भन्ने म ठान्छु ।
५. समाजवाद उन्मुखताको त्यस्तो आधारशिला किन नबनेको होला ? के यो ज्ञान को कमीले भएको हो? नेपाली कम्युनिस्ट आन्दोलनमा त्याग, बलिदान, आँट, उद्यम, समर्पणको कमी त थिएन । रुस, चीन, भियतनाम, क्युबा र नोर्दिक देशहरु सबैको अनुभव हाम्रो अघि थियो नै । सत्तामा पुग्नुअघि कम्युनिस्ट पार्टीहरुले देखाएको जोश र जाँगरको केही अंश मात्रै पनि प्रयोग गरेको भए समाजवाद उन्मुख कार्यक्रम लागु गर्न कुनै कठिनाइ हुँदैन थियो भन्ने म ठान्छु । आर्थिक र संस्कृतिक विभेदबाट मुक्तिको आकांक्षा राखेका गरिब किसान र सर्वहाराहरु त्यसका मियो हुने थिए । अन्य देशबाट प्राप्त अनुभवलाई आफ्नो देशमा लागु गर्न केही मेहनत त गर्नै पर्छ । अलिकति तत्सम्बन्धी ज्ञानको पनि कमी भयो होला । तर आधा शताब्दी भएछ म वामपन्थी आन्दोलनमा लागेको । त्यस अनुभवको आधारमा मलाई आज के भन्न मन लागेको छ भने सत्तारोहण गरिसकेपछि हाम्रा ड्राइभरहरुमा ‘ज्ञान’को हैन ‘इमान’ को कमी भएको हो ।
हाम्रा ड्राइभरहरुले आफ्नो विवेक प्रयोग गरेको भए के बारम्बार भ्रष्टाचारको खाल्डोमा खस्नु पर्थ्यो होला? जनवादको सट्टा सर्वसत्तावाद हावी भएको आरोप खप्नु पर्थ्यो होला? जननीतिको सट्टा दलको टुप्पोमा बसेको नेताको निरंकुशता सिरोपर गर्ने संस्कृति निर्माण हुन्थ्यो होला?
अब यो इमानलाई परिभाषित गर्न बडो गाह्रो छ । यो सत्यतथ्य ग्रहण गर्ने मन, विचार र अनुभूतिसंग जोडिएको छ । सबैभन्दा बढी त विवेकसंग जोडिएको छ । लक्ष्मी प्रसाद देवकोटाले एउटा कालजयी कवितामा सोधेका छन्, ‘‘के हो ठूलो जगतमा ?’’ र जवाफ दिएका छन्, “पसिना, विवेक’’ । यो जवाफ मा कवि–चेतनाको सर्वोच्च अभिव्यक्ति भएको मलाई लाग्छ, जसले उनलाई आम जनताले पनि बुझ्ने दार्शनिकको पंक्तिमा उभ्याउछ । ‘पसिना’ अर्थात् शारीरिक र बौद्धिक श्रम, विवेक अर्थात् प्रज्ञा र करुणाबाट अनुप्राणित चेतन मनको त्यो पक्ष, जसले हामीलाई सम्यक दृष्टि प्रदान गर्छ र मानसिक विकारहरु मेटाउन सहयोग गर्छ । हाम्रा ड्राइभरहरुले आफ्नो विवेक प्रयोग गरेको भए के बारम्बार भ्रष्टाचारको खाल्डोमा खस्नु पर्थ्यो होला? जनवादको सट्टा सर्वसत्तावाद हावी भएको आरोप खप्नु पर्थ्यो होला? जननीतिको सट्टा दलको टुप्पोमा बसेको नेताको निरंकुशता सिरोपर गर्ने संस्कृति निर्माण हुन्थ्यो होला? यदाकदा स-साना दुर्घटना हुन सक्थ्यो होला तर पथ–विचलन कै गम्भीर आरोप त खप्नु पर्दैन थियो ।
बाह्य जगत कै प्रतिबिम्बन मनमा हुन्छ तर त्यसले मनमा प्रवेश पाइसकेपछि त्यसको आफ्नै सत्ता हुन्छ, र बाह्य जगतमा परिवर्तन आइसकेपछि पनि लामो समय मनोजगतमा अस्तित्वमा रहिरहन सक्छ । हामीले बाहिरी संसारलाई बदल्ने अभिभारा त उठायौं तर मनको संसारलाई यतिकै रहन दियौं कि?
६. इमान र मनको सन्दर्भले हामीलाई बस्तुगत मात्रै होइन, आत्मगत संसारमा पनि घोत्लिन बाध्य बनाउँछ । सत्य र झुठ, इमान्दारी र बेइमानी, अहंकार र विवेक, एकातिर काम क्रोध आशक्ति र प्रमाद, अर्कोतिर प्रज्ञा करुणा अनासक्ति अप्रमाद, एकातिर यौन चाहना र यौन विकार, अर्कोतिर संयम र बोध, सबै त मनकै संसारमा विचरण गरिरहेका हुन्छन् । बाह्य जगत कै प्रतिबिम्बन मनमा हुन्छ तर त्यसले मनमा प्रवेश पाइसकेपछि त्यसको आफ्नै सत्ता हुन्छ, र बाह्य जगतमा परिवर्तन आइसकेपछि पनि लामो समय मनोजगतमा अस्तित्वमा रहिरहन सक्छ । हामीले बाहिरी संसारलाई बदल्ने अभिभारा त उठायौं तर मनको संसारलाई यतिकै रहन दियौं कि? बस्तुगत संसारलाई बदल्ने चुनौती अनुरुपको प्रयत्न आत्मगत संसारमा गरिएन कि? भीषण संघर्षको आगोको नदी पार गरेर आएका क्रान्तिकारीहरु त नयाँ मान्छेहरु बन्नु पर्ने होइन र, जसले नयाँ समाजको निर्माण गर्न सचेत भूमिका खेलून्? अलिकति सत्ताको स्पर्श पाएपछि उनीहरु भित्र रहेका विकारहरु किन र कसरी सल्बलाएर बाहिर आउन थालेका हुन् ? खै त त्यस्तो प्रेरणादायी व्यक्तित्वहरु जसले सपनाहरुको रक्षा गरेका छन्, जसले आशाको दियो बालेका छन् ?
मन–मस्तिष्कबारे कुरा गर्दा म घण्टौं बोल्न सक्छु, तर अहिले समयको अभाव छ । मेरो प्रस्तुतिमा केही परिहास, केही निराशा र केही तितो पोखियो होला, त्यसैले अलिकति आशा मिसाएर आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु । हामी मध्ये धेरैले शायद आफूलाई मान्छे हुनुको आश्चर्यबोध गर्दैनौं। तर ग्रीक दार्शनिक र ‘इडिपस’ का लेखक सोफोक्लिसले करिब २४०० वर्ष अघि भनेका थिए “यो पृथ्वीमा धेरै आश्चर्य हरु छन् तर सबै भन्दा महान आश्चर्य भनेको मानिस हो ।’’ यो उनले मानिसको मनको संसारमाथि चिन्तन गरेरै भनेका होलान् भन्ने मलाई लाग्छ ।
कल्पना गरौं मनको तीनतले घर छ । सबैभन्दा तल एउटा अचेतन मनको अँध्यारो कोठा छ, जसमा हाम्रा दमित आकांक्षा आवेग र विकारहरु थुनिएका छन्, जसलाई भरसक हामी हेर्न र स्मरण गर्न चाहदैनौं र प्रायश: तिनीहरुको अस्तित्व छ भन्ने पनि हामीलाई थाहा हुँदैन । त्यसभन्दा माथि दोश्रो तल्लामा अवचेतनको कोठा छ, जो अचेतन र चेतन मनसंग अन्तरक्रिया गरिरहन्छ । हाम्रा थुप्रै क्रियाकलापहरु, सकारात्मक र नकारात्मक दुवै, हामीलाई थाहै नभई वा हाम्रा चाहना विपरीत त्यसद्वारा सञ्चालित हुन्छन् । सबैभन्दा माथि एउटा सानो कोठा चेतन मनको जसले छ अवचेतन र अचेतन मनका चाहनाहरुलाई विवेक वा अविवेकद्वारा सम्बोधन गर्न प्रयत्नशील रहन्छ, सचेत निर्णय लिन्छ । यी सबै सकारात्मक र नकारात्मक अनुभूतिहरु मनको संसारमा गतिशील र द्वन्दरत रहन्छन् । अर्को अचम्मको कुरा के छ भने त्यो घर रकेटभन्दा तिब्र गतिले उड्न सक्छ, प्रकाशको गतिभन्दा पनि तेज, एकपल मै एउटा ग्यालेक्सी घुमेर आउन सक्छ । हजारौं वर्ष अघिको कुरा स्मरण गर्न सक्छ । टाइम मेसिन जस्तै एउटा युगबाट अर्को युगमा विचरण गर्न सक्छ ।
त्यस्तो मन यदि भ्रष्ट भइरहन्छ भने उन्नत समाजको निर्माण कसरी सम्भव हुन्छ? मनलाई नजिती नयाँ मान्छे कसरी बन्लान्? त्यसैले समाजवाद भनेको वस्तु जगतको मात्र होइन, मनोजगतको पनि क्रान्तिकारी परिवर्तनको माग हो । समाजवाद यदि ‘म’बाट ‘हामी’को यात्रा हो भने मनोजगतको परिवर्तनबिना त्यो यात्रा सम्भव छैन । त्यसैले नेपाल को मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनका बिगतका एक शताब्दी अवधिका पथ–विचलनमाथि विचार गर्दा शायद सर्वहारावर्गले अब मार्क्सको प्रख्यात आव्हान ‘संसारका मजदूर एक होऔं‘ मा अर्को एउटा शब्द थप्नु आवश्यक भइसकेको छ भन्ने मलाई लाग्छ– त्यो होः
‘हार्नको लागि हत्कडी सिवाय केही छैन तर जित्न को लागि सारा संसार र आफ्नो मन छ ।’ धन्यवाद !
प्रगतिशील रुपान्तरण आन्दोलनले असोज ९ गते आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको पथ–विचलनका मुख्य कारणहरु’ शीर्षकको अन्तरक्रियात्मक विचार गोष्ठी कार्यक्रम– श्रृङ्खला २मा व्यक्त विचार ।
प्रतिक्रिया