आन्द्रा अर्थात हाम्रो दोस्रो मस्तिष्क !

शीर्षक पढ्दा अनौठो लाग्न सक्छ ! तर यो कुरा सत्य हो । आन्द्रालाई हाम्रो दोस्रो मस्तिष्क पनि भन्ने गरिन्छ । यसो भन्नुको पछाडि वैज्ञानिक कारणहरु छन् ।

आन्द्रा र मस्तिष्कले आपसमा संकेतहरू आदानप्रदान गर्छन् । यो क्रिया भ्यागस नर्भ (vagus nerve) मार्फत हुने गर्छ । भ्यागस नर्भको सञ्जाल घाँटीबाट हुँदै छाती र पेटको भागसम्म फैलिएको हुन्छ। भ्यागस नर्भलाई आन्द्रा र मस्तिष्कका केन्द्रहरूलाई जोड्ने टेलिफोन तारसँग पनि तुलना गर्ने गरिन्छ ।

मस्तिष्कले शरीरका सबै अंगहरूलाई निर्देश गर्ने गर्छ ।यो काम अधिकांशत:  धेरै भ्यागस नर्भमार्फत हुने गर्छ । तर अचम्म लाग्दो कुरा के भने आन्द्राको हकमा भने यो कुरा पूर्ण रुपमा लागू हुँदैन । कदाचित कुनै कारणले त्यो  नसा काटियो भने मस्तिष्क र आन्द्राबीचको सम्पर्क त टुट्छ, तर आन्द्राले आफ्नो काम जारी राख्छ।

आन्द्रामा आफ्नै स्नायु प्रणाली हुने गर्छ । त्यही भएर वैज्ञानिकहरुले आन्द्रालाई "दोस्रो मस्तिष्क" को संज्ञा दिने गर्छन् । आन्द्रामा ठूलो संख्यामा न्यूरोनहरू र सहायक कोषहरू हुन्छन्, जसले धेरै प्रकारका न्यूरोट्रान्समिटरहरू उत्पादन गर्छ।

आन्द्रालाई दोस्रो मस्तिष्क भनिनु वैज्ञानिक आधारमा आधारित छ, र यो कुनै मिथ्या विश्वास होइन। वैज्ञानिक रूपमा प्रमाणित भइसकेको कुरा के हो भने हाम्रो आन्द्रामा एउटा स्वतन्त्र स्नायु प्रणाली (nervous system) हुन्छ ।

आन्द्रामा एन्टरिक नर्भस सिस्टम (Enteric Nervous System – ENS) हुन्छ । एन्टरिक नर्भस सिस्टम मस्तिष्कसँग सम्बन्धित त हुन्छ, तर यो प्रणाली मस्तिष्कबाट पूर्ण रूपमा स्वतन्त्र पनि काम गर्न सक्छ। ENS आन्द्राको स्वतन्त्र स्नायु प्रणाली हो, जुन करिब ५० करोड न्यूरोन (मस्तिष्कका कोशिका) हरूबाट बनेको हुन्छ। यद्यपि यो स्वतन्त्र रूपमा पाचन प्रक्रियालाई नियन्त्रित गर्न सक्षम हुन्छ, ENS र मस्तिष्कबीच गहिरो सम्बन्ध पनि हुन्छ। यो सम्बन्धलाई गट-ब्रेन एक्सिस  (Gut-Brain Axis) भनिन्छ।

आन्द्रा र मस्तिष्कबीचको मुख्य सञ्जाल भ्यागस नर्भ (vagus nerve) नै हो। यो नसाले मस्तिष्क र आन्द्राबीच सन्देशहरू आदानप्रदान गर्न मद्दत गर्ने गर्छ । तर केही गरेर भ्यागस नर्भ काटिएको अवस्थामा पनि आन्द्राले आफ्नो कार्यलाई स्वतन्त्र रूपमा जारी राख्न सक्छ। यो भनेको आन्द्रा मस्तिष्कबाट पूर्ण रूपमा निर्देशित हुनुपर्दैन भन्ने कुराको प्रमाण हो। मस्तिष्कबाट सन्देश बिना पनि आन्द्राले स्वतन्त्र रूपमा काम गर्न सक्ने गरी  स्वायत्त (autonomous) हुने भएकोले गर्दा पनि  आन्द्रालाई "दोस्रो मस्तिष्क"को उपाधि दिइएको हो ।

स्वायत्त रुपमा काम गर्न सक्ने भए पनि आन्द्रा र मस्तिष्कबीच गहिरो सम्बन्ध हुन्छ, जसलाई गट-ब्रेन एक्सिस भनिन्छ। हाम्रो पाचन प्रणालीमा गडबडी हुँदा मानसिक स्वास्थ्यमा पनि असर पर्न सक्छ, र मानसिक तनाव वा चिन्ता हुँदा आन्द्राको कार्यमा समस्या देखिन सक्छ।

आन्द्राको स्वास्थ्यले हाम्रो मस्तिष्कको कार्यप्रणालीमा सीधा असर पार्छ। स्वस्थ आहारले आन्द्रामा हुने न्यूरोट्रान्समिटरहरूको उत्पादनलाई सन्तुलित गर्छ, जसले मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।