विचित्रका खन्चुवा तरारे, जसले भोक लाग्दा जेसुकै चीज पनि खाने गर्थे !
सामान्यतया हाम्रो समाजमा औसतभन्दा बढी खाने मानिसहरूलाई खन्चुवा, पेटु, हन्तकाली, भुक्खड आदि इत्यादि भन्ने गरिन्छ। अझ कसैलाई त "कस्तो अगस्ती जस्तो रहेछ" समेत भनिन्छ। अगस्ती एक जना पौराणिक कालका ऋषि थिए। भनिन्छ, उनले समुद्रलाई समेत पुरै पिएर रित्याउन सक्थे रे। मानव समाजमा लिखित इतिहासको प्रचलन सुरु भइसकेपछि एक जना त्यस्ता खन्चुवा व्यक्तिको चर्चा पाइन्छ, जो हाम्रा अगस्ती ऋषिभन्दा कम थिएनन्।
१८औं शताब्दीमा फ्रान्सको लियोन नजिकैको ग्रामीण क्षेत्रमा तरारे नाम गरेका एक जना व्यक्ति थिए। उनको जन्म सन् १७७२ तिर भएको अनुमान गरिन्छ। किशोरावस्थामा पुग्दा उनको खुवाइ असामान्य भइसकेको थियो। तरारे हरेक दिन आफ्नो शरीरको वजन बराबरको ‘विफ’ खान सक्थे। उनको निर्धन परिवारले त्यत्रो खुराक पुर्याउन सम्भव थिएन। आजित भएर उनका बाउआमाले उनलाई घरबाट निकालिदिए। घरबाट परित्यक्त तरारे सडकमा आवारा जीवन बिताउन थाले। उनी फ्रान्सभरि डुलेर सर्कस देखाउने चटके, बेश्या र चोरहरूको मण्डलीमा सामेल भए। यो टोलीका केही सदस्यले भिड जम्मा गरेर एकातिर चटक देखाउँथे भने अर्कोतर्फ अरूले दर्शकहरूको पाकेटमार्ने काम गर्थे। यो चटकेको टोलीमा सबैभन्दा आकर्षणको केन्द्र थिए तरारे।
तरारे हरेक दिन आफ्नो शरीरको वजन बराबरको ‘विफ’ खान सक्थे। उनको निर्धन परिवारले त्यत्रो खुराक पुर्याउन सम्भव थिएन। आजित भएर उनका बाउआमाले उनलाई घरबाट निकालिदिए।
चटक देखाउने क्रममा तरारेले साधारण मानिसको तुलनामा आफ्नो अति फराकिलो ओठबिहीन मुख खोलेर कर्क, ढुंगा र पुरै एक डालो स्याउ खन्याएर भकाभक एक पछि अर्को गर्दै निल्न थाल्थे। उनले आफ्नो गालामा लोखर्केजस्तै आधा दर्जन स्याउ राख्न सक्थे। त्यसैगरी, दर्शकहरूलाई अचम्मित र स्तब्ध पार्दै, उनी जनावरहरूलाई पनि सिंगै निल्थे। जनावरहरूमा उनको सबैभन्दा प्रिय चाहिँ सर्प थियो। उनको कृत्य देख्नेहरूका अनुसार, तरारेले जिउँदो बिरालोलाई दाँतले टोकेर मार्थे, आन्द्राभुँडी निकाल्थे, रगत चुस्थे र खान्थे। उनले त्यो बिरालोको कंकालमात्र बाँकी राख्थे। उनले कुकुरलाई पनि त्यही शैलीमा खान्थे। एक पटक त उनले एउटा ईल माछालाई नचपाई जिउँदै निलेका थिए। तरारेको ख्याति, अथवा कुख्याति, त्यसबेलाको फ्रान्सका मानिसहरूमा मात्र होइन, पशु जगतमा पनि फैलिएको थियो। त्यसबेलाका फ्रान्सका सेनाका सर्जन ब्यारोन पर्सी (जसले तरारेलाई उपचार गर्ने प्रयास पनि गरेका थिए) का अनुसार, तरारेको उपस्थितिमा कुकुर र बिरालोहरू त्रसित भएर भाग्थे। मानौं उनीहरूलाई आफ्नो नियतिको पुर्वआभाष हुन्थ्यो।
उनले एकपटक पन्ध्र जनाको खाना तरारेलाई दिए, जसलाई तरारेलले सजिलै खाइदिए। त्यसैगरी, तरारेको पाचन शक्तिलाई परीक्षण गर्न उनलाई बिरालो, कुकुरका बच्चा, सर्प, र छेपारो समेत खान दिए, जुन उनले सहजै खाए। तरारेको खाने शक्ति देखेर डाक्टरहरू समेत चकित परेका थिए।
सन् १७९२ मा फ्रान्सको क्रान्तिकारी सरकारले युद्ध घोषणा गर्यो। तरारे फ्रान्सको क्रान्तिकारी सेनामा भर्ती भए। त्यहाँ पनि उनलाई मुख्य समस्या खानाकै परेको थियो। सैनिकको रासनले पेट नभरिएपछि उनले खानेकुराको बदलामा सैन्य क्याम्पका अन्य सैनिकहरूको काम गरिदिन्थे। तर त्यसले पनि उनको पेट भरिदिँदैन थियो। तरारेले फोहरमैला फ्याँक्ने ठाउँबाट पनि खानेकुरा खोजेर खाने गर्थे। जति खाए पनि तरारेको पेट भर्न सम्भव नै हुन्नथ्यो। एक दिन उनी भोक र कमजोरीले ढल्न पुगे र उनलाई सेनाको अस्पतालमा भर्ती गरियो। उनलाई फ्रान्सका सेनाका सर्जन ब्यारोन पर्सीको रेखदेखमा उपचार सुरु गरियो। सर्जनले तरारेको खुराक चार गुणा बढाइदिए, तर त्यसले पनि उनको भोक शान्त हुँदैन थियो। उनले अस्पतालका अरू बिरामीहरूको खाना चोरेर खान थाले, साथै अस्पतालको स्टोरमा राखिएको ब्यान्डेज चपाउन थाले। तरारेको खाने क्षमता देखेर सर्जन ब्यारोन पर्सीले उसको बारेमा गहिरो अनुसन्धान गर्न थाले। उनले एकपटक पन्ध्र जनाको खाना तरारेलाई दिए, जसलाई तरारेलले सजिलै खाइदिए। त्यसैगरी, तरारेको पाचन शक्तिलाई परीक्षण गर्न उनलाई बिरालो, कुकुरका बच्चा, सर्प, र छेपारो समेत खान दिए, जुन उनले सहजै खाए। तरारेको खाने शक्ति देखेर डाक्टरहरू समेत चकित परेका थिए। उनको कदकाठी एकदम सामान्य थियो र तौल जम्मा १०० पाउन्ड (४५ किलो) थियो। उनले जिउँदै जीवजन्तु र कुडाकर्कट खाए पनि उनको मानसिक अवस्था ठिक थियो।
जनरल बुहार्मेले तरारेमाथि एउटा प्रयोग गरे। एउटा सानो काठको बाकसमा एउटा दस्तावेज राखे र त्यसलाई तरारेलाई निल्न लगाए।
सर्जन पर्सीका अनुसार, तरारेका आँखा राता हुन्थे। उनले खाना खाएपछि उनको पेट बेलुनजस्तै फुल्थ्यो। जब पेट खाली हुन्थ्यो, उनको छाला यति तल झुल्थ्यो कि त्यो लत्रिएको छालालाई पेटको वरिपरि पेटीजस्तै गरेर बाँध्न सकिन्थ्यो। त्यसैगरी, उनका गाला हात्तीका कानझैं तल लत्रिएका हुन्थे। खाना खाएलगत्तै तरारे शौचालय जान्थे र उनले खाएका लगभग सबै कुरा निस्कासन गर्थे। त्यो दृश्य कल्पना गरेभन्दा पनि दुर्गन्धित हुन्थ्यो। उनको शरीर तातेर रन्किएको हुन्थ्यो, र शरीरबाट पसिनाको धारा बगिरहेको हुन्थ्यो, जसको गन्ध ढलको पानीजस्तै हुन्थ्यो। उनको शरीरबाट यस्तो दुर्गन्ध निस्किन्थ्यो कि २० पाइला परसम्म आइपुग्थ्यो। तरारेको शरीरबाट निस्किएको पसिना बाफ बनेर उठ्थ्यो, जुन उनको वरिपरि दुर्गन्धित बादलझैं मडारिरहेको प्रस्ट देखिन्थ्यो।
फ्रान्सका सेनाका जनरल अलेक्जेन्डर डु बुहार्मेले तरारेको यो बिचित्रको शारीरिक अवस्थाको उपयोग गर्ने विचार गरे। जनरल बुहार्मेले तरारेमाथि एउटा प्रयोग गरे। एउटा सानो काठको बाकसमा एउटा दस्तावेज राखे र त्यसलाई तरारेलाई निल्न लगाए। अनि उनले तरारेले त्यसलाई शरीरबाट निस्कासन नगरिन्जेल पर्खिए। त्यसपछि, एक जना सैनिकलाई तरारेको दिसाबाट त्यो बाकस निकाल्न लगाए र त्यस भित्र रहेको दस्तावेज पढ्न सकिन्छ कि सकिँदैन भनेर जाँच गरे। जनरलको सोचअनुसार नै बाकस भित्रको दस्तावेज पढ्न सकिने अवस्थामा थियो।
अब तरारेलाई एउटा मिसनमा पठाइने भयो। उनले प्रशियन (जर्मन) किसानको भेष धारण गरेर शत्रुको पंक्ति पार गर्दै प्रशियाको कब्जामा रहेको फ्रान्सको कर्नेललाई अति गोप्य सन्देश पुर्याउनु पर्ने थियो। सो सन्देश उनले आफ्नो पेट भित्र बोकेर लानेवाला थिए। यो मिसनमा जानु अघि तरारेलाई एक हाते गाडाभरि लगभग ३० पाउन्ड गोरुको भित्री अङ्गहरू खान दिइयो। उनले भकाभक खान थाले, र त्यही मासुसँगै गोप्य सन्देश राखिएको काठको बाकस पनि उनलाई निल्न लगाईयो। तरारेले सहजै त्यो पनि निले।
तरारेले बाध्य भएर आफूले गोप्य सन्देश बोकेर ल्याएको कुरा खुलाए, र त्यो अहिले पेट भित्र रहेको जानकारी दिए। प्रशियनहरूले तरारेलाई शौचालयमा फलामे सिक्रीले बाँधेर राखे।
तर, तरारे आफ्नो मिसनमा सफल भएनन्। सफल पनि हुन् कसरी? जसको शरीरबाट यस्तो भयानक दुर्गन्ध निस्कन्छ, जो कुडाकर्कटबाट खानेकुरा टिपेर खान्छ, र जसलाई प्रशियन किसानको भेष बनाइएको छ तर एक शब्द पनि जर्मन भाषा बोल्न आउँदैन, त्यस्तो व्यक्तिलाई शत्रुको नजरमा पर्नु कुनै अचम्मको कुरा थिएन। प्रशियनहरूले तरारेलाई फ्रान्सको जासुस हो भनेर सजिलै पहिचान गरे र गिरफ्तार गरे। प्रशियनहरूले तरारेलाई नाङ्गै पारे, कोर्रा लगाए र विभिन्न तरिकाले यातना दिए। उनले बाध्य भएर आफूले गोप्य सन्देश बोकेर ल्याएको कुरा खुलाए, र त्यो अहिले पेट भित्र रहेको जानकारी दिए। प्रशियनहरूले तरारेलाई शौचालयमा फलामे सिक्रीले बाँधेर राखे। त्रसित र अपमानित तरारेलाई शौचालयमा दिसा नभएसम्म बस्नुपर्यो। जब घण्टौंपछि दिसासँगै उनले निलेको गोप्य सन्देश भएको बाकस निस्कियो, प्रशियनहरूले त्यसलाई खोलेर हेरे। बाकस भित्र भेटिएको पत्रमा प्राप्तकर्तालाई ‘के उनलाई तरारेले सफलतापुर्वक संदेश हस्तान्तरण गर्यो कि गरेन’ भनेर जानकारी दिन अनुरोध गरिएको थियो ।
अलेक्जेन्डर डु बुहार्मेले तरारेमाथि पूर्णरूपमा विश्वास गरेका थिएनन् र कुनै महत्वपूर्ण सूचना पठाएका थिएनन्। यो केवल एउटा परीक्षण मात्र थियो। फ्रेन्चहरूको यो चालबाजीबाट आक्रोशित हुँदै प्रशियन जनरलले तरारेलाई मृत्युदण्ड दिन आदेश दिए। तरारेलाई झुन्ड्याउने ठाउँमा पुर्याइयो। तर, तरारेको रुवाइ र उनको दयनीय अवस्था देखेर प्रशियन जनरलको मन पग्लियो। जनरलले तरारेलाई यस्तो काम फेरि नगर्न चेतावनी दिंदै हल्का कुटपिट गरेर सिमाना कटाएर फ्रान्सतिरै धपाउने आदेश आफ्ना सैनिकहरूलाई दिए।
फ्रान्समा सुरक्षित रूपमा फर्किएपछि, तरारेले फ्रेन्च सेनासँग अब आफूलाई यसरी जासुसी गर्न नपठाउन अनुरोध गरे। उनले फ्रान्सका सेनाका चिकित्सक सर्जन ब्यारोन पर्सीलाई आफ्नो उपचार गरेर अरू मानिसजस्तै सामान्य बनाइदिन बिन्ती गरे। सर्जन ब्यारोन पर्सीले पनि उनको अनुरोध स्वीकार गर्दै तरारेको उपचार सुरु गरे। सर्जन पर्सीले आफूले जानेजति सबै औषधिको प्रयोग गरे। उनले तरारेलाई वाइन, भिनेगर, तमाखुको गोली र लौडेनेम (अफिमको टिन्चर) जस्ता त्यतिबेलाका उपलब्ध औषधिहरु खुवाए। तर, तरारेलाई त्यसले केही फरक पारेन। उनको भोक जस्ताको त्यस्तै रहिरह्यो। जति खाए पनि उनको भोक मर्दैनथ्यो। उनी खानाको खोजीमा अस्पतालको हरेक ठाउँमा खोजी गर्दै हिँड्थे। कहिलेकाहीँ उनलाई अस्पतालका बिरामीहरूको शरीरबाट निकालिएको रगत पिउँदै गरेको अवस्थामा भेटिन्थ्यो भने कहिलेकाहीँ मुर्दाघरमा लासको मासु खाँदै गरेको अवस्थामा। एकपटक अस्पतालबाट १४ महिनाको बच्चा हरायो। अस्पतालमा हल्ला फैलियो कि त्यो बच्चा तरारेले नै खाएको हुनुपर्छ भनेर। सर्जन ब्यारोन पर्सी पनि तरारेसँग आजित भइसकेका थिए। अस्पतालका कर्मचारी र बिरामीहरू सबै मिलेर उसलाई त्यहाँबाट लखेटेर धपाए।
सर्जन पर्सीले आफूले जानेजति सबै औषधिको प्रयोग गरे। उनले तरारेलाई वाइन, भिनेगर, तमाखुको गोली र लौडेनेम (अफिमको टिन्चर) जस्ता त्यतिबेलाका उपलब्ध औषधिहरु खुवाए। तर, तरारेलाई त्यसले केही फरक पारेन। उनको भोक जस्ताको त्यस्तै रहिरह्यो। जति खाए पनि उनको भोक मर्दैनथ्यो।
चार वर्षपछि, १७९८ मा, फ्रान्सको अर्को सहरबाट एक जना चिकित्सकले सर्जन ब्यारोन पर्सीलाई सम्पर्क गरे। उनले तरारे मृत्युशैयामा रहेको र उसले सर्जन ब्यारोन पर्सीलाई फेरि भेट्न चाहेको खबर दिए। सर्जन ब्यारोन पर्सी तुरुन्तै तरारेलाई भेट्न पुगे। तरारेको अवस्था निकै नाजुक थियो। तरारेलाई दुई वर्षअघि आफूले एउटा सुनको काँटा निलेको र त्यसपछि बिरामी पर्न थालेको भन्दै सर्जन ब्यारोन पर्सीलाई त्यो काँटा निकालेर आफ्नो जीवन बचाइदिन अनुरोध गरे। तर, तरारे क्षयरोगबाट ग्रसित थिए र उनी अन्तिम अवस्थामा पुगिसकेका थिए। डाक्टरले समेत केही गर्नसक्ने अवस्था थिएन। एक महिनाभित्रै तरारेको मृत्यु भयो।
तरारेको मृत्युपछि, सर्जन ब्यारोन पर्सीले उनको शरीरको पोस्टमार्टम गर्ने निर्णय लिए। उनी जान्न चाहन्थे कि तरारेको शरीरभित्र के थियो, उनी कुन रोगबाट ग्रसित थिए, र किन उनलाई यति धेरै भोक लाग्दथ्यो। तर, उनको शवको पोस्टमार्टम गर्नु कुनै सजिलो काम थिएन। जीवित हुँदा तरारेको शरीरबाट निस्कने दुर्गन्ध मृत्युपछि झन् भयानक बनेको थियो। चिकित्सकहरूलाई त्यहाँ सास फेर्न पनि गाह्रो भइरहेको थियो।
जब चिकित्सकहरूले तरारेको शरीर चिरेर हेरे, उनीहरुले पत्ता लगाए कि तरारेको खानेनली अस्वाभाविक रूपले ठुलो थियो। मुखबाट सिधै पेटसम्म देख्न सकिन्थ्यो, जसबाट एक फुट परिधिको सिलिन्डरलाई तालुमा नछुवाई निल्न सजिलै निल्न सकिन्थ्यो। त्यो खानेनली पनि अल्सरले ग्रस्त थियो। त्यस्तै, पेटभित्रका अंगहरू आपसमा जोडिएका, पिपले डुबेका र सडेको अवस्थामा थिए। कलेजो अस्वाभाविक रूपमा ठुलो र एकरूपता नभएको र सड्न लागेको अवस्थामा थियो। पित्त थैली उल्लेखनीय रूपमा ठुलो थियो। आमाशय अल्सरका टाटाहरूले ग्रस्त र खुकुलो अवस्थामा थियो, जसले पेटको लगभग सम्पूर्ण भाग ओगटेको थियो। त्यस्तै तरारेले भने अनुसार उसको पेट भित्र कुनै सुनको काँटा पनि भेटिएन।
चिकित्सकहरूका अनुसार, तरारेलाई लाग्ने अत्यधिक भोक, अत्यधिक पसिना आउने, र पातलो कपाल जस्ता लक्षणहरूलाई विचार गर्दा सम्भवत: उनी हाइपरथाइराइडिज्मबाट ग्रस्त भएका हुनसक्छन्।
चिकित्सकहरू तरारेको अत्यधिक भोकको रहस्य पत्ता लगाउन चाहन्थे। तर, उनको शरीरबाट निस्किरहेको दुर्गन्ध यति असहनीय भइसकेको थियो कि सर्जन ब्यारोन पर्सी लगायत चिकित्सकहरूको टिमले पोस्टमार्टम बीचमै रोक्न बाध्य भए।
तरारेले आफ्नो जीवन १८औँ शताब्दीको उत्तरार्धमा बिताएका थिए। त्यस बेला चिकित्सा विज्ञान धेरै पिछडिएको अवस्थामा थियो। अहिलेको जस्तो बिकसित थिएन। बर्तमान समयको चिकित्सा विज्ञानको दृष्टिकोणबाट तरारेको शारीरिक अवस्थाका लक्षणहरू हेर्दा केही अनुमान लगाउन सकिन्छ। चिकित्सकहरूका अनुसार, तरारेलाई लाग्ने अत्यधिक भोक, अत्यधिक पसिना आउने, र पातलो कपाल जस्ता लक्षणहरूलाई विचार गर्दा सम्भवत: उनी हाइपरथाइराइडिज्मबाट ग्रस्त भएका हुनसक्छन्। अर्को अनुमानअनुसार, तरारे प्राडर-विलि सिन्ड्रोमबाट ग्रस्त थिए होला। यो सिन्ड्रोमबाट ग्रस्त व्यक्तिलाई निरन्तर भोक लागिरहन्छ र उसले आफ्नो पेट भर्नका लागि अखाद्य वस्तुहरू पनि खान सक्छ। त्यस्तै, अर्को सम्भावनाको रूपमा मस्तिष्कको ऐमिग्डाला क्षेत्रमा भएको क्षतिलाई पनि लिन सकिन्छ। ऐमिग्डालामा भएको क्षतिले मानिसमा अत्यधिक भोक लाग्ने गर्दछ, जसलाई चिकित्सकीय भाषामा पोलीफ्यागिया (polyphagia) भनिन्छ।
तरारेका कुरा अहिले हामीलाई अविश्वसनीय र अकल्पनीय लाग्छ तर त्यो इतिहासको एउटा कालखण्ड (सन् १७७२ देखि १७९८ सम्म) मा घटित सत्य घटना थियो । कदाचित तरारे अहिलेको अवस्थामा जीवित हुन्थे भने उनी वैज्ञानिक अनुसन्धानका लागि एउटा गज्जबको विषय हुन सक्थे । त्यसमाथि थप, उनको त्यो अगस्ति क्षुधा गिनेस बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमानी रेकर्ड कै रुपमा पनि पक्कै दर्ज हुने थियो ।
प्रतिक्रिया