कफी बिहानको लागि ऊर्जा दिने पेय मात्र हैन, थप फाइदाजनक पनि हुन सक्छ !

एक नयाँ अनुसन्धानले कि बिहानको कप कफीले तपाईलाई ऊर्जा प्रदान गर्ने मात्र होइन, त्यो भन्दा बढी फाइदाजनक हुन सक्ने देखाएको छ ।

"उचित मात्रामा क्याफिनको सेवनले हृदय रोगको जोखिमलाई कम गर्ने कुरा एक नयाँ अध्ययनले देखाएको छ ।

प्रतिदिन एकदेखि तीन कप कफी वा चियाको सेवनले कार्डियोमेटाबोलिक मल्टिमोर्बिडिटीको जोखिमलाई कम गर्ने कुरा सो अध्ययनका प्रमुख लेखक, चीनको सुजोमा रहेको सुछाउ विश्वविद्यालयका महामारी र बायोस्ट्याटिस्टिक्सका एसोसिएट प्रोफेसर डा. चाओफु केले बताए।

कार्डियोमेटाबोलिक मल्टिमोर्बिडिटी (CM) भन्नाले एउटै व्यक्तिमा कम्तिमा दुईवटा कार्डियोमेटाबोलिक रोगहरू, जस्तै हृदय रोग, स्ट्रोक, मधुमेह, र उच्च रक्तचापको उपस्थिति हुनु हो ।

डा. चाओफु के अनुसार, "कफी र क्याफिनको सेवनले कार्डियोमेटाबोलिक मल्टिमोर्बिडिटी विकासको लगभग सबै चरणमा महत्त्वपूर्ण सुरक्षात्मक भूमिका खेल्न सक्छ।" यसको अर्थ कफी वा क्याफिनको नियमित सेवनले यी रोगहरूको जोखिमलाई कम गर्न मद्दत पुर्याउन सक्छ।

अनुसन्धाताहरूले बेलायतको बायोबैंकबाट ३६०,००० भन्दा बढी व्यक्तिहरूको तथ्याङ्कलाई विश्लेषण गरेका थिए। यो बायोबैंक एक ठूलो बायोमेडिकल डाटाबेस हो जसले दीर्घकालीन रूपमा व्यक्तिहरूको बारेमा जानकारी संकलन गर्ने गर्छ ।  अध्ययनमा समावेश व्यक्तिहरूलाई अध्ययनको सुरुवातमा कुनै कार्डियोमेटाबोलिक रोगहरू (जस्तै हृदय रोग, मधुमेह, स्ट्रोक) लागेको थिएन ।

अध्ययनमा सहभागी व्यक्तिहरू आफैंले कफी, कालो चिया, वा हरियो चियाबाट क्याफिन सेवन गर्ने गरेको कुरा जानकारी गराएका थिए । साथै उनीहरुमा विकसित कार्डियोमेटाबोलिक रोगहरूको जानकारी प्राथमिक हेरचाह डेटा, अस्पतालका रेकर्डहरू, र मृत्यु प्रमाणपत्रहरूबाट संकलन गरिएको थियो। यो जानकारी एन्डोक्राइन सोसाइटीको जर्नल अफ क्लिनिकल एन्डोक्रिनोलोजी एन्ड मेटाबोलिज्म (Journal of Clinical Endocrinology & Metabolism) मा प्रकाशित मंगलबारको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ।

डा. चाओफु केका अनुसार, उचित मात्रामा क्याफिन सेवन गर्ने व्यक्तिहरूमा नयाँ कार्डियोमेटाबोलिक मल्टिमोर्बिडिटीको जोखिम घटेको पाइयो। उनीहरूले प्रतिदिन एकदेखि तीन कप कफी सेवन गर्दा उनीहरूमा जोखिम ४८.१% ले घटेको पाइएको थियो । त्यसैगरी, उनीहरूले प्रतिदिन २०० देखि ३०० मिलिग्राम क्याफिन सेवन गर्दा जोखिम ४०.७% ले घटेको देखिएको थियो। यस तुलनामा, कफी नपिउने वा एक कपभन्दा कम पिउने व्यक्तिहरूमा भने यो जोखिम उच्च रहेको देखियो।

क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोमा कार्डियोलोजीका एसोसिएट प्रमुख र मेडिसिनका प्रोफेसर रहेका डा. ग्रेगरी मार्कसका अनुसार, अध्ययनको नमूना आकार (sample size) ठूलो थियो र यसले क्याफिनले हृदय स्वास्थ्यमा कसरी असर गर्छ भन्ने हेर्नका लागि अध्ययनमा विभिन्न बायोमार्करहरू प्रयोग गरेर नतिजाहरूलाई विश्लेषण गरिएको थियो। यो अनुसन्धानले मुटुको स्वास्थ्यमा  क्याफिनको प्रभावबारे एक सबल दृष्टिकोण बनाएको डा. मार्कसको कथन छ ।  उनी आफैं चाहिँ यो अनुसन्धानमा संलग्न थिएनन्।

डा. ग्रेगरी मार्कसका अनुसार, "यी अवलोकनहरूले क्याफिन र क्याफिनयुक्त सामान्यतः उपभोग गरिने प्राकृतिक पदार्थहरू, जस्तै चिया र कफी, हृदय स्वास्थ्यलाई वृद्धि गर्न सक्छन् भन्ने कुराको पक्षमा थप प्रमाणहरु जुटाएको छ । 

यस अध्ययनको कार्यविधि (methodology) बलियो रहेको उल्लेख गर्दै डा. ग्रेगरी मार्कसले यस अध्ययनको नतिजा क्याफिन र हृदय स्वास्थ्यबारे पहिले भएका तथ्यहरूसँग मेल खाने तर, क्याफिन र हृदय स्वास्थ्यबीचको सम्बन्धको गहिराइ कति छ भन्ने बारेमा अझै पनि केही प्रश्नहरू बाँकी रहेको बताउँछन् ।

उदाहरणका लागि, क्याफिनले स्वास्थ्यमा पर्ने प्रभावहरू व्यक्ति अनुसार फरक हुन सक्छन्, र यसले लामो समयसम्म हृदय रोगहरूको जोखिमलाई कसरी घटाउँछ भन्ने विषयमा अझ बढी अनुसन्धानको खाँचो छ। यो अध्ययनले मात्र क्याफिनको खपत र हृदय स्वास्थ्यका बीचको सम्बन्धलाई संकेत गरेको हो, तर अन्य कारणहरू र दीर्घकालीन प्रभावहरूबारे अझ गहन अध्ययन हुनु आवश्यक छ।

डा. ग्रेगरी मार्कसले भनेझैं, "यस अनुसन्धानको तथ्यहरुले  क्याफिन, चिया र कफी तथा कार्डियोभास्कुलर रोगहरूको जोखिम कम हुनुको बीचको सम्बन्धलाई संकेत गर्छ तर हामीले वास्तविक कारणात्मक प्रभावहरू (causal effects) बारे निष्कर्ष निकाल्नुअघि सतर्क रहनुपर्छ।"

यसको अर्थ, क्याफिन र हृदय स्वास्थ्यको बीचको सम्बन्ध देखिएको भए पनि, यसको स्पष्ट कारणहरू पत्ता लगाउन र निश्चित रूपमा भन्नुअघि थप अध्ययन आवश्यक छ। अध्ययनहरूले देखाएको सम्बन्धलाई सही कारणको रूपमा पुष्टि गर्न अनेक अन्य कारकहरूको पनि विश्लेषण गर्नु आवश्यक हुन्छ, किनभने हृदय स्वास्थ्यमा असर पार्ने अन्य थुप्रै कारणहरू पनि हुनसक्छन्।

यो अध्ययन आफैमा अवलोकनात्मक अध्ययन भएको कारणले यसले केवल क्याफिन र हृदय स्वास्थ्य बीचको सम्बन्ध मात्र देखाउन सक्ने उनको भना छ । उनका अनुसार, सुधारिएको हृदय स्वास्थ्यको कारण यो मात्रै नभई अन्य तत्वहरू पनि हुन सक्छन् ।

“यसको अर्थ यो पनि  हुन सक्छ कि अध्ययनमा देखिएका क्याफिनको सुरक्षा प्रभावहरू नहुन पनि सक्छन् र ती सकारात्मक सम्बन्धहरू हालसम्म अज्ञात वा मापन नगरिएका  निर्धारक तत्वहरूद्वारा भएका हुन सक्छन्,” मार्कसको थप भनाइ छ ।

“उदाहरणको लागि, सायद यी पदार्थहरूलाई बढी प्रयोग गर्नेहरूले प्रायः स्वस्थ आहार खाना खाने वा बढी शारीरिक सक्रियता राख्ने गर्छन् ।”

अध्ययनले कार्बोनेटेड पेय पदार्थहरू वा ऊर्जा ड्रिंक्सबाट प्राप्त हुने क्याफिनको प्रभावलाई पनि हेक्का राखेनन्, जसको अर्थ के हो भने  ती पदार्थहरूले पनि सकारात्मक प्रभाव पार्नेछन् कि छैनन् भन्ने बारेमा शोधकर्ताहरू बताउन सक्दैनन्,  प्रोफेसर डा. चाओफु के बताउँछन् ।

कफी पिउनु सुरू गर्ने कि नगर्ने ?

धेरै साहित्यले क्याफिनको सेवनबाट फाइदा देखाउँछ।

केही अध्ययनहरूले मधुमेहको जोखिम कम गर्ने देखाएका छन्,  मार्कसले भन्छन् । आफ्नो र अरूको अनुसन्धानलाई सङ्केत गर्दै मार्कसले प्रचलित धारणाको विपरीत, कफीमा हुने क्याफिनले मुटुको असमान्य चाल हुने सम्भावनालाई कम गराउने कुरामा पनि औंल्याएका छन् ।

तर तीमध्ये धेरै अनुसन्धान अवलोकनात्मक रहेको  र एक अध्ययनले मिश्रित परिणाम पनि देखाएको मार्कस बताउँछन् ।

मार्कसका अनुसार यस नयाँ अध्ययनले पहिले नै कफी वा चिया पिउनको आदत राख्नेहरूलाई सहजता दिन सक्छ, तर यसको अर्थ नियमित क्याफिनको दिनचर्या सुरू गरिहाल्नुपर्छ भन्ने होइन । “थप क्याफिन सधैं राम्रो हुन्छ भन्ने होइन भन्ने  कुरा पनि महत्त्वपूर्ण छ,” उनले भने।

“यहाँ अध्ययनमा वर्णन गरिएको मात्रामा क्याफिन, कफी, र चिया स्वास्थ्यवर्धक भए पनि, कृत्रिम मिश्रणहरू हालिएका ऊर्जा ड्रिंक्समा समावेश गरिएको उच्च मात्राको क्याफिन हानिकारक हुने र त्यसले  हृदयको चालमा समस्याहरू ल्याउने हदसम्मको खतरनाक हुने कुराका ठोस प्रमाणहरू पनि छन्।” मार्कस सचेत गराउँदै भन्छन् ।

स्रोत: सिएनएन