हेजबुल्लाहमाथि ‘पेजर हमला’ !

असोज १ गते मंगलबार इजरायलले लेबनानको हेज्बुलाह आन्दोलनका सदस्यहरु माथि अप्रत्यासित र अनौठो खालको आक्रमण गरेको छ।

यो क्रममा हेजबुल्लाहका सदस्यहरुले बोक्ने संचार माध्यमको साधन पेजर एकै समयमा बिस्फोट भएको छ। जुन क्रममा २५०० जना भन्दा बढी व्यक्तिहरु घाइते भएका छन्। केही व्यक्तिको मृत्यु समेत भएको छ।

इजरायलले कुन माध्यमबाट पेजरलाई विस्फोट गरायो त्यो प्रस्ट भएको छैन। अनुमानअनुसार पेजर बिक्री गर्दा नै त्यसमा विस्फोटक पदार्थ लुकाएर राखिएको थियो र जसलाई अहिले विशेष सिग्नलमार्फत विस्फोट गराइएको हुनसक्छ। अथवा पेजरको व्याट्रीलाई नै विशेष सिग्नलमार्फत बढी लोड दिएर पडकाइएको हुन सक्छ। 

पेजर विस्फोटको शृंखलामा लेबनानका लागि इरानी राजदुत पनि घाइते बनेका छन्। हेजबुल्लाका अनुसार यो समुहले प्राप्त गरेको नयाँ लटका पेजरमा यस प्रकारका विस्फोटहरु भएका छन्। हेजबुल्लाह र इजरायलबीच द्वन्द्व सुरु भएको दशकौं यता यो समुहको सञ्चार संयन्त्रलाई ह्याक गरेर इजरायलले हेजबुल्लालाई चोट पुर्‍याउन सफलता प्राप्त गरेको छ ।

लेवनानको स्वास्थ्य मन्त्रालयले सबै अस्पताल उच्च सतर्कतामा रहन तथा स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन सूचना जारी गरेको छ । त्यसै गरी लेवनान सरकारले पेजर उपभाेगकर्ताहरुलाई तुरुन्तै त्यसको प्रयोग राेक्न भनेको छ । 

यस घटनालाई लिएर इजरायली सरकार तथा सेनाले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

यसबीच लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले एक पत्रकार सम्मेलन गर्दै देशभर भएका पेजर विस्फोटका कारण ८ जनाको मृत्यु भएको तथा २,७५० जना घाइते भएको जानकारी दिएका छन् ।

तस्विर: सिएनएन