मौसममा भएको असामान्य परिवर्तनले सहारा मरुभूमिलाई पनि हरियाली बनाउँदैछ !

‘संसार तातिँदै जाँदा थप बढी विनाशकारी बाढीहरूको सम्भावना निम्त्याउन सक्छ’

सेप्टेम्बर १३, २०२४ मा को उपग्रहले खिचेको अफ्रिकामा वनस्पति (हरियाली)को तस्बीर । CIRA/RAMMB

केही हप्ताअगाडि नेपालको सोलुमा विनाशकारी बाढी आयो । अप्रत्याशित र कल्पनीय ढङ्गले आएको त्यो बाढीको बारेमा अध्ययन त भइरहेको छ तर सामान्य मानिसले पनि बताउन सक्छ कि त्यसको जरो कारण जलवायु परिवर्तनकै असर हो । वास्तवमा, जलवायु परिवर्तन अहिलेको सबैभन्दा भयानक र चिन्ताजनक समस्या बनेको छ ।

यसमेसोमा जलवायु परिवर्तनको अकल्पनीय असर र प्रभावबारे सीएनएनमा प्रकाशित यो रिपोर्ट पढ्नु जरुरी छ, जसले हामीलाई जलवायु परिवर्तनका अकल्पनीय असरबारे बुझ्न सहयोग पुर्‍याउन सक्छ ।

०००

सहारा मरुभूमिमा धेरै हरियाली हुँदैन, तर असामान्य रूपमा परेको भारी वर्षाका कारण संसारकै सबैभन्दा सुक्खा स्थानहरूमध्येका एक यस मरुभूमिको केही भागमा हरियो रंग अन्तरिक्षबाट देख्न सकिन्छ।हालसालै भूउपग्रहहरुले खिचेको तस्विरमा सामान्यतया सुख्खा रहने दक्षिणी सहाराका केही भागहरूमा आँधीहरु पुगेपछि बिरुवा फुलिरहेको देखिएका छन्, जबकि ती क्षेत्रमा सामान्यत: आँधीहरू पुग्दैनन्। यसले विनाशकारी बाढी पनि निम्त्याएको छ। र वैज्ञानिकहरू भन्छन् कि जीवाश्म इन्धन प्रदूषणका कारण संसार तात्तिँदै जाँदा यस प्रकारका घटनाहरूलाई थप सम्भाव्य बनाइरहेको छ।

पश्चिमी अफ्रिकी मानसून सक्रिय  भएपछि सामान्यतया, अफ्रिकाका समभूमध्यरेखा (equator) को उत्तरी क्षेत्रमा जुलाईदेखि सेप्टेम्बरसम्म वर्षा बढ्छ ।

यस घटनाको विशेषता भनेको तातो, सुख्खा हावा अफ्रिकाको उत्तर भागबाट र आर्द्र, उष्णकटिबंधीय हावा भूमध्यरेखाको नजिकबाट भेट्दा उत्पन्न हुने तुफान हो। अन्तर-उष्णकटिबंधीय सङ्गम क्षेत्र (Intertropical Convergence Zone) भनिने यस तुफानको केन्द्र उत्तरी गोलार्धको गर्मी महिनामा भूमध्यरेखा उत्तरतिर सर्ने गर्दछ। दक्षिणी गोलार्धको गर्मी महिनामा धेरैजसो  यो भूमध्यरेखा दक्षिणतिर झर्छ।

तर, कम्तीमा मध्य-जुलाईदेखि, यो क्षेत्र सामान्यत: यो हुनुपर्ने स्थानबाट भन्दा थप उत्तरतिर सरेको छ, जसले तुफानहरूलाई दक्षिणी सहारामा पठाएको छ । NOAAको जलवायु भविष्यवाणी केन्द्रका तथ्याङ्कअनुसार त्यो नाइजेर, चाड, सूडानका भागहरू र अझ लिवियासम्मको उत्तरका भागहरूमा समेत पुगेका छन् ।  

फलस्वरूप, सहारा मरुभूमिका यी भागहरू सामान्यभन्दा दुई गुणा देखि छ गुणा बढीसम्म भिजेका छन्।

जर्मनीको लाइपजिग विश्वविद्यालयका जलवायु शोधकर्ता कार्स्टेन हाउसटिनका अनुसार,  उत्तरतर्फको यो असामान्य सराइका  दुई सम्भावित कारणहरू छन्।

हाउसटिनका अनुसार, एल नीनो (El Niño) बाट ला नीनो (La Niña) मा जाने प्रक्रियाले यस गर्मीमा यो क्षेत्र कति उत्तरतर्फ सरेको छ भन्ने कुरालाई प्रभाव पारेको छ। एल नीनो – एक प्राकृतिक जलवायु ढाँचा, जुन भूमध्यरेखा प्यासिफिकमा औसतभन्दा तातो समुन्द्रको तापमानको विशेषता हो – ले सामान्यतया पश्चिमी र मध्य अफ्रिकाका भिजेका भागहरूमा सामान्यभन्दा सुख्खा अवस्था निम्त्याउँछ। यसको विपरीत, ला नीनो वा यसकै प्रारम्भिक चरणले यसको उल्टो प्रभाव पार्न सक्छ।

दोस्रो महत्वपूर्ण कारक भनेको संसारको तातिँदै जानु हो।

"अफ्रिकाको हरियालीको कारण रहेके अन्तर-उष्णकटिबंधीय सङ्गम क्षेत्र  संसारको तातो बढाइसँगसँगै उत्तरतिर सर्छ," हाउसटिनले स्पष्ट पारे। "कम्तीमा, अधिकांश मोडेलहरूले यो कुरालाई देखाउँछ।"

Nature पत्रिकामा जुन महिनामा प्रकाशित भएको एक अध्ययनले जीवाश्मा इन्धन प्रदूषणबाट उत्पादन हुने कार्बन डाइअक्साइडको स्तर जाँ संसारको तापमान बढ्दै जाने र त्यसले यो क्षेत्रको उत्तरतर्फ सर्ने घटनाहरू आगामी केही दशकमा थप बढ्ने देखाएको छ ।  

आउने भविष्यको एउटा विनाशकारी संकेत

सामान्यतया, यस परिवर्तनले मरुभूमिहरूलाई हरियो बनाउने मात्र होइन, यसले प्रशान्त महासागरको तुफानी मौसमको चक्रलाई  पनि विथोलिदिएको छ र केही अफ्रिकी देशहरूमा विगतका केही महिनामा ठूलो भवितव्यलाई पनि निम्त्याइदिएको छ ।

तुफानहरू उत्तरतिर सरेका कारण अधिक वर्षा प्राप्त गर्ने देशहरूमा कम वर्षा भइरहेको छ । सीपीसीको तथ्याङ्कअनुसार सामान्यत: जुलाईदेखि सेप्टेम्बरसम्म २० देखि ३० इन्च वर्षा हुनुपर्ने नाइजेरिया र क्यामरूनका भागहरूमा मध्य-जुलाईदेखि सामान्यत: हुनुपर्नेभन्दा  केवल ५० देखि ८०% मात्र वर्षा भइरहेको छ ।

सीपीसीको तथ्याङ्कअनुसार नाइजेर, चाड, सूडान, लिविया र दक्षिणी इजिप्टका भागहरू पर्ने उत्तरतर्फका सामान्यतया सुख्खा रहने क्षेत्रहरूमा भने  मध्य-जुलाईदेखि आफ्नो सामान्य वर्षाको ४००% भन्दा बढी वर्षा भइसकेको छ ।

सहारा मरुभूमिको एक हिस्सा समेत रहेको चाडको उत्तरी भागलाई हेरौं ।  सामान्यतया मध्य-जुलाईदेखि शुरु गरेर सेप्टेम्बरको प्रारम्भसम्म यहाँ एक इन्चसम्मको मात्र वर्षा हुन्छ। तर, सीपीसीको तथ्याङ्कअनुसार यस वर्षको सोही समयमा ३ देखि ८ इन्चको वर्षा भएको छ ।

यो अत्यधिक वर्षाले चाडमा विनाशकारी बाढी ल्याएको छ। संयुक्त राष्ट्रसंघले दिएको  जानकारी अनुसार, यस गर्मीमा लगभग १५ लाख मानिस प्रभावित भएका छन् र कम्तीमा ३४० जनाले बाढीका कारण ज्यान गुमाएका छन्।

सीएनएनले यसअघि प्रकाशित गरेको रिपोर्ट अनुसार, नाइजेरियामा, विशेष गरी सामान्यतया सुख्खा रहने उत्तरी भागमा, भयानक बाढीले २२० जनाभन्दा बढीको ज्यान लिएको छ र सैकडौं हजारलाई विस्थापित गरेको छ।

अगस्तको अन्त्यमा सूडानमा आएको घातक बाढीले कम्तीमा १३२ जनाको ज्यान गएको थियो र १२,००० भन्दा बढी घरहरू नष्ट भएको थियो । जलवायु परिवर्तनको प्रभाव कति हदसम्म परेको छ भन्ने निर्धारण गर्न अध्ययनहरूमा लागेका हाउसटिनका अनुसार यस्ता बाढीका घटनाहरूको पछाडि जलवायु परिवर्तनको संकेत हुन सक्छ।

हाउसटिनले व्याख्या गरेअनुसार संसार तातिँदै जाँदा, यसले बढी आर्द्रता सञ्चय गर्न थाल्दछ । यसले समग्रमा अधिक भिजेका मनसुन पैदा हुन्छ र यस मौसमजस्तै बढी विनाशकारी बाढीहरूको सम्भावना निम्त्याउन सक्छ।

 प्रत्येक बाढीको घटनामा जलवायु परिवर्तनको के कति भूमिका रहेको छ भन्ने निर्धारण गर्न थप अनुसन्धान गरिनु आवश्यक छ, तर यो आउँदो भविष्यमा आउने सक्ने कुराहरुको संकेत हुन सक्छ, हाउसटिन बताउँछन् ।

"प्रत्येक घटनालाई जलवायु परिवर्तनले प्रभावित पारेको छ," हाउसटिन भन्छन्, "यद्यपि कुनै एकल बाढीलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनले प्रभावित नै नबनाएको भए पनि, त्यसलाई थप सम्भावित भने बनाइएको छ।"