एउटा अनौठो मानसिक समस्या, जसमा मानिसले आफूलाई मरेको ठान्छ !

यस संसारमा थरिथरिका मानसिक विकारहरु हुने गर्छन्, जसले मानिसलाई सामान्य जीवनयापन गर्न दिँदैनन् । त्यस्ता मानसिक विकारहरुमध्येमा एउटा यस्तो विचित्र खालको पनि हुने गर्छ, जसले सताएपछि मानिसले आफू जिउँदै छु भन्ने ठान्दैन । उसलाई लाग्छ, यसका शरीरका अङ्गहरुले काम गर्दैनन् र ऊ आफू मरिसकेको ठान्छ । अत्यन्तै दुर्लभ र गम्भीर प्रकारको यस मानसिक विकारलाई कोटार्ड सिन्ड्रोम  (Cotard’s Syndrome) वा वाकिङ कोर्प्स सिन्ड्रोम (Walking Corpse Syndrome) पनि भनिन्छ ।

व्यक्तिलाई आफ्नो अस्तित्वमै शङ्का गर्न बाध्य पार्ने यस समस्याले पीडित व्यक्तिले  आफैंलाई मरेको, आत्माहीन, वा अस्तित्वहीन मान्छन्। उनीहरुलाई आफ्नै शरीरका अंगहरू अनुपस्थित रहेको भ्रम हुन् गर्छ । केही व्यक्तिले त आफ्नो शरीरका अंगहरू छैनन्, सडिरहेका छन्, वा काम गरिरहेका छैनन् भन्ने भ्रम राख्छन्।

यो विकार भएका व्यक्तिहरूलाई दैनिक जीवनयापन गर्न निक्कै गाह्रो हुने गर्छ । आफैंलाई मरेको वा अस्तित्वहीन महसुस गर्ने भएकोले उनीहरूले आफूलाई नित्यकर्म गर्न आवश्यक नभएको ठान्न सक्छन् ।

सबैभन्दा खतरनाक कुरा चाहिँ यो समस्यासँग जोडिएको अवसादले गम्भीर रूपमा आत्महत्या वा आत्म-हानिको जोखिम बढाउँछ।

कारणहरू

कोटार्ड सिन्ड्रोम किन र कसरी हुन्छ भन्नेबारे ठ्याक्कै कारण अझै पूर्ण रूपमा थाहा लागिसकेको छैन । तर  केही अध्ययनले कोटार्ड सिन्ड्रोम  भएका व्यक्तिहरूमा मस्तिष्कका केही भागहरूमा संरचनात्मक क्षति देखाएको छ। त्यसमा पनि यस समस्याले ग्रसित व्यक्तिको  मस्तिष्कको फ्रन्टल लोब र प्यारिएटल लोबमा समस्या हुने गरेको पाइएको छ ।

कोटार्ड सिन्ड्रोम प्रायः मानसिक स्वास्थ्य विकारहरूसँग सम्बन्धित समस्या हो । यसमा प्रमुख रूपमा अवसाद, स्किजोफ्रेनिया, बाइपोलर डिसअर्डर, वा अन्य साइकोटिक विकारहरू देखा पर्छन्। त्यसैगरी, स्ट्रोक, ट्यूमर, वा अन्य मिर्गी (epilepsy) वा पार्किन्सन जस्ता मस्तिष्कसम्बन्धी समस्या भएमा पनि कोटार्ड सिन्ड्रोम देखापर्न सक्छ । दवाइको साइड इफेक्ट वा मादक पदार्थको दुरुपयोगबाट पनि कोटार्ड सिन्ड्रोमको लक्षण पनि देखा पर्न सक्छ।

सम्भाव्य दुस्परिणामहरु

कोटार्ड सिन्ड्रोममा  व्यक्तिले आफैंलाई मरेको वा अस्तित्वहीन भएको ठान्ने हुनाले त्यसको परिणाम धेरै गम्भीर हुन सक्छ, जसले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा असर पार्न सक्छ ।

विशेष गरी यस समस्यामा व्यक्तिले  आफूलाई चोट पुर्याउने वा आफूलाई नोक्सान पुर्याउने सम्भावना बढ्छ।यस्ता व्यक्तिमा व्यक्तिमा आत्महत्याको जोखिम उच्च हुन्छ, किनकि उनीहरूले आफ्नो जीवनको मूल्य नै हराएको ठान्न सक्छन्।

त्यसैगरी, आफूलाई नै मरेको ठान्ने हुनाले केही व्यक्तिहरू आफूले खान, पिउन, वा अन्य आधारभूत शारीरिक आवश्यकताहरू पुरा गर्न आवश्यक छैन भन्ने सोच्न थाल्छन् र त्यही अनुरुपका व्यवहार गर्ने गर्छन् । त्यसले उनीहरूमा गम्भीर पोषण अभाव वा अन्य शारीरिक समस्या उत्पन्न गराउने खतरा बढी रहन्छ ।

कोटार्ड सिन्ड्रोममा  भएका व्यक्तिहरूले अरूसँगको सम्बन्धलाई खासै ख्याल नगर्ने र सामान्य सामाजिक जीवनमा सहभागी हुन छाड्न सक्छन्। उनीहरूको यो भ्रमले उनीहरूलाई एक्लोपन र सामाजिक अलगावतर्फ धकेल्न सक्छ ।

उपचार

कोटार्ड सिन्ड्रोमको  उपचार प्रायः अन्य मानसिक विकारहरूका लागि प्रयोग गरिने उपचारहरूमा आधारित हुन्छ। त्यसअनुसार, मनोचिकित्साको उपायले व्यक्तिलाई उनको भ्रम र मानसिक स्वास्थ्य सुधार्न सहयोग गर्ने गरिन्छ।

त्यसैगरी, एन्टिडिप्रेसन्ट (antidepressants), एंटीसाइकोटिक (antipsychotics), र मूड स्टेबलाइजर्स (mood stabilizers) जस्ता औषधिहरू प्रयोग गरेर पनि यसको उपचार गर्ने गरिन्छ । तर यो उपाय गरी कोटार्ड सिन्ड्रोम   अन्य मानसिक विकारहरूसँग सम्बन्धित भएमा मात्र प्रभावकारी हुने गर्छ ।

कोटार्ड सिन्ड्रोमको उपचारमा सबैभन्दा प्रभावकारी चाहिँ इलेक्ट्रोकोनभल्सिभ थेरापी (ECT) हुने गरेको पाइएको छ । , विशेष गरी गहिरो अवसाद भएका बिरामीहरूमा। ECT मस्तिष्कको विद्युत तरंगलाई सक्रिय गरेर मानसिक विकारको लक्षणलाई सुधार गर्न मद्दत गर्छ।

निचोडमा भन्दा कोटार्ड सिन्ड्रोम दुर्लभ र गम्भीर मानसिक विकार हो जसले व्यक्तिलाई मरेको वा अस्तित्वहीन भन्ने भ्रममा धकेलिदिन्छ। यसका कारणहरू प्रायः मस्तिष्कसम्बन्धी समस्या, मानसिक स्वास्थ्य विकारहरू, वा न्यूरोलोजिकल अवस्थाहरू हुन्छन्। सही उपचार र समयमै मनोचिकित्सा वा औषधिको प्रयोगले कोटार्ड सिन्ड्रोमलाई व्यवस्थापन गर्न सकिन्छ। यो विकारले गम्भीर परिणामहरू निम्त्याउन सक्छ, त्यसैले तत्काल मनोचिकित्सकको सहयोग लिनु अत्यावश्यक हुन्छ।