बाल दिवसमा सरकारलाई प्रश्नहरुको प्रहार
समाजमा बालबालिकाको महत्वलाई सम्मान र मान्यता दिन विश्वभर बाल दिवस मनाइन्छ।भाद्र २९ गते नेपालभरी विभिन्न कार्यक्रम गरि यो दिवस मनाइने गरिन्छ ।नेपालले बाल अधिकार सम्बन्धी महासन्धी १९८९ लाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको दिनको सम्झनामा २०६३ सालदेखि भदौ ४ गतेको सट्टा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो ।
बाल दिवस मनाइदै गर्दा के हाम्रा बालबालिका वर्तमान परिवेशमा सुरक्षित छन? संविधानको धारा ३९ ले सुनिश्चित गरेको शिक्षा, स्वस्थ, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन र समग्र व्यक्तित्व विकासको हक पाएका छन ? यी कुरामा सरकारले ध्यान दिएको छ कि छैन? यदि छ भने कस्तो भुमिका खेल्दै छ सरकार बालबालिकाको हक हितका लागि ?
बालबालिका भनेका भोलिको देश हाक्ने कर्णेदार हुन, भविस्य हुन भनेर नारा लगाएको हामी विभिन्न माध्यमबाट सुन्छौ, देख्छौ र हेर्छौ।तर वास्तविकतामा जाने हो भने हाम्रा बालबालिकाहरु बालश्रममा लगाइएको छन, बालविवाहको सिकार भएका छन, यौन शोषणमा परेका छन, बेचबिखनमा परेका छन।तर सरकार र समाज यो अवस्थलाई टुलुटुलु हेरेर बसिरहेको छ भन्दा पनि फरक नपर्ला।
गएको महिना काठमाडौ महानगरपालिकाले गरेको एक सर्वेक्षण अनुसार देशकै गरिमामय स्थान मानिने सिहदरबारमा बालश्रम भएको पाइएको थियो।देश हाक्ने, नियम कानुन बनाउने, ठुल्ठुला भाषण छाट्ने हाम्रा माननीय सांसदहरु काम गर्ने कार्यस्थलमा बालश्रम भइरहेको अवगत नभएको हाम्रो सरकार सिङ्गो देशको होटल, अफिस, रेस्टुरेन्ट, रिसर्टमा कति बालबालिका श्रमको सिकार भएका छन् भन्ने कुरा सरकारको प्रतिवेदनमा छ कि छैन?
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा (४) मा जोखिममा परेका वा सडकमा बस्ने बालबालिकालाई सुनिश्चित भविष्यका लागि राज्यबाट तोकिएबमोजिम विशेष संरक्षण पाउने अधिकार रहेको छ । आर्थिक वर्ष २०७९–८० मा मात्र एक सय २६ जना बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको छ।(श्रोत;राष्ट्रिय बालअधिकार परिषद्) यसरी हेर्दा सडक बालबालिकाको उद्दार भने नभएको हैन तर यस्लाई थप प्रभावकारी बनाउन सरकार अझै सक्षम हुनु पर्ने देखिन्छ।
नेपालको संविधानले मौलिक हकको धारा ३९ मा बालबालिकाको हकअन्तर्गत उपधारा ५ अनुसार कुनै पनि बालबालिकालाई बालविवाह गर्न नपाउने व्यवस्था छ । तर मूल संहिताको उल्लङ्घन गर्दै बालविवाह गर्ने–गराउने अझै सक्रिय रहेको देखिन्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको विश्लेषणअनुसार नेपालको कुल जनसङ्ख्यामध्ये ४७ लाख ५५ हजार ३३० जनाको १७ वर्षको नाबालिग उमेरभित्र विवाह भएको छ । जसमध्ये ५४ हजार ३४८ जनाको १० वर्षभन्दा कम उमेरमै विवाह भएको देखिन्छ । त्यस्तै १० देखि १४ वर्ष उमेरभित्र ११ लाख २५ हजार २०५ जना वैवाहिक सम्बन्धमा बाँधिएका छन् । सबैभन्दा धेरै १५ देखि १७ वर्षको उमेरभित्र ३५ लाख ७५ हजार ७७७ जनाको बालविवाह भएको छ ।
कतिपय बालविवाह गाउँ तिर दबाउने गरिएको पाइएको छ।परिवार नै मिलेर आफ्ना बालबालिकाको विवाह गर्ने भएकोले यस्ता घटनाले प्रहरी या स्थानीय सरोकारवालाहरु सम्म नपुग्ने र पुगिहाले मिलेमतोमा मिलाउने गरेको पाइएको छ।जस्ले गर्दा हजारौं बालबालिकाको भविस्य अध्यारोमा ठेलिएको छ।
यता शिक्षा क्षेत्रमा समावेस गर्दै गर्दा शिक्षाको पहुँच बढाउनमा केन्द्रित कानून, नीति तथा कार्यक्रमहरूका कारण विद्यालय भर्ना हुने दरमा वृद्धि भएको पाइन्छ।अझै पनि नेपालको विभिन्न दुर्गम जिल्लाहरुमा रहेका बालबालिकाहरु शिक्षाको पहुँचबाट टाढा रहेका छन।उचित पुर्वाधार, गुणस्तरीय शिक्षालाई थप प्रोत्साहन गरि दुरदराजमा रहेका बालबालिकाको भविस्य उज्ज्वल पार्न आवश्यक देखिन्छ।नेपाली बालबालिकाका लागि थप अनुकूल सिकाइ वातावरण सिर्जना गर्न शिक्षक तालिम, पूर्वाधार विकास र पाठ्यक्रम सुधारलाई प्राथमिकता दिँदै शिक्षा क्षेत्रमा लगानी जारी राख्नु महत्त्वपूर्ण छ।
अन्तरास्ट्रिय अभियासलाई नियाल्दै गर्दा स्वीडेन र फिनल्याण्ड जस्ता देशहरूले प्रारम्भिक बाल्यकालको विकासलाई जोड दिँदै विश्वव्यापी पूर्व-प्राथमिक शिक्षा प्रदान गर्छन्। यस अभ्यासले सबै बालबालिका, तिनीहरूको सामाजिक-आर्थिक पृष्ठभूमिलाई ध्यान नदिई, शिक्षामा बलियो सुरुवात गरेको सुनिश्चित गर्दछ।
युरोपेलि मुलुक यु.केमा एक बलियो बाल सुरक्षा प्रणाली छ जसमा दुर्व्यवहार रिपोर्ट गर्न र समर्थन सेवाहरू प्रदान गर्न स्पष्ट दिशानिर्देशहरू समावेश छन्। नेपालमा पनि थप बृहत् बाल संरक्षण ढाँचाको विकास गर्नाले बाल दुर्व्यवहार र उपेक्षाप्रति प्रतिक्रियाहरू सुधार गर्न सकिन्छ।
छिमेकी मुलुक भारतमा समुदायमा आधारित कार्यक्रमहरू बाल श्रम कम गर्न र शिक्षा सुधार गर्न प्रभावकारी साबित भएको छ। स्थानीय समुदाय र सरोकारवालाहरूलाई संलग्न गराएर, नेपालले आफ्नो बाल कल्याण चुनौतीहरूको थप लक्षित र दिगो समाधानहरू सिर्जना गर्न सक्छ।
अन्त्यमा बालबालिकाको शारीरिक विकास, शिक्षा, स्वास्थ र क्षमतालाई पहिचान गर्नु सबै भदा ठूलो भुमिका परिवारबाटै सृजना हुनुपर्छ।बालअधिकारप्रतिको हाम्रो प्रतिबद्धतालाई सुदृढ गर्दै नेपालले एउटा सुन्दर भविष्य निर्माण गर्न सक्छ जहाँ प्रत्येक बालबालिकालाई फस्टाउने अवसर छ। आज बालबालिकामा गरिएको लगानीले सम्पूर्ण राष्ट्रको लागि उज्यालो र समतामूलक भविस्य सुनिश्चित गर्छ।यदि बालबालिकालाई संविधानले दिइएको हक अधिकारको सुनिश्चितता गरिएन भने बाल दिवस मनाउनुको कुनै औचित्य रहदैन ।
(सागर घले हाल नेसनल ल कलेजमा बि ए एल एल बि अध्ययनरत छन् ।)
प्रतिक्रिया