साइनिङ पाथलाई दबाउने फुजीमोरीको निधन !
पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको ८६ वर्षको उमेरमा निधन भएको छ। फुजिमोरी क्यान्सर रोगबाट ग्रस्त थिए।
१९९० मा पेरुको राष्ट्रपति बनेका अल्बर्टो फुजिमोरी अधिनायकवादी शासन शैलीका कारण विवादास्पद थिए। उनकै शासनकालमा विश्वलाई हल्लाउने माओवादी छापामार आन्दोलन साइनिङ पाथलाई निर्ममतापूर्वक दबाइएको थियो । दर्शनशास्त्रका प्राध्यापक अबिमायल गुजमानको नेतृत्वमा सन् १९८० को दशकमा पेरुको परम्परागत राजनीतिक प्रणालीलाई ध्वस्त गर्दै माओवादी राज्य स्थापना गर्ने लक्ष्यका साथ स्थापित साइनिङ पाथको छापामार आन्दोलन उत्कर्षमा रहेको बेला साइनिङ पाथ जस्ता हिंसात्मक आन्दोलन गरिरहेका समूहहरूलाई पूर्ण रूपमा समाप्त गर्ने वाचाका साथ सन् १९९० मा अल्बर्टो फुजीमोरी राष्ट्रपति बनेका थिए । । उनको नेतृत्वमा पेरुको सरकारले अत्यन्त सशक्त सैन्य नीति अपनायो र उनीहरूले शहरी क्षेत्रमा फैलिएको साइनिङ पाथको प्रभाव तथा ग्रामीण क्षेत्रमा रहेको पकडलाई निमट्यान्न पार्न बर्बर दमनचक्र चलाएको थियो ।
यसक्रममा फुजिमोरीले साइनिङ पाथ लगायतका कम्युनिस्ट विचारधारा राख्ने संगठनहरुलाई दबाउन पेरुको सेना र सुरक्षाकर्मीहरूलाई खुला छुट दिएका थिए। त्यस कार्यमा उनलाई अमेरिकाले पूर्णरुपमा आर्थिक, भौतिक तथा सैन्य सहयोगहरु उपलब्ध गराएका थिए । अमेरिकी सहयोगकै बलमा उनले साइनिङ पाथका उनले १९९२ मा साइनिङ पाथका नेता गोञ्जालो तथा अन्य उच्च तहका नेताहरुलाई पक्राउ गर्न सफलता प्राप्त गरेका थिए । त्यसो त साइनिङ पाथको नेतृत्वको अति केन्द्रीकरण र देवत्वकरणका कारण पनि फुजीमोरीले साइनिङ पाथविरुद्धको अभियानमा सफलता हासिल गर्न सकेको थियो भन्ने विश्लेषण पनि एकाथरिले गर्ने गर्छन् । साइनिङ पाथलगायतका संगठनहरुलाई समाप्त पार्ने अभियानको क्रममा उनले मानवाधिकारको व्यापक उल्लंघन गरेका थिए । उनले सेनालाई अत्यधिक अधिकार दिएका कारण शहरी र ग्रामीण क्षेत्रमा चर्केको विद्रोह दबाउने नाममा थुप्रै निर्दोष नागरिकहरूमाथि हिंसात्मक र प्रतिशोधात्मक कारबाहीहरू भए। उनले सेना र गुप्तचर सेवाका प्रमुख भ्लादिमिरो मोन्तेसिनोसलाई असीमित अधिकार दिएका थिए । त्यसको दुरुपयोग गर्दैं मोन्तेसिनोसले भ्रष्टाचारको साम्राज्य चलाए भने उनको तथा फुजीमोरीको विरोधमा आवाज उठाउनेहरुलाई जबरजस्ती गायब पार्नेजस्ता काम गरे । मोन्टेसिनोसमाथि राजनीतिक विरोधीहरूलाई दबाउन गैरकानुनी कदम चालेको आरोप पनि लागेको थियो । सन् २००० मा नै मोन्टेसिनोसले ३स लिँदै गरेको एउटा भिडियो सार्वजनिक भएको थियो । जसले जनताको आक्रोशलाई भड्काउन फुजीमोरीको शासनसत्ताको चिहान खन्ने काममा ठूलो भूमिका खेलेको थियो ।
निरंकुशता र बर्बरताको पर्यायवाची जस्तै बन्दै गएका फुजीमोरीले सन् १९९२ मा नै पेरुको संसद् भंग गरेका थिए र त्यहाँको अदालतलाई समेत बन्द गरेका थिए।
त्यसो त पेरुलाई आर्थिक संकटबाट उकास्ने श्रेय फुजीमोरीलाई दिने गरिन्छ । उनले शासनसत्ता सम्हाल्नुअघि पेरुमा चरम आर्थिक संकटको स्थिति थियो । त्यसबेला पेरुमा १००० प्रतिशतसम्म मुद्रास्फितिको अवस्था रहेको थियो । फुजीमोरीले अपनाएको नवउदारवादी आर्थिक नीतिले पेरुको अर्थतन्त्रमा क्रमश: सुधार हुँदै गएको थियो ।
फुजीमोरी सन् १९९० र १९९५ मा पेरुको राष्ट्रपति पदमा चुनिएका थिए । पेरुको संविधानअनुसार दुई पटकभन्दा बढी राष्ट्रपतिको चुनाव लड्न पाइन्नथियो । तर उनले सत्ता र सैन्यबलको आडमा त्यसलाई संशोधन गरी २००० को चुनाव पनि लडे । तर त्यो चुनावमा व्यापक धाँधली भएको थियो । त्यसका विरुद्ध देशव्यापी विरोध प्रदर्शनहरु भए भने अन्तर्राष्ट्रिय स्तरमा पनि त्यो चुनावको आलोचना भयो ।
जनविरोध बढ्दै गएपछि र मोन्टेसिनोसको भ्रष्टाचार काण्ड सार्वजनिक भइसकेपछि जापान भ्रमणमा गएकै बेला २००० को नोभेम्बरमा फुजीमोरीले फ्याक्समार्फत राजीनामा दिएका थिए । वास्तवमा उनी आफूविरुद्ध पेरुमा भ्रष्टाचार तथा मानवाधिकार उल्लंघनको मुद्दा चल्ने डरले त्यसरी भागेर राजीनामा दिएका थिए । शासनसत्तामा छँदा आफूलाई पेरुमै जन्मिएको दावी गर्ने फुजीमोरी वास्तवमा जापानी नागरिकसमेत रहेको कुरा खुलेको थियो ।
साइनिङ पाथलाई दमन गर्ने क्रममा १९९२ मा पेरुभियाली सेनाको मृत्यु दस्ताले पेरुको राजधानी लिमा स्थित ला कान्टूटा युनिभर्सिटीका एक जना प्रोफेसर र ९ जना विद्यार्थीलाई अपहरण गरी चरम यातना दिएर हत्या गरेका थिए। फुजिमोरीलाई यो घटनापछि गएर ठूलो घाउ बन्यो। उनलाई यो घटनामा दोषी ठहराउँदै पेरुको अदालतले २५ वर्षको जेल सजाय सुनाएको थियो। त्यस्तै फुजिमोरी सरकारले अमेरिकाको यूएस एडले लगानी गरेको परिवार नियोजन परियोजना अन्तर्गत करिब ३ लाख महिलालाई जबर्जस्ती बन्ध्याकरण गरिदिएका थिए, जसमा अधिकांश आदिवासी महिलाहरू थिए।
आफूविरुद्धको जनआक्रोश केही मत्थर भएपछि २००५ मा पेरुमा फर्केर राजनीतिमा आउने उद्देश्यले छिमेकी देश चिलीको यात्रा गरे । तर चिली सरकारले फुजिमोरीलाई गिरफ्तार गरेर कानूनी कारवाही थाल्यो । त्यसको करिब २ वर्षपछि चिलीले फुजीमोरीलाई पेरुलाई सुपुर्दगी गरिदियो। त्यहाँ उनीमाथि भ्रष्टाचार, मानवअधिकार उल्लंघन, र अन्य गम्भीर अपराधहरूको आरोपमा मुद्दा चलाइयो।
२००९ मा फुजिमोरीलाई मानव अधिकार उल्लङ्घनसहित अनेक आरोपमा अदालतले दोषी ठहर्यायो र २५ वर्षको जेल सजाय दियो । खासगरी अदालतले उनलाई साइनिङ पाथविरुद्धको संघर्षमा सरकारद्वारा निर्दोष नागरिकहरूको हत्या र अत्यधिक बल प्रयोगमा संलग्न भएको भी दोषी ठहर्याएको थियो।
अदालतले तोकेको सजायअन्तर्गत उनले १५ वर्ष जेल सजाय बिताए। उनलाई गत डिसेम्बरमा खस्किँदो स्वास्थ्य अवस्थाका कारण मानवीय आधारमा रिहा गरिएको थियो।
यतिखेर पेरुको राजनीतिमा उनकी छोरी केइको फुजिमोरी सक्रिय रहेकी छिन् ।
प्रस्तुति: केदार सिटौला
Image source: https://i.ytimg.com
प्रतिक्रिया