सबै रेकर्डहरु गिनीज रेकर्ड्समा छापिन्न !

कसरी शुरु भएको थियो गिनीज वर्ल्ड रेकर्ड्स ?

गिनीज वर्ल्ड रेकर्ड्सले संसारभरका विभिन्न प्रकारका अद्वितीय रेकर्डहरूलाई आधिकारिक रूपमा प्रमाणित गर्ने गर्छ र त्यसको प्रमाणपत्र नै प्रदान गर्ने गर्छ ।

गिनीजले कुनै पनि रेकर्डलाई प्रमाणित गर्नका लागि अति कडा मापदण्ड अपनाउँछ। यसका लागि कम्पनीले विशेषज्ञहरु नै खटाउने गर्छ र प्रस्तावित रेकर्डको आधिकारिकता तथा विश्वसनीयतालाई सबै कोणबाट जाँचपडताल गर्छन् । यसक्रममा आवश्यक सबै कुराहरु प्रमाणित भएपछि मात्रै उसले त्यस कुराको आधिकारिकता पुष्टि हुने प्रमाणपत्र दिने गर्छ । यस क्रममा कुनै पनि किसिमको मोलाहिजा र लापरवाही गरिँदैन । यसको सटीकता र निष्पक्षताका कारण गिनीज वर्ल्ड रेकर्ड्समा राखिएका तथ्यहरूलाई अत्यन्तै विश्वासिलो मानिन्छ र त्यसले संसारभरि नै मान्यता प्राप्त गरेको छ । यसले लिपिबद्ध गरेका वा प्रमाणित गरेका रेकर्डहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा स्वीकार गरिन्छ। भनाइको अर्थ के हो भने कुनै पनि व्यक्तिले वा संस्थाले गिनीज वर्ल्ड रेकर्ड्सको प्रमाण पत्र पाउँदा, त्यो रेकर्डले विश्वव्यापी मान्यता प्राप्त गर्छ।

गिनीज वर्ल्ड रेकर्ड्सको सुरुवात

सन् १९५५ को एक दिन ह्यू बीवर नामक व्यक्ति साथीहरुसँग मिलेर शिकारमा गएका थिए । उनी गिनीज बियर कम्पनीका निर्देशक थिए। कुरैकुरामा उनको साथीहरुसँग  सबैभन्दा छिटो उड्ने चराको बारे विवाद पर्यो । कसैले कुन चरार कसैले कुन चराको नाम लिए । त्यस घटनाले उनमा एउटा अनौठो विचार पलायो– त्यस्ता विचित्रका तथ्यहरु समेटेर पुस्तक प्रकाशित गर्ने ! त्यस्ता तथ्यहरु जुन आधिकारिक र प्रमाणित होस् ।  त्यसै  गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सको सुरुवात भयो।

सुरुमा यो पुस्तक  भट्टी तथा खाजाघरहरुमा कुनै पनि रेकर्डको बारेमा कुनै विवाद भएमा त्यसको समाधान गर्ने सन्दर्भ सामग्री बनाउने उद्देश्यले तयार गरिएको थियो । तर कालान्तरमा यसको लोकप्रियता बढ्दै गयो । त्यसमा छापिने रेकर्डहरुको विश्वसनीयता र आधिकारिताका त्यो रेकर्ड छाप्ने कम्पनीले नै प्रमाणित गर्ने अभ्यास थाल्यो ।  पछि यो संसारभरका रोचक रेकर्डहरूलाई प्रमाणित गर्ने आधिकारिक संस्था बन्यो।त्यसमा संसारभरका रेकर्डहरू छापिने गर्छन् । त्यसको प्रमाणिकरणका लागि कम्पनीले आफ्ना कर्मचारीहरूलाई विभिन्न ठाउँमा खटाउन थाल्यो । एउटा वियर कम्पनीको मालिकको लहडमा शुरु भएको उक्त पुस्तक छाप्न र त्यसका रेकर्डहरु आधिकारिक एव प्रामाणिक बनाउन गिनीज वर्ल्ड रेकर्ड्स लिमिटेड नामक कम्पनी नै खडा गरियो । हाल लन्डनमा मुख्यालय रहेको यस कम्पनीले प्रत्येक वर्ष त्यस्ता रेकर्डहरु समेटिएका पुस्तकहरुको नयाँ संस्करण प्रकाशित गर्छ । त्यसमा नयाँ रेकर्डहरुका साथसाथै  विगतमा बनाइएका रेकर्डहरूको समेत विवरण राखिन्छ।

गिनीज वर्ल्ड रेकर्ड्सको पुस्तक संसारकै सबैभन्दा धेरै बिक्री हुने पुस्तकहरूमा पर्छ, र हरेक वर्ष यो पुस्तकलाई अद्यावधिक गरिन्छ, जहाँ संसारभरका विभिन्न व्यक्तिहरू, जनावरहरू, ठाउँहरू, र घटनाहरूले बनाएका अनौठा रेकर्डहरूको सूची राखिन्छ।

गिनिजको रोचकता, प्रेरणा र प्रमाणपत्रको महत्त्व

गिनीज वर्ल्ड रेकर्ड्सको पुस्तकले संसारभरका मानिसहरूलाई अनौठा र प्रेरणादायी उपलब्धिहरू हासिल गर्न प्रेरित गर्ने गर्छ। त्यसले मानिसहरुलाई अहिलेसम्म कसैले कायम गर्न नसकेका नयाँ नयाँ रेकर्डहरु कायम गर्न चुनौतीका साथसाथै उत्प्रेरणा पनि दिने गर्छ । गिनिस बुकमा छापिने गरी कायम गरिने फरक-फरक रेकर्डहरूले मानिसहरूमा नयाँ काम गर्ने, आफूलाई चुनौती दिने, र व्यक्तिगत र सामूहिक उपलब्धिहरूलाई मान्यता दिलाउने वातावरण तयार गर्छ।

गिनीज वर्ल्ड रेकर्ड्सको प्रमाण पत्र पाउनु भनेको, संसारभरका करोडौं मानिसहरूका लागि एक ठूलो सम्मानको कुरा हो। त्यो भनेको अरु कसैले कायम गर्न नसकेको रेकर्ड आफूले कायम गर्न सकेको कुराको आधिकारिक दस्तावेज हो । त्यसले प्रमाणपत्र हासिल गरेका मानिसलाई सम्बन्धित विषय वा कुराको सबैभन्दा विशिष्ट वा अद्वतीय व्यक्ति हुनुको गर्व दिलाउँछ ।

 गिनीज वर्ल्ड रेकर्ड्समा समावेश नगरिने केही रेकर्डहरु

 गिनिज वर्ल्ड रेकर्डसमा संसारकै अग्लो मान्छे, संसारकै सबैभन्दा सानो नदी, सबैभन्दा ठूलो ट्युमर जस्ता थुप्रै विचित्रका र अचम्मका विवरणहरू समावेश छन्। तर, यसको अर्थ त्यसमा संसारका सबै विचित्र र अद्वतीय कुराहरुको रेकर्ड समावेश गरिन्छ भन्ने होइन । यथार्थमा संसारकै रेकर्ड भए पनि त्यहाँ केही चीजहरूको रेकर्ड समावेश गरिँदैन ।

उदाहरणका लागि, खानपान र मदिरा सेवनसँग सम्बन्धित कुनै पनि नयाँ रेकर्डहरू गिनिज वर्ल्ड रेकर्ड्समा छापिँदैन । त्यसैगरी, संसारकै सबैभन्दा मोटो माछा, जनावरहरु जस्ता रेकर्डहरु पनि त्यसमा छापिँदैन । पहिले पहिले त्यस्ता रेकर्डहरु पनि छापिने गर्थे ।  कुनै बेला गिनीज वर्ल्ड रेकर्ड्सले कहिल्यै संसारकै सबैभन्दा मोटा माछाको रेकर्ड राखेको थियो । त्यसले मानिसहरुलाई सकारात्मकभन्दा पनि नकारात्मक रुपले उत्प्रेरित गर्न थाल्यो । त्यसपछि केही माछापालकहरुले त्यो रेकर्ड तोड्नका लागि आफ्ना माछालाई लागि धेरै खाना दिन थाले। केही जनावर मालिकहरूले आफ्नो जनावरलाई अत्यधिक खाना खुवाएर रेकर्ड तोड्ने प्रयास गर्न थाले। यो अस्वभाविक र गैरप्राकृतिक कुरा थियो । गिनीज वर्ल्ड रेकर्ड्सकै कारण मानिसहरुले यस्ता अमानवीय खालका र जनावरहरुको जीवनलाई नै खतरामा पार्ने गरी उत्प्रेरणाहरु लिन थालेको देखिएपछि त्यस किसिमका अवांछनीय र अस्वस्थ प्रतिस्पर्धा उत्पन्न हुन नदिन, मोटो जनावरहरूको रेकर्ड छाप्न बन्द गर्‍यो।

त्यसैगरी, पहिले गिनिज वर्ल्ड रेकर्डसमा डाइट र मदिरा सेवनसँग सम्बन्धित रेकर्डहरूलाई पनि समावेश गरिइन्थ्यो । उदाहरणको लागि, गिनीजमा पिज्जा, ह्यामबर्गर, हटडग, वा अन्य विभिन्न प्रकारका खानेकुरा सबैभन्दा धेरै खाने मानिसको रेकर्डहरू पनि छापिने गरिइन्थ्यो । तर  त्यसले मानिसहरूलाई आफ्नो स्वास्थ्य जोखिममा राखेर अत्यधिक खाना खाने अस्वस्थ अभ्यासलाई बढावा दिन थालेपछि त्यस्ता रेकर्डहरु छापिन बन्द गरियो । त्यसैगरी, पहिले गिनीजमा "सबैभन्दा धेरै बियर पिउने", "सबैभन्दा छिटो मदिरा सेवन गर्ने", वा "सर्वाधिक मदिरा सेवन गर्ने व्यक्ति" जस्ता रेकर्डहरू पनि समावेश गरिन्थे। तर, यसले मानिसहरूलाई मदिराको अत्यधिक प्रयोग गर्न नकारात्मक रुपमा उक्साउन थाल्यो । फलत: त्यस्ता रेकर्डहरु पनि छापिन बन्द गरियो ।

त्यस्तो प्रतिस्पर्धात्मक रेकर्डले मानिसहरूलाई अस्वस्थ र खतरनाक अभ्यासमा संलग्न हुन उत्प्रेरित गर्न सक्ने भएकोले नै त्यसखालका रेकर्डहरु छापिन बन्द गरिएको हो। अत्यधिक खानपान वा मदिरा सेवनले दीर्घकालीन रूपमा स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ, जसले मुटुरोग, मोटोपन, मधुमेह, कलेजोको समस्या, र अन्य गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउँछ।गिनीजले यस्ता खतरनाक गतिविधिहरूको रेकर्ड छापेर, मानिसहरूले आफ्नो स्वास्थ्यलाई जोखिममा पार्दा कानुनी विवादहरूमा फस्न सक्ने सम्भावना हुन्छ। यदि कोही व्यक्तिले अत्यधिक खाना खाएर वा मदिरा पिएर हानी पुर्यायो भने, गिनीजविरुद्ध कानुनी कारबाहीको बाटो खुल्न सक्थ्यो । त्यसैले अस्वस्थ प्रतिस्पर्धा र खतरनाक व्यवहारलाई प्रोत्साहित गर्न सक्ने त्यस्ता रेकर्डहरु छाप्न बन्द गरिएको थियो ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।