रोहन विजयविरा, जेभीपी र श्रीलंकाली क्रान्तिको अधुरो सपना
श्रीलंकामा एउटा यस्तो अनौठो विद्रोही राजनीतिक पार्टी छ, जनता विमुक्ति पेरेमुना (जेभीपी), जसले दुई पटक सशस्त्र विद्रोह गर्यो र दुवै पटक असफल भयो। चर्को राज्य दमन र असफलताको खरानीबाट फिनिक्स चरा जस्तै फेरि पुनर्जीवित भएर आयो। यो अनौठो संगठन जेभीपी का संस्थापक नेता हुन्– रोहन विजयविरा, जो श्रीलंकाली चे ग्वेभाराको नामले प्रख्यात छन्।
श्रीलंकाको ग्रामीण क्षेत्रमा एउटा साधारण परिवारमा जन्मिएका रोहन विजयविरा किशोर अवस्थादेखि नै कम्युनिस्ट राजनीतिमा संलग्न भएका थिए। कमजोर आर्थिक अवस्थाका कारणले उनले आफ्नो उच्च अध्ययनलाई अगाडि बढाउन सकेका थिएनन्। त्यसैबेला उनले सोभियत संघको लुमुम्बा विश्वविद्यालयमा चिकित्साशास्त्र पढ्न छात्रवृत्ति पाए। ३ वर्षको अध्ययनपछि बिरामी परेका कारण रोहन विजयविरा स्वदेश फर्के। त्यसैबेला सिलोन कम्युनिस्ट पार्टी विभाजित भयो। उनी माओवादी समूह तिर लागे। सोभियत संघले रोहन विजयविराको भिसा रद्द गरिदियो, जसका कारण उनको अध्ययन अधुरै रह्यो। माओवादी समूहको कुनै काम नगर्ने तर वामपन्थी लफ्फाजीबाट वाक्क भएर रोहन विजयविराले जनता विमुक्ति पेरेमुना भन्ने संगठन स्थापना गरे। जेभीपी को मुख्य आधारभूमि १६ देखि २५ वर्षका ग्रामीण क्षेत्रका युवा र विद्यार्थीहरू थिए। उनले श्रीलंका भरि युवा र विद्यार्थीहरू माझ राजनीतिक प्रवचनको शृंखला सुरु गरे। त्यो प्रवचनमाला जेभीपी को पाँच क्लास नामले प्रख्यात भयो। यी पाँच क्लास यस प्रकार थिए:
१. श्रीलङ्कामा पुँजीवादी प्रणालीको संकट
२. श्रीलङ्कामा वामपन्थी आन्दोलनको इतिहास
३. समाजवादी क्रान्तिहरूको इतिहास
४. भारतीय विस्तारवाद
५. श्रीलङ्कामा क्रान्तिको बाटो
रोहन विजयविरा धुरन्धर वक्ता थिए। उनी बिना कुनै नोट ४-५ घण्टा सम्म धाराप्रवाह बोल्न सक्थे। श्रोताको मनमा उनको भाषण गडेर बस्थ्यो।
सिलोन कम्युनिस्ट पार्टी विभाजित भयो। उनी माओवादी समूह तिर लागे। सोभियत संघले रोहन विजयविराको भिसा रद्द गरिदियो, जसका कारण उनको अध्ययन अधुरै रह्यो। माओवादी समूहको कुनै काम नगर्ने तर वामपन्थी लफ्फाजीबाट वाक्क भएर रोहन विजयविराले जनता विमुक्ति पेरेमुना भन्ने संगठन स्थापना गरे।
१९७१ को अप्रिल महिनामा जेभीपी ले अप्रिल क्रान्ति सुरु गर्यो। केही हप्तासम्म जेभीपी का कार्यकर्ताहरूले श्रीलंकाका ग्रामीण क्षेत्रका गाउँ र बस्तीहरू कब्जा गरे। तर विद्रोह सुरु हुनुभन्दा अघि नै रोहन विजयविरा पक्राउ परेका थिए। उनलाई तमिल बहुल इलाका जाफ्नामा लगेर थुनियो। अप्रत्याशित विद्रोहबाट विचलित भएको श्रीलंकाली सरकारले भारत, अमेरिका, चीन, सोभियत संघ र बेलायतको सहयोग लिएर यो विद्रोहलाई दबाउन सफल भयो। जेभीपीको अप्रिल विद्रोहको क्रममा ८ देखि १० हजार जनाको मृत्यु भयो। सरकारले रोहन विजयविरालाई आजीवन कारावासको सजाय दियो। अदालतमा बयानको क्रममा उनले फिडेल क्यास्ट्रोको “इतिहासले मलाई सही साबित गर्नेछ” भन्ने भाषणकै शैलीमा “हामी मारिन सक्छौं तर हाम्रो आवाज कहिले मर्ने छैन” भन्ने ऐतिहासिक भाषण गरे। पछि उनको सजाय २० वर्षमा सीमित गरियो। १९७७ को निर्वाचनमा युनाइटेड नेसनल पार्टीले विजय हासिल गरेपछि जेभीपीका सबै बन्दीहरूले आममाफी पाए। त्यसै क्रममा रोहन विजयविरा पनि जेलबाट छुटे। १९७७ पछि जेभीपी माथिको प्रतिबन्ध हट्यो र यो पार्टी वैधानिक रूपमा काम गर्न थाल्यो।
१९८२ को राष्ट्रपतिको चुनावमा रोहन विजयविरा उठे। उनले दुई लाख पचास हजार भोट ल्याएर तेस्रो बने। ८० को दशकको सुरुवातमा श्रीलंकामा तमिलहरूको विद्रोह पनि सुरु भएको थियो। यसै क्रममा राजधानी कोलम्बोमा साम्प्रदायिक दंगा भयो। सरकारले यही मौकामा जेभीपीमाथि प्रतिबन्ध लगायो। श्रीलंकाको गृहयुद्धमा भारतले हस्तक्षेप गरेर शान्ति स्थापना गर्न ठूलो संख्यामा सेना पठाएपछि १९८७ मा जेभीपी ले भारतीय विस्तारवाद र उसको स्थानीय एजेन्ट श्रीलंकाको सरकारविरुद्ध देशभक्तिपूर्ण युद्ध सुरु गर्यो। यो १९७१ को जस्तो आम विद्रोह थिएन। यो धेरै संगठित र व्यवस्थित छापामार युद्ध थियो। यस युद्धले श्रीलंकाको दक्षिणी क्षेत्र युद्धभूमिमा परिणत भयो। जेभीपीले पनि सरकारी सेना, प्रहरी, सुराकी र विपक्षी दलका कार्यकर्ताहरूलाई आक्रमण गर्न थाल्यो। सरकारले पनि जेभीपी का समर्थकहरूको सफाया गर्न थाल्यो। ३ वर्षको हिंसात्मक विद्रोहपछि श्रीलंकाली सरकारले भारतीय सेनालाई फिर्ता पठायो र तमिल विद्रोही संगठन लिट्टे (LTTE) संग युद्धविराम गर्यो अनि आफ्नो पूरा शक्ति जेभीपीलाई दबाउन प्रयोग गर्यो।
श्रीलंकाको गृहयुद्धमा भारतले हस्तक्षेप गरेर शान्ति स्थापना गर्न ठूलो संख्यामा सेना पठाएपछि १९८७ मा जेभीपी ले भारतीय विस्तारवाद र उसको स्थानीय एजेन्ट श्रीलंकाको सरकारविरुद्ध देशभक्तिपूर्ण युद्ध सुरु गर्यो। यो १९७१ को जस्तो आम विद्रोह थिएन। यो धेरै संगठित र व्यवस्थित छापामार युद्ध थियो।
जेभीपी का मुख्य नेता रोहन विजयविरा श्रीलंकाको एउटा गाउँको चिया बगानमा लुकेर बसेका थिए। आफ्ना मुख्य नेतालाई समेत नचिनेर, एक पटक उनी बसिरहेको घरमा जेभीपी का कार्यकर्ताहरू चन्दा माग्न आए। मुस्कुराउँदै रोहन विजयविराले सय रुपियाँ चन्दा दिएर पठाए। केही नेताहरूको गिरफ्तारीपछि रोहन विजयविरालाई सरकारले गिरफ्तार गर्न सफल भयो। उनलाई सेनाले लामो बयान लियो, जसमा श्रीलंकाका रक्षामन्त्री रंजन विजयरत्ने पनि सामेल थिए। रोहन विजयविराले आफ्नो पार्टीको सम्बन्धमा कुनै पनि जानकारी दिन इन्कार गरे। उनलाई आफ्ना समर्थकहरूलाई हिंसा त्याग्न अनुरोध गर्ने वक्तव्य दिन लगाइयो। उनले वक्तव्य दिए, जसलाई रेकर्ड गरियो। त्यसै क्रममा एक जना प्रहरीका एसपी आएर रोहन विजयविराको कपाल समातेर झापड हाने। उनले “तिमी जस्तो मान्छेले मात्र यस्तो गर्न सक्छ” भनेर जवाफ दिए।
१९८९ नोभेम्बर १३ का दिन बिहान ३ बजे तिर, जब यो सोधपुछ सकियो र रोहन विजयविरालाई त्यो घरबाट बाहिर लान थालियो, उनले सोधपुछ गर्ने सैनिक अधिकारीलाई भने, "म खुसी छु, जीवनको अन्तिम क्षणमा भए पनि तपाईंसँग भेट भयो। अब म धेरै बाँच्दिन होला। मेरो अन्तिम सन्देश श्रीमतीलाई सुनाइदिनुहोला" भनेर केही नितान्त व्यक्तिगत कुरा भने। त्यसपछि रोहन विजयविरालाई शमशान घाटमा लगियो, जहाँ उनलाई खुट्टामा गोली हानेर जिउँदै जलाइयो।
रोहन विजयविरालाई मारेको दुई-तीन महिनाभित्रै जेभीपी का एक जना बाहेक सबै मुख्य नेतालाई समातेर सेनाले हत्या गर्यो। श्रीलंकाली सेनाले जेभीपी माथि गरेको दमन यति रक्तपातपूर्ण थियो कि ६ महिनाभित्रै यस संगठनका ३० हजार कार्यकर्ताहरूको हत्या गरियो। त्यसबखत एम्नेस्टी इन्टरनेशनलले श्रीलंकाको स्थिति बारे लेखेको थियो: "सडकका किनारमा, खेतबारीमा, र चिहानघारीमा खातका खात लाशहरू खुलारूपमा थुपारिएका थिए। लाशहरू नदीहरूमा पनि फालिएका, नचिनिने गरी क्षतविक्षत पारिएका र जलाइएका थिए।"
जेभीपी को विद्रोह दबाउन सफल भएपछि रक्षामन्त्री रंजन विजयरत्नेले घमण्डका साथ भनेका थिए - “Match is over (म्याच ईज ओभर)”। तर त्यसको केही वर्षपछि तमिल टाइगर्सले रोहन विजयविरालाई मार्न आदेश दिने राष्ट्रपति प्रेमदासा र रक्षामन्त्री रंजन विजयरत्ने दुवै जनाको हत्या गरेर उनीहरूको पनि "game over" गरिदियो। जेभीपीको विद्रोह दबाए लगत्तै राजधानी कोलम्बो र अरू ठाउँहरूमा हातले लेखिएका जेभीपीका पोस्टरहरू देखा परे, जसमा लेखिएको थियो - "Just because two plates are broken, the hotel will not be closed" (दुई वटा प्लेट फुट्दैमा होटल बन्द हुने वाला छैन)। यत्रो बर्बर दमनपछि पनि जेभीपी लोप भएन।
१९९० को दशकमा जेभीपी फेरि वैधानिक राजनीतिक पार्टीको रूपमा अघि आयो र चुनावमा भाग लिन थाल्यो। २००० मा भएको राष्ट्रिय चुनावमा ३९ सिट जित्यो।
२०२२ को आर्थिक संकटपछि श्रीलंकाका परम्परागत राजनीतिक दल र नेतृत्व वर्ग प्रति आम जनतामा वितृष्णा बढेको छ, जसका कारण आम मानिसहरू माझ जेभीपीप्रति समर्थन बढ्दै गएको छ।
अहिले जेभीपी अर्को ऐतिहासिक जितको संघारमा छ। यहि बर्षको सेप्टेम्बर २१ मा हुन लागेको राष्ट्रपति चुनावमा जेभीपीका नेता अनुरा कुमारा दिसानायके अग्रपंक्तिमा छन्। जेभीपी संलग्न नेसनल पिपल्स पावर गठबन्धनको तर्फबाट अनुरा कुमारा दिसानायके चुनावमा खडा भएका हुन्। २०१९ मा भएको राष्ट्रपति चुनावमा पनि नेसनल पिपल्स पावर गठबन्धनको तर्फबाट अनुरा कुमारा दिसानायके उठेका थिए। त्यसबेला उनी तेस्रो भएका थिए। तर २०२२ को आर्थिक संकटपछि श्रीलंकाका परम्परागत राजनीतिक दल र नेतृत्व वर्गप्रति आम जनतामा वितृष्णा बढेको छ, जसका कारण आम मानिसहरू माझ जेभीपीप्रति समर्थन बढ्दै गएको छ।
प्रतिक्रिया