संक्रमण कालको जरासन्ध
उत्ताउलो, उच्छृङ्खल र आत्मकेन्द्रित
कस्तो संयोग ! मर्यो पनि त्यसरी नै जुन आधारमा ऊ जन्मिएको थियो । फरक के मात्रै भने राक्षसले जोड्यो मान्छेले बध गर्यो । काश, दुस्वप्न न देखेको र सत्कर्ममा लागेको भए ! हिरो पल्टिन न खोजेको भए ! अनि भने मोरालाई ज्या है भन्दिने पनि कोही भएन ।
हरिभक्त कटुवालले भनिदिए,'म संक्रमण कालको जरासन्ध हुँ !'
जो परिवन्द छ, जसले जस्ता पात्र तैयार गरेको छ जो हुनुहार हुनु छ र एउटा कवि जो देख्न र भोग्न अभिशप्त छ ।
जरासन्ध महर्षि वेदव्यास रचित महाभारत महाकाव्यका एक खलनायकी पात्र हुन् । (यो महाकाव्य दुनियाकै सर्वाधिक वृहद एवं विस्तृत महाकाव्य मानिन्छ । यसमा १ लाख १० हजार भन्दा बढी श्लोक र २ लाख भन्दा बढी पद र १८ लाख शब्द खर्चिएका छन् । महाभारतको आदिपर्वको प्रथम अध्यायको श्लोक ६२ देखि ८३ मा यसका रचयिता, पृष्ठ्भुमि र उद्देश्य वर्णन गरिएको छ ।)
जरासन्धका बाबु मगध नरेश बृहद्रथ हुन् । बृहद्रथका दुइटी पटरानी थिए, निसन्तान । एक दिन राजा राजधानी नजिकै आएर बसेका ऋषि चंडकौशिकलाई भेट्न भनेर पुग्छन् । राजाले आफू नि:सन्तान भएको दु:ख पोख्छन् । ऋषि करुणावश राजालाई एउटा आँप दिदै भन्छन्, ‘सन्ताप न गर ! यो लगेर आफ्नी रानीलाई देउ, सन्तान प्राप्त हुन्छ ।' राजा दरवार फर्कन्छन् । तर सकस, एउटा आँप दुइटी रानी । आधा आधा बाँडेर खान दिन्छन् । यथा समय रानीहरुले जन्म दिन्छन् आधा आधा शरीर भएको पुत्र । डराएर जङ्गलमा फ्याँकी दिन्छन् । संयोगवश, त्यहीं ठाउँमा एउटी राक्षसनी आइपुग्छे । उसले मासुको साप्रो ठानेर दुइटै टुक्रा के उठाकी हुन्छे, ती दुई जोडिएर एक सर्वाङ्ग सजीव बालक बन्न पुग्छ । दुई जराको सन्धिबाट बनेको हुँदाजरासन्ध । गठबन्धनको योग । विसंगतिको जोड ।
राक्षसनीले बालकको लालनपोषणको निम्ति राजा बृहद्रथलाई सुम्पिन्छे । दुवै रानीले दूध चुसाउदै उसलाई हुर्काउँछन् । जसै राजकाजको करिश्माबारे ऊ थाहा पाउँदै गयो उसलाई चक्रवर्ती सम्राट हुने महत्वाकांक्षा उर्लेर आउन थाल्यो ।ऊ महादेवको बडो भक्त । 'महादेवका नाममा १०१ राजालाई एकमुष्ठ बली चढाउन सकेँ भने कसो महादेव खुशी भएर मेरो 'मन्सुवा' पूरा न गरी देलान् ?!' अब भने ऊ 'गुण्डागिरी'मा उत्रेर उत्पात मचाउन थाल्यो । कसैलाई गनोस त मर्नु !एक एक गर्दै राजाहरु थुन्न थाल्यो । विरोधिलाई निमिट्यान पार्यो, यतै कत्लेयाम उतै कत्लेयाम । को चुइँक्क बोल्ने ?! लोभिपापीहरुलाई खुँदो । तर त्यो संख्या पुग्नुअघि नै ऊ भीमसेनको हातमा दुई फ्याँक च्यातिएर मर्न पुग्यो । कस्तो संयोग ! मर्यो पनि त्यसरी नै जुन आधारमा ऊ जन्मिएको थियो । फरक के मात्रै भने राक्षसले जोड्यो मान्छेले बध गर्यो । काश, दुस्वप्न न देखेको र सत्कर्ममा लागेको भए ! हिरो पल्टिन न खोजेको भए ! अनि भने मोरालाई ज्या है भन्दिने पनि कोही भएन ।
जीवन दर्शन नै उस्तो भए पछि कसका बाउको के लाग्छ ?! हुनुहार दैव न टार, अवश्यम्भाविता, आफैंले खनेको खाडल ।
प्रतिक्रिया