ख्वप विश्वविद्यालय स्थापनाको कुरा नागपास खेले जस्तो भइरहेको छ

शिक्षा भनेको सेवा हुनुपर्ने हो तर त्यसलाई किनबेचको वस्तु बनाइयो– सुनील प्रजापति, भक्तपुर नगरपालिकाका मेयर

आम नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध गराउनु राज्यको दायित्व हो– सैद्धान्तिक रुपमा यो स्वीकारिएको तथ्य हो । तर नेपालमा सबैभन्दा भयानक व्यापारिकरण भएकै क्षेत्र शिक्षा र स्वास्थ्य भएको छ ।

शिक्षामा पनि नेपालमा सबैभन्दा महंगो शिक्षा स्वास्थ्य सेवासम्बन्धी शिक्षा भएको छ । स्वास्थ्य शिक्षामा भएको भयानक व्यापारीकरणले यतिखेर आम नेपाली जनताका लागि स्वास्थ्यको पढाइ धान्नै नसक्ने र आँट्नै नसक्ने शिक्षा भएको छ । त्यस्तै इन्जिनियरिङ सेवासम्बन्धी शिक्षा पनि उस्तै महंगो र आममानिसका लागि निक्कै महंगो शिक्षा भएको छ ।

यस्तो स्थितिमा भक्तपुर नगरपालिकाले अति सस्तोमा शिक्षा सेवा उपलब्ध गराउने लक्ष्यका साथ मेडिकल कलेज समेत सञ्चालन गर्ने गरी अघि सारेको ख्वप विश्वविद्यालयको अवधारणा बारम्बार चर्चामा आउने गरेको छ । यो विश्वविद्यालय स्थापनाको लागि आवश्यक ऐन निर्माणको लागि लामो समयदेखि पहल हुँदै आएको छ र यसबारेको विधेयक सदनमा विचाराधीन पनि छ । बारम्बार सदनमा प्रस्तुत हुने तर प्रक्रिया बीचैमा रोकिने लामो रस्साकस्सीबीच फेरि ख्वप विश्वविद्यालयको विधेयक अघि बढाइने भएको छ ।

यस्तो स्थितिबीच ख्वप विश्वविद्यालयको अवधारणालगायत भक्तपुर नगरपालिकाले शिक्षाको क्षेत्रमा गरिरहेका तथा गर्न खोजिरहेका प्रयासहरुका बारेमा हामीले भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिसँग कुराकानी गरेका थियौं । यो कुराकानी सदनमा ख्वप विश्वविद्यालयको विधेयक पुनः अघि बढाइनुभन्दा केही समय अघि गरिएको हो । प्रस्तुत छ– सोही कुराकानीको सम्पादित भिडियोः

–मेडिकल शिक्षाका लागि विदेशमा कति लिन्छ, हाम्रा भाइबहिनीले कति तिर्छन्, हामी तुलना गरेर हेर्छौं । एमबीबीएस पढ्नका लागि पनि ५०–६० लाख खर्च गर्नुपर्छ । त्यसरी पास गरेर आउनेहरुको तलब भने ३०–४० हजार मात्र छ । एमडी गर्न थप ४०–५० लाख खर्च गर्नुपर्छ ।

–एकजना डाक्टर तयार गर्नको लागि करोड रुपियाँ नभइकन सम्भव नै छैन । पैसा तिरेर पढ्नका लागि गरिबको निम्ति क्षमता भएर पनि कुनै सम्भावना नै छैन ।

–नेपाल सरकारले एमबीबीस पढ्न उपत्यकाभित्र ४२ लाख र बाहिर ४५ लाख तोकेको छ । १०–१२ लाख अतिरिक्त पैसा लिन्छ ।

–देशका सबैले राम्रो कलेज भनेर मानेको हाम्रो दुई वटा इन्जिनियरिङ कलेजमा पनि शुल्क सस्तो छ । दुवै कलेजबाट वर्षको ४३२ इन्जिनियर उत्पादन हुन्छ । अरु कलेजले ११ देखि १५ लाख लिइरहँदा हामीले ४ लाख ७० हजारमा इन्जिनियरिङ पढाइरहेका छौं ।

–हाम्रै छोराछोरीलाई चिकित्सा शिक्षा पढ्नका लागि ५०–६० लाख शुल्क किन ? यो लुटेको हो । स्वास्थ्य शिक्षामा राज्यले लगानी गर्नुपर्छ ।

–भक्तपुर नगरपालिकाले सात–सातवटा कलेजहरु चलाउन सक्छ भने अर्को मेडिकल कलेज चलाउन असम्भव छैन । हामीले भनिरहेकै त्यही हो ।

–शिक्षा भनेको सेवा हुनुपर्ने हो । तर त्यसलाई विनिमय (किनबेच)को वस्तु बनाइयो ।

–शिक्षा र स्वास्थ्यमा राम्रोसँग काम गर्न सक्यौं भने जनताका आधा समस्या त्यहीँ समाधान हुन्छ भन्ने हामीले ठानेका छौं ।