नवउदारवादको जंगली पूँजीवाद

काठमाडौंको दुर्गन्धित फोहोरबाट केही दिन बाहिर बस्दा, दिमागले प्रश्नको उत्तर खोज्ने प्रयास गर्छ। कता जाँदैछ विश्व, अनि कता लगिँदैछ नेपाललाई? उत्तर सजिलो छैन, तर पश्चिमको तनाव र अहंकारले मानवजातिलाई एउटा दुःखद अवस्थामा पुर्‍याउन सक्छ।

१. पश्चिमी चर्चित पत्रकार डेभिड हर्स्ट भन्छन्, "पश्चिमी सरकारहरू इतिहासको दुर्दान्त पाटोमा उभिएका छन्। हाम्रो वर्तमान नेतृत्व, जो इतिहासलाई गलत दिशामा क्रियाशील छ, छिट्टै फोहोर फ्याँक्ने डस्टबिनमा विलीन हुनेछ।" डेभिड अल्जजीरालाई दिएको एक अन्तर्वार्तामा भन्छन्।

२. सन् १९९१ मा विभिन्न षड्यन्त्रबाट पश्चिमले सोभियत युनियनको विघटन गरायो। उसले सोभियत कम्युनिस्ट पार्टीमा गोर्बाचोभलाई निर्माण गर्यो, अरबौं खर्च गरेर। त्यसपछि जन्मियो नवउपनिवेशवादी "गुलाफ क्रान्ति" को दौर। अफगानिस्तानमाथि आक्रमण, इराकमाथि आक्रमण, एमनमाथि आक्रमण, लिबियामाथि आक्रमण, र दक्षिण अमेरिकामाथि "निरंकुश प्रभुत्व," जसलाई नोम चोम्स्की नवसाम्राज्यवाद भन्छन्, जसको जन्म नवउदारवाद र त्यसको घोषणागर्ने वाशिङ्टन कन्सेन्ससबाट भएको थियो। त्यसले भन्यो, समाजवादलाई नष्ट गर, "समाजवाद भत्काउ, यसको पुनर्जागरण हुन नदेऊ।"

३. "जे जे प्रतिज्ञा पश्चिमी सरकार र नाटोले गरेका थिए, त्यो केही पनि भएन। उनीहरूले केही देशलाई अलोकतान्त्रिक र आतंककारीको नाममा बर्वाद गरे," डेभिड भन्छन्। "इतिहासको अन्त्य भएन, इतिहास दूषित भयो।" उनी भन्छन्, "पश्चिमी सरकार फेरि तिनै गल्ती दोहोर्‍याइरहेका छन्।" हो, उनीहरूले रुसलाई आफ्नो कठोर नियन्त्रणमा राख्न "युक्रेनमा नाटो लैजाँदै जेलेन्स्कीलाई पैदा गरेर युद्धको अवस्था निम्त्याए। अहिले गाजामा युद्ध लडिरहेका छन्।"

४. उनीहरूले १९९१ मा सोभियत युनियनलाई ध्वस्त पारे तर उनीहरूको नियत कम्युनिस्ट शासन ढाल्ने होइन, रूसलाई कब्जा गर्ने थियो, जुन आज उनीहरूले चीन र भारतलाई गर्न चाहन्छन्। चीनका लागि ताइवान छ र भारतका लागि बाङ्लादेशलाई आफ्नो हातमा लिएका छन्। दुर्भाग्यवश उनीहरूको नवउपनिवेशवादले पुटिनको राष्ट्रवाद जन्मायो।

५. आज विश्व समग्र दक्षिण र नाटोका बीचमा विभाजित छ, त्यसैले उनीहरूले अन्तर्राष्ट्रिय कानुनलाई विसर्जन गर्दै "कानुनद्वारा शासित विश्वको" परिकल्पना गर्दैछन्। उनीहरूले भन्न थालेका छन् "युरोप (पश्चिम) बगैँचा हो र अरू ठाउँ जंगल।" उनीहरू भन्दैछन् "जंगलमा गएर जंगलीहरूलाई सभ्य बनाउनुपर्छ।" उनीहरू नवउदारवादको व्यापार गरिरहेका छन्। तर डेभिड भन्छन्, "यो उदारवाद होइन। उनीहरूको यो नवउदारवाद जंगली पूँजीवाद हो।"

६. आज यो नयाँ युद्धको तयारी गर्दैछ। युक्रेनमा जेलेन्स्कीको निर्माण गरिएको थियो, अफगानिस्तानमा घानी ल्याइएको थियो, यस्तै यस्तै। बाङ्लादेशमा पनि आफ्नो मान्छे तयार गरिएको थियो। नेपालमा पनि तयार गरिएको छ। युक्रेन रुसका विरुद्ध तयार गरिएको थियो। बाङ्लादेश उदाउँदो भारतका विरुद्ध अब तयार पारिएको छ। नेपाल चीनका विरुद्ध आवश्यक छ।

नेपालमा केही त्यस्ता मानिसहरू स्थापित गरिएका छन् जसलाई झूठो प्रचारबाट जनताका आँखा अगाडि देवता बनाइएको छ। वर्तमान राजनीतिक दलहरूको हैसियत समाप्त पारिएको छ उनीहरू भित्रै खेलेर। चीन र भारतसँगको पारम्परिक सम्बन्धबाट टाढा तानेर पहिला चीन र पछि भारतका विरुद्ध प्रयोग गर्ने, युक्रेन निर्माण गर्ने खेल नै नेपाली राजनीतिको वर्तमान अन्तर्निहित पश्चिमी रणनीति हो। तर मूर्ख कोही इतिहासको पुनर्जीवनका लागि, कोही लक्ष्यहीन विद्रोहका लागि, र कोही तमासाका लागि राजनीतिलाई कज्याउने जुवा खेलिरहेका छन्। तर नेपाली जनताको चाहना त निर्वाध स्वाधीनता र आर्थिक समृद्धि हो।