शरीरमा रगतको मुख्य काम के हो ?

मानिसको जीवनको लागि अति आवश्यक पदार्थ हो रगत । रगतको अभावमा मानिस जीवित रहनै सक्दैन ।त्यसैले यसलाई  शरीरको जीवनदायिनी तरल पदार्थ पनि भन्ने गरिन्छ । एउटा मान्छे बाँच्न र स्वस्थ रहनका लागि रगतले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।

रगतका कामहरु

मानिसको शरीरमा रगतले मानिसलाई स्वस्थ र निरोगी राख्नका लागि अत्यावश्यक क्रियाहरु सम्पन्न गरिरहेको हुन्छ । यसक्रममा यसले निरन्तर रुपमा शरीरमा  अक्सिजन र पोषक तत्वहरूको आपूर्ति (Transportation of Oxygen and Nutrients) गर्ने काम गरिरहेको हुन्छ । खासगरी, रगतको रातो रक्तकोष (Red Blood Cells) मा हुने हेमोग्लोबिनले फोक्सोबाट अक्सिजनलाई शरीरका सबै अंगहरू र कोषहरूमा पुर्‍याउँछ। यो अक्सिजन कोषहरूको ऊर्जा उत्पादनका लागि आवश्यक हुन्छ। त्यसका साथसाथै रगतले आन्द्राबाट ग्रहण गरिएका पोषक तत्वहरूलाई शरीरभरि वितरण गर्छ । ती पोषक तत्त्वहरुले शरीरका कोषहरूलाई आवश्यक ऊर्जा र पोषण प्रदान गर्छ।

रगतले गर्ने अर्को मुख्य काम भनेको शरीरबाट  विषाक्त पदार्थहरूको निकास पनि हो । हाम्रो शरीरमा कोषहरुले काम गर्ने सिलसिलामा कार्बनडाइअक्साइड पनि पैदा भइरहेके हुन्छ । कोषहरुले निकालेको त्यस्ता कार्बन डाइअक्साइडलाई रगतले नै फोक्सोमा पुर्‍याउँछ, जहाँ त्यस्ता शरीरका लागि हानिकारक कार्बन डाइअक्साइडलाई छान्ने र रगतलाई शुद्ध बनाउने काम हुन्छ । त्यसरी छानिएको कार्बन डाइअक्साइड हामीले  सास फेर्दा बाहिर निस्कासन हुन्छ ।

त्यसै गरी, रगतले नै हाम्रो शरीरमा पैदा भएका विषाक्त पदार्थहरुलाई शुद्धिकरणका लागि रगतले कलेजो र मिर्गौलामा ल्याउने काम गर्छद । ती अङ्गहरुमा त्यस्ता विषाक्त पदार्थहरु  प्रशोधन भएर मूलत: दिसा तथा पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकालिन्छन्।

हाम्रो शरीरमा रगतको अर्को सबैभन्दा मुख्य काम भनेको  रोग प्रतिरोध (Immune Defense) प्रणालीलाई सञ्चालन गर्नु हो । रगतमा रहेका सेतो रक्तकोषले शरीरलाई ब्याक्टेरिया, भाइरस, र अन्य हानिकारक तत्वहरूबाट बचाउँछ। हाम्रो शरीरमा त्यस्ता हानिकारक तत्त्वहरु कुनै पनि माध्यमबाट प्रवेश गर्‍यो भने रगतमा रहेका ती प्रतिरोधात्मक कोषहरूले संक्रमणलाई पहिचान गरेर नष्ट गर्छन् र शरीरको रक्षा प्रणालीलाई सुदृढ बनाउँछन्।

रगतको अर्को मुख्य काम भनेको चोटपटक लाग्दा रगतलाई अनावश्यक रुपमा खेर जान नदिने, त्यसलाई जमाउने र घाउ चोटपटकहरु निको पार्ने पनि हो । जब हामीलाई चोट पटक लाग्छ, त्यस ठाउँबाट रगत बग्न थाल्छ । त्यस अवस्थामा रगतमा रहेका प्लेटलेट्स (Platelets) र क्लोटिङ फ्याक्टरहरूले रगतलाई  जमाउने प्रक्रिया सुरु गर्छन्। यसले घाउमा रगतको बहावलाई केही बरेमै रोक्छ र चोटपटकहरुलाई छिटो निको पार्ने काम पनि गर्छ ।

रगतले हाम्रो शरीरको तापक्रमलाई स्थिर राख्ने काम पनि गर्छ ।  गर्मीमा रगत छालामा पुगेर शरीरको अतिरिक्त तापलाई बाहिर निकाल्न मद्दत गर्छ भने चिसोमा, रगत शरीरको केन्द्रमा केन्द्रित भएर महत्वपूर्ण अंगहरूलाई तातो बनाउने काम गर्छ ।

मानव शरीरमा शारीरिक कार्यहरुलाई नियन्त्रित र समन्वयित गर्ने काम हार्मोनहरुले गरिरहेको हुन्छ । हाम्रो शरीकार विभिन्न ग्रन्थीहरुबाट उत्पादन हुने रासायनिक सन्देशवाहकहरु हुन् हार्मोन जसले मानव शरीरको विकास र बृद्धि, वयस्कहरुमा यौन तथा प्रजनन प्रक्रियाको विकास, मानिसको मुड र भावनाहरुलाई नियन्त्रण लगायत अन्य महत्वपूर्ण जैविक प्रक्रियाहरुलाई सञ्चालन र नियन्त्रण गर्ने गर्छ । ती हार्मोनहरुलाई रगतले नै शरीरभरि पुर्‍याउने काम गर्छ ।

हाम्रो शरीर स्वस्थ र निरोगी रहनका लागि यसको पीएच सन्तुलन ठीक हुनु जरुरी छ । रगतले हाम्रो शरीरको  एसिड-बेस सन्तुलनलाई कायम राखेर विभिन्न जैविक प्रक्रियाहरूको प्रभावकारी सञ्चालन गर्ने काम गरिरहेको हुन्छ ।

मानव शरीरको ५० देखि ७० प्रतिशत मात्रा पानी अर्थात् तरल पदार्थ हुन्छ । रगतमा रहेका प्लाज्मा प्रोटिनहरूले रगत र टिश्युहरूको बीचमा तरल पदार्थको सन्तुलन कायम राख्न मद्दत गर्छन् ।

निचोडमा भन्दा रगत मानव शरीरको लागि जीवनदायिनी तत्व हो । यसले हाम्रो शरीरमा अक्सिजन र पोषक तत्वहरूको आपूर्ति, विषाक्त पदार्थहरूको निकास, रोग प्रतिरोध, रक्त जमाउने, तापक्रम नियन्त्रण, हार्मोन वितरण, पीएच सन्तुलन, र तरल पदार्थको सन्तुलनजस्ता विभिन्न कार्यहरू गर्छ।

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।