के सर्पको पूजा हिन्दूहरुले मात्रै गर्छ ?

पारिस्थितिकीय प्रणालीमा महत्त्वपूर्ण जीव सर्प !

केही समयअघि हिन्दू धर्ममा आस्था राख्नेहरूले नागपञ्चमी मनाए। त्यस दिन धेरैले नागको मूर्ति भएका मन्दिरहरूमा गएर दर्शन गरे। पण्डित आएर घर-घरमा नागको पोष्टर टाँसे।

धेरैलाई लाग्ने गर्छ कि नागपञ्चमी हिन्दू धर्मसँग मात्र सम्बन्धित पर्व हो। आंशिक रूपमा यो सत्य भए पनि, नागपञ्चमी अर्थात् सर्पलाई पूजा गर्ने कुरा हिन्दूहरूको मात्रै पर्व होइन। वास्तवमा, नागको पूजा गर्ने चलन धार्मिक कुरामात्रै नभएर प्रकृतिको पूजा गर्ने, प्रकृतिलाई सम्मान गर्ने, र प्रकृतिप्रति कृतज्ञता गर्ने मानवीय संस्कारसँग जोडिएको कुरा हो। यो संस्कार हिन्दू समाजमा मात्र नभएर विश्वका अन्य धेरै भागहरूमा तथा धर्मावलम्बीहरूमा पनि इतिहासको लामो कालखण्डदेखि नै प्रचलित रहँदै आएको हो।

सर्प पूजाका केही दृष्टान्तहरू

हिन्दू धर्मावलम्बीहरूबाहेक संसारका विभिन्न धर्म, संस्कृति, र समुदायहरूमा पनि सर्प पूजाको प्रचलन पाइन्छ। बौद्ध धर्मावलम्बीहरूले पनि नागलाई बुद्धको रक्षकको रूपमा मानिन्छ। विशेषतः थाईल्यान्ड, कम्बोडिया, लाओस लगायतका दक्षिणपूर्वी एशियाली देशहरूमा नागलाई विशेष महत्व दिने गरेको पाइन्छ।

बौद्ध पौराणिक कथामा, गौतम बुद्धलाई ध्यान गरिरहेको बेला वर्षाबाट नागले रक्षा गरेको कथा पाइन्छ, जसको नाम नागमुछलिन्द्र हो।

चीनमा, सर्प र ड्र्यागनको आफ्नै विशेष मान, सम्मान, र महत्व छ। त्यहाँ सर्प र ड्र्यागनलाई शक्ति, सौभाग्य, र समृद्धिको प्रतीक मानिन्छ। चीनको संस्कृतिमा ड्र्यागनको विशेष स्थान छ र ड्र्यागनको पूजा गरिन्छ।

प्राचीन मिस्रमा, सर्प (विशेष गरी कोब्रा) लाई उरेउस (Uraeus) मानिन्थ्यो, जो देवी वाजेटको प्रतीक हो। यो शक्ति र संरक्षणको प्रतीकको रूपमा फिरौनको श्रीपेजमा सजाइन्थ्यो।

ग्रीक मिथकहरूमा, सर्पलाई एस्क्लेपियस (Asclepius) को रूपमा पूजा गरिन्थ्यो, जसलाई उपचार र स्वास्थ्यका देवता मानिन्छ। अहिले पनि एस्क्लेपियसको छडीमा सर्पलाई देखाइन्छ, जुन चिकित्सा क्षेत्रको प्रतीक हो।

प्राचीन माया र एज्टेक सभ्यतामा पनि सर्पको विशेष स्थान थियो। एज्टेक सभ्यतामा, क्वेत्जाल्कोआटल (Quetzalcoatl) नामक पखेटा भएको सर्प देवताको पूजा गरिन्थ्यो। माया सभ्यतामा सर्पलाई शक्ति, ज्ञान, र पुनर्जन्मको प्रतीक मानिन्थ्यो।

पश्चिम अफ्रिकामा प्रचलित पारम्पारिक वूडू धर्ममा दम्बल्लाह (Damballa) नामक सर्प देवताको पूजा गरिन्छ। दम्बल्लाहलाई सृष्टिको रक्षक, ज्ञान, र जीवनको स्रोतको रूपमा मानिन्छ।

अष्ट्रेलियाका आदिवासी धर्ममा रेनबो सर्प (Rainbow Serpent) लाई सृष्टि र पृथ्वीको संरक्षकको रूपमा मानिन्छ।

जापानमा प्रचलित शिन्तो धर्ममा, सर्पलाई देवता बृक्षसँग जोडिएको मानिन्छ।

इन्डोनेशियामा सर्पको पूजा हिन्दू-बौद्ध संस्कृतिबाट प्रभावित भएको मानिन्छ।

माथिका तथ्यहरूबाट थाहा लाग्छ कि प्राचीन कालदेखि नै विभिन्न क्षेत्रमा बस्ने र फरक फरक धर्म मान्नेहरूले पनि सर्पलाई महत्त्व दिँदै आएका छन्। वास्तवमा, उनीहरूले सर्पको पूजा गर्नु र त्यसको महत्त्वलाई स्वीकार्नु फगत धार्मिक आस्था मात्र नभई पारिस्थितिकीय प्रणालीमा सर्पको महत्त्व बुझेको र तिनलाई मानवका लागि हितकारी मित्र जीवका रूपमा पहिचान गरेको पनि देखाउँछ।

पारिस्थितिकीय प्रणालीमा सर्पको महत्त्व

वास्तवमा, पारिस्थितिकीय प्रणालीमा सर्पले महत्वपूर्ण भूमिका खेल्छन्। सर्पले साना स्तनधारी, पक्षी, उभयचर, र कीराहरूलाई शिकार बनाउँछन्। ती जीवहरूको जनसंख्याको नियन्त्रण गरेर सर्पले पारिस्थितिकी तन्त्रको सन्तुलनमा योगदान गरिरहेका हुन्छन्।

सर्पहरूले बाली नष्ट गर्ने मुसा र अन्य जनावरलाई आफ्नो आहार बनाएर किसानहरूको सहयोगीका रूपमा काम गर्छन्। यसले बाली नष्ट गर्ने खतरा कम गर्छ र ती जीवहरूबाट फैलिन सक्ने रोगको सम्भावनालाई पनि न्यून पार्छ।

सर्पहरू आफैं पनि अन्य जनावरहरूको आहार बन्छन्। यसले खाद्य श्रृंखलामा ऊर्जा र पोषणको प्रवाहलाई कायम राख्छ।

शत्रु हैन सर्प !

सर्पलाई प्रायः मानिसहरूले शत्रु जीवको रूपमा लिन्छन्, तर यो धारणा एकदमै गलत हो । सर्पलाई शत्रु ठान्ने कुरा धेरै हदसम्म यसबारेका भ्रम तथा डरको कारण उत्पन्न भएको हो। वास्तवमा, सर्प मानव जीवनका लागि शत्रु जीव होइनन् । यो त मानिसका लागि अत्यन्तै उपयोगी मित्र जो हो र  पारिस्थितिकी प्रणालीमा यसको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको हुन्छ ।

मानिसले सर्पलाई शत्रु ठान्नुको प्रमुख कारण नै यो विषालु हुनु हो र यसले टोकेपछि समयमै उपचार पाइएन भने कालको ग्रास बन्नुपर्ने अवस्थाले गर्दा पनि हो । तर वास्तवमा सर्प आक्रामक हैन, रक्षात्मक स्वभावका हुन्छन् । यसले भोजनका लागि मात्रै आक्रमण गर्ने गर्छ । मानिस सर्पको भोजन वर्गमा पर्ने जीव नभएकोले गर्दा पनि सामान्यतः सर्प मानिसहरूबाट टाढा रहन चाहन्छन् । यसले असुरक्षा महसूस गर्यो र भाग्ने मौका नपाएको अवस्थामा मात्रै मानिसलाई  आत्मरक्षाका लागि आक्रमण गर्छन्।तर शिक्षा र सचेतनाको अभावले गर्दा मानिसहरूले सर्पलाई अनावश्यक रूपमा खतरा मान्छन्।

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।