नेता हुनु त यस्तो, जसमा दशकौं विधायक र दुई पटक मुख्यमन्त्री हुँदा पनि धनसम्पत्तिको आशक्ति जागेन !
गान्धीवादलाई व्यवहारमै उतारेका कर्पूरी ठाकुरको अनुपम जीवनशैली
आफूलाई नेता कहलाउने र शासनसत्तामा आसिन हुने मौका पाउनेबित्तिकै अर्कै ग्रहबाट आएका विशिष्ट प्राणी जस्तो ठानेर व्यवहार गर्नेहरुले भारत रत्न कर्पूरी ठाकुरको जीवनचरित्रबाट सिकुन्– वास्तवमै नेता भनेको के हुन् भन्ने कुरा । आफूलाई वामपन्थी–समाजवादी भन्न रुचाउने नेपालका वाम–काङ नेताहरुले उनीबाट सिकून्– वास्तवमै समाजवादी व्यवहार र आचरण भन्ने कुरा के हो भनेर । ठाकुरले अपनाएका समाजवादी जीवनचरित्र र आचरण–व्यवहारलाई नेपालका शासक वर्गहरुले थोरै मात्र पनि अनुशरण गर्ने हो भने पनि शायद संविधानमा उल्लिखित ‘समाजवादउन्मुख’ शब्दको मर्मले थोरै भए पनि सार्थकता पाउने थियो होला । । पटक पटक विहारको मुख्यमन्त्री बनेका ठाकुरले व्यक्तिगत हित र स्वार्थभन्दा सामाजिक हित र स्वार्थको पक्षमा गरेका कामहरु वास्तवमै नेपालका नेताहरुले सिक्नैपर्ने र अनुशरण गर्नैपर्ने खालको छ ।
०००
अचेल "नेता" भन्ने शब्द सुन्नासाथ हाम्रो दिमागमा भ्रष्ट, ठग, र कुनै नैतिकता नभएको, कामचोर तथा राजनीतिलाई धन्दा बनाएर देशको सम्पत्तिमाथि ब्रम्हलुट गर्ने व्यक्तिको बिम्ब आउँछ। तर, समकालीन इतिहासमा केही यस्ता थुप्रै नेताहरू पनि थिए, जसले राजनीतिमा स्वच्छता र इमान्दारिताको अलग्गै मापदण्ड कायम गरेका थिए। त्यस्तै एक जना राजनेता हुन्– भारतको बिहार राज्यका कर्पूरी ठाकुर।
कर्पूरी ठाकुरको जन्म १९२४ जनवरी २४ मा भारतको बिहार राज्यको समस्तीपुर जिल्लाको पितौंझिया गाउँमा भएको थियो। उनको जन्म अति पिछडिएको नाई (हजाम) जातिमा भएको थियो। कर्पूरी ठाकुरका पिता कपाल काट्ने काम गर्थे। उनले १९४० मा पटना विश्वविद्यालयबाट सेकेन्ड डिभिजनमा म्याट्रिकको परीक्षा उत्तीर्ण गरेका थिए। उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए। उनले आफ्नो पढाइ पूरा नगरी राजनीतिमा होमिए। १९४२ मा कर्पूरी ठाकुर महात्मा गान्धीले सुरु गरेको "भारत छोडो" आन्दोलनमा सहभागी भए, जसका कारण उनले २६ महिना भागलपुर जेलमा बस्नुपर्यो। उनी समाजवादी नेताहरू आचार्य नरेन्द्र देव, जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, र मधु लिमयेका नजिकका मित्र थिए।
कर्पूरी ठाकुर प्रखर वक्ता थिए। एक पटक उनले विद्यार्थीहरूको सभालाई सम्बोधित गर्दै भनेका थिए, "हाम्रो देशको जनसंख्या यति छ कि केवल थुक्दै पनि अंग्रेजको शासन उड्नेछ।" यो भाषणबाट अंग्रेज प्रशासकहरू यति चिढिएका थिए कि कर्पूरी ठाकुरमाथि जरिवाना लगाइदिए।
एक पटक उनले विद्यार्थीहरूको सभालाई सम्बोधित गर्दै भनेका थिए, "हाम्रो देशको जनसंख्या यति छ कि केवल थुक्दै पनि अंग्रेजको शासन उड्नेछ।"
१९४७ मा भारत स्वतन्त्र भएपछि कर्पूरी ठाकुर समाजवादी पार्टीको तर्फबाट १९५२ मा बिहार विधानसभाको सदस्यमा निर्वाचित भए। त्यसपछि उनले कहिल्यै पनि चुनाव हारेनन्। उनी आफ्नो मृत्युसम्म विधानसभाका सदस्य नै रहे। कर्पूरी ठाकुर १९६७ मा बिहारको उपमुख्यमन्त्री र शिक्षामन्त्री बनेका थिए। उनले त्यस बेला अंग्रेजी माध्यमका मिशनरी स्कुलहरूमा समेत हिन्दीमा पढाउने प्रचलन सुरु गरे। त्यस्तै, उनले बिहारमा १० कक्षा (म्याट्रिक) सम्मको पढाइलाई निःशुल्क गरे। त्यसैगरी, कर्पूरी ठाकुरले म्याट्रिक तह उत्तीर्ण गर्न अंग्रेजी विषयमा पास नगर्दा पनि हुने व्यवस्था मिलाए। किनकि त्यसबेला धेरै विद्यार्थीहरू अंग्रेजीकै कारण म्याट्रिकमा फेल हुन्थे। यो नियम लागू भएपछि जुन विद्यार्थी गणित, विज्ञान, हिन्दी, र सामाजिक अध्ययन जस्ता विषयमा पास थिए, उनीहरू अंग्रेजीमा फेल भए पनि उत्तीर्ण मानिए। यसले गर्दा बिहारका विपन्न र वञ्चित वर्गको नतिजा राम्रो भयो।
उनले बिहारमा १० कक्षा (म्याट्रिक) सम्मको पढाइलाई निःशुल्क गरे। त्यसैगरी, कर्पूरी ठाकुरले म्याट्रिक तह उत्तीर्ण गर्न अंग्रेजी विषयमा पास नगर्दा पनि हुने व्यवस्था मिलाए। किनकि त्यसबेला धेरै विद्यार्थीहरू अंग्रेजीकै कारण म्याट्रिकमा फेल हुन्थे।
बिहारमा यो नियम अन्तर्गत पास हुनेलाई "कर्पूरी डिभिजन" भनिन्थ्यो।
तर, कर्पूरी ठाकुरको अंग्रेजी भाषालाई कम महत्त्व दिने निर्णयलाई सबैले रुचाएका थिएनन्। बिहारका सम्भ्रान्त वर्गले यो निर्णयको खिल्ली उडाउन गर्थे। १९६७ मा भागलपुरमा भएको एउटा सभामा कर्पूरी ठाकुरलाई व्यंग्य गर्दै एक जनाले भने, "कर्पूरी ठाकुर आफैं त अंग्रेजी बोल्न सक्दैनन् अनि उनले अंग्रेजीको महत्त्व के बुझ्थे?" यो कुरा सुन्नासाथ कर्पूरी ठाकुरले आफ्नो सम्पूर्ण भाषण अंग्रेजीमा दिए र आफ्नो भनाइ समाप्त गर्दै भने, "English is just a language and not a certificate of being knowledgeable!"
१९७० मा कर्पूरी ठाकुर पहिलो पटक मुख्यमन्त्री बने। उनले पदमा पुगेपछि पनि सामाजिक न्यायप्रतिको आफ्नो प्रतिबद्धता बिर्सेनन्। उनले मुख्यमन्त्री सचिवालयको लिफ्टमा चौथो श्रेणीका कर्मचारीहरूलाई चढ्न लागेको प्रतिबन्धलाई फुकुवा गरे। आम्दानी नहुने जमिनमा खेती गर्ने किसानहरूको कर मिनाहा गरे। उनी अन्तरजातीय विवाहका प्रखर पक्षधर थिए। राज्यका कर्मचारीहरूका लागि समान तलब आयोगको सिफारिस लागू गरे। साथै, उनले बिहारभरि रक्सीमाथि प्रतिबन्ध लगाए।
१९७० मा कर्पूरी ठाकुर पहिलो पटक मुख्यमन्त्री बने। उनले पदमा पुगेपछि पनि सामाजिक न्यायप्रतिको आफ्नो प्रतिबद्धता बिर्सेनन्। उनले मुख्यमन्त्री सचिवालयको लिफ्टमा चौथो श्रेणीका कर्मचारीहरूलाई चढ्न लागेको प्रतिबन्धलाई फुकुवा गरे। आम्दानी नहुने जमिनमा खेती गर्ने किसानहरूको कर मिनाहा गरे।
१९७७ को आम निर्वाचनमा जनता पार्टीले बहुमत प्राप्त गरेपछि उनी फेरि मुख्यमन्त्री बने। बिहारको मुख्यमन्त्रीको रूपमा उनको दोस्रो कार्यकाल, जुन १९७७ देखि १९७९ सम्म चलेको थियो, झन् महत्त्वपूर्ण रह्यो। कर्पूरी ठाकुर सामाजिक न्यायका प्रखर हिमायती थिए। कर्पूरी ठाकुरले दिएको एउटा नारा थियो:
'सौ में नब्बे शोषित हैं, शोषितों ने ललकारा है।
धन, धरती और राजपाट में नब्बे भाग हमारा है।'
यसको अर्थ हुन्छ, "सय मध्ये नब्बे शोषित छन्, शोषितहरूले ललकारेका छन्, धन, धर्ती र राज्यमा नब्बे भाग हाम्रो हो।" यो नारा भारतका शोषित, पीडित, र सिमान्तकृत वर्गको जनबोली बन्यो।
कर्पूरी ठाकुरले १९७८ मा मुंगेरी लाल आयोगको सुझावअनुसार सरकारी जागिरमा पिछडिएको वर्गलाई २६% आरक्षणको व्यवस्था गरे। त्यो आरक्षणलाई अझ गहन बनाउँदै अति पिछडिएको वर्गलाई ८% र अन्य पिछडिएको वर्गलाई १२% आरक्षण दिइएको थियो। आरक्षणको आधारलाई जातिगत रूपमा मात्र सीमित नगरी आर्थिक र लैंगिकतालाई समेत समेट्न खोजिएको थियो। यसअनुसार आर्थिकरूपमा विपन्न वर्ग (माथिल्लो जाति) लाई ३% र महिलालाई पनि ३% आरक्षण प्रदान गरिएको थियो।
उनले आफू कुन पृष्ठभूमिबाट आएको हुँ भनेर कहिल्यै बिर्सिएनन्। चरम गरिबी र अभावका बाबजुद पनि उनीमा धन सम्पत्ति आर्जनप्रति कुनै आसक्ति नै जागेन।
कर्पूरी ठाकुरको आरक्षण सम्बन्धी व्यवस्थाले भारतको राजनीतिमा ठूलो महत्त्व राख्छ। १९९० को दशकमा बिपी सिंहले मण्डल कमिसनको सुझावअनुसार जुन आरक्षणको व्यवस्था गरे, त्यसको प्रेरणा कर्पूरी ठाकुरको काम नै थियो।
जातिवादले ग्रस्त बिहारको राजनीतिमा नाई जस्तो अति सिमान्तकृत जातिबाट कर्पूरी ठाकुर सत्ताको शिखरमा पुग्नु कुनै चमत्कारभन्दा कम थिएन। किनकि बिहारमा नाईको संख्या २% भन्दा पनि कम थियो। उनले आफू कुन पृष्ठभूमिबाट आएको हुँ भनेर कहिल्यै बिर्सिएनन्। चरम गरिबी र अभावका बाबजुद पनि उनीमा धन सम्पत्ति आर्जनप्रति कुनै आसक्ति नै जागेन।
मुख्यमन्त्री बनेपछि एक पटक उनका बैनी-ज्वाइँले आफूलाई कुनै जागिरमा लगाइदिन अनुरोध गरे। कर्पूरी ठाकुरले आफ्नो गोजीबाट ५० रुपैयाँ निकालेर बहिनी-ज्वाइँलाई दिदै भने, "छुरा, कैची किन्नुहोस् र आफ्नो पुर्खौली पेशा सुरु गर्नुहोस्।" त्यस्तै, उनी मुख्यमन्त्री रहेको बेला जमिन्दारहरूले उनका बुवालाई काम गर्न बोलाए। कर्पूरी ठाकुरका बुवा बिरामी परेकाले जमिन्दारहरूको सेवामा जान सकेनन्। जमिन्दारहरूले लठैत पठाएर उनका बुवालाई दुःख दिए। प्रहरीले ती लठैतलाई पक्र्यो। यो खबर थाहा पाएपछि कर्पूरी ठाकुरले ती लठैतलाई छोड्न आदेश दिदै भने, "यस्ता घटनाहरू पूरै प्रदेशमा कमजोर वर्गका विरुद्ध भैरहेका छन्। सबै ठाउँमा यस्तो ज्यादतीका विरुद्ध अभियान चलाउनु पर्छ। खाली मुख्यमन्त्रीको बुवाविरुद्धको अपराध रोकेर के हुन्छ?"
भारतमा गान्धीवादी सादा र सरल जीवनशैली धेरै नेताले अपनाएका थिए। त्यस मध्ये, कर्पूरी ठाकुरको सादा जीवनशैलीलाई अनुपम मानिन्छ।
जीवनभर उच्च जाति र जमिन्दारहरूबाट निरन्तर अपमानित हुनुपरे पनि कर्पूरी ठाकुरमा उनीहरूप्रति तिक्तता र बदलाको भावना थिएन। यसको उदाहरणको रूपमा उनको बाल्यकालमा घटेको एउटा घटनालाई लिन सकिन्छ। जब कर्पूरी ठाकुरले म्याट्रिकको परीक्षा राम्रो डिभिजनमा पास गरे, उनका बुवाले उनलाई जमिन्दारको सामु लगे र यो खबर सुनाए। जमिन्दारले जवाफ दिए, "धेरै राम्रो। म तेरो उपलब्धि देखेर खुशी छु। लु, आइज मेरो खुट्टा मालिस गरिदे।" कर्पूरी ठाकुरले जमिन्दारको खुट्टा मालिस गरिदिए।
भारतमा गान्धीवादी सादा र सरल जीवनशैली धेरै नेताले अपनाएका थिए। त्यस मध्ये, कर्पूरी ठाकुरको सादा जीवनशैलीलाई अनुपम मानिन्छ। एकपटक कर्पूरी ठाकुरलाई एउटा प्रतिनिधि मण्डलको साथ विदेश भ्रमणमा जानुपर्ने भयो, तर उनीसँग एउटा पनि कोट थिएन। उनले साथीबाट कोट सापटी लिए। साथीको कोट पनि फाटेको थियो। त्यही कोट लगाएर कर्पूरी ठाकुर अस्ट्रिया पुगे। त्यहाँबाट भारतीय नेताहरूको टोली यूगोस्लाभिया पुग्यो, जहाँ उनको यूगोस्लाभियाका नेता मार्शल टिटोसँग भेट भयो। टिटोले कर्पूरी ठाकुरको फाटेको कोट देखेपछि उनलाई एउटा कोट उपहार दिए।
जनता पार्टीका चर्चित नेता चन्द्रशेखरले कर्पूरी ठाकुरको यस्तो अवस्था देखेर आफ्नो कुर्ता फैलाउँदै कर्पूरी ठाकुरको लागि एउटा नयाँ कुर्ता किन्नको लागि चन्दा माग्न थाले। चन्द्रशेखरले आफैले चन्दा मागेर जम्मा पारेको पैसा कर्पूरी ठाकुरलाई दिँदै भने, "यो पैसा बाट धोती-कुर्ता किन्नुहोस्।" तर कर्पूरी ठाकुरले त्यो पैसा चन्द्रशेखरबाट लिएर मुख्यमन्त्री राहत कोषमा जम्मा गरिदिए।
त्यस्तै, एकपटक १९७७ मा प्रख्यात समाजवादी नेता जयप्रकाश नारायणको जन्मदिनको अवसरमा पटनामा एउटा कार्यक्रम भएको थियो। त्यसबेला जनता पार्टी केन्द्र र बिहार राज्य दुवै तिर सत्तामा थियो। कर्पूरी ठाकुर बिहारका मुख्यमन्त्री थिए। सो कार्यक्रममा जनता पार्टीका नाम चलेका नेताहरू सहभागी थिए। त्यो कार्यक्रममा कर्पूरी ठाकुर फित्ता चुडिएको चप्पल र फाटेको कुर्ता लगाएरै पुगेका थिए। जनता पार्टीका चर्चित नेता चन्द्रशेखरले कर्पूरी ठाकुरको यस्तो अवस्था देखेर आफ्नो कुर्ता फैलाउँदै कर्पूरी ठाकुरको लागि एउटा नयाँ कुर्ता किन्नको लागि चन्दा माग्न थाले। चन्द्रशेखरले आफैले चन्दा मागेर जम्मा पारेको पैसा कर्पूरी ठाकुरलाई दिँदै भने, "यो पैसा बाट धोती-कुर्ता किन्नुहोस्।" तर कर्पूरी ठाकुरले त्यो पैसा चन्द्रशेखरबाट लिएर मुख्यमन्त्री राहत कोषमा जम्मा गरिदिए।
एकपटक बिहार विधानसभामा हुँदा कर्पूरी ठाकुरलाई सन्चो पनि थिएन र उनलाई भोक पनि लागेको थियो। उनले घर छिटो पुग्नको लागि आफ्ना पार्टीका विधायक लालु यादवलाई केही समयको लागि उनको गाडी दिन अनुरोध गर्दै एउटा स्लिपमा सन्देश लेखेर पठाए। लालुले जिपमा तेल नभएको भन्दै दिन अस्वीकृत गरे। लालुले कर्पूरी ठाकुरलाई भने- “दुई-दुई पटक मुख्यमन्त्री हुँदा एउटा गाडी त किन्नु पर्थ्यो।“ कर्पूरी ठाकुरले लालुलाई जवाफ दिए, "गाडीको त कुरै छोडिदिउँ, मसँग तेल हाल्ने पैसा समेत छैन।" स्मरणीय छ, त्यो बेला भारतमा जनप्रतिनिधिहरूलाई गाडी राख्न अनुमति थिएन। लालु यादवले पनि त्यो जिप सेनाको लिलामीमा भारु ५००० मा किनेका थिए।
१९८८ मा जब कर्पूरी ठाकुरको मृत्यु भयो, हेमवंती नंदन बहुगुणा लगायत जनता पार्टीका नेताहरू उनको गाउँमा पुगे। कर्पूरी ठाकुरको पुर्खौली घर देखेर उनीहरू स्तब्ध बने। त्यहाँ एउटा पुरानो झोपड़ी थियो। हेमवंती नंदन बहुगुणा यो दृश्य देखेर रुन थाले। दशकौँसम्म विधायक र दुई-दुई पटकसम्म मुख्यमन्त्री हुँदा पनि कर्पूरी ठाकुरले एउटा घरसमेत बनाउन सकेका थिएनन्। जबकि उनी आफैं सत्तामा हुँदा विधायक र पूर्वविधायकहरूको लागि आवास कोलनी बनाउने निर्णय गरेका थिए। तर उनले यो सुविधा लिन अस्वीकार गरेका थिए।
१९८८ मा जब कर्पूरी ठाकुरको मृत्यु भयो, हेमवंती नंदन बहुगुणा लगायत जनता पार्टीका नेताहरू उनको गाउँमा पुगे। कर्पूरी ठाकुरको पुर्खौली घर देखेर उनीहरू स्तब्ध बने। त्यहाँ एउटा पुरानो झोपड़ी थियो। हेमवंती नंदन बहुगुणा यो दृश्य देखेर रुन थाले।
कर्पूरी ठाकुरलाई गरिब, शोषित, पिडित, र सिमान्तकृतहरूको पक्षमा अविचलित रूपमा संघर्ष गरेको कारणले जननायक भनिन्थ्यो। उनलाई २६ जनवरी २०२४ मा भारतको सर्वोच्च सम्मान, भारत रत्न, मरणोपरान्त प्रदान गरियो। आम चुनावको पूर्वसन्ध्यामा कर्पूरी ठाकुरलाई भारत रत्न दिनु मोदी सरकारको राजनीतिक चलाखी पनि हुन सक्थ्यो। तर कर्पूरी ठाकुर यो सम्मानका लायक व्यक्तित्व हुन्।
प्रतिक्रिया