गर्मीको बेला तातो पेय पिउँदा किन शीतल महसूस हुन्छ ?

नेपालीमा एउटा भनाइ छ: फलामले फलाम काट्छ । त्यसैगरी, अर्को भनाइ पनि छ: विषलाई विषले नै मार्छ । वास्तवमा यो भनाइ अत्यन्त गर्मी भएको बेला तातो चिया वा कफी खाँदा प्राप्त हुने शीतलतामा पनि लागू हुन्छ ।

तपाईंहरुमध्ये कतिले याद गर्नुभएको छ: धेरै गर्मी भएको बेलामा हामीले तातो पेय पदार्थहरु सेवन गर्‍यौं भने हामीले शीतलताके अनुभव हुन्छ  भनेर ।

यो कुरा सत्य हो । त्यसरी गर्मी भएकोबेला तातो पेयको सेवनले हामीलाई शीतलताको अनुभव हुनुको कारण थर्मोरेगुलेशन (शरीरको तापक्रम नियन्त्रण गर्ने प्रक्रिया) सँग सम्बन्धित छ। जब हामी  तातो पेय पिउछौं, हाम्रो शरीरको आन्तरिक तापक्रम केही मात्रामा बढ्छ। यस अवस्थामा हाम्रो मस्तिषकले शरीरलाई चिसो बनाउनुपर्ने संकेतहरु प्राप्त गर्छन् । फलत: हाम्रो शरीरका पसिना निकाल्ने ग्रन्थीहरु सक्रिय हुन्छ र शरीरले बढी पसिना निकाल्न थाल्छ।

यसरी निस्केको पसिना वाष्पीकरणको प्रक्रियाबाट उडेर जान्छ । त्यस क्रममा त्यसले शरीरबाट तातो उर्जा पनि सोस्छ । फलत: हामीलाई चिसोको अनुभव हुन्छ ।

यो प्रकिया सधैं र सबै अवस्थामा भने प्रभावकारी हुँदैन । तातो तर सुख्खा मौसममा मात्र अत्यधिक गर्मी भएको अवस्थामा तातो पेय पिउँदा केही शीतलताको अनुभव हुने हो । अत्यधिक गर्मीका साथै वातावरणमा आद्रता (पानी पर्नुअघिको जस्तो हुप्प गर्मीको अवस्था) छ भने पसिनाको वाष्पीकरणको प्रक्रिया तुलनात्मक रुपमा धेरै कम हुने गर्छ । फलत: हामीले तातो पेय पिउँदा पनि शीतलताको अनुभव गर्न सक्दैनौं, पाउँदैनौं ।

 

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।