मान्छेको शरीरमा ४२ लिटर पानी !
हाम्रो शरीरमा नून किन हुन्छ ?
पृथ्वीको सबैभन्दा बढी भाग पानीले ओगटेको छ । यस पृथ्वीको दुई तिहाई भाग त पानीले नै ढाकिएको छ । यो हामीले सानैदेखि थाहा पाउँदै आएको सामान्य तथ्य हो ।
तर कसैले तपाईंलाई सोध्यो– हाम्रो शरीरमा चाहिँ पानीको मात्रा कति होला त ? तब तपाईं के जवाफ दिनुहुन्छ ?
सामान्यतः हामी अनुमान गर्छौं, हाम्रो शरीरभित्र रगतमा, आन्द्रा एवं आमाशयमा, मुत्रमा तथा अन्य भागहरुमा गरेर जम्मा त्यस्तै ६, ७ लिटर पानी होला । तर हाम्रो यो अनुमान सत्य होइन । एउटा वयस्क मानिसको शरीरमा सामान्यतया: करिब ५० देखि ७० प्रतिशत पानी हुन्छ । यो भनेको औसत रुपमा लगभग ३० देखि ४२ लिटर पानी हुन्छ । यो कुरा मान्छेको तौल र अन्य शारीरिक कारकहरुमा पनि निर्भर गर्दछ । मोटामोटी भन्दा एउटा मानिसको तौल ७० केजी छ भने उसको शरीरमा ४२ लिटरसम्म पानी हुन सक्छ ।
हाम्रो शरीरका धेरै अंगहरुमा आश्चर्यजनक रुपले पानीको मात्रा अति धेरै हुन्छ । उदाहरणको लागि, हाम्रो रगतको ९४ प्रतिशत, मांसपेशीको ७५ प्रतिशत, मुटुको ७५ प्रतिशत, कलेजोको ७० प्रतिशत, मस्तिष्कको ८३ प्रतिशत, फोक्सो ८५ प्रतिशत र मृगौलाको ८३ प्रतिशत भाग त पानी नै पानी हुन्छ !
तर हाम्रो शरीरका अंगहरुमा हुने यो पानी शुद्ध पानी चाहिँ होइन । वास्तवमा, यो पानीमा नून घोलिएको हुन्छ । यस्तो किन हुन्छ होला त ?
एक वैज्ञानिक–सिद्धान्तको अनुसार, यस पृथ्वीको जमीनमा बस्ने मानिससहित सम्पूर्ण जीवहरुको विकासक्रम समुद्रबाट शुरु भएको हो । शुरुमा समुद्रको पानीमा जीवन निर्वाह गर्ने जीवहरु पछि विकसित भई जमीनमा आउँदा तिनीहरुको शरीरमा पहिले समुद्रमा रहँदा प्राप्त समुद्री पानी वाँकी रहिरह्यो । यसर्थ जमिनमा रहेका जीवहरुको शरीरमा रहेको पानी समुद्रको पानी नै हो । अर्थात् समुद्रबाट जमीनमा आएपछि ती जीवहरुको शरीरमा तरल पदार्थको रुपमा समुद्रको पानी बाँकी रहन गयो ।
उता जमीनमा चाहिँ प्राकृतिक रुपमा नूनहरु कमै हुन्छन् । फेरि नून पानीमा घुल्ने वस्तु भएकोले माटोमा रहेका नूनहरु पनि वर्षाको पानीमा घुलिएर खोल्सा, खोला, नदी नाला हुँदै समुद्रमा नै मिसिन जान्छन् । यसले गर्दा जमीनमा हुर्कने–बढ्ने विरुवाहरुमा पर्याप्त मात्रामा नून हुँदैन ।
यही कारण नै विरुवालाई आफ्नो भोजन बनाउने जीवहरुलाई नूनको बढी आवश्यकता पर्न जान्छ । जीवहरुको शरीरबाट प्रत्येक दिन पसिना, मुत्र र अन्य माध्यमबाट शरीरको पानी निस्काशित भइरहेको हुन्छ र यसरी निस्काशित पानीमा नून पनि घोलिएको हुन्छ । तर विरुवा वा शाकाहारी भोजनबाट शरीरमा गुमेको नूनको आपूर्ति हुन सक्दैन ।
उता मांसहारी जीवहरुलाई भने यो समस्या पर्दैन । अर्थात् मासु खाने जीवलाई अतिरिक्त नूनको आवश्यकता नै पर्दैन । उनीहरुलाई चाहिने नून मासुबाट नै आपूर्ति हुन जान्छ । यो कुरा मानिसमा पनि लागु हुन्छ । उदाहरणको लागि, एस्किमो जातिका मानिसहरुको मुख्य भोजन नै माछा मासु हुन्छ । त्यसैले तिनीहरुलाई अतिरिक्त नूनको जरुरत नै पर्दैन ।
प्राचीन कालदेखि नै मानिसहरुको लागि नूनको ठूलो महत्व थियो । प्राचीन मेक्सिकोमा नूनलाई अति नै महत्व दिइन्थ्यो । त्यसबेला नून आजभोलिको सून जत्तिकै महत्वपूर्ण र महंगो मानिन्थ्यो । त्यसैगरी, प्राचीन कालमा यूरोपमा ज्यालाको रुपमा पैसाको सट्टा नून नै दिने गरिन्थ्यो । अंग्रेजी भाषामा कामको ज्यालालाई Salary भनिन्छ । वास्तवमा यो Salary शब्द नै ल्याटिन शब्द Salt बाट आएको हो ।
मान्छेको शरीरमा नून विशेष गरी छालामा आएर जम्मा हुने गर्छ । यदि मान्छेले खानामा नून मिसाउन छोड्ने हो भने, विभिन्न माध्यमबाट रगतमा भएको नून निस्काशन हुँदै जान्छ । यस अवस्थामा हाम्रो छालामा जम्मा भएको नून प्रयोग हुन थाल्छ, ताकि रगतमा नूनको निश्चित मात्रा कायम रहन सकोस् । त्यसो त कतिपय अवस्थामा छालामा जम्मा भएको नून यसरी प्रयोग हुनु पनि फाइदाजनक नै हुन्छ । त्यसैले कहिलेकाहीँ छालाको रोगहरुको उपचार गर्ने क्रममा चिकित्सकले नून नखाने सल्लाह दिने गर्छ ।
नून विशेष गरेर मृगौलामार्फत् शरीरबाट मुत्रसँग मिसिएर शरीर बाहिर निस्कन्छ । त्यसकारण, मृगौलाका रोगीहरुलाई पनि नून कम खान वा खाँदै नखान सिफारिश गरिन्छ ।
प्रतिक्रिया