सुतेर उठेपछि जिउ तन्काउँदा हामीलाई किन ताजापन महसूस हुन्छ?

तपाईंले कत्तिको याद गर्नुभएको छ– प्राय: मानिसहरु सुतेर उठेपछि जिउ तन्काउने गर्छन् । कतिपयले यसलाई आङ तन्काउनु पनि भन्छ । उठ्नेबित्तिकै प्राय: सबैले गर्ने काम नै यो हो । मानिसले मात्रै हैन, कतिपय जनावरहरुले पनि जीउ तन्काउने गर्छ । त्यसरी जिउ तन्काउँदा हामीलाई तरोताज भएको महसूस हुन्छ, शरीरमा बेग्लै खालको स्फूर्ति प्राप्त भएको अनुभूति हुन्छ ।

आखिर त्यो किन र कसरी हुन्छ ?

निद्राबाट उठेपछि जिउ तन्काउँदा तरोताजा महसुस हुनुको पछाडि धेरै जैविक र शारीरिक प्रक्रियाहरू संलग्न छन्। तीमध्येमा सबैभन्दा मुख्य प्रक्रिया रक्तसञ्चारको सुधार हुनु पनि हो । जब हामी निद्रामा हुन्छौं, हाम्रो शारीरिक क्रियाकलाप तथा बाह्य एवं आन्तरिक गतिविधिहरु न्यूनतम हुन जान्छ । फलत: हाम्रो शरीरको रक्तसञ्चार दर सामान्यभन्दा कम भएको हुन्छ ।

जब हामी जाग्छौं र जिउ तन्काउँछौं, त्यसबेला हाम्रो शरीरका मांसपेशीहरू सक्रिय हुन्छन् । त्यस दौरानमा ती मांसपेशीहरूको रक्तसञ्चारमा वृद्धि हुन्छ। त्यसरी रक्तसञ्चारमा बृद्धि हुँदा स्वभाविक रुपमा रगतको माध्यमबाट मांसपेशीहरूमा अक्सिजन र पोषक तत्वहरू बढीभन्दा बढी पुग्न जान्छ । फलत: हामीलाई ताजा र उर्जावान भएको अनुभूति हुन्छ ।

मांसपेशीहरूको तन्किने र आराम अवस्थामा रहने  प्रक्रियाले पनि हामीलाई जिउ तन्काउँदा तरोताजा महसूस गराएको हुन्छ । हामी निदाएको बेला शरीरको धेरै मांसपेशीहरू लामो समयसम्म एउटै अवस्थामा निष्क्रिय रहन्छन्। त्यसले गर्दा कतिपय अवस्थामा मांसपेशीहरूमा कठोरता वा तनाव उत्पन्न गर्न सक्छ।

जब हामी जागेपछि जिउ तन्काउँछौं, त्यो कठोर र तनावको अवस्थामा पुगेका मांसपेशीहरु तन्किएर पुन: आरामको अवस्थामा आउँछन्। यो प्रक्रियाले कठोर अवस्थामा पुगेको मांसपेशीहरू शिथिल हुन जान्छ र शरीरले तनावमुक्त भएको महसुस गर्छ ।

फासिया शरीरको मांसपेशी, हड्डी, र अन्य अंगहरूलाई जोड्ने संयोजी तन्तु हो। निद्राको बेला फासिया केही हदसम्म सुक्कुर हुन सक्छ।

हाम्रो शरीरमा फासिया शरीरको संयोजी तन्तुकोएक प्रकार हाम्रो मांसपेशी, हड्डी, नस, रक्तनली, र अन्य आन्तरिक अंगहरूलाई छोप्ने, संरक्षण गर्ने र  एक अर्कासँग जोड्ने संयोजी तन्तुहरु  (connective tissue) हुन्छन् जसलाई फासिया (Fascia)  भनिछ ।   । हामी निदाएको बेला यो तन्तु केही खुम्चिएको हुन्छ । तर जब हामी जागेर शरीर तन्काउँछौं, यो तन्तु सक्रिय हुन्छ र शरीरका विभिन्न  अंगहरूमा तरल पदार्थको प्रवाहलाई बढाउँछ। फलत हामीलाई हाम्रो शरीर फेरि लचकदार र ताजा भएको अनुभूति हुन्छ ।

जागेपछि जीउ तन्काउने प्रक्रियाले हाम्रो शरीरको जागरण प्रक्रिया (Body’s Awakening Process) लाई सक्रिय तुल्याउने गर्छ ।  फलत: हाम्रो शरीरका मस्तिष्क, स्नायु प्रणाली, पाचन प्रणाली लगायत विभिन्न अंगहरू र प्रणालीहरू सक्रिय हुन्छन्।जिउ तन्काउँदा मस्तिष्कले पनि निद्राको समय सकिएको र दिनको क्रियाकलापको लागि तयार हुनुपर्ने संकेत प्राप्त गर्छ र सोहीअनुसार शरीरलाई तयार गर्छ ।

हामीले जीउ तन्काउँदा तरोताजा महसुस हुनुको अर्को कारण शरीरमा एन्डोर्फिनको स्राव बढ्नुले गर्दा पनि हो । एन्डोर्फिन भनेको शरीरमा खुशीको भावना उत्पन्न गराउने एक प्रकारको न्यूरोट्रान्समिटर हो । त्यसरी जिउ तन्काउँदा शरीरमा एन्डोर्फिनको स्राव भएर मनलाई खुशी र स्फूर्त बनाउँछ अनि त्यसले तनाव र पीडालाई कम गर्न पनि मद्दत गर्छ।

त्यसै गरी, हामीले हाम्रो शरीर तन्काउँदा शिथिल अवस्थामा रहेको छाती र फोक्सोका मांसपेशीहरू पनि सक्रिय हुन्छन्।त्यस दौरानमा हामी गहिरो श्वास लिन पुग्छौं । फलत: हाम्रो शरीरमा अक्सिजनको आपूर्तिलाई बढ्छ र शरीरबाट कार्बन डाइअक्साइडको निकास पनि हुन्छ । यो प्रक्रियाले शरीरको ऊर्जा स्तरलाई बढाउँछ र हामीलाई तरोताजा महसूस हुन्छ ।

आजकलको व्यस्त जीवनशैलीमा धेरैजसो मानिसहरू सुत्नुभन्दा अघि लामो समयसम्म कम्प्युटर, मोबाइल, वा टिभी हेरेर बस्ने गर्छन् । स्वभाविक रुपमा यस दौरानमा हाम्रा शरीरका मांसपेशीहरूलाई लामो समयसम्म एकै अवस्थामा रहिरहेको हुन पुग्छ । अर्थात हाम्रो शरीरका मांसपेशीहरु खुम्चिएको अवस्थामा रहेको हुन्छ । जब हामी बिहान उठेर तन्काउँछौं, यसले मांसपेशीहरूमा भएका खुम्चाइ र तनावलाई कम गर्न मद्दत गर्छ र शरीरलाई सक्रिय बनाउँछ।

मूलत: यिनै कारणहरु हुन्, जसले गर्दा हामीले उठ्नेबित्तिकै शरीर तन्काउने गर्छौं र त्यस क्रियाले हामीलाई आराम, स्फूर्ति र तरोताजा भएको अनुभूति गराउँछ ।

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।