शर्माको प्रस्तावले ल्याएको तरङ्ग

आर्यघाटको ब्रम्हनालमा नतेर्सिएसम्म कार्यकारी पदमा बसिबस्न पाउनुपर्छ भन्ने मतका पक्षधरहरुका लागि शर्माको यो प्रस्ताव अप्रिय लाग्न सक्छ, तर नवीन सोच र चिन्तन दिन नसक्ने तथा मुलुक हाँक्ने क्षमता गुमाइसकेकाहरुलाई ‘सम्मानजनक विदाइ’ गर्ने यो एउटा राम्रो उपाय हुन सक्छ ।

नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय समितिको बैठकमा दुई पटकसम्म मात्र प्रधानमन्त्री बन्न पाउने नीतिगत व्यवस्था प्रस्ताव गरेपछि एक किसिमको हलचल पैदा भएको छ ।

उनको राजनीतिक प्रस्तावमा राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चारपटकभन्दा बढी हुन नपाउने प्रस्ताव गरिएको छ ।

कांग्रेसभित्रै कतिपयले उनको यो प्रस्तावको विरोध गरेका छन् र त्यसलाई अलोकतान्त्रिक घोषित गरेका छन् । त्यसो भन्नेहरुको तर्क छ– जनताले चाहँदासम्म प्रधानमन्त्री बन्न पाउनुपर्छ ।

वास्तवमा, महामन्त्री शर्माको यो प्रस्ताव बहसमा ल्याउनै पर्ने प्रस्ताव हो । आर्यघाटको ब्रम्हनालमा नतेर्सिएसम्म कार्यकारी पदमा बसिबस्न पाउनुपर्छ भन्ने मतका पक्षधरहरुका लागि यो प्रस्ताव अप्रिय लाग्न सक्छ, तर नवीन सोच र चिन्तन दिन नसक्ने तथा मुलुक हाँक्ने क्षमता गुमाइसकेकाहरुलाई ‘सम्मानजनक विदाइ’ गर्ने यो एउटा राम्रो उपाय हुन सक्छ ।

अहिले जुन ढङ्गले मुलुकको कार्यकारी पदहरुमा नेतृत्व छान्ने थिति, चलन र प्रक्रिया बसेको छ, त्यो अनुसार अधिकांश अवस्थामा जनताले चाहेको जस्तो  व्यक्तिले नेतृत्व गर्न पाउने अवस्था छैन । त्यसलाई राजनीतिक सौदाबाजी र भागबण्डाले निलिसकेको छ । यो अवस्थामा, आमजनमत प्राप्त नभएको तर राजनीतिक सौदाबाजी र भागबण्डाको राजनीतिको कारण ‘खुदो पल्टेका’ व्यक्तिले पनि पटक पटक मुलुकको कार्यकारी पदमा पुग्ने र नेतृत्व गर्ने अवसर पाउने गरेको विडम्बनाजनक अवस्था छ ।

यस अवस्थामा, शर्माले अघि सारेको प्रस्तावबारे व्यापक बहस र छलफल हुनु जरुरी छ । उनले अघि सारेको यो प्रस्ताव कुनै नवीन सोच र चिन्तनमा आधारित कुरा पनि होइन । यो त विश्वका विभिन्न विकसित मुलुकहरुमा सफलतापूर्वक अभ्यास भइरहेकै कुरा हो । त्यसैले यस प्रस्तावबाट आत्तिनुपर्ने कुनै कारण छैन । साँच्चै नै नेपालका राजनीतिक दलहरु आम जनताले चाहेका मानिसले कार्यकारी पदमा रहेर नेतृत्व गर्ने कुरा नै चाहन्छ भने विकल्पमा प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीबारे पनि बहस र छलफल चलाउनु उचित हुन सक्छ ।  हिजो पटक पटक परीक्षणमा असफल साबित भइसकेकै व्यक्तिहरु घुमाइफिराइ नेतृत्वमा हावी भइरहने अहिलेकै प्रणाली कायम रहेसम्म मुलुक उभो लाग्न सक्दैन भन्ने कुरा व्यवहारिक रुपमै देखिइसकेको कुरा हो ।