सबैभन्दा उच्च शिकार क्षमता भएको जीव ड्र्यागनफ्लाई

प्राणी जगतको सबैभन्दा कुशल शिकारी कुन होला?

कसैले तपाईं हामीलाई यो प्रश्न सोध्यो भने स्वभाविक रुपमा हाम्रो ध्यान सिंह, बाघ वा चितुवामा जान सक्छ । किनभने हामीमध्ये अधिकांशले टिभी वा इन्टरनेटमा ती प्राणीहरुले अत्यन्तै छिटो र तीब्र गतिमा शिकार गरेका दृश्यहरु धेरै पटक देखेका हुन्छौं । तर वास्तवमा त्यो सत्य हैन । प्राणी जगतमा सबैभन्दा कुशल शिकारी ड्र्यागनफ्लाईलाई मानिन्छ । हेर्दा सानो तर विचित्रको यो कीराको शिकार पक्रने सफलता दर ९५ प्रतिशतदेखि ९७ प्रतिशतसम्म हुने गर्छ ।

यसको तुलनामा सिंह, बाघ वा चितुवाको शिकार सफलतादर निक्कै कम हुने गर्छ । सिंहको शिकार सफलता दर २० देखि २५ प्रतिशत मानिन्छ । समूहमा रहेर शिकार गर्दा त्यो केही बढी हुन सक्छ । त्यसैगरी,  बाघको शिकार सफलता दर १० देखि २० प्रतिशत मात्र हुने गर्छ । यसो हुनुको कारण यो एक्लै शिकार गर्ने भएर पनि हो । उता चितुवाको शिकार सफलता दर सिंह र बाघको भन्दा बढी ३० देखि ३८ प्रतिशत मानिन्छ । यसो हुनुको कारण यसको तीब्र गतिमा दौडन सक्ने तथा शिकारलाई आश्चर्यचकित तुल्याएर आक्रमण गर्ने क्षमता हुनुले पनि हो ।

यसरी शिकारमा सिंह, बाघ, चितुवा जस्ता जनावरहरुलाई पनि पछाडि तुल्याउने ड्र्यागनफ्लाई (Dragonfly) ओडोनेटा (Odonata) अन्तर्गत पर्ने कीरा हो ।  यसको शरीर लामो, ठूला आँखा, र दुई जोडा पखेटा हुन्छन्। ड्र्यागनफ्लाईका पखेटाहरू पारदर्शी र रंगीन हुन्छन् ।

ड्र्यागनफ्लाईका आँखामा करिब ३० हजार साना-साना लेन्स हुन्छन्, जसले गर्दा यसले ३६०-डिग्री नै देख्न सक्छ। यो विशेष क्षमताले गर्दा ड्र्यागनफ्लाईलाई कुशलतापूर्वक शिकार गर्न र भाग्नमा मद्दत पुर्‍याउँछ।

ड्र्यागनफ्लाई अत्यन्तै कुशलतापूर्वक उड्न सक्छ । अझ गज्जबको कुरा त के छ भने यो कीरामा उड्दाउड्दै अचानक दिशा, गति, र उचाइलाई तुरुन्तै परिवर्तन गर्न सक्ने क्षमता हुन्छ। तिनीहरूले हावामा नै तैरिएर एकै ठाउँमा अडिइरहन पनि सक्छ ।

मासाहारी हुने ड्र्यागनफ्लाईले साना कीराहरू, मच्छर र मूलत: अन्य उड्ने कीराहरूलाई आफ्नो आहार बनाउँछन्।

सामान्यत: अरु कीराहरुको जस्तै ड्र्यागनफ्लाईको जीवनचक्र पनि तीन चरणहरूमा पूरा हुन्छ: अण्डा, निम्फ (लार्भा), र वयस्क। निम्फ अवस्थामा यो पानीमा बाँच्छ र पानीभित्रको साना कीरा लार्भाहरुलाई खान्छ।

ड्र्यागनफ्लाई प्रायः ताल, पोखरी, नदी, र अन्य जलाशयहरूको वरिपरि पाइन्छन्। यसलाई न्यानो र आर्द्र वातावरण मनपर्छ।

शिकारमा सफलताको रहस्य

ड्र्यागनफ्लाईको शिकार गर्ने क्षमता अत्यन्त उच्च हुनुको मूल कारण यसको द्रुत प्रतिक्रिया गर्न सक्ने क्षमता र  उच्च गति हो। यसले प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतिमा उड्न सक्छन् । फलत: यसबाट  शिकारलाई र उम्कन मुश्किल पर्छ।

ड्र्यागनफ्लाईले उड्दा उड्दै कुनै पनि दिशामा तुरुन्तै उडानको दिशा परिवर्तन गर्न सक्छन्। यो गुणले तिनीहरूलाई शिकारलाई पछ्याउन र समात्न मद्दत पुर्याउँछ।

के पनि विश्वास गरिन्छ भने ड्र्यागनफ्लाईले शिकारको उड्ने सम्भावित बाटोको अनुमान गर्न सक्छन्। यसले गर्दा ड्र्यागनफ्लाईले शिकारलाई सटीक गतिमा आक्रमण गर्न सक्छ।

यिनै कारणहरुले गर्दा ड्र्यागनफ्लाईले शिकार गर्दा यसको असफलता दर निकै कम हुने गर्छ । ड्र्यागनफ्लाईको शिकार सफलतादर लगभग ९५ देखि ९७ प्रतिशतसम्म हुन्छ। यो सफलतादर अन्य शिकारी जीवहरूको भन्दा धेरै उच्च हो।

हाम्रो नजरमा ड्र्यागनफ्लाई एउटा सानो तुच्छ कीरा मात्रै ठहरिन सक्छ तर वास्तवमा यसले वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । ड्र्यागनफ्लाईले हानिकारक कीराहरूलाई खाएर मानिसलाई गुन लगाइरहेको हुन्छ ।

Image source: https://i.pinimg.com

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।