संविधान र कानूनमा संघीयता लेखियो तर व्यवहारमा सबै अधिकारहरु सिंहदरवारतिरै केन्द्रित गर्दैछ

सुनील प्रजापति, मेयर– भक्तपुर नगरपालिका

संविधानले परिकल्पना गरेको स्थानीय शासनको राम्ररी अभ्यास गरिरहेका थोरै स्थानीय सरकारहरुमध्येमा सबैभन्दा अग्रपंक्तिमा नाम आउँछ भक्तपुर नगरपालिका । अरुको सहयोग र अनुदानमा भन्दा आफ्नै आत्मनिर्भर सोच र कार्यक्रमहरुका साथ अघि बढिरहेको यस नगरपालिकालाई नेपालकै नमूना नगरपालिकाको रुपमा पनि लिइने गरिन्छ । संघीयताको राज्य संरचनामा स्थानीय सरकारको अभ्यास गरिरहेको भक्तपुर नगरपालिकाले संघीय शासनप्रणालीबारे कसरी सोच्छ? यसले देखे–भोगेका जटीलताहरु के हुन् ? लगायतका सवालहरुको सेरोफेरोमा केन्द्रीत रहेर दायित्वबोधले भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिसँग कुराकानी गरेको थियो । प्रस्तुत छ– सोही कुराकानीको सम्पादित उतार ।

स्थानीय तह सञ्चालनका बारेमा तपाईहरुको आफ्नै र पृथक खालको इतिहास र अनुभव छ । त्यसबारे केही बताइदिनोस् न ?

नेपालमा सङ्घीयता लागू भइसकेपछि तीन तहको सरकार गठन भयो । नेपालको संविधानले स्थानीय तहलाई २२ वटा एकल अधिकार दिएको छ । ती अधिकारहरुको प्रयोग गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, खेलकूदलगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ । अरुले जसरी गरिरहेका छन्, हामीले पनि त्यही कामहरु गरिरहेका छौं ।

कानूनहरु आफै कार्यान्वयनमा आउने होइन, मानिसले कार्यान्वयन गर्ने हो । कानुनमा भएका अधिकारहरु हामीले आवश्यकताअनुसारका कानुनहरु निर्माण गरी काम गरिरहेका छौं ।

नेपालमा संघीयताको अभ्यास शुरु भएको करिब १९ वर्ष भयो । यस दौरानमा संघीयताको अभ्यासबारे तपाईंहरुको अनुभव के रह्यो ?

विकेन्द्रीकरण र स्वायत्तता राम्ररी कार्यान्वयन भयो भने नेपालजस्तो सानो देशमा संघीयताको आवश्यकता छैन भनेर नेपाल मजदूर किसान पार्टीले त्यतिबेलै स्पष्ट पारिसकेको विषय हो । २०७२ सालमा नेपालको संविधान जारी भएपछि संविधानले दिएको अधिकारहरुको प्रयोग गर्दै जनताको सेवा गर्दै छौं । संविधान कार्यान्वयनमा आएको ७–८ वर्ष भयो । यो छोटो समय हो । अन्तरिम संविधानमै संघीयता राखिए पनि नयाँ संविधानले त्यसलाई संस्थागत गर्यो । केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन पछिमात्र त्यो कार्यान्वयनमा आएको हो । त्यसैले छोटो समयमै संघीयता ठीक वा बेठीक भनेर मूल्यांकन गर्ने बेला भयो जस्तो लाग्दैन ।

संघीयता एक प्रकारले राज्य संरचना मात्रै हो । संघीयता हुँदैमा देश विकास हुन्छ र नहुँदैमा देशै समाप्त हुन्छ भन्ने कुरा होइन । त्यसको कार्यान्वय महत्वपूर्ण कुरा हो ।

सोभियत संघ, अमेरिका, स्वीटजरल्याण्ड भारतलगायत थुप्रै देशहरुले संघीयताबाट पनि विकास सम्भव छ भन्ने देखाए । त्यसकारण संघीयता एक प्रकारले राज्य संरचना मात्रै हो । संघीयता हुँदैमा देश विकास हुन्छ र नहुँदैमा देशै समाप्त हुन्छ भन्ने कुरा होइन । त्यसको कार्यान्वय महत्वपूर्ण कुरा हो । सोभियत संघमा समाजवादको विघटनसँगै देश पनि टुक्रा टुक्रा भयो ।

 नेपालमा संघीयताको सही ढंगले कार्यान्वयन हुन सकेन र सेतो हात्ती भएको अनुभव गरिंदै छ । उदाहरणको लागि, केन्द्रमा सरकार हेरफेर हुनेबित्तिकै प्रदेशमा पनि सरकार परिवर्तन हुन्छ । मन्त्रीहरुको सेवा सुविधामै धेरै आर्थिक भार पर्यो । यो अहिले आलोचनाको बिषय बनेको छ । यसबारे के भन्नुहुन्छ ?

यसमा राज्य संरचनाभन्दा पनि सञ्चालकहरु दोषी छन् । पाँच वर्षका लागि निर्वाचित भएको सरकार तीन चार महिनामा परिवर्तन हुने, डेढ वर्षमा पाँच पटकसम्म संघीय सरकार परिवर्तन हुने,  प्रदेशमा २०–२२ पटक मन्त्रीहरु परिवर्तन हुने, त्यसले गर्दा आएको समस्या हो । त्यसकारण संघीयता स्वयं समस्या भन्दा पनि त्यो संघीयतालाई सञ्चालन गर्नेहरुको चिन्तन र इमानदारिताको समस्या हो । संविधान र कानूनमा संघीयता लेखियो तर व्यवहारमा सबै अधिकारहरु सिंहदरवारतिरै केन्द्रित गर्दै छ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरुले समेत स्थानीय तह केन्द्रको इकाइ मात्र हो भन्ने जस्तो अभिव्यक्ति दिन्छन् ।

संविधान र कानूनमा संघीयता लेखियो तर व्यवहारमा सबै अधिकारहरु सिंहदरवारतिरै केन्द्रित गर्दै छ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरुले समेत स्थानीय तह केन्द्रको इकाइ मात्र हो भन्ने जस्तो अभिव्यक्ति दिन्छन् ।

संविधानले नै १२ कक्षासम्म स्थानीय तहको एकल अधिकार दिएको छ । भूमिसुधार, नगर विकास, पशु चिकित्सा जस्ता जिल्लास्तरीय सबै संरचना यथावत छन् । संविधानमा लेख्नुमात्रै होइन कार्यान्वयन सबभन्दा महत्वपूर्ण कुरा हो । शासक दलहरुले त्यसलाई राम्रोसँग कार्यान्वयन गर्नै चाहेनन् ।

सिद्धान्ततः  सघीयता खराब शासन व्यवस्था होइन । के नेपालमा चाहिँ यो राजनीतिक दलका नेताहरुको बुझाइभन्दा परको विषय बनेको हो ?

संघीयता संविधानमा लेखिनु अघि व्यापक छलफल हुनुपर्थ्यो । हामी कुन मोडेलमा जाने ? भारतको जस्तो अर्धसंघीयता वा सोभियत संघको जस्तो राज्य नै अलग गर्न सकिने आत्मनिर्णय सहितको संघीयता भन्नेबारे व्यापक छलफल भएको भए देशले आजको जस्तो दुर्दशा भोग्नु पर्ने थिएन ।

हामी कुन मोडेलमा जाने ? भारतको जस्तो अर्धसंघीयता वा सोभियत संघको जस्तो राज्य नै अलग गर्न सकिने आत्मनिर्णय सहितको संघीयता भन्नेबारे व्यापक छलफल भएको भए देशले आजको जस्तो दुर्दशा भोग्नु पर्ने थिएन ।

विकेन्द्रीकरण र स्वायतत्ताको राम्रो कार्यान्वयन भएको भए नेपालमा संघीयताको कुरा नै आउने थिएन । अहिले विश्वविद्यालय, अस्पतालहरु संचालनको जिम्मेवारी पनि स्थानीय तहहरुलाई दिनु उचित हुन्छ । संघीयताको विश्वव्यापी मान्यताअनुरुप केन्द्रले मुद्रा वा बैंकिङ, परराष्ट्र, ठूल्ठूला उद्योगधन्दा, सीमा सुरक्षाजस्ता  कार्यहरु, प्रदेशले मध्यमस्तरका कामहरु र अरु स्थानीय तहहरुलाई दिए सहज हुन्छ । स्थानीय सरकार भनेको जनताको सबैभन्दा नजिकको सरकार हो । जन्मदर्ता, मृत्युदर्तादेखि जनतासँग प्रत्यक्ष जोडिएको बिषय स्थानीय तहबाटै हुन्छ । जति बढी अधिकार स्थानीय तहलाई दिइन्छ, त्यति नै प्रजातन्त्र बलियो हुन्छ ।

नेपाल जस्तो देशमा अधिकारलाई विकेन्द्रीकरण गरी स्थानीय तहलाई बलियो बनायो भन्ने संघीयतामा नगइकनै पनि अधिकारहरुको उपभोग र प्रत्यायोजन गर्न सक्ने सम्भावना हुन्छ ?

संघीयता असफल भएर एकात्मक राज्यमा फर्केका विश्वमा थुप्रै देशहरु पनि छन् ।

तत्काल त्यसो नभनौं । यो संविधान आउनुअघि त्यतातिर गएको भए अर्को छुट्टै कुरा हुन्थ्यो । अहिले हामी संघीयतामा गइसकेका छौं । यसमा धेरै कमीकमजोरीहरु होलान् । ती कमी कमजोरीहरुलाई सुधार गर्न हदैसम्म प्रयास गर्नुपर्छ । संघीयता असफल भएर एकात्मक राज्यमा फर्केका विश्वमा थुप्रै देशहरु पनि छन् ।

संघीयताको अभ्यासमा केन्द्र, प्रदेश र स्थानीय तीन तह भए । केन्द्रले प्रदेशलाई संविधानतः स्वायत्त प्रदेशको रुपमा नलिइकन मातहतको निकायको रुपमा लिने र प्रदेशको हैसियत चाहिँ बुख्याचाको जस्तो बनाइएको छ भन्ने भनाइ पनि छ । तपाईंहरुको आफ्नो भोगाइ चाहिँ के हो ?

आफ्नो औचित्य जनताको सेवा गरेर आफैले पुष्टि गर्ने हो । स्थानीय वा केन्द्रले प्रदेशको औचित्य पुष्टि गर्ने भन्ने हुँदैन । काम गरेर देखाउने हो । उदाहरणको लागि, बागमती प्रदेशकै कुरा गर्ने हो भने करिब ७० अर्ब बजेट छ । त्यो पैसा जनताको निम्ति काम गरेको भए राम्रो हुने थियो । आर्थिक वर्ष २०८०।८१ मा बागमती प्रदेश सरकारले भक्तपुर नगरपालिकालाई कानून बमोजिम दिनुपर्ने पैसा पनि दिएन । प्रदेश आफैंले आवश्यकताअनुसार ठूला ठूला कल कारखाना, अस्पताल, कलेज, विश्वविद्यालय बनाइ दिए हुन्थ्यो । हामीलाई कुनै आपत्तिको विषय होइन ।

प्रदेश सरकारहरुले जुन हिसाबले काम गर्नुपर्ने हो त्यो काम गर्न सकेनन् । गर्न सकोस् पनि कसरी ? जम्मा ६ महिना पनि मुख्यमन्त्री टिक्दैन । चार चार महिनामा मन्त्रीहरु फेरिइरहन्छन् । राजनीतिक अस्थिरता नै विकासको मुख्य बाधक हो ।

प्रदेशले आफ्नो औचित्य पुष्टि गर्न नसक्नुको कारण फेरि पनि केन्द्रीकृत शासन प्रणालीको स्वरुपले नै हो । प्रदेशलाई पनि पार्टीको केन्द्रले निर्देशित गर्ने, प्रशासनिक रुपमा पनि केन्द्रले नै निर्देशित गर्ने ! गडबडी त त्यता पो छ कि ? के लाग्छ तपाईंलाई ?

पार्टीले निर्देशित गर्ने कुरामा कुनै शंका गर्नुपर्ने कारण छैन । दलीय व्यवस्थामा केन्द्र होस् या प्रदेश पार्टी निर्देशनमा चल्छ र चल्नु पनि पर्छ । अहिले शासक दलहरुले सरकारको निम्ति अनैतिक गठबन्धन गर्नु नै समस्याको मुख्य कारण हो ।

पार्टीभित्र केन्द्रीय नेतृत्वको अति देवत्वकरण गरिएको स्थिति छ । प्रदेशमा कुनै न कुनै पार्टीले त नेतृत्व गर्छ । यो स्थितिमा स्वायत्त ढंगले सोच्न सक्छ जस्तो लाग्छ ?

फेरि पनि भन्छु, पार्टी प्रणालीमा नेतृत्व पार्टीले नै गर्छ । चाहे संघ, प्रदेश वा स्थानीय सरकार होस्, एउटै विचारधाराले निर्देशित गर्छ । आफूले जितेको प्रदेशलाई कसरी परिचालन गर्ने भन्ने कुरा पनि पार्टीले नै निर्णय गर्छ ।

यसको अर्थ प्रदेशहरु पंगु देखिनुको दोष राजनीतिक दलहरुमै जान्छ ?

एकदमै सही कुरा । संविधानले नै तोकेर प्रदेशहरुलाई अधिकार दिएको छ । स्थानीय तहको हकमा धेरै विषयहरुमा कानून बनाउने अधिकार प्रदेशलाई दिइएको छ । तर प्रदेशले कानून नै बनाइदिँदैन । भक्तपुर नगरपालिकोले ६६–६७ वटा कानूनहरु बनाइसक्यो । त्यसको आधारमा नगरपालिका चलिरहेको छ । केन्द्र वा प्रदेशले बनाइदिएन भनेर पर्खिबस्नु परेन । कतिपय साझा अधिकारको सुचिमा परेका बिषयहरु अलि समस्या छ । एकल अधिकारका बिषयमा त कानुन बनाएर कार्यान्वयन गर्दै छौं । त्यसले गर्दा हामी कुनै पनि कुरामा द्विविधामा पर्नुपर्ने अवस्था छैन ।

संविधानले नै तोकेर प्रदेशहरुलाई अधिकार दिएको छ । स्थानीय तहको हकमा धेरै विषयहरुमा कानून बनाउने अधिकार प्रदेशलाई दिइएको छ । तर प्रदेशले कानून नै बनाइदिँदैन ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा केही अपूर्णता छ कि ? यसबारेमा तपाईंहरुको अनुभव के छ ?

जिल्लास्तरीय संरचनाहरु स्थानीय सरकारहरुले नै चलाउन सक्छन् । पशु चिकित्सा, जिल्ला शिक्षा समन्वय इकाइ, नगर विकास, खेलकूद समितिहरु खारेज गरी स्थानीय तहको मातहतमा ल्याउनु पर्छ । कुनै काम नै नभएको जिल्ला समन्वय समितिहरु आवश्यक छैन । कार्यकर्ताहरु पाल्नबाहेक त्यसको कुनै औचित्य नै छैन । यस्ता विषयहरु स्थानीय सरकार सञ्चालन ऐनमा संशोधन गर्न आवश्यक छन् ।

संविधान, कानूनले स्थानीय तहलाई निकै बलियो बनाएको छ । अहिलेको संविधान तथा कानुनले स्थानीय तहलाई निकै शक्तिशाली बनाएको छ । यस अर्थमा ‘सिंहदरवार घर घरमा’ भन्ने भाष्य पनि चलेको छ । के साँच्चै नै सिंहदरवार घर घरमा पुगेको अनुभव जनताले गर्न सकेका छन् ?

सिंहदरबार गाउँगाउँमा पुग्नुपर्नेमा भ्रष्टाचार गाउँगाउँमा पुग्यो भनेर जनता व्यंग्य गर्दै छन् । सिंहदरबारको अर्थ शक्ति र अधिकार हो । शक्ति वा अधिकार गाउँ गाउँमा पुर्‍याउने भनिएको हो ।

भ्रष्टाचारलाई बहाना बनाएर स्थानीय तहको अधिकार खोस्न पाइदैन ।

दलहरुले राजनीतिक कार्यकर्ताहरुलाई राम्ररी प्रशिक्षित नगरेको कारण धेरै ठाउँमा भ्रष्टाचार र अनियमितिता भएको पनि सत्य हो । जहाँ अनियमितता त्याहाँ कारबाही हुनु पर्छ । भ्रष्टाचारलाई बहाना बनाएर स्थानीय तहको अधिकार खोस्न पाइदैन । स्थानीय तहहरुलाई आवश्यक तालिमहरु दिएर सक्षम बनाउँदै लानु पर्छ ।

नगरपालिकाले एसईई परीक्षा चलाउनै सक्दैन, १२ कक्षासम्म त कहाँ सम्भव छ र भन्ने सोच सिंहदरबार चलाउनेहरुको छ । भक्तपुर नगरपालिकाले ५, ८ र १० कक्षाको परीक्षा पनि लिइरहेको छ । त्यसको लागि परीक्षा बोर्ड नै छ हाम्रो । एसईईको परीक्षा नै दिन्छ भने त्यो पनि लिन तयार छौं ।

भक्तपुर नगरपालिकाले दुई वटा इन्जिनियरिङ कलेजसहित उच्च शिक्षा प्रदान गर्ने ७ वटा शैक्षिक संस्थाहरु संचालन गरिरहेको छ । जहाँ ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । विश्वविद्यालय चलाउने सोचका साथ हामी अगाडि बढ्दै छौं । अरु नगरपालिकाहरुलाई पनि क्रमशः सक्षम बनाउँदै लानु पर्छ । सबै कुरा केन्द्र वा प्रदेशले किन बोकिराख्ने ?

स्थानीय तह बलियो हुँदा जनताका काम कारबाहीहरु छिटो छरितो हुने अवस्था त पैदा भएको छ तर साथसाथै स्थानीय तहबाट ससाना कामहरु गराउनुपर्दा तथा सिफारिसहरु लिनुपर्दा पनि तिर्नुपर्ने शुल्क चाहिँ निक्कै चर्को, महंगो भएको गुनासो पनि सुन्नमा आउँछ । यसबारे के भन्नुहुन्छ ?

कतिपय पालिकामा त्यो पनि भएको होलान् तर सबै ठाउँमा त्यो होइन । भक्तपुर नगरपालिकाले कर बढाउनुभन्दा करको दायरा बढायो । घरबहाल कर पहिले १२ प्रतिशत थियो । हामीले १० प्रतिशतमा झार्यौं । औद्योगिक/संस्थागत र सामान्य नागरिक बस्ने गरी दुई प्रकारमा विभाजन गर्यौं । नागरिक बस्नेलाई ५ प्रतिशतमा झार्यौं र संस्थागतलाई १० प्रतिशत नै कायम गर्यौं ।

सरसफाइका लागि करिब १५० कर्मचारीहरु छन् । पहिले महिनाको रु ३० मात्र सफाइ शुल्क लिन्थ्यौं । अहिले मासिक ७५ रुपियाँ गरेका छौं । मुख्य बजारमा टिपन टापनको व्यवस्था गरेका छौं । सफाइमा मात्रै हाम्रो १२ देखि १३ करोड रुपियाँ खर्च हुन्छ ।

भक्तपुर नगरपालिकाले पहिलेदेखि नै आत्मनिर्भर विकासको मोडेल अपनाएको देखिन्छ । ७२ सालको भूकम्पछि पनि तपाईंहरुले विदेशी बजेटहरु अस्वीकार गर्नुभयो । यो कसरी सम्भव भइरहेको छ । यस कुरालाई नेपालभरिका नगरपालिकाहरुमा मोडेलका रुपमा लान सकिन्छ कि सकिँदैन ?

सकिन्छ, त्यो त्यति गाह्रो विषय होइन । हामीले अरुसँग लिएर बाँच्ने सोच र चिन्तन त्याग्नु पर्छ । स्कुलको छाना छाउन, धारा राख्न, बगैंचा बनाउन एनजीओ खोज्ने, स्कुल भवन बनाउन आइएनजीओ खोज्ने ¤ आफूले केही नगर्ने, अरुले गरिदिए हुन्छ भन्ने मानसिकता नै अहिलेको समस्या हो ।

अरुसँग मागेर बाँच्नेहरुको इज्जत हुँदैन । २०७२ सालको भूकम्पबाट भक्तपुरमा धेरै क्षति भयो । नेपाल सरकार र जर्मन विकास बैंकमार्फत जर्मन सरकारले १ करोड युरो (१ अर्ब २० करोड रुपैयाँ) भक्तपुरको सम्पदा पुनःनिर्माणको लागि सम्झौता भयो । हाम्रो स्वाभिमानमा आँच पुग्ने भएकोले त्यो रकम हामीले फिर्ता गर्‍यौं । हामीले जनताको बीचमा गयौं र भन्यौं— सयौं वर्ष अगाडि हाम्रो पुर्खाले पाँच तले मन्दिर, ५५ झ्याले दरबार, सुनढोका  बनाउँदा  कसैको सहयोग लिनु भएन । आज  हरेक वर्ष ४३२ जना विभिन्न विषयका इन्जिनियर उत्पादन गर्ने, नर्सहरु उत्पादन गर्ने, धेरै विषयमा स्नातक र स्नातकोत्तर पढाउन सक्षम नगरपालिकाले केही रकमको लागि विदेशी सामु झुक्दा हाम्रो इज्जत रहँदैन । बरु सहयोग गर्नुहोस ।’ जनताले सहयोग गरे । एउटै सम्पदा निर्माणमा पनि करोडभन्दा बढी चन्दा उठ्यो । हजारौंले जनश्रमदान गरे । सेवामा प्रतिस्पर्धा भइरहेको छ ।

हरेक वर्ष ४३२ जना विभिन्न विषयका इन्जिनियर उत्पादन गर्ने, नर्सहरु उत्पादन गर्ने, धेरै विषयमा स्नातक र स्नातकोत्तर पढाउन सक्षम नगरपालिकाले केही रकमको लागि विदेशी सामु झुक्दा हाम्रो इज्जत रहँदैन ।

अहिले पनि जति पनि कामहरु हुन्छन्, उपभोक्ता समितिबाट सहयोग, श्रमदान प्रशस्त हुन्छ । त्यसले गर्दा एकातिर गुणस्तर कायम हुनेभयो । अर्को, स्थानीय जनता आफैंले काम पाउने भए । तेस्रो कुरा, आफ्नो सीप, श्रम र साधनहरु पनि प्रयोग हुनेभयो । त्यसपछि नगरपालिकाको पैसा नगरपालिकाकै जनताहरुमाझ घुमिरहने भयो ।

यसको अर्थ तपाईंहरुले माथिको मुख ताक्नेभन्दा पनि जनसहभागितलाई बढी जोड दिनुभयो ?

एकदमै सही ।

यो अवधारणा चाहिँ कसरी विकसित भयो ?

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेज्यूले धेरै पहिलेदेखि नै अरुको भरमा बाँच्ने हैन, आत्मनिर्भर हुनुपर्छ भनेर निर्देशन दिँदै आउनुभएको हो । भक्तपुर नगरपालिकाले आत्मनिर्भताको अभ्यास गर्दै आयो । २०५९ देखि २०७४ सालसम्म १५ वर्ष स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले चलाउने अवस्थाले समस्या भयो । भक्तपुर विकासको दृष्टिले धेरै पछि पर्यो । हामी निर्वाचित भएर आएपछि हरेक सम्पदा पुनःनिर्माण र विकासमा जनसहभागितालाई प्राथमिकता दिएर काम गर्दै आयौं  ।  

यतिबेला केही स्वतन्त्र मेयरहरुको कार्यशैली बारे सर्वत्र चासो रहेको छ । के स्थानीय सरकार सञ्चालन गर्न यसरी जो संग पनि झगडा गरिरहनुपर्छ र ?

त्यो उहाँहरुको कुरा हो । हाम्रो त्यसमा केही भन्नु छैन । सबैको काम गर्ने आआफ्नो शैली हुन्छ । ब्यक्ति फरक भए पछि फरक फरक विचार र सोच हुनुलाई अन्यथा पनि नलिउँ ।

भक्तपुर नगरपालिकाले भोगिरहेका समस्याहरु के के हुन् जसलाई सरकारले सम्बोधन गरोस् भन्ने चाहनुहुन्छ ?

भक्तपुर नगरपालिकाका मुख्य तीन वटा समस्याहरु छन्— पहिलो ख्वप विश्वविद्यालय स्थापना हो । यो हाम्रो क्षमता बाहिरको संसदले नै विधेयक पारित गर्नुपर्ने बिषय हो । पटक पटकको प्रयासपछि पनि त्यो हुन सकिरहेको छैन । यस पटक पनि सरकार परिवर्तन भएपछि सरकारले त्यो विधेयक फिर्ता लिएको सुन्नेका छौं ।

दोस्रो, उत्तरतिर रहेको खासाङखुसुङ खोला र दक्षिणतिर रहेको हनुमन्ते खोला सुधार । ती दुईटै खोलामा सफा पानी बगेको देखाउन चाहन्छौं । विविध कारणले त्यो सम्भव भइरहेको छैन । अहिले खोलाको किनारमा पाइप बिछ्याउने काम करिबकरिब सम्पन्न भइसकेको छ । फोहर प्रशोधन गरेर मात्रै पानी खोलामा फाल्ने भनेर सल्लाघारीमा ५७ रोपनी र हनुमानघाटमा ७।८ रोपनी जग्गामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै छ ।

तेस्रो, विश्व सम्पदामा सूचीकृत दरवार क्षेत्रमा अबस्थित कला संग्राहालय रहेको भवन लाल दरवारसहितको पुनःनिर्माण । हामीले मल्लकालीन स्वरुपमै फर्काउन चाह्यौ । मल्लकालमा ५५ झ्यालसँगै एउटै दरवार रहेछ । २०७५ सालमा संस्कृति मन्त्रालयका सचिव, पुरातत्व विभागका तत्कालीन डाइरेक्टर भेष नारायण दाहाल र नगरपालिका बीच त्रिपक्षीय छलफलबाट मल्लकालीन शैलीमा बनाउने निर्णय भयो । युनेस्कोको पनि अनुमति लिनु पर्ने प्रावधानको कारण अहिलेसम्म त्यो काम अगाडि बढ्न सकेन । अहिले मर्मतसम्म गर्न पुरातत्व विभागले त्यसको डिजाइन तयार गरेको छ । सायद् अब त्यो काम अघि बढ्छ ।

मेयर सुनील प्रजापतिसँगको कुराकानी तलको भिडियोमा हेर्न/सुन्न सकिन्छ: