पोर्तुगिज म्यान–अफ–वार: हज्जारौं जीवहरु मिलेर बनेको एउटा अनौठो जीव समूह

 

झट्ट हेर्दा पोर्तुगिजहरुले प्राचीन कालमा प्रयोग गर्ने समुद्री जहाज जस्तो आकारको देखिने समुद्रको पानीमा तैरिरहने एउटा अनौठो जीव समूहको नाम हो–  पोर्तुगिज म्यान–अफ–वार ।

यो कुनै एक्लो प्राणी नभएर समुद्रमा स्वतन्त्रतापूर्वक तैरिरहेको जीवितहरुको समूहको नाम हो । यस जीव समूहको कुनै मस्तिष्क पनि हुँदैन, न त मुटु नै हुन्छ । एउटा पोर्चुगिज म्यान–अफ–वारमा हज्जारौं जीव रहेका हुन्छन् ।  माथिबाट झट्ट हेर्दा यो चम्किलो रंगको, इन्द्रेणी रंगको हावा भरिएको व्लाडरको रुपमा तैरिरहेको हुन्छ तर वास्तवमा यो जीवित समूहका ब्लाडरको तल्लो भागमा हज्जारौं लामा लामा त्यान्द्राहरु हुन्छन् । विशेष प्रकारका कोषहरुको समूह यो पोर्तुगिज म्यान–अफ–वारको औसत आकार १५ से.मी. (६ इन्च) सम्म हुन्छ भने यसको त्यान्द्रोको लम्बाई चाहिँ ३० मिटर अर्थात् १०० फिटसम्म लामो हुन सक्छ । यस जीव कोषको त्यान्द्राहरु  अति संवेदनशील विष उत्पादन गर्ने ५ लाखभन्दा बढी कोषहरुले भरिपूर्ण हुन्छ, जसलाई नेमाटोसिस्ट (nematocysts) भनिन्छ । यसले आफ्नो त्यान्द्राहरुमा हुने यही विषको मद्दतले शिकार पक्रने गर्छ । जब यसको त्यान्द्रोको स्पर्शमा कुनै माछा वा अन्य समुद्री जीवहरु आउँछ, यसको नेमाटोसिस्टले उत्पादन गरेको विषको प्रभावले ती जीव अशक्त बन्न जान्छ । यसको विष पनि अन्य जनावरहरुले उत्पादन गर्ने विष जस्तै एन्जाइमहरुको मिश्रण नै हुन्छ । यो कुनै एउटा पदार्थ मात्रै हुँदैन । यसको विष पनि स्नायुतन्त्रलाई आघात पार्ने खालको नै हुन्छ र यो कोब्रा सर्पको जस्तै  शक्तिशाली (७५ प्रतिशत) हुन्छ । रोचक त के छ भने, पोर्तुगिज म्यान–अफ–वार मर्दै गरेको छ वा मरिसकेको छ भने पनि यसको त्यान्द्राका विष उत्पादन गर्ने कोषहरु (nematocysts) सक्रिय नै हुन्छ ।

यो कोष कतिसम्म संवेदनशील हुन्छ भने यदि यसको एउटा मात्रै त्यान्द्रोमा हल्का स्पर्श मात्रै हुने हो भने पनि त्यसले हामीलाई डसिहाल्छ र विषको प्रभावले अति तीब्र पीडा हुन्छ । यद्यपि यसको हल्का स्पर्शले मान्छेको ज्यानै त लिइहाल्दैन तर स–साना जीवहरुका लागि भने त्यति नै मात्रा पनि घातक हुन्छ ।

झट्ट हेर्दा जेलीफिस जस्तो लागे पनि यो जीव जेलीफिस चाहिँ हैन । किनभने, यस जीव जेलीफिस जस्तो एक्लो अवस्थामा जीवन बिताउँदैन । यो त एउटा विशाल समूहमा आबद्ध रहेको हुन्छ । तर यो जेलीफिस, सी एनेमोन (Sea anemone) जस्ता अन्य जीवहरु समेतलाई वर्गीकृत गरिएको Cnidaria समूहमा नै पर्दछ ।

वास्तवमा पोर्तुगिज म्यान–अफ–वार नली आकारको शरीर हुने विशेष प्रकारको समुद्री जीवहरुको समूह हो । झट्ट हेर्दा वनस्पति जस्तै देखिने यो जीव शुरुमा ग्याँसको बेलुनमा हुर्कन्छ । यस जीवको नली आकारको शरीरमा मुख त्यान्द्राहरुले ढाकिएको हुन्छ। यस्तै जीवहरु हुर्कदै जाँदा अन्य समान प्रकारका जीवसँग मिल्दै जान्छ भने आफूभित्रै पनि यी जीव बढ्ने प्रक्रिया जारी रहेको हुन्छ । विस्तारै यो जीवको समूह ठूलो हुँदैजान्छ । रमाइलो कुरा त के छ भने, यी जीव समूहमा कुनैले खाना पचाउने काम गरिरहेको हुन्छ भने कुनैले सन्तानउत्पादनको काम । जीवहरुले सामुहिक रुपमा रहेर आफूलाई खुवाउने तथा तैरिने काम गरिरहेको हुन्छ । यसको प्रत्येक त्यान्द्रो सिलिण्डर आकारको हुन्छ, जसको मध्य भागमा मुख हुन्छ र त्यसको पुछारमा त्यान्द्राहरु जोडिएका हुन्छन् । यसका त्यान्द्राहरु सिमेट्रिकल हुन्छ र चार वा छ वटा खण्डमा विभक्त भएका हुन्छन् । यस्ता त्यान्द्राका कोषहरु तन्तुहरुको रुपमा व्यवस्थित रहेका हुन्छन् । यी तन्तुहरु मोटो पातलो, सोझो बांगो जस्तो पनि हुन सक्छ  र त्यसमा स्नायुतन्त्र, मांशपेशी, हड्डी र पिग्मेन्ट कोषहरु हुन्छन् । यस वर्गका जीवको गुद्वार हुँदैन । यसको भिन्नै खालको रक्तसंचार प्रणाली र पाचन प्रणाली हुन्छ । यसको मुख ट्यूबहरुको च्याम्बरमा जोडिएको हून्छ । त्यस्ता ट्यूबहरुलाई ऋयभभिलतभचयल भनिन्छ ।

पोर्तुगिज म्यान–अफ–वारले शिकार पक्रेपछि त्यान्द्रोमा रहेको डस्ने अंगहरुले शिकारभित्र विष छोडेर मार्छ । त्यसपछि त्यही त्यान्द्रोहरुले पक्रिएको शिकारलाई खाना पचाउने त्यान्द्रोहरुसम्म ल्याइदिन्छ । र, त्यहाँ शिकारलाई पचाउने काम हुन्छ । यसरी यस समूहको जुनसुकै भागको त्यान्द्रोले शिकार पक्रेको छ भने पनि त्यसले शिकारलाई खाना पचाउने त्यान्द्रोहरुसम्म पुर्याइदिन्छ ।  खाना पचाउने त्यान्द्राहरुले पचाएका पोषणहरु त्यस्ता त्यान्द्राहरुमा रहेका परस्परमा जोडिएका नलीहरुको माध्यमबाट सम्पूर्ण शरीरभरि नै पुग्दछ । मुख हुने तर गुद्वार नहुने यस जीवले पचाउन नसकेको शिकारलाई चाहिँ मुखको खुलाबाटोबाट बाहिर फ्याँक्दछ । यसको त्यान्द्राहरुले नै पानीबाट अक्सिजन सोस्ने काम गर्दछ । त्यान्द्रोमा हुने मांशपेशीलाई फैलाएर तथा खुम्चाएर यो जीव समूह एक ठाउँबाट अर्को ठाउँमा सर्दछ ।

अनौठो कुरा त के छ भने यस जीवसमूहको घातक त्यान्द्राहरुको बीचमा पनि एउटा प्रजातिको माछा चाहिँ स्वतन्त्रतापूर्वक बाँचिरहेको हुन्छ । त्यस माछालाई पोर्तुगिज म्यान–अफ–वारले पनि केही गर्दैन । क्लोनफिस (Clownfish) नाम गरेको यस माछाले पोर्तुगिज म्यान–अफ–वार ले पचाउन तथा खान नसकेको शिकारको अंशहरुलाई खाने गर्छ । यसरी उक्त जीव समूहलाई मद्दत नै पुर्याइरहेको हुन्छ ।

त्यस्तो खतरनाक जीवसमूहको बीचमा उक्त माछा कसरी बाँच्न सक्छ र त्यस माछालाई चाहिँ उक्त जीव समूहले किन खाँदैन भन्ने बारेमा अझसम्म ठोस तथ्य कुरा पत्ता लाग्न सकेको छैन । तर केही वैज्ञानिकहरुको विश्वासमा क्लोनफिसले आफ्नो छालामा एक विशेष प्रकारको म्यूकस उत्पादन गर्छ । सोही म्यूकसको कारण यो माछालाई पोर्तुगिज म्यान–अफ–वारले डस्न सक्दैन ।

Image source: https://class.textile-academy.org

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।