के पाङ्ग्राको आविष्कार नभएको भए संसार यति विकसित हुन्थ्यो र ?

पाङ्ग्राको आविष्कारको कथा

पाङ्ग्रा सायद मानिसको सबभन्दा ठूलो आविष्कार हो । लाग्न त यो निकै मामुली चीज जस्तो लाग्छ, तर यो गतिको आधार हो । बयलगाडी, मोटर, साइकल, र रेल आदि पाङ्ग्राद्वारा नै चल्छन् । हज्जारौँ हज्जार किलोमिटरमाथि उड्ने जहाजहरूलाई पनि जमीनबाट उठ्न र जमीनमा उत्रिनका लागि पाङ्ग्राहरूकै खाँचो पर्दछ । खालि गाडीहरूका लागि नै पाङ्ग्राको जरूरत हुन्छ भन्ने होइन । हाम्रा लागि किसिम किसिमका चीजहरू बनाउने मेशिनहरू, समय देखाउने घडीहरू, बिजुली निकाल्ने जेनेरेटर र हामीलाई दिनहुँ आवश्यक पर्ने धेरै चीजहरू पाङ्ग्राबिना कामै गर्न सक्दैनन् ।

तपाईं कल्पना गर्न सक्नुहुन्छ, पाङ्ग्रावाल गाडीहरूबिना मानिसहरूका लागि आउन जान अथवा बोक्नलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान कति कठीन हुन्थ्यो होला ?

यसबाट सायद कसैले ठान्लान्- पाङ्ग्राको आविष्कारकले धेरै नाम त कमायो नै होला, सम्पत्ति पनि थुप्रै कमायो होला । तर सत्य के हो भने, पाङ्ग्राको आविष्कारक को थियो भन्ने कुरा कोही जान्दैनन् । तपाईं कल्पना गर्न सक्नुहुन्छ, पाङ्ग्रावाल गाडीहरूबिना मानिसहरूका लागि आउन जान अथवा बोक्नलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान कति कठीन हुन्थ्यो होला ? इसाभन्दा लगभग तीन हजार वर्षपहिले अर्थात् आजभन्दा ५ हजार वर्षपहिले कुनै चतुर मानिसले यो साधारण बस्तुको आविष्कार गर्यो जुन, आज हरेक ठाउँ र हरेक काममा मानिसको सबभन्दा आवश्यक उपकरण बनेको छ ।

पुरानो जमानामा भारी बोकाउने काम पशुहरूबाट लिइन्थ्यो । पाङ्ग्राको आविष्कार भएपछि भारी बोक्नको लागि जनावरहरू-गोरू, खच्चड, घोडा, ऊँट आदिलाई काममा लगाउन बन्द गरिएको भन्ने पनि होइन । एशिया अफ्रिकाका केही देशहरूमा त आज पनि जनावर त के, मानिसले पनि भारी तान्छन् या मानिसको सवारी लैजाने काम गर्छन् । उद्योगधन्दाको दृष्टिले जुन देश अगाडि छन्, त्यहाँ पनि मानिसहरू या पशुहरूको प्रयोग त्यस्ता ठाउँहरूमा गरिन्छ, जहाँ मेशिनहरू पुऱ्याउन सकिंदैन । अग्ला पहाडहरू र घना जंगलहरू त्यस्ता ठाउँहरू हुन् ।

पाङ्ग्राको आविष्कार हुनुअघि लामो यात्रा गर्न धेरै गाह्रो हुन्थ्यो होला । यात्रीहरू आफ्नो सामान पिठ्यूँमा बोकेर हिंड्थे ।

पाङ्ग्राको आविष्कार हुनुअघि लामो यात्रा गर्न धेरै गाह्रो हुन्थ्यो होला । यात्रीहरू आफ्नो सामान पिठ्यूँमा बोकेर हिंड्थे । बाटामा कैयाँ खतराको पनि सामना गर्नुपर्दथ्यो । सुस्ताउन, खानपीन गर्न अथवा घामपानीबाट आफ्नो बचाउ गर्न बाटामा होटेल, पाटी र धर्मशालाहरू हुँदैनथे । यसकारण निकै नै थोरै मानिसहरू मात्र यात्रा गर्दथे । जो यात्रामा निक्लन्थे, उनीहरूलाई पनि आफ्नो ठेगानामा पुग्ने र पुगे पनि सम्साझै घर फर्किने कुरामा पूरा भरोसा हुँदैनथ्यो ।

पाङ्ग्रा कसरी बन्यो भन्ने जान्नको लागि मानिसको एकदम शुरूदेखिको नै इतिहास जान्नुपर्दछ मानिसहरूले आफ्नो कामको लागि सबभन्दा पहिले जनावरहरुलाई पाल्तु बनाउन सिके । सबभन्दा पहिलो पाल्तु जनावर कुकुर थियो । त्यसले घरको निगरानी राख्थ्यो र आफ्नो मालिकलाई खतराको सूचना दिन्थ्यो । शिकारमा पनि कुकुरहरू काम लाग्थे । छिटै नै मानिसलाई के सुझ्यो भने धेरै कुकुरहरू मिलेर एउटा ठूलो भारीलाई तान्न सक्छन् । उसले काठका फलेकहरू जोडेर एउटा चौखटा जस्तो बनायो । त्यसमाथि भारी राख्यो र कुकुरहरूद्वारा त्यसलाई तान्न लगायो । यस किसिमको बाहनको नाम स्लेज हुनगयो । कहिलेकाँही स्लेजको मालिक सामानको साटो आफैं त्यसमा बसेर घुम्थ्यो । उत्तरी युरोपमा कैयौं मोटो छाला, रूखको बोक्रा या खोक्रो तुल्याएको मुढाद्वारा बनाइएका स्लेजहरूको प्रयोग मध्यपूर्वमा पाङ्ग्राको आविष्कार हुनुभन्दा धेरै पहिलेदेखि नै भइरहेको थियो । दुईहाँगे मूढामा भारी राखेर मानिसहरू त्यसलाई घिसार्दथे । यसलाई देखेर नै सायद स्लेजको कल्पना गरिएको होला । जुन क्षेत्रहरू हिउँले ढाकिएका हुँदैनथे, त्यहाँ पनि पाङ्ग्रा आउनुभन्दा पहिले घिस्रने या चिप्लिने गाडीहरूको उपभोग गरिन्थ्यो । पाङ्ग्रा भएका गाडीहरू बनेपछि पनि मिस्र र सिरियामा गह्रौं गह्रौं ढुङ्गाका मूर्तिहरूलाई यताबाट उता लैजानका लागि स्लेजलाई काममा ल्याइने गरिन्थ्यो ।

उत्तरी युरोपमा कैयौं मोटो छाला, रूखको बोक्रा या खोक्रो तुल्याएको मुढाद्वारा बनाइएका स्लेजहरूको प्रयोग मध्यपूर्वमा पाङ्ग्राको आविष्कार हुनुभन्दा धेरै पहिलेदेखि नै भइरहेको थियो ।

पछि गएर कुकुरबाहेक अरू जनावरहरूलाई पनि सिकाउने - साध्ने गर्न थालियो । तिनीहरूलाई कि त मानिस ओसार्ने काममा लगाइन्थ्यो कि भारी बोक्ने काममा । घोडा, गधा, खच्चर, ऊँट, हात्ती, गोरू आदि यस प्रकारका अनेक जनावरहरू थिए । यो विधिबाट ब्यापारी र तीर्थयात्रीहरूलाई आउन जान र आपसमा भेट गरिरहन धेरै मद्दत पुग्यो । यद्यपि, बाटामा उनीहरूलाई अझै पनि कठिनाईहरूको सामना गर्नु पर्दथ्यो ।

पहिले नै भनिसकियो, स्लेज मानिसको पहिलो सवारी गाडी थियो । त्यसमा पाङ्ग्रा हालेर परिवहनको इतिहासमा पहिलो पाइला अघि सारियो । दगुर्ने क्रिया भनेको घिस्रने या चिप्लिने क्रियाभन्दा धेरै बढी राम्रो हो, किनभने त्यसमा घर्षण निकै थोरै हुन्छ ।

स्लेजको मुन्तिर दुइटा गोले काठहरू राखिदिएमा त्यसलाई बढी सजिलोसित चलाउन सकिन्छ भन्ने कुरा उसले देखेको पनि हुनसक्छ ।

मानिस सधैं नै यस्तो साधनको खोजमा रहेको थियो, जसले ऊ र उसको सामानलाई धेरैभन्दा धेरै छिटो, आराम, र सुरक्षापूर्वक धेरैभन्दा धेरै टाढासम्म लैजान सकोस् । यदि स्लेजको मुन्तिर दुइटा गोले काठहरू राखिदिएमा त्यसलाई बढी सजिलोसित चलाउन सकिन्छ भन्ने कुरा उसले देखेको पनि हुनसक्छ । तपाईंले देख्नुभएको होला, आज पनि जब कार्यालयहरू या कारखानाहरूमा गह्रौँ सामानलाई यताउति लैजानु पर्ने हुन्छ, तब यही तरीका प्रयोग गर्ने गरिन्छ । दुइवटा गोला पाइपहरूमाथि भारीलाई चढाइन्छ र फेरि त्यसलाई माथिबाट अघिल्तिर धकेलिन्छ । जब भारी अघिल्तिर सर्छ, तब पाइप पछिल्तिर छुट्छ । पाइपलाई उठाएर फेरि भारीको अघिल्तिर राखिन्छ र यस प्रकार, त्यसलाई अगाडि सार्दै लगिन्छ । पाङ्ग्राको आविष्कार हुनुअघि मानिसले रूखबाट दुइटा हाँगाहरू काटेर त्यसलाई यसप्रकार उपभोग
गरे होलान् । यस तरिकाले उसले भारीलाई अलिकित परसम्म मात्रै लैजान सक्थ्यो । यस बाहेक, यसमा भारीलाई अलिकति परसम्म मात्रै लैजान सक्थ्यो । यसबाहेक यसमा समय पनि धेरै लाग्थ्यो ।

 

पाङ्ग्रा कसरी गुड्दछ ?

बाटुलो अर्थात् बृत्ताकार बस्तुलाई भन्नाले गुडेर जानसक्ने बृत्ताकार बस्तु पाङ्ग्राको रूपमा प्रयोग गरिन्छ । पाङ्ग्रा भन्ने बझिन्छ । तर यो बृत्ताकार बस्तु किन गुड्दछ त ?

तपाई कुनै वृत्ताकार बस्तु वा पाङ्ग्रालाई हेर्नुहोस् त । के बृत्तको परीधिको कुनै शुरूआत र अन्त्यको बिन्दु तपाई देख्नु हुन्छ ?

अहँ, तपाई देख्नुहुन्न । बृत्तको परीधिको शुरू र अन्त्य छैन । र यो नै बृत्तको विशेषता हो ।

पाङ्ग्रालाई ठड्याउँदा बृत्तको साहै थोरै अंशले मात्र जमीनमा टेकेको हुन्छ, जसमा पाङ्ग्राको सम्पूर्ण भार परेको हुन्छ । तर पाङ्ग्राको परिधिको जुनसुकै अंशबाट पाङ्ग्रा ठड्याए पनिपाङ्ग्राको भार पर्ने अंश उत्ति नै हुन्छ । पाङ्ग्रा जति घुमाउँदा पनि यो स्थितिमा कुनै परिवर्तन हुँदैन । पाङ्ग्रालाई अगाडि वा पछाडि धकेल्दा अथवा त्यो दिशामा बल लगाउंदा पाङ्ग्राको भार पर्ने बिन्दु वा अंश परिवर्तन हुन्छ तर त्यसको प्रकृतिमा कुनै परिवर्तन हुँदैन । किनभने जस्तो कि- माथि पनि भनिसकियो, पाङ्ग्रा एक बृत्त भएको कारणले गर्दा त्यसको परिधिको शुरु र अन्त्यको बिन्दु हुँदैन । साथै, परिधिको प्रत्येक विन्दु केन्द्रबाट उत्तिनै टाढा हुने भएकोले समतल सतहमा त्यसको भार पर्ने अंश सँधै उतिनै रहन्छ । त्यसैले पाङ्ग्रालाई धकेल्दा त्यसको भार उत्तिकै मात्रामा परिधिका अंशहरूमा क्रमशः पर्दै जान्छ । र, पाङ्ग्रा गुड्दछ ।

तुल्सीदास महर्जन

 

यसपछि कुनै सुझबुझ भएको मानिसलाई पाङ्ग्रा बनाउने विचार आयो । भनिन्छ, पहिलो पाङ्ग्रा पूर्वको मेसोपोटामियामा बनाइएको थियो, पश्चिममा होइन । मोहनजोदाडोमा गरिएको उत्खनन्‌मा गोरू-गाडाहरू भेटिएका छन्, जसमा काठका दुईवटा ठोस पांग्राहरू जडिएका थिए । यी गाडाहरू आजभन्दा चार हजार वर्षपहिले प्रयोगमा थिए । सबभन्दा पहिलो पाङ्ग्रा काठको तीनवटा फलेक जोडेर बनाइएको होला । त्यसपछि यसमा एउटा सुधार गरियो । रूखको मोटो मुढाबाट दुइटा चक्र काटियो, अनि त्यसको बीचमा प्वाल पारियो । त्यसपछि तिनलाई एउटा बलियो लट्ठीको दुइटै टुप्पामा फिट गरियो । यो लट्ठीले पाङ्ग्राको धुराको काम दिन्थ्यो । पाङ्ग्रा यही धुरामा नअड्कीकन घुम्थ्यो । अब मानिसहरूलाई थाहा भयो- रोलरको सहाराले भारी तान्नुको सट्टा पाङ्ग्राको सहायताले तान्नु धेरै बढी सजिलो हुँदोरहेछ ।

सबभन्दा पहिलो पाङ्ग्रा काठको तीनवटा फलेक जोडेर बनाइएको होला । त्यसपछि यसमा एउटा सुधार गरियो । रूखको मोटो मुढाबाट दुइटा चक्र काटियो, अनि त्यसको बीचमा प्वाल पारियो । त्यसपछि तिनलाई एउटा बलियो लट्ठीको दुइटै टुप्पामा फिट गरियो ।

केही समयपछि नै के पनि अनुभव गरियो भने, पाङ्ग्रा जति ठूलो हुन्छ, भारी तान्न त्यति नै कम बल लाग्छ । तर काठको मुढा एउटा खास मोटाइसम्मको मात्र पाइन्थ्यो । त्यसभन्दा ठूलो पाङ्ग्रा बनाउनु परेमा काठको फलेकका टुक्राहरूलाई जोडेर मात्रै बनाउन सकिन्थ्यो । टुकाहरूलाई बलियोसँग जोडिन्थ्यो र काटेर त्यसको आकारलाई गोलो पारिन्थ्यो । जब धातुको खोज भयो, तब बढी ठूलो र बलियो पाङ्ग्रा बनाउन संभव हुनसक्यो । पाङ्ग्राको बाहिरी घेराको चारैतिर धातुको पट्टी जडिन्थ्यो, जसबाट टुक्राहरू बलियोसँग जोडिइरहन्थे र सतह एकनाश भएपछि पांग्रा घुम्नलाई पनि बढी सजिलो हुन्थ्यो । त्यसको साथै, धातुको पट्टी चाँडै खिइने र फुट्ने पनि हुँदैनथ्यो । यसप्रकार, पाङ्ग्रा बढी उपयोगी र बढी टिकाउ पनि भयो ।

शुरू-शुरूमा पाङ्ग्राको प्रयोग ठेलामा, यस्तै गाडीहरूमा गरियो, जसमा एउटा धुरा र सिर्फ दुइटा पाङ्ग्रा हुन्थे । पछि बढी बलिया फल्याकमा दुई जोर वा त्यसभन्दा पनि धेरै पाङ्ग्रा हाल्न थालियो र यसरी ठूला बाहनहरू बन्न थाले । पाङ्ग्रा जडिएका गाडीहरूमा अब घोडा नार्न थालिएको थियो । र, यसरी बाहनको गति बढेको थियो । तर स्वयं पाङ्ग्रामा सोह्रसय वर्षसम्म कुनै सुधार गरिएन । यस अबधिलाई पाङ्ग्राको 'अध्यारो युग' भनिन्छ । सोह्रौं शताब्दीको अन्त्यसम्म बेलायतमा चारपाङ्ग्रे गाडीको नियमित प्रयोग हुन थालेको थियो । यी गाडीहरू धनीहरूलाई निकै मन परेका थिए ।

शुरू-शुरूमा पाङ्ग्राको प्रयोग ठेलामा, यस्तै गाडीहरूमा गरियो, जसमा एउटा धुरा र सिर्फ दुइटा पाङ्ग्रा हुन्थे । पछि बढी बलिया फल्याकमा दुई जोर वा त्यसभन्दा पनि धेरै पाङ्ग्रा हाल्न थालियो र यसरी ठूला बाहनहरू बन्न थाले ।

पांग्रा ठूलो हुँदै गएपछि गह्रौं पनि हुँदै गए । भारी त्यसैपनि गह्रौं नै हुन्थ्यो । पाङ्ग्राको वजनले गर्दा अझ गह्रौं हुन्थ्यो । पाङ्ग्राको वजन घटाउने कुनै न कुनै जुक्ति खोज्नै पर्नेथियो । धातुको पाताले टुक्राहरूलाई जोडिराख्न सकिन्थ्यो त्यसैले पाङ्ग्रालाई ठोस बनाइरहनु जरूरी नै भएन । फाल्तु काठलाई काटेर फाल्न सकिन्थ्यो । अब खाँचो भएका चीज नाभिक वा छल्ला थियो, जसमा धुराको टुप्पो जान्थ्यो । फेरि बाहिरी घेरा जरूरी थियो, जसमाथि घातुको पट्टी लगाइन्थ्यो । बीचको काठले सिर्फ यी दुई भागलाई जोडिराख्थ्यो । यस कामलाई काठका केही टुक्राहरूले पनि गर्न सक्थे । यसरी, बाँकी काठलाई काटेर फल्न सकिन्थ्यो । काठका यी टुक्राहरूको प्रयोगले पाङ्ग्रा निकै हलुका भयो ।

मालसामान ओसार्ने गाडी र मालसामान बोक्ने डिब्बाहरू काममा ल्याउन थालिएपछि एउटा अर्को कठिनाई अगाडि आयो । पाङ्ग्रा जमीनमा धसिन्थ्यो । खासगरी वर्षायाममा, जब माटो नरम हुन्थ्यो, तब पाङ्ग्रा माटोमा गाडिन्थ्यो । यस्तो जमीनमा गह्रौं भारी तान्नु निकै कठिन थियो । पाङ्ग्रा जुन जमिनमा
गुड्छ, त्यो जमिनको सतह कडा हुनु आवश्यक थियो । यो खाँचोलाई पूरा गर्न सडकहरू बनाइन थालिए । खासखास सडकमा ईंट र ढुङ्गाहरू बिच्छ्याइए । पछि गएर ढुङ्गाका रोडाहरू पनि बिच्छ्याउन थालियो । त्यसमाथि गह्रौं रोलर चलाएर सडकलाई सम्म तुल्याइयो । यसबाट सडक कडा हुन्थ्यो र गह्रौं गाडीहरू त्यहाँबाट आउनजान सक्थे । यसरी सडकहरू बनेर तिनमाथि गाडीहरू चल्न थालेपछि मानिसहरूको ध्यान गाडीको गतितिर गयो । यतिन्जेल गाडीहरू निकै धिमा गतिले चल्थे ।

पाङ्ग्रा जुन जमिनमा गुड्छ, त्यो जमिनको सतह कडा हुनु आवश्यक थियो । यो खाँचोलाई पूरा गर्न सडकहरू बनाइन थालिए । खासखास सडकमा ईंट र ढुङ्गाहरू बिच्छ्याइए ।

सडकहरू खराब र उबडखाबड हुन्जेल मानिसहरू गाडीलाई तान्ने जनावरहरूको धिमा गतिमै सन्तुष्ट थिए । यदि कसैलाई हतार छ भने ऊ घोडाको प्रयोग गर्थ्यो । र, त्यति नै छिटोसित अगाडि बढ्थ्यो, जति छिटो घोडा दौडन सक्छ । तर न मानिस न घोडा नै सधैं यो रफ्तार कायम गर्न सक्थे । दुवै छिटै थाक्थे । उबडखाबड़ सडकमा तलमाथि उफ्रिदै हल्लिदै हिंड्दा काठको गह्रौं पाङ्ग्राको झड्काले गाडीमा बसेका यात्रुहरूको हाडसमेत हल्लिन्थ्यो ।

जब सडकमा सुधार भयो, तब हलुका गाडीहरू बन्न थाले । धनीमानीहरू छिटो दौडने यी गाडीहरूमा यात्रा गर्दथे । यी गाडीहरूलाई आरामदायक पनि बनाउने प्रयास गरियो । त्यसका लागि सिटलाई छालाको पट्टीले बाँधियो, तर यसबाट झड्का लाग्नमा कमी आएन । यी छालाका पट्टीहरूबाटै सायद पछि गएर धातुले बनेका स्प्रिङ्गको प्रयोग गर्ने बिचार सुझ्यो । सिटमा धातुको स्प्रिङ्ग हाल्न थालियो । त्यसपछि अग्लो होचो जमिनमाथि छिटो दौडने गाडीहरूमा हुने गरेको झट्का निकै कम भयो । सत्रौं शताब्दीको मध्यसम्ममा बेलायतमा बढी राम्रा सहकहरू बनाउन थालिए । र, मानिसहरू घोडाले तान्ने गाडीहरूमा दिनहुँ तीस तीस माइलसम्मको यात्रा गर्न थाले । बाटोका केही स्थानहरूमा घोडा बदल्ने व्यवस्था पनि हुन्थ्यो । थाकेका घोडाहरूलाई गाडीबाट फुकाएर नयाँ घोडा नारिन्थ्यो, ताकि बाँकी यात्रा
पहिलेकै गतिमा पूरा गर्न सकियोस् ।

सड़क र पाङ्ग्राहरूको बीचमा एक प्रकारको होडबाजी नै चल्यो र कस्तो लाग्न थाल्यो भने, यो होडबाजीको कहिल्यै अन्त्य हुने छैन ।

सडकहरू बढी राम्रा बन्न थालेपछि ज्यादा छिटो र सजिलै गुड्ने बढी राम्रा पाङ्ग्राहरूको खाँचो भयो । यसप्रकार सड़क र पाङ्ग्राहरूको बीचमा एक प्रकारको होडबाजी नै चल्यो र कस्तो लाग्न थाल्यो भने, यो होडबाजीको कहिल्यै अन्त्य हुने छैन । बाफको इन्जिन र मोटरहरू बनेपछि मानिसहरूलाई बढी छिटो चल्ने बाहनहरू प्राप्त भइहाले । पछि गएर रेलमा त्यसको प्रयोग बढी लाभदायक महसूस गरियो । मोटरहरू जतिछिटो गतिमा दौडिन्थे, घोडागाडीको त्यो जमानामा त्यसको कल्पना कसैलाई पनि थिएन । अब सडकहरूलाई यी छिटो
दौडने गाडीहरूको निम्ति उपयुक्त बनाउने प्रश्न अगाडि थियो । सडकमा सिमेन्ट र अलकत्रा बिच्छ्याएर त्यसलाई पक्की बनाउन  थालियो ।

पाङ्ग्राहरूलाई पनि विज्ञान सँगसँगै अघि बढ्नु थियो । उन्नाइसौं शताब्दीको अन्तिम दश वर्षमा एउटा सुधार भयो– मोटरको पाङ्ग्रामा बलियो र ठोस रबरको टायर जडियो । तर फेरि पनि सडक परिवहन न छिटो नै भयो, न आरामदायक नै । अनि फेरि परिवहनको इतिहासमा एउटा अर्को ठूलो घटना घट्यो । सन् १८८८ मा बेलायतमा एक पशुचिकित्सक जोन बायडले 'न्यूमेटिक टायरको आविष्कार गरे । यी हावा भरिएका नयाँ टायरहरूले पाङ्ग्रा कति गजबको आविष्कार हो भन्ने देखाइदिए । टायरमा भरिएको हावाले गद्दाको काम दिन्थ्यो र सबै झड्काहरूलाई आफूतिर खिच्दथ्यो । गाडीमा बसेका यात्रीहरूलाई हावामा हिँडिरहेझैं लाग्दथ्यो । बढी आरामको लागि बढी ठूलो टायर बन्न थाल्यो जसलाई बेलुन टायर भनिन्थ्यो । पाङ्ग्राहरू पक्का धातुकै बनाइन्थे  र ती पाङ्ग्राहरूलाई सकेसम्म हलुका तुल्याउन त्यसमा पातला पातला पट्टीहरू लगाइन्थे ।

हावा भरिने भित्री ट्यूब नै त्यो वस्तु हो, जसको कारणले हामी यत्ति छिटो गतिमा आरामसाथ यात्रा गर्न सक्छौं ।

जुन सिद्धान्तमा पहिलो डनलप टायर बनाइएको थियो, त्यो सिद्धान्त आज मोटरकार र साइकलहरूलाई बिना झड्का चलाउने टायरहरूकै सिद्धान्त थियो । राम्ररी हेर्ने हो भने मोटरकारहरू र साइकलहरू खाँदिएको हावाद्वारा नै चल्छन् भन्ने देखिन्छ। पाङ्ग्राभित्रको ट्यूब नरम पातलो रबरले बनेको हुन्छ । त्यस ट्यूबमाथि बाहिरपट्टि एउटा मोटो टायर हुन्छ, जसले भित्रको ट्यूबलाई बचाउँछ । हावा भरिने भित्री ट्यूब नै त्यो वस्तु हो, जसको कारणले हामी यत्ति छिटो गतिमा आरामसाथ यात्रा गर्न सक्छौं ।

तेज रफ्तारमा धुराको टुप्पो बीचको नाभिकसित रगडिन्छ । यसबाट ताप पैदा हुन्छ र पाङ्ग्रा छिट्टै खराब हुन्छ । यो दोषलाई हटाउन बल बियरिङ्गको प्रयोग गर्न थालियो । धुराको टुप्पो इस्पातको सानो गोलीमा अडेको हुन्छ । यो बीचको छल्ला वा नाभिकमा बनेको एउटा सानो ठाउँमा फिट भएको हुन्छ । पाङ्ग्राहरूसँगै यी गोलीहरू पनि घुम्छन् ।यसले गर्दा पाङ्ग्राहरु छिटोछिटो खराब भइहाल्दैनथिए । र पाङ्ग्राहरु बढी टिकाउ हुन्थे ।

ट्राम र रेलहरुमा पाङ्ग्राहरु यति गह्रौं हुन्छन् कि तिनको झट्का र  
र भारले मामुली सडकहरू त भत्किहाल्छन् । यसकारण ट्राम र रेलका पाङ्ग्राहरू खास किसिमले बनाइएका फलामका लीकहरूमा मात्रै दौडिन सक्छन् ।

जोन डनलपको आविष्कार संसारको हरेक कुनामा पुगिसकेको छ। यी अद्भूत टायरहरू- साइकलहरू, मोटरहरू र हवाजहाजहरूमा प्रयोग भइरहेका छन् । यिनलाई लरीहरूमा पनि जडान गरिन्छ जसले कैयौं टन वजन तान्दछ । हवाइजहाजमा पनि उडान शुरु गर्नुअघि र उत्रिएपछि तिनै टायरहरू नै जमीनमा तीब्र गतिमा दौडिन्छन् ।

मानिसको समग्र इतिहासमा यातायातको साधनहरुमा जुन सबभन्दा ठूलो आविष्कार भयो, त्यो पाङ्ग्राकै आविष्कार थियो । यसबाहेक कुनै पनि एउटा छुट्टै आविष्कार छैन, जसले दूरीमाथि विजय हासिल गर्न मानिसलाई यति धेरै मद्दत गरेको होस् । यसैको मद्दतले नै पुरानो जमानामा जुन ठाउँहरु धेरै टाढा जस्तो लाग्दथे, ती ठाउँहरु अब एकदम नजिक जस्तो लाग्दछन् । जुन यात्राहरुम कुनै बेला कैयौं महिना र यहाँसम्म कि कैयौं वर्ष लाग्दथ्यो, ती यात्राहरु अब केही दिनहरूमै पूरा गर्न सकिन्छ । इसाको तीन हजार वर्ष पूर्वका ती दिनहरूदेखि लिएर- जतिबेला जनावरहरूले गाडीहरू तान्दथे, अट्ठारौं शताब्दीमा बाष्प इन्जिन आउन्जेलसम्मको प्रगतिको रफ्तार पनि सुस्तरी नै रहेको थियो । पाङ्ग्राको आविष्कार कसले गरेको थियो भन्ने कुरा कसैलाई थाहा छैन । त्यो व्यक्ति जो भएपनि मानवजाति सदा उसको ऋणी रहनेछ ।

'विश्वलाई बदल्ने आविष्कार' हिन्दीबाट साभार अनुदित । अनुः गोविन्द वर्तमान

नवयुवा वर्ष ४, पूर्णाङ्क ३५ मा प्रकाशित

हावा भर्ने टायरको आविष्कारले पाङ्ग्राको विकासमा क्रान्ति ल्याइदियो

साइकल होस् या मोटरसाइकल, मोटरकार होस् या ठूलो बस, यी सबैमा नै हावा भरिएको टायर भएका पाङ्ग्राहरु हुन्छन् । यी बाहनहरु ती पाङ्ग्राहरुले टेकेर सडकमा गुड्ने गर्छन् ।

तर तराइमा हामी हावा भर्ने टायर नभएको पाङ्ग्राबाट चल्ने गोरुले तान्ने गाडाहरु पनि देख्छौं । त्यस्ता गाडाहरु तान्न गोरुलाई धौ धौ भएको र तिनीहरुले गाडालाई सकिनसकी तानिरहेको दृष्य हामी तराइमा जाँदा प्रायः जसो देख्नेगर्छौं ।

हावाले भरिएको टायर भएको पाङ्ग्रा जति सजिलो र छिटो गुड्छ, त्यो भन्दा धेरै कठिन र धिमा गतिमा हावाले भरिएको टायर नभएको पाङ्ग्रा गुड्दछ । हावाले भरिएको टायर भएको पाङ्ग्राको आविष्कार नहुँदासम्म सडकमा गुड्ने कुनै पनि बाहनमा काठ वा धातुले बनेको पाङ्ग्रा हुन्थ्यो । त्यस्ता पाङ्ग्राबाट चल्ने बाहनहरुको गति निक्कै धिमा हुन्थ्यो । मानिसहरुले पाङ्ग्रामा कस्तो किसिमको सुधार गर्दा बाहनको गति बढी भन्दा बढी तेज गर्न सकिन्छ भनेर सोच्दै आइरहेका थिए । हावा भर्ने टायरको अविष्कारले बाहनको गतिलाई बढी भन्दा बढी तेज पार्ने मानिसको त्यस आकांक्षालाई पूरा गरिदियो, अर्थात हावा भर्ने टायरको अविष्कारले पाङ्ग्राको विकासमा क्रान्ति ल्याइदियो ।

त्यो क्रान्ति गर्ने आविष्कारक को थिए त ?

हो, उनी जोन बायड डनलप थिए । वास्तवमा, जोन बायड डनलप एक पशु चिकित्सक थिए । उनी आफ्नो परिवारसहित सन् १८६७ मा आयरल्याण्डको बेलफास्ट शहरमा बसोबास गर्न आएका थिए । त्यतिखेर उनी २७ वर्षका जवान युवा थिए। एकचोटि गाडा तान्ने घोडालाई उपचार गर्दागर्दै उनको मनमा घोडाप्रति बडो दया जागेर आयो । र, उनी सोच्न थाले– कम बल लगाएर गाडीलाई सजिलै तान्न सकिने खालको पाङ्ग्राको निर्माण गर्न सकिँदैन ? यही सोचले नै उनलाई पछि हावा भर्ने टायरको आविष्कार गर्ने बिन्दुसम्म ल्याइपुर्‍यायो ।

शुरुदेखि नै सडकमा दौडने बाहनहरुप्रति डनलपको धेरै गहिरो चासो थियो । उनी स्वयंसँग पनि घोडाले तान्ने एक टमटम गाडी थियो । त्यसैमा बसेर उनी रोगी पशुहरुको उपचार गर्न हिँड्थे । उनको टमटम गाडीको पाङ्ग्रामा धातुको स्प्रिङ्ग राखिएको थियो । तैपनि जब गाडीले बाटोमा कुनै ढुङ्गा भेट्दथ्यो वा गाडीको पाङ्ग्रा माथि उठेको सानो या ठूलो डल्लो माथि  गुड्थ्यो, तब गाडी पुरै हल्लिन्थ्यो । र, यसबाट गाडीमा सवार मान्छेहरु तथा गाडी तान्ने घोडालाई त चोट लाग्थ्यो नै साथै गाडीलाई पनि क्षति पुग्दथ्यो । यस बाहेक गाडीको गति पनि धेरै सुस्त हुन्थ्यो ।

पशु चिकित्सक डनलपले गाडी सवार गर्दा देखिनै ती असुविधाहरुलाई कस्तो उपाय अपनाउने भनेर सोच्न थाले । उनले पाङ्ग्रा घुम्ने बीचको धुरा (Axle) देखि रिमसम्म धातुका तारहरु राखे । साथै पाङ्ग्रामा स्प्रिङ्ग राखेर पनि हेरे । सबै प्रकारका प्रयोगहरु गरिसकेपछि डनलप के निष्कर्षमा पुगे भने, सडक र पाङ्ग्राको रिम बीच कुनै त्यस्तो उपाय अपनाइन्छ, जसले पाङ्ग्राको धुरामा कम चाप पैदा गर्छ र कम बलमा नै गाडीको गति सजिलै बढाउन सकिन्छ । त्यसैले उनी त्यो उपाय पत्ता लगाउन लागिपरे ।

डनलप आफ्नो पशु चिकित्सकको कामबाट फुर्सद पाउनासाथ पाङ्ग्रालाई कसरी सुधार गर्न सकिन्छ भन्ने सोचमा लाग्थे । सैंतालिस वर्षको उमेरमा उनले पशु-चिकित्साको पेशा छोडिदिए र आफ्नो सम्पूर्ण समय पाङ्ग्राको सुधारको कार्यमा लगाए ।

आखिर सन् १८८७ मा डलनपले रबर र क्यानभास ट्यूबभित्र हावा भरेर त्यसलाई पाङ्ग्राको रिममाथि जडान गरी एक नयाँ किसिमको पाङ्ग्राको आविष्कार गरे । त्यो आविष्कारले पाङ्ग्रामा क्रान्तिकारी सुधार ल्यायो । हुन त यसअघि सन् १८४५ मा अर्को आविष्कारक रबर्ड डब्लयू थाम्पसनले पनि हवाई पाङ्ग्रा (Aireal Wheel) को आविष्कार गरेका थिए । तर उनको आविष्कारलाई त्यतिखेर मानिसहरुले कुनै महत्व दिएनन् । किनकि त्यस समयमा मानिसहरुले हवाई पाङ्ग्राको आवश्यकताको महशूस गरेका थिएनन् ।

वास्तवमा डनलपले थाम्पसनको अधुरो कामलाई अगाडि बढाउने काम
गरेका थिए । उनले त्यस कामको लागि शुरुमा सोह इञ्च व्यासको काठको एक चक्का बनाए । त्यस्तै, उनले एक इञ्चको बत्तीस खण्डको एक खण्ड बराबर मोटो रबरको फित्ता लिएर त्यसबाट एक हावा भर्ने 'हवाई ट्यूब' बनाए । त्यसपछि उनले पातलो रबरको एक 'हावा आपूर्ति ट्यूब'लाई 'हवाई ट्यूब' भित्र घुसाएर पुरै घेरामा राखे । अब उनले 'हावा आपूर्ति ट्यूबलाई मुखले फुकेर फुटबल जस्तै फुलाए । त्यसपछि फुलेको ट्यूबको निकास प्वाललाई उनले कसेर बाँधिदिए ताकि त्यसबाट हावा बाहिर निस्कन नसकोस् ।

डनलपले अब आफ्नो कामको परीक्षण गर्ने सोच बनाए । त्यसको लागि उनले एउटा मोटो रबरको पाङ्ग्रा लिएर त्योसँग हावा भरिएको पाङ्ग्रालाई एकसाथ उत्तिकै बलमा धकेलिदिए । उनको अनुमान अनुसार नै हावा भरिएको रबरको पाङ्ग्रा निर्धारित दूरीसम्म सीधा र पूरा गतिमा अगाडि बढ्यो । ठोस रबरको पाङ्ग्राले हावाले भरिएको पाङ्ग्रासँग प्रतिस्पर्धा गर्न सकेन । आश्चर्यको कुरो के भयो भने, त्यस हावाले भरिएको पाङ्ग्रा भित्तामा ठोकिँदा पुनः त्यो तेज गतिमा फर्केर आयो । यसरी परीक्षणबाट  हावाले भरिएको पाङ्ग्रा अरुको तुलनामा कता हो कता गतिवान र सुविधाजनक भएको प्रमाणित भयो ।

'डनलपको आविष्कारले सन् १८८८मा पेटेन्ट प्राप्त गर्यो । तर उनको त्यो आविष्कारमा पैसा लगानी गरेर औद्योगिक रुपमा उत्पादन गर्न तत्काल उद्योगपति तयार देखिएन । किनकि नयाँ आविष्कारप्रति मानिसहरुलाई भरोसा लागिसकेको थिएन ।

यसैबीच, बेलफास्टमा ट्राइसाइकल दौड प्रतियोगिता आयोजना गरियो । त्यसमा डनलपको छोरा जौनीले आफ्नो पिताले आविष्कार गरेको हावा भरिएको टायर भएको ट्राइसाइकल चढेर प्रतियोगितामा अरु सबै प्रतियोगीहरुलाई नराम्ररी नै
पछाडि पारिदिए । यो घटनापछि बेलफास्टका दुई उद्योगपति तथा साइकल निर्माता एडलिन र सिन्कलेयर डनलपको आविष्कारलाई औद्योगिक उत्पादनमा लानको लागि पैसा लगानी गर्न तयार भए । डिसेम्बर १८८८ मा डनलपको टायर बनाउने कार्यको शुरुवात भयो ।

त्यस्तै गरी एउटा अर्को साइकल दौड प्रतियोगितामा बेलफास्टको कुर्जस साइकल क्लवका क्याप्टेन विलियम ह्यूमले पनि हावा भरिएको पाङ्ग्रायुक्त साइकल चढेर अन्य प्रतियोगीहरुलाई कता हो कता पछाडि पारिदिए । यस घटनापछि त डनलपको आविष्कारलाई सर्वत्र स्वागत गर्न थालियो ।

तर मजाको कुरो के छ भने, डनलपको आविष्कारलाई सर्वत्र स्वागत गरिसक्दासम्म पनि डनलप स्वयमले भने साइकल चढ्न जानेका थिएनन् । उनले ५० वर्षको उमेरमा मात्र साइकल चलाउन सिके । सन् १८८९ मा डब्लिन शहरमा डनलपको टायरको औद्योगिक स्तरमा उत्पादन गर्न थालियो र कुनै पनि प्रकारको सवारी साधनमा त्यो टायर जडान गर्न थालियो । यसले गर्दा सडकमा सवारी गाडिहरुको गति अब अत्याधिक तेज हुन थाल्यो । जोन बायड डनलपको मृत्यु सन् १९२१ मा भयो ।

तुल्सीदास महर्जन