खाडी क्षेत्रमा युद्धको कालो बादल र नेपालीहरुको उद्धारको प्रश्न

इरानले फेरि इजरायलमाथि कारवाही गर्ने संभावना छ, के गर्ला सरकारले  लेवनान, इजरायल र खाडफमा कामगर्ने नेपालीको उद्धारमा ?

अन्तर्राष्ट्रिय गतिविधि भरपर्दो छैन। मध्यपूर्वमा युद्ध भुसको आगोजस्तो भित्रभित्रै बलिरहेको छ। अब युक्रेनबाट युद्धको स्थान मध्यपूर्वमा सर्न सक्ने खतरा बढेको छ। तर नेपालमा यस्ता कुरामा कसैको सरोकार हुँदैन।

१) हमास र इजरायलका बिचमा भएको लडाइँको बारेमा नेपालमा छलफलसम्म भएन, जबकि यो घटना भविष्यमा एउटा क्रुर युद्धको संकेत हुन सक्छ। अब पश्चिम युक्रेनमा थाकिसकेको छ। तर उसलाई युद्ध त चाहिएकै छ।

२) इजरायलले लेबनान र इरानमा हेजुब्ल्लाह र हमासका शीर्षस्थ नेताहरुको हत्या गरेपछि त्यसको प्रतिकारमा इरानले इरानले इजरायलमाथि  कारवाही गर्ने र सम्पूर्ण मध्यपूर्वमा युद्ध भड्किने सम्भावना बढेको छ। यो युद्ध  इजरायल र अरब बीचको युद्ध हुनसक्ने अवस्था छ। यो युद्ध पश्चिम र पूर्वका बीचमा बिस्तार हुन सक्ने अवस्था छ।

३) नेपालका सम्बन्धित मन्त्रालयका मानिस र नेतालाई यसबारेमा केही हेक्का होला र ? जहाँ सम्म लाग्छ, छैन। मध्यपूर्वमा लाखौं नेपाली छन्। यदि इरानले इजरायलका विरुद्ध कारबाही गर्यो भने ‘लेवनान, इजरायल, लगायतका क्षेत्र’मा भएका नेपाली नागरिकको उद्धार कसरी गर्छ सरकार ? के यसबारेमा केही सोचेको छ, सरकारले ? दुख को कुरा अहिलेपनि नेपालीहरु तेता गइरहेका छन् । समयमै ध्यान पुर्‍याओस् सरकारले। लेवनान र इजरायलमा कार्यरत नेपालीहरुले तत्काल ध्यान दिने विषय हो यो।

४) समस्त खाडी क्षेत्र असुरक्षित हुन सक्ने सम्भावना अन्तराष्ट्रियविदहरु बताइरहेका छन्। यस्तो अवस्थामा खाडी क्षेत्रमा रहेका लाखौं नेपालीहरु यो युद्धको चपेटामा पर्न सक्छन्। यस्तो भयो भने खाडी क्षेत्रबाट तेत्रो संख्याको उद्धार गर्नेबारे नेपाल सरकारले के योजना बनाएको छ ? के सोच्नु भएको छ ?

५) १० महिना अगाडि हमासको कब्जामा परेका बिपिन जोशीको उद्धार गर्न नेपाल सरकारले अहिलेसम्म सकेन। नेपालको कुटनीति कमजोर बनेको छ। उसको ज्यादा पश्चिम  भक्तिले इस्लाम जमातमा तटस्थ देशको मान्यता भत्किएको छ। अन्यथा इस्लाम वा इरानकै सहयोग लिएर पनि जोशीको उद्धार हुन सक्थ्यो। दुर्भाग्य हो जोशीका बारेमा अहिलेसम्म खोजखबर गर्न नेपाल सरकार असमर्थ रहेको छ।

६) यदि यो अन्तर्राष्ट्रिय अवान्छित अवस्था घट्ने अवस्था आयो भने, के नेपाल यसपटक पनि भारतको गुहार गर्नेछ ?

समयमा सोच्नु राम्रो। नेपाली जनताले सोच्नु पर्छ। देशको आर्थिक अवस्था भत्किएको छ। बिचारबिमर्श नासिएको छ। राजनीति सत्ता र बौद्धिकत्ता सत्ताको पुजापाठमा मस्त हुन्छ। यस्तो अवस्थामा ‘लाखौं नेपाली’ अलपत्र पर्ने संभावना हुन्छ। उनीहरुले पठाएको रेमिटान्सले देश धानेको छ, के उनीहरुको सुरक्षाका बारेमा सोच्नुपर्दैन ?

image source: https://static01.nyt.com