विआरआइले राजनीतिक हिंसा वा सेना बोकेर नआउने आश गर्ने ठाउँ छ

हिजोको जस्तै साम्राज्यवादको सन्दर्भमा एमसीसी, भारतीय सहयोग या चीनको सहयोगलाई बुझ्न खोजियो भने त्यो त्रुटीपूर्ण बुझाइ हुन्छ

–आज दुई विरोधाभाषपूर्ण प्रवृत्तितिर विश्व गइरहेको छ । बीआरआइ, एमसीसी वा भारत जापान, दक्षिण कोरियाबाट आउने कुनै सहयोग होस्, यिनलाई अहिलेको बदलिएको विश्व व्यवस्थाको सन्दर्भमा राखेर हेर्न कोशिश गरिएन भने हामी विषयमा प्रवेश गर्नै सक्दैनौं, त्यो विषय बुझ्नै सक्दैनौं ।

–अहिले विश्वव्यवस्था जुन दिशातिर उन्मुख हुँदैछ, त्यहाँ दुईटा चरित्र छ । एउटा चरित्र यो विश्वव्यवस्था बहुध्रुवीय हुँदैछ । पूँजीवादी व्यवस्थाअन्तर्गत बहुध्रुवीय विश्व व्यवस्था बन्दैछ ।

–हिजोको अमेरिका केन्द्रीत पश्चिमा साम्राज्यवाद अब द्रूतगतिमा विघटन भइसकेको छ । त्यसको अर्थ एउटा देशले अर्को देशलाई थिचोमिचो गर्न छोडेको छ भन्ने होइन तर लेनिनकै परिभाषाको साम्राज्यवाद आजको दुनियाँमा छैन ।

–हिजोको जस्तै साम्राज्यवादको सन्दर्भमा एमसीसी, भारतीय सहयोग या चीनको सहयोगलाई बुझ्न खोजियो भने त्यो त्रुटीपूर्ण बुझाइ हुन्छ ।

–विश्व व्यवस्था बदलिएको छ र बदलिएको व्यवस्थामा विआरआइ जस्तो मानव जातिको इतिहासको सबैभन्दा ठूलो परियोजना हो ।

–यो बहुध्रवीय बन्दै गरेको विश्व व्यवस्थामा आजसम्म प्रभुत्व जमाउँदै आएका शक्तिहरुले त्यसलाई निरन्तरता दिने कोशिश गर्नेछ । नयाँ शक्तिहरु, जस्तै चीन, भारत, दक्षिण कोरिया लगायतका देशहरुले आफ्नो प्रभुत्वलाई कायम राख्ने कोशिश गर्नेछ । हिजो अमेरिकाको लागि कठपुतली भनिएको दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापार साझेदार चीन भएको छ ।

–चीनले अङ्गालेको व्यवस्थालाई पुनरुत्पादन गर्न उसले निजी लगानी गर्नुपर्छ । त्यसकारण विआरआइ हाम्रो लागि अवसर हो ।

–हरेक पुँजीको विस्तारमा हिंसाको भाग छ भनेर मार्क्सले भने जस्तै  चीनको पुँजी आइसकेपछि त्यसले अरु पुँजीको चरित्र जस्तै हाम्रोमा शोषण, दमन, हिंसा गर्छ, राज्यको सरकार नै बदल्छ कि भन्ने पनि छ । चीनको पूँजी वा अर्थव्यवस्थाको विस्तारमा चीनले पुँजीवादी अर्थव्यवस्था अपनायो भन्ने मार्क्सवादीहरुले पनि तुलनात्मक रुपले चीनले आफ्नो पूँजीवादको विस्तारमा पश्चिमा पुँजीवादको तुलनामा हिंसाको प्रयोग गरेन भन्ने निष्कर्ष निकालेका छन् । त्यसकारण चीनको पूँजीले राजनीतिक हिंसा वा सेना बोकेर आउँदैन कि भन्ने आश गर्ने ठाउँ छ । पश्चिमा पुँजी उपनिवेशहरुमा आउँदा राजनीतिक हिंसा एवं सेना–प्रहरीको बोकेर आउँथ्यो । त्यो हिंसा कम हुने सम्भावना छ, ग्यारेन्टी चाहिँ छैन ।

–चीनमा पूँजीवाद नै हावी भयो भने विआरआइको चरित्र एकखाले हुन्छ । चीन समाजवादोन्मुख हुँदै गयो भने विआरआइ बढी मानवीय, समानतावादी र जनप्रिय हुने हुन्छ । समाजवादले शोषणका लागि लगानी गर्दैन ।

थप विस्तृत, तलको भिडियोमा ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागले काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा साउन ३ गते आयोजना गरेको ‘विआरआईः वास्तविकता र भ्रम’ शीर्षकको अन्तर्क्रियामा डा. प्रसाईंले राखेका विचार