विगतसँग सम्बन्ध विच्छेद गर्न क्रान्तिको नयाँ घडी र क्यालेन्डरको विफल प्रयोग

पेरिस कम्युनको दमनसंगै इतिहासको पानामा सीमित भएको गणतान्त्रिक क्यालेन्डरको नालीबेली !

विश्व इतिहासमा फ्रान्सेली क्रान्तिको ठूलो महत्त्व रहेको छ। सन् १७८९ को फ्रान्सेली क्रान्तिको नारा स्वतन्त्रता, समानता र भातृत्वले सम्पूर्ण मानव जगलाई नै प्रेरणा दिएको थियो। फ्रान्सको क्रान्तिकारी नेतृत्व आफ्नो लक्ष्य र सिद्दान्त प्रति एकदमै कट्टर थिए। क्रान्तिका दुश्मनहरु प्रति उनीहरु एकदमै निर्मम थिए। फ्रान्सका तत्कालिन राजा लुई सोह्रौं र रानी मेरी एन्टोनेटलाई गिलोटिनमा राखेर काटियो। क्रान्तिकारीहरु पुरानो सत्ताका कुनै अवशेषहरु बाँकी राख्न चाहँदैन थिए। त्यसलाई पूर्ण रुपमा निर्मुल गर्न चाहन्थे।

फ्रान्सेली क्रान्तिकारीहरुले विगतसंग पूर्ण सम्बन्ध बिच्छेदको एउटा प्रभावकारी उपायको रुपमा नयाँ  क्यालेन्डर र घडीको प्रयोगलाई लिए। नयाँ  क्यालेन्डर प्रयोग गर्नुको पछाडिको मुख्य कारण थियो फ्रान्सेली समाजमा धार्मिक चेतनालाई पूर्ण रुपमा उन्मुलन गर्नु, तावादी समाजको जन्मको उदघोष गर्नु र समयलाई बैज्ञानिक र तार्किक बनाउनु। तत्कालीन समयमा प्रचलित ग्रेगोरियन क्यालेण्डरलाई प्रतिस्थापन गरेर नयाँ क्यालेण्डर प्रचलनमा ल्याउनुको अन्तर्य तत्कालीन समाजमा हावी धार्मिक तथा सामन्तवाद–राजसंस्थाको प्रभुत्वलाई घाँटी निमोठेर समाप्त पार्नु नै थियो । यो त्यसबेला पुराना सबैलाई ध्वंश गरेर नयाँ लागू गर्ने वृहत् प्रयत्नको एउटा महत्वपूर्ण हिस्सा थियो ।यो मुद्रादेखि समयसम्म सबैलाई शून्यमा झार्ने र नयाँ शिराबाट शुरु गर्ने अद्भूत प्रयत्न थियो ।

फ्रान्सेली क्रान्तिकारीहरुले विगतसंग पूर्ण सम्बन्ध बिच्छेदको एउटा प्रभावकारी उपायको रुपमा नयाँ  क्यालेन्डर र घडीको प्रयोगलाई लिए।

 यसको लागि फ्रान्सको क्रान्तिकारी कन्भेन्सनले सन् १७९३ मा एउटा नयाँ  क्यालेन्डरको र समय-मापन बिधि (क्रोनोमेट्रि ) लागु गर्र्‍यो। यो क्यालेन्डरको सुरुवातको दिन सन् १७९२ को सेप्टेम्बर २२ लाई मानिएको थियो। यसलाई क्यालेण्डरको पहिलो वर्ष (इयर वान) भनिएको थियो । सेप्टेम्बर २२ मा फ्रान्सको राष्ट्रिय सम्मेलनले गणतन्त्र घोषणा गरेको थियो। नयाँ युगको शुरुवात भएको उद्घोष गर्दै ल्याइएको यो नयाँ गणतान्त्रिक क्यालेन्डरले परम्परागत ग्रेगोरीयन क्यालेन्डरलाई प्रतिस्थापन गर्र्‍यो।

नयाँ क्यालेन्डर गणितज्ञ चार्ल्स गिल्बर्ट रोमेको नेतृत्वमा रहेको समितिले निर्माण गरेको थियो। जसमा भौतिकशास्त्री, रसायनशास्त्री, गणितज्ञ र खगोलविद् र भूगोलविद्हरुको समुह सामिल थियो। यो क्यालेन्डर सन् १७८८ मा पिएरे सिल्भाँ मेरिचालले सिर्जना गरेको धर्मनिरपेक्ष क्यालेन्डरमा आधारित थियो। नयाँ बर्षको सुरुवात १ जनवरी बाट सारेर २२ सेप्टेम्बरमा पुर्‍याइएको थियो। नयाँ क्यालेन्डरमा पनि बर्षमा १२ वटै महिनाहरु रहेका थिए। तर महिना र हप्ताको स्वरुपमा आमुल परिवर्तन गरिएको थियो। हप्ताको साटो डिकेड्स (décades ) को प्रयोग गरिएको थियो। एक हप्तामा ७ दिनको साटो १० दिन हुन्थियो। एक महिनामा ३ वटा डिकेड्स रहेका थियो। अर्थात् हरेक महिनालाई ३० दिनको बनाइएको थियो । सौर्य वर्षमा ३६५ दिन बराबर १ वर्ष हुने भएकोले अन्त्यमा बाँकी रहेका ५ दिन र अधिवर्ष (लीप वर्ष) मा ६ दिनलाई पूरक दिनहरुको रुपमा एउटा समुह बनाइएको थियो। ग्रेगोरीयन क्यालेन्डरमा रहेका क्रिश्चियन सन्तहरुको नामका आधारमा तय गरिएका दिनहरुको नामलाई धर्मनिरपेक्षताको अभ्यासस्वरुप हटाइएको थियो ।

नयाँ गणतान्त्रिक क्यालेन्डरका दिनहरुमा रहेको समय गणनाको पद्दति समेत परम्परागत शैली भन्दा फरक थियो।  यो गणना दशमलव (Decimal ) प्रणालीसंग सम्बन्धित थियो। यो प्रणालीलाई फ्रान्सको नेसनल कन्वेंसनले २४ नोभेम्बर १७९३ मा लागु गर्‍यो। अब नयाँ क्यालेन्डर अनुसार एकदिनमा २४ घण्टा होईन १० घण्टाको बनेको थियो। दशमलव समय प्रणालीमा दिनलाई १० घण्टामा विभाजित गरिएको थियो। प्रत्येक घण्टालाई १०० डेसिमल मिनेट र हरेक डेसिमल मिनेटलाई १०० सेकेन्डमा विभाजित गरिएको थियो। यो प्रणालीमा हरेक घण्टा परम्परागत घण्टा भन्दा २.४ गुणा लामो थियो। फ्रान्समा डेसिमल समय बताउने घडीहरुको उत्पादन सुरु गरियो। घडीहरुमा परम्परागत समय  र डेसिमल समय दुईवटै देखाउने प्रणाली जडान गरिएको हुन्थयो। तर यो पद्दति अव्यवहारिक भएको हुनाले प्रचलनमा आएको एक दुई बर्ष पछि नै १७९५ मा यसलाई औपचारिक रुपमा प्रयोग गर्न बन्द गरियो। तैपनि फ्रान्सका केही शहरहरुमा १८०१ सम्म यो घडी प्रयोगमा आएको थियो।

नयाँ गणतान्त्रिक क्यालेन्डरका दिनहरुमा रहेको समय गणनाको पद्दति समेत परम्परागत शैली भन्दा फरक थियो।  यो गणना दशमलव (Decimal ) प्रणालीसंग सम्बन्धित थियो। यो प्रणालीलाई फ्रान्सको नेसनल कन्वेंसनले २४ नोभेम्बर १७९३ मा लागु गर्‍यो।

गणतान्त्रिक क्यालेन्डरमा परम्परागत हप्ताको साटो डिकेड्सको प्रयोग गरिन्थियो। डिकेड्सका बारहरुलाई आइतबार, सोमबार जस्ता नामहरुले होईन अंकहरुले नामांकित गरिएको थियो। गणतान्त्रिक क्यालेन्डरका बारहरु यस प्रकार थिए :

पहिलो दिन (primidi)

दोश्रो दिन (duodi )

तेश्रो दिन (tridi )

चौथो दिन ( quartidi)

पाचौ दिन (quintidi )

छैटो दिन (sextidi )

सातौ दिन (septidi )

आठौ दिन (octidi )

नवौ दिन (nonidi )

दसौ दिन (décadi )

सप्ताहन्त आइतबार नभएर दसौं दिनलाई मानिएको थियो। यसको पछाडि पनि धर्म माथि प्रहार गर्ने योजना रहेको थियो। क्याथोलिक समाजमा  परम्परागत रुपमा सप्ताहन्त अर्थात आइतवारलाई होलिडे ( होली-डे ) पवित्र दिनको रुपमा लिइन्छ। र त्यही होलिडेलाई बिश्रामको दिनको रुपमा पनि लिइन्छ। जुन दिन आराम गर्ने र चर्च जाने गरिन्छ। अब त्यसको बदलामा दसौं दिन (décadi) औपचारिक रुपमा बिश्रामको दिन बन्यो। आम मानिसहरुले आइतबारलाई याद नगरुन् र क्याथोलिक संस्कारको प्रभाव बिर्सिदै जाउन भन्नको लागि यो डिकेड्सको प्रचलन ल्याइएको थियो।

सप्ताहन्त आइतबार नभएर दसौं दिनलाई मानिएको थियो। यसको पछाडि पनि धर्ममाथि प्रहार गर्ने योजना रहेको थियो।

त्यस्तै फ्रान्समा बिबाह पनि दसौ दिन मात्र गर्न पाउने नियम सरकारले ल्याएको थियो। विशेष गरी श्रमिक बर्ग माझ यो डिकेड्स प्रणाली  झनै अलोकप्रिय थियो। किनकि यसमा उनीहरुले अब लगातार ९ दिन सम्म काम गर्नु पर्थियो। जवकि पुरानो क्यालेन्डर अनुसार ६ दिन काम गरे पुग्थियो। श्रमिकहरुले रिपब्लिकन क्यालेन्डर अनुसार १० दिनमा एक दिन मात्र आराम गर्न पाउथे। जवकि पुरानो क्यालेन्डर अनुसार ७ दिनमा एक पटक आराम गर्न पाउथे।

फ्रान्सको गणतान्त्रिक क्यालेन्डरमा नयाँ बर्षको सुरुवात गणतन्त्र घोषणा भएको दिनलाई आधार मान्दै गरिएको थियो। यो दिन ग्रेगोरीयन क्यालेन्डर अनुसार सेप्टेम्बर २२ मा पर्थियो। रिपब्लिकन क्यालेन्डरका महिनाहरुको नामाकरण फ्याब्रे डि इग्लान्टे नामक कविले गरेका थिए। उनले प्रकृति र सम्बन्धित ऋतुहरु बाट प्रेरणा लिएर महिनाहरुको नामकरण गरेका थिए। रिपब्लिकन क्यालेन्डरका महिनाहरुको नाम र तिनको ऋतुहरुमा विभाजन यस प्रकार थियो :-

 

रिपब्लिकन क्यालेन्डरका महिनाहरुको नामाकरण फ्याब्रे डि इग्लान्टे नामक कविले गरेका थिए। उनले प्रकृति र सम्बन्धित ऋतुहरु बाट प्रेरणा लिएर महिनाहरुको नामकरण गरेका थिए।

अटुमन

१. भ्यादिमियर ( Vendémiaire ) - यसको अर्थ हुन्थियो अंगुरको फसल ( पुरानो क्यालेन्डर अनुसार  सेप्टेमबर २२–अक्टोबर २१ )

२. ब्रुमेयर ( Brumaire ) - तुवालो (अक्टोबर २२–नोभेम्बर २०)

३. फ़्राइमेयर (Frimaire ) - तुसारो (नोभेम्बर २१–डिसेम्बर २०)

विन्टर

४. निभोस (Nivôse ) - बर्फिलो  (डिसेम्बर २१–जनवरी १९)

५. प्लुभियोज (Pluviôse ) - बर्सात (जनवरी २०–फेब्रुअरी १८)

६. भेंटोस (Ventôse ) - हावाहुरी  (फेब्रुअरी १९–मार्च २०)

स्प्रिङ

७. जर्मिनाल (Germinal ) - अंकुरण

८. फ्लोरियल (Floréal ) - फ़क्रनु

९. प्रेरियाल ( Prairial ) - घासको मैदान

समर

१०. मेसाईडर (Messidor ) - फसल

११. थर्मिडोर (Thermidor )- गर्मी

१२. फ्रुकटिडोर  ( Fructidor ) - फलफुल

क्रान्तिकारी नेतृत्वले आम मानिसलाई क्रिश्चियानिटीको अन्धविश्वासबाट बाहिर निकालेर त्यसको स्थानमा तर्कको सम्प्रदाय, सर्बोच्च प्राणिको सम्प्रदाय जस्ता नयाँ बाटोतर्फ डोर्‍याउन चाहन्थ्यो

फ्रान्सको क्रान्तिकारी सत्ताले परम्परागत ग्रेगोरीयन क्यालेन्डरलाई हटाएर नयाँ गणतान्त्रिक क्यालेन्डर ल्याउनुको मुख्य कारण थियो जनतामा रहेको क्रिश्चियानिटीको प्रभावलाई हटाउनु थियो। परम्परागत ग्रेगोरीयन क्यालेन्डरको मूल आत्मा नै क्रिश्चियानिटी थियो। यो क्यालेन्डर पुरै जिसस क्राइस्टको जन्मको वरिपरि केन्द्रित थियो।

क्रान्तिकारी नेतृत्वले आम मानिसलाई क्रिश्चियानिटीको अन्धविश्वासबाट बाहिर निकालेर त्यसको स्थानमा तर्कको सम्प्रदाय, सर्बोच्च प्राणिको सम्प्रदाय जस्ता नयाँ बाटोतर्फ डोर्‍याउन चाहन्थ्यो। इजरायली समाजशास्त्री इभिएटर जेरुबाभेलका अनुसार क्रान्तिकारी क्यालेन्डरलाई त्यो युगमा लागु गरियो जसले प्रगति र आधुनिकताको नाममा पुरानो व्यवस्थालाई पूर्ण रुपमा उन्मुलन गर्ने वकालत गरेको थियो। नयाँ गणतान्त्रिक युगको सुरुवातले अतित र र्तमानको बीचमा पूर्ण बिछेदलाई चिन्हित गर्दछ।

क्यालेण्डरको असफलता

फ्रान्समा गणतान्त्रिक क्यालेन्डर १२ र्षसम्म  मात्र प्रयोगमा रह्यो। खासमा परम्परागत क्यालेण्डरमा अभ्यस्त जनताले यो नयाँ क्लालेण्डरलाई रुचाएनन् । यो प्रयोग गर्न र सम्झन झन्झटिलो भयो । यसमा लागू गरिएका नयाँ कुराहरुले आम मानिसमा व्यापक अन्यौल सिर्जना गर्‍यो । खासगरी, महिनालाई डिकेट्समा गरिएको विभाजनले मानिसहरुको दैनिक जीवन र आर्थिक गतिविधिलाई असर गर्यो । त्यसले चलिआएको अभ्यास र व्यवहारलाई पूरै ध्वस्त पारिदियो ।

परम्परागत क्यालेण्डरमा अभ्यस्त जनताले यो नयाँ क्लालेण्डरलाई रुचाएनन् । यो प्रयोग गर्न र सम्झन झन्झटिलो भयो । यसमा लागू गरिएका नयाँ कुराहरुले आम मानिसमा व्यापक अन्यौल सिर्जना गर्‍यो

त्यसबीच फ्रान्सेली क्रान्तिका नायकहरुबीच नै माराकाट मच्चियो । त्यसबीच सत्तामा नेपोलियनको उदय भयो । पछि आफूलाई सम्राट नै घोषित गरेका नेपोलियन बोनापार्टले सन् १८०६ मा यसलाई खारेज गरिदिए।यसको साटो उनले परम्परागत ग्रेगोरीयन क्यालेन्डरलाई फेरि लागु गरे।

तर ६० बर्ष पछि १८७१ मा गणतान्त्रिक क्यालेन्डरले फेरि पुनर्जीवन पायो। सन् १८७१ मा पेरिस कम्युनको क्रान्तिको समयमा यो क्यालेन्डरलाई फेरि लागु गरियो। त्यस बेला यो क्यालेन्डर मे महिनाको ६ देखि २३ तारिखसम्म  जम्मा १७ दिन प्रचलनमा रहेको थियो। पेरिस कम्युनको दमन संगै गणतान्त्रिक क्यालेन्डर पनि इतिहासको पानामा सिमित भयो।

क्रान्तिकारी र विद्रोहीका लागि प्रेरणाको श्रोत

रोचक कुरा के छ भने,  इतिहासको पानामा सीमित भए तापनि फ्रान्सको गणतान्त्रिक क्यालेन्डरले क्रान्तिकारी र विद्रोही शक्तिहरुको लागि प्रेरणा श्रोत बनिरहेको छ। यसको ज्वलन्त उदाहरण क्याम्बोडियामा खमेर रुजले गरेको शुन्य वर्षको प्रयोगको अभ्यास हो।

इतिहासको पानामा सीमित भए तापनि फ्रान्सको गणतान्त्रिक क्यालेन्डरले क्रान्तिकारी र विद्रोही शक्तिहरुको लागि प्रेरणा श्रोत बनिरहेको छ।

सन् १९७५ मा अमेरिका समर्थक लोननोलको सरकारलाई पराजित सत्तामा आएको खमेर रुजले १७ अप्रिल १९७५ लाई शुन्य वर्षको रुपमा घोषणा गरे। शुन्य वर्षको अवधारणा अनुसार खमेर रुजको क्रान्तिसंगै क्याम्बोडियाको इतिहासको पुनर्जन्म भएको दावी गरिएको थियो। शुन्य वर्षभन्दा अगाडिका सबै धर्म, संस्कृति र परम्परालाई उन्मुलन गरेर त्यसको ठाउमा नयाँ क्रान्तिकारी संकृतिले प्रतिस्थापन गर्ने लक्ष्य खमेर रुजले राखेको थियो।

वास्तवमा कम्बोडियामा घोषित शून्य वर्षको प्रेरणाको स्रोत फ्रान्सेली क्रान्ति र पेरिस कम्युनमा अभ्यास गरिएको नयाँ क्यालेण्डर नै थियो । खमेर रुजका पोल पोट, खियु साम्फान, येङ्ग सारी र सोन सान  लगायतका प्राय सबै नेताहरुले फ्रान्समा अध्ययन गरेका थिए। उनीहरु फ्रान्सको क्रान्ति र यसको क्रान्तिकारी क्यालेन्डरको पहिलो वर्षबाट प्रभावित थिए। तर दुर्भाग्यवस क्याम्बोडिया पनि यो प्रयोगको परिणाम  सुखद रहेन।