गणितको आविष्कार कसरी भयो ?
‘गणित’, यो शब्दसँग अपरिचित हामी कोही पनि छैनौं होला । यो हामी सबैले स्कूलमा सानैदेखि पढ्दै आइरहेका विषयहरुमध्ये एक हो । यो विषयमा हामी अंक, नाप–तौल आदिका बारेमा पढ्ने गर्छौं । वास्तवमा गणित हाम्रो जीवनमा अति नै आवश्यक छ । गणितबिना हामी अहिलेको आधुनिक जीवनमा बाँच्न सक्तैन थियौं ।
उदाहरणको लागि गणित नहुने हो भने हामी घरसमेत बनाउन सक्तैन थियौं । घर बनाउन पनि गणितकै प्रयोग हुने गर्छ । यो बिना कत्रो घर बनाउने ? कति सामानको प्रयोग गर्ने ? यी सब कुराहरुको हिसाब नै राख्न गाह्रो हुन्छ । यति मात्र होइन, हामीले लगाइराखेको लुगा बनाउन पनि गणितकै प्रयोग हुन्छ । कसलाई कत्रो लुगा बनाउने भन्ने कुराको निधो पनि गणितकै मद्दतले गरिने गरिन्छ । गणित नभएको भए हवाइजहाज, रेल, उद्योग–कलकारखाना केही पनि हुने थिएनन् । अझ न त टि.भी. नै हुन्थ्यो, न त रेडियो नै हुन्थ्यो । अहिले पनि हामी ढुङ्गे युगमा बाँचिरहेका हुन्थ्यौं । त्यसैले मानिसको सभ्यताको विकासमा गणितको ठूलो योगदान रहेको छ ।
धेरै वर्ष पहिले हाम्रा पूर्खाका पालामा जीवन निकै नै सरल थियो । अहिलेको जस्तो आधुनिक कुराहरु केही पनि थिएनन् । तर पनि उनीहरुलाई गणित आवश्यक थियो । उनीहरुलाई आफूसँग भएका कुराहरुको बारेमा लेखाजोखा राख्न गणित चाहिन्थ्यो । आफूसँग कतिवटा औजार छन् ? कतिवटा हतियार छन् ? कतिवटा जनवारहरु छन् ? यी सब कुराको हिसाब राख्न अत्यन्त जरुरी थियो । जब उनीहरुले यो कुराको महशूस गरे, त्यहीँबाट गणितको प्रयोग शुरु भयो ।
वास्तवमा गणितको शुरुवात नै गन्ने कामबाट भएको थियो । गणितको विकास हुन भने धेरै समय लागेको थियो । उनीहरुले आफूसँग भएको कुराको गन्ति गर्न भित्तामा रेखाहरु कोर्ने गर्थे । उनीहरुसँग शब्द नभए पनि रेखाको मद्दतले आफूसँग भएको कुराहरु गन्न सक्थे । विस्तारै प्राचीन इजिप्ट, ग्रीस र रोमका मानिसहरुले गणितको थप विकास गरे । त्यसमाथि थप अरबहरुले र आर्यभट्टजस्ता हिन्दू विद्वानहरुले समेत गणितको विकासमा निक्कै ठूलो योगदान दिएका छन् ।
गन्ने काम भनेको गणितको एक मात्र भाग हो । नापतौल जस्ता अन्य कामहरु पनि गणितभित्र नै पर्ने गर्छन् । यी पनि मानिसलाई त्यतिकै आवश्यक छन् । पहिले नापतौल गर्न नआएपनि मानिसमा त्यसको बारेको सोच भने अवश्य नै थियो । पहिले उनीहरु घरहरु बनाउन सामान्य रुपमा गोलाकार, चतुर्भूज आदिको कल्पना गर्थे र त्यही अनुरुप घरहरु निर्माण गर्थे ।
यो त गणितको सामान्य प्रयोग मात्र थियो । अहिले गणितको प्रयोग अझै ठूलो क्षेत्रमा गरिन्छ । विभिन्न विज्ञानका आविष्कार र परीक्षणहरुमा पनि गणितकै प्रयोग हुन्छ । आर्थिक समस्याको समाधानमा पनि गणितकै प्रयोग हुन्छ । सडक, पुल आदिको निर्माण गर्ने काममा पनि गणितकै प्रयोग गरिन्छ । त्यसैले गणित हाम्रो दैनिक जीवनमा अति नै आवश्यक रहेको छ ।
श्रोतः Tell Me Why
प्रतिक्रिया