शोक मनाउने कुरा लहडको विषय हो ?
साउन ९ गते बुधबारका दिन भएको सौर्य एयरको विमान दुर्घटनामा मारिएकाहरुको शोकमा सरकारले सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने भनी गरेको निर्णयको व्यापक आलोचना भएको छ ।
आलोचना यस अर्थमा भएको छ कि हिजोको विमान दुर्घटनामा परी १८ जनाको दुःखद निधन भएको छ । त्यसअघि गत असार २८ गते शुक्रबार भरतपुर महानगरपालिका २९ स्थिति सिमलतालमा गएको पहिरोमा परी दुई वटा बसहरु पुरिएर नदीमा खस्दा ६५ जना जति बेपत्ता बने, तीमध्ये केहीको शव फेला परेका छन्, बाँकीको अवस्था अज्ञात छ । यतिका दिनसम्म उनीहरुको अवस्था अज्ञात रहनुको अर्थ के हो भने उनीहरु सबैको निधन भइसकेको छ । त्यति भयानक दुर्घटना हुँदा सरकारले राष्ट्रिय शोक मनाउनु जरुरी ठानेन, सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा झुकाएन ।
यो कुरा सत्य हो, त्यतिखेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको सरकार थियो र उनको सरकारले त्यसै दिन संसदमा विश्वासको मत लिँदैथियो । त्यति भयानक दुर्घटना हुँदा न त प्रचण्डपक्षीय गठबन्धन, न त प्रचण्डविरोधी गठबन्धन, कसैले पनि राष्ट्रिय शोक मनाउन जरुरी ठानेन न त उनीहरुले शोकको त्यस घडीमा एक दिनको लागि नै भए पनि संसदको कामकारवाहीलाई स्थगित गर्नु जरुरी ठाने । त्यसबेला ‘सत्ता छिनाझप्टीको खेल’ निर्वाध चलिरह्यो ।
साँच्चै नै नेपालका राजनीतिक दलहरु संवेदनशील हुन्थ्यो भने, त्यसबेला पनि राष्ट्रिय शोकको घोषणा हुन सक्थ्यो, राष्ट्रिय शोक मनाउन सम्भव हुन्थ्यो । तर सम्भवतः सडक दुर्घटना भएकै कारण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा कम चर्चा भएकै कारण सडक दुर्घटनामा मारिएकाहरुको सम्मानमा राज्यले शोक मनाउन जरुरी ठानेन । सडक दुर्घटनामा मारिएकाहरु राष्ट्रिय शोकको विषय नबन्ने तर हवाइ दुर्घटनामा मारिएकाहरु चाहिँ राष्ट्रिय शोकको विषय बन्ने गरेको यो नै पहिलो घटना भने हैन । यसअघि पनि विमान दुर्घटना हुँदा सरकारले राष्ट्रिय शोक मनाउने गरेको दृष्टान्त २०७९ माघ १ गते यति एयरको विमान दुर्घटना हुँदा भोलिपल्ट सरकारले राष्ट्रिय शोक मनाएको घटनालाई लिन सकिन्छ । यस्तो प्रतीत हुन्छ, मानौं राष्ट्रिय शोक पनि सत्ताधारी तथा नेपालका राजनीतिक दलहरुको इच्छा र लहडको आधारमा तय हुन्छ । अनि राष्ट्रिय शोक मनाउने विषयका परिधिमा हवाइ दुर्घटना मात्रै पर्छ, सडक दुर्घटना वा बाढी पहिरोमा मारिनेहरु पर्दैनन् ।
वास्तवमा, वर्षेनी बाढीपहिरो तथा प्राकृतिक प्रकोपहरु, सडक दुर्घटनामा परेर सयौंको संख्यामा मानिसहरुले अकाल मृत्यु वरण गरिरहेका हुन्छन् । त्यसमाथि थप, यदाकदा हुने विमान दुर्घटनामा पनि मानिसहरुले अकालमा ज्यान गुमाइरहेका हुन्छन् । यस्तो अवस्थामा कुनै घटना भएपछि राष्ट्रिय शोक मनाउनुको आफ्नै अर्थ त होला, तर घटनापिच्छे शोक मनाउनुको सट्टामा वर्षको कुनै एक दिनलाई अकाल मृत्यु वरण गरेका नागरिककोहरुको शोक र सम्झनामा ‘शोक दिन’ घोषणा गर्नु वस्तुसम्मत हुन सक्छ । यस सन्दर्भमा माघ दुई गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ मनाउने गरिएको कुरालाई आधार लिन सकिन्छ । यसो गरेको खण्डमा साँच्चै नै राज्य आफ्ना नागरिकको अकाल मृत्युमा संवेदनशील छ भन्ने सन्देश जान सक्छ । यसबारेमा बहस–छलफल हुनु जरुरी छ ।
तस्विर स्रोत: नेपाल पुलिसको फेसबुक पेज
प्रतिक्रिया