यस्तो पो रहेछ हाम्रो शरीर चिलाउनुका कारणहरु
यो पढिरहँदा पक्कै पनि तपाईले आफ्नो शरीरको कुनै भागमा चिलाइको अनुभव गरिरहेको हुनुपर्छ, त्यो पनि विनाकारण । यसरी हाम्रो शरीरमा बेला न कुबेला किन चिलाइरहन्छ त ? यसको उत्तर वैज्ञानिकहरुले खोजेका छन् । अमेरिकाको हावर्ड मेडिकल स्कुलका वैज्ञानिकहरुले त्यको कारण पत्ता लगाएका छन्– तपाईंको छालामा रहेको व्याक्टेरियाहरु ।
सेल (Cell) जर्नलमा प्रकाशित एक अध्ययन रिपोर्टका अनुसार हाम्रो छालामा हुने व्याक्टेरिया Qmaphylococcus aureus ले निस्काशन गर्ने रसायनले हाम्रो स्नायुमा हुने प्रोटिनलाई सक्रिय तुल्याइदिन्छ । त्यसले हाम्रो छालाबाट र मस्तिष्कसम्म संकेत प्रक्षेपण गर्ने गर्छ । फलतः हामीलाई चिलाइको अनुभूति हुन्छ ।
हाम्रा छालामा पर्याप्त मात्रामा असल व्याक्टेरियाहरु रहेका हुन्छन् । यी सुक्ष्म जीवाणुहरुले हाम्रो छालालाई स्वस्थ र निरोगी राख्ने काम गरिरहेको हुन्छ । तर जब ती सुक्ष्मण् जीवाणुहरुको सन्तुलनमा गडबडी पैदा हुन्छ, त्यसबेला यो Qmaphylococcus aureus व्याक्टेरियाले उत्पात मच्चाउन थाल्छ ।
उक्त अनुसन्धान रिपोर्टका लेखकहरुले यस बारेमा मुसा तथा मानिस दुवैमा अध्ययन गरेका थिए । अध्ययनका दौरानमा Qmaphylococcus aureus को सम्पर्कमा आएको छालामा व्याक्टेरिया बृद्धि भएको र त्यसमा तीब्र चिलाउने समस्या देखापरेको थियो । अध्ययनकै क्रममा वैज्ञानिकहरुले एस ओरिएसद्वारा निस्कने भी८ नाम गरेको प्रोटिज इन्जामलाई छालाको सम्पर्कबाट छुटाएका थिए । तिनीहरुले त्यसको परीक्षण मुसामा गरेका थिए तथा चिलाउने समस्या भएका विरामीहरुको छालामा त्यसको स्तर मापन गरेका थिए । यी अध्ययनहरुबाट वैज्ञानिकहरु के निष्कर्षमा पुगेका थिए भने मानिसमा चिलाउने समस्या पैदा गर्ने मुख्य स्रोत भनेको त्यही भी८ नाम गरेको प्रोटिज नै हो । त्यस प्रोटिजले स्नायुहरुमा रहेको पीएआर१ नाम गरेको प्रोटिनलाई उत्तेजित तुल्याउने गर्छ र छालामा चिलाएको संकेत मस्तिष्कमा पठाउँछ । स्वस्थ छाला भएको मानिसको तुलनामा छालाको संक्रमण भएका विरामीहरुमो यो एन्जाइमको स्तर उच्च हुने गर्छ ।
तर यसरी चिलाउने कुराले व्याक्टेरियालाई कसरी फाइदा गर्छ ?
यसबारेमा वैज्ञानिकहरुले के अनुमान गरेका छन् भने चिलाउने प्रक्रियाले व्याक्टेरियालाई शरीरका अन्य भागहरु तथा संक्रमण नभएका कोषहरुसम्म फैलिन मद्दत गर्छ । वैज्ञानिकहरुले वास्तवमै छाला चिलाउने प्रक्रियाले हामीलाई राहत दिन्छ कि त्यस सुक्ष्मजीवलाई भन्नेबारे थप अध्ययन हुनु जरुरी रहेको वैज्ञानिकहरुले औंल्याएका छन् ।
त्यसो त छाला चिलाउनुका सामान्य कारणहरुलाई निम्नानुसार बुझ्न सकिन्छ:
छाला चिलाउनु त्यस्तो अवस्था हो, जसमा छालामा अनौठो खालको सेन्सेसन हुन्छ र कन्याए पछि मात्रै हामीलाई आराम महसूस हुन्छ । वास्तवमा छाला किन चलाउँछ भन्नेबारे थुप्रै कारण हुन सक्छन् । त्यसमा छाला सुख्खा हुनुदेखि लिएर थुप्रै गम्भीर खालका कारणहरु पनि हुन सक्छन् ।
सामान्यतः छाला चिलाउनुका केही कारणहरु निम्नानुसार छन् ।
सुख्खा छालाः छाला चिलाउनुको सबैभन्दा प्रमुख कारण छाला सुख्खा हुनु हो । सामान्यतः यो जाडो मौसममा हुने गर्छ । जब छला सुख्खा हुन्छ, त्यसबेलामा छालालाई नरम बनाउने चिल्लो पदार्थमा कमी आउँछ र हाम्रो छाला चिलाउन थाल्छ ।
छालाका रोगहरुः एक्जिमा, सोरियारिस, लुतो लगायतका छालाका समस्याहरु हुँदा पनि छाला चिलाउने गर्छ । त्यसैगरी, एलर्जीहरुले गर्दा पनि छाला चिलाउने गर्छ । लामखुट्टे लगायतका कीराहरुले टोक्दा पनि हामीलाई छाला चिलाउने गर्छ ।
गर्भावस्थामा पनि छाला चिलाउने समस्या देखापर्न सक्छ । यो हुनुको मुख्य कारण हर्मोनमा आएको परिवर्तन नै हो । तर बढी नै छाला चिलाइरह्यो भने गर्भावस्थामा देखापर्न सक्ने Cholestasis नामक समस्याका कारण पनि हुन सक्छ ।
कलेजो, मृगौलाका रोगहरु, थाइराइडका समस्यामा पनि छाला चिलाउन सक्छ । त्यसैले सामान्य अवस्थाभन्दा बढी नै छाला चिलाइरह्यो भने चिकित्सकलाई जँचाउनुपर्छ ।
चिलाएको अनुभूति कसरी हुन्छ ?
हामीले चिलाएको महसूस गर्नको लागि एउटा जटील प्रक्रिया सम्पन्न भएको हुन्छ । खासगरी, छालाबाट स्नायु र मेरुदण्डका बीचमा हुने सन्देशहरुको आदानप्रदानले हामीलाई चिलाएको अनुभूति हुन्छ ।
छाला चिलाइको प्रक्रिया सम्पन्न हुनका लागि सर्वप्रथम छालामा कुनै प्रक्रियाले उत्तेजना पैदा हुन्छ र त्यसले चिलाइ अनुभूत गराउने रिसेप्टरहरुलाई सक्रिय तुल्याउँछ । त्यो बाहिरी वस्तुको छुवाइले होस् वा अन्य कुनै छालासम्बन्धी समस्या वा आन्तरिक रोगहरुका कारणले हुन सक्छ । त्यस अवस्थामा चिलाइ अनुभूत गराउने रिसेप्टहरुलाई विशेष स्नायु फाइबारमार्फत् मस्तिष्कमा संकेत पठाउँछ । त्यो संकेत स्नायुहरुमार्फत् मेरुदण्डमा पुग्छ । त्यहाँबाट त्यो संकेत मस्तिष्कको थालामस र सोमाटोसेन्सरी कोर्टेक्समा पुग्छ । मस्तिष्कको त्यस क्षेत्रमा ती संकेतहरु प्रशोधित हुन्छ र त्यसलाई चिलाइको रुपमा व्याख्या गर्ने र चिलाइ उत्पन्न भएको क्षेत्र र त्यसको तीब्रता निर्धारण हुन्छ ।
त्यसपछि मस्तिष्ककले हाम्रा मांसपेशीहरुमा चिलाएको ठाउँमा कन्याउन संकेत प्रक्षेपण गर्छ । तत्पश्चात मात्रै हामीले चिलाइको अनुभूति गर्छौं र कन्याउन पुग्छौं, जसबाट हामीलाई आराम महसूस हुन्छ ।
स्रोतः वीबीसी साइन्स फोकस म्याग्जिन, नयाँ वर्ष २०२४ को अंक
प्रतिक्रिया