चिनियाँ राजदूतले गृहमन्त्री भेटे

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले सोमबार दिँउसो सिंहदरबारस्थित गृहमन्त्रालयमा भेटघाट गरेका छन् ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैं सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपालको पूर्वधार विकास लगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताएका थिए ।  

त्यस अवसरमा गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि गृहमन्त्री लेखकले चीनलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

राजदूत सङले पनि नेपाल र चीनबिच साँस्कृतिक लगायत धेरै समानता रहेको उल्लेख गर्दै नेपाल र चीनबिचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध निन्यत्रण र दुवै मुलुकका नागरिकहरुको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने उल्लेख गर्दै अध्यागमन प्रशासनलाई सुदृध बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने वचनबद्धता प्रकट गरेका थिए ।