फुटपाथ विस्तारको क्रममा देखिएका दुई खतरनाक प्रवृत्तिहरु !

काठमाडौं महानगरपालिकाले संघीय राजधानी  काठमाडौंको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने कार्यअघि बढाएपछि त्यसको समर्थन र विरोधमा जनमत विभाजित भएको छ । आफूलाई स्थानीय बताउने एकाथरि फुटपाथ विस्तारको विपक्षमा उभिएका छन् भने अर्काथरि भने समर्थनमा । विपक्षमा उभिनेहरुले फुटपाथ विस्तारले त्यस क्षेत्रमा सडक साँघुरो भई ट्राफिक जाम बढ्ने तथा स्थानीय व्यापार व्यवसायमा आघात पुग्ने तर्क दिइरहेका छन् । पक्षमा उभिनेहरु चाहिँ अहिलेको फुटपाथ निक्कै साँघुरो रहेको, त्यहाँ दैनिक आवातजावात गर्ने पैदलयात्रुहरुलाई धान्नै नसक्ने रहेको, फुटपाथ साँघुरो छँदा हिँड्डुल गर्न गाह्रो भएको तथा महिलाहरुमाथि अभद्र व्यवहार हुने गरेको पृष्ठभूमिमा फुटपाथ विस्तार सकारात्मक कदम रहेको तर्क दिने गरेका छन् ।

न्यूरोड क्षेत्र राजधानीकै मुख्य व्यापारिक थलोहरुमध्येको एक प्रमुख थलो हो । त्यसमाथि थप, त्यो विश्व सम्पदा क्षेत्रसँगै जोडिएको क्षेत्र पनि हो । यस अर्थमा, त्यस क्षेत्रमा मानिसहरुको दैनिक आवाजजावातको घनत्व निक्कै बढी हुने गर्छ । राणाकालीन समयमा निर्माण भएको बाटो तथा पैदलयात्रु हिँड्ने पेटीहरु अहिलेको सन्दर्भमा निक्कै साँघुरो रहेको कुरा आजको यथार्थता हो । यस अर्थमा पनि त्यस क्षेत्रको व्यवस्थापन गरिनु जरुरी भइसकेको छ ।

केही समयअघि काठमाडौं महानगरले त्यस क्षेत्रमा मोटर गुड्ने सडकको क्षेत्र केही घटाएर पैदलयात्रु हिँडने क्षेत्र बढाउन खोज्दा सडक विभाग र महानगरबीच क्षेत्राधिकारको विवाद चकिएको थियो । न्यूरोडको सडक महानगरको नभई सडक विभागको क्षेत्राधिकारभित्र पर्ने जनाउँदै सडक विभागले महानगरको कदममाथि हस्तक्षेप गर्दै उसले फुटपाथ विस्तारको क्रममा खनेको सडकलाई रातारात पुरेर पीच समेत गरेको थियो । त्यसको विरुद्धमा महानगरले पाटन उच्च अदालतलमा मुद्दा हालेपछि उच्च अदालतले पनि महानगरकै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशलगत्तै महानगरले न्यूरोड क्षेत्रमा पुनः फुटपाथ विस्तारको कामलाई अघि बढाउँदा २२ नम्बर वडाको वडाअध्यक्ष चीनकाजी महर्जन समेतको नेतृत्वमा ‘स्थानीय’हरु विरोधमा उत्रिएका छन् ।

यसक्रममा दुईवटा गम्भीर कुराहरु सतहमा आएका छन् । पहिलो, फुटपाथ विस्तारको लागि महानगरले स्थानीय वासिन्दाहरुलाई त्यसको आवश्यकता र महत्वलाई सही ढंगले बुझाउने पहल गरिरहेको छैन । महानगरकै प्रतिनिधिका रुपमा रहेको वडा नं. २२ का वडाअध्यक्ष समेत विरोधमा उत्रिनुलाई फगत राजनीतिक विरोधको रुपमा मात्र पन्छाउन मिल्दैन । वास्तवमा, त्यस क्षेत्रमा फुटपाथ विस्तार गरिनु किन जरुरी छ भनेर  आम जनतामाझ बुझाउने र उनीहरुसमेतको साथसमर्थनमा विकास निर्माणको काम अघि बढाउने दिशामा महानगरले पहल गर्नु जरुरी छ ।

फुटपाथ विस्तारको विरोध गर्ने नाममा देखिएको अर्को गम्भीर कुरा भनेको साम्प्रदायिक नारा उचाल्ने प्रवृत्ति । वालेन शाहको पितापुर्खा मधेशी मूलकै भएको आधारमा उनीविरुद्ध साम्प्रदायिक नारा लगाउने काम पनि भएको देखियो । यो निक्कै खतरनाक कुरा हो । वालेन शाहका पुर्खाहरु मधेशी मूलका हुन्, यसमा कुनै द्विविधा छैन । तर इतिहाससिद्ध तथ्य के हो भने काठमाडौं खाल्डो भनेको नेवारको मात्रै एकल बसोबासको क्षेत्र हैन । परापूर्वकालदेखि नै काठमाडौंमा नेवारबाहेक तामाङ, ठकुरीलगायत अन्य थुप्रै जातजाति तथा मधेशी एवं मुस्लिम मूलका मानिसहरु समेत बसोबास गर्दै आइरहेका छन् । वालेनको कामकारवाहीको विरुद्धमा असहमति राख्ने, विरोध गर्ने अधिकार सबैलाई छ, तर त्यसको अर्थ गैरनेवारलाई काठमाडौंमा बस्ने अधिकार नरहेको हदसम्मको साम्प्रदायिक र जातिविरोधी तहमा ओर्लने छुट कसैलाई पनि रहँदैन । वालेनका पुर्खा मधेशी मूलका हुन् तर साथसाथै अकाट्य सत्य के पनि हो भने उनी काठमाडौंका वासिन्दाहरुले नै निक्कै विशाल  मत प्रदान गरेर चुनेका मेयर पनि हुन् । उनका कामकारवाहीबारे असहमति प्रकट गर्न तथा मन नपरेको कुराविरुद्ध उपचार खोज्ने कानूनी अधिकार सबैलाई रहन्छ । तर विरोधको नाममा कानूनको हद नाघ्ने छुट कसैलाई पनि छैन भन्ने कुरा हेक्का राखिनु जरुरी छ ।