सरकारले सुन्दैन, हाम्रो दुःख बुझेर खोलानाला बनजंगलको सुरक्षा गर्‍यो भने उनीहरुको धन्दा बन्द हुन्छ

‘हामीसँग भोट माग्ने दोग्लाहरु अहिले गाउँमा के भइरहेको छ भनेर हेर्न गएको छ ?’: संगीता देवी सदा

राष्ट्रको ढुकटी दोहन गरेर सरकारले चुरे संरक्षण गर्ने अभियान चलाएको केही वर्ष भएको छ, तर त्यो पाखण्ड र नौटङ्की मात्रै हो भन्ने कुरा विगत ८४ दिनदेखि चुरे संरक्षणको माग गर्दै राजधानीमा धर्ना दिइरहेकाहरुप्रति सरकारले देखाएको वेवास्ता र उदासीनताले प्रष्टै देखाएको छ ।

चुरे बनजंगल संरक्षण सम्बर्धन, दलित भूमिहीन सुकुम्बासीहरुको भूमिअधिकार निम्ति र अवैध उत्खनन तथा सिर्सिया नदी लगायतका नदीहरुको प्रदूषण एवं अतिक्रमणको विरोधमा चुरे तथा बनजंगल संरक्षण अभियानअन्तर्गत सप्तरीको भारदहदेखि २५ दिनसम्म पैदल यात्रा गरेर राजधानीमा आएका सरोकारवालाहरुले आज राजधानीमा पैदल मार्च गर्यो । वृहत् नागरिक आन्दोलनसमेतको साथ समर्थन रहेको तथा माइतीघरदेखि नयाँ वानेश्वरतिर गरिएको सो पैदल मार्चमा अभियानका अभियन्ता संगीता देवी सदाले गरेको सम्बोधन निक्कै मार्मिक र चुरेको आजको यथार्थलाई प्रतिविम्वित गर्ने खालको थियो । उनको सम्बोधनले चुरेमा भइरहेको दोहनभित्र लुकेको अर्थ–स्वार्थ तथा वास्तविक पीडितहरुले भोगिरहेका करुणकथा व्यक्त भएको छ । प्रस्तुत छः उनले गरेको सम्बोधनको भावानुवादः

मेरो नाम संगीता देवी सदा हो । हामी सबै भारदहबाट २५ दिन पैदल यात्रा गरेर आएका हौं । यदि सरकार पहिलेदेखि नै बन जंगल चुरे संरक्षण गरेको हुन्थ्यो भने हामी महिलाहरु समेत भएर काठमाडौं आउनै  पर्दैनथियो । तर बनजंगल खोलानालामा धेरै नराम्रो भइरहेको हामी सबैले यी हेरेर बस्न सकेनौं ।

 अहिले सरकारले यहाँ सुरक्षा छेकेवार लगायो । सरकारलाई अलिकति पनि लाज लाग्थ्यो वा पश्चाताप हुन्थ्यो भने हाम्रो आवाज छेक्नका लागि यस्तो छेकवार लाग्दैनथियो । तपाईंहरु भन्नेस्, लगाउँथ्यो ? हेनोस्, खुला राख्नुनपर्ने ठाउँमा छेकेवार लगाएको छ, छेकेवार लगाउनुपर्ने ठाउँमा खुला राखेको छ । यस्तो हुनै नपर्ने हो । सरकारले जीवनमा गर्नैनपर्ने काम गरेको छ । जहाँ बन जंगलको सुरक्षा गर्नुपर्ने हो, त्यहाँ केही गरेको छैन, जहाँ सुरक्षा गर्ने नपर्ने हो, त्यहाँ यसरी पुलिस उतारेको छ ।

यहाँ हामीले के नै गरेको छौं, हामीले झैझगडा गरेका छौं ? यहाँ किन जरुरी छ ? जंगलमा जस्तो सर्प, बाघ, भालु, चितुवा आएको छैन । जहाँ सुरक्षा चाहिने हो, त्यहाँ चाहिँ सुरक्षा नै छैन । बिना कामको ठाउँमा सुरक्षा प्रदान गरेर बसेको छ ।

नेपालीमा एउटा गीत छ–

उहिले  बाजेको पालामा पैसा राख्थ्यो डालामा,

अहिले हाम्रो पालामा, मकै छैन डालामा ।

पहिलेदेखि नै खोलानाला बनजंगलको सुरक्षा गरिएको छैन । यस्तो निर्लज्ज सरकारले के नै गर्नु सक्छ र ? कोशिश गर्नुपर्ने होइन र ? वास्तवमा, सरकारले मिलेर व्यापार चलाइरहेको छ । यहाँ वर्ष वर्षमा सरकार बनिरहेको छ । उनीहरुले मिलेर, लुटेर सरकार चलाइरहेको छ । अर्को सरकार बन्छ, त्यो पनि टिक्दैन । त्यसको पनि त्यही हाल रहन्छ । उनीहरु कुन बन जंगलको रक्षामा काम गर्छ ? बन जंगल जाने त हामी हो । दुःख त हामीलाई हुन्छ । हामीलाई दुःख छ । बाढीपहिरोले हाम्रो घरबार बगाइदिन्छ । हाम्रो दुःख कसले बुझ्छ ?

यी खोलापहाडको व्यवस्थापन नहुँदा हामीलाई सास फेर्न समेत गाह्रो भइरहेको छ । सरकारले गाउँघरमा गएर जनता कति पीडित भएर बसेको छ भनेर हेरेको छ ? हेर्दैन । यदि हेर्थ्यो, सुन्थ्यो भने हामी ८४ दिनसम्म माइतीघरमा धर्ना दिँदा हाम्रो कुरा सुन्थ्यो, हाम्रो सोधीखोजी गर्थ्यो । कारणहरु जान्न खोज्थ्यो । तर सरकारले कान सुन्दैन । हाम्रो दुःख बुझेर खोलानाला बनजंगलको सुरक्षा गर्‍यो भने उनीहरुको धन्दा बन्द हुन्छ । उनीहरु कमाउन भारत जान्छ र ? त्यही भएर उनीहरुले बनजंगल, खोलानालाको सुरक्षा गरिरहेको छैन । त्यसो गर्‍यो भने उनीहरुको कमाउने स्रोत नै बन्द हुन्छ । त्यही भएर यी सबै कारणले गर्दा यिनीहरुले हामीलाई प्रयोग गरेर आफ्नो कमाइ जारी राखेको छ ।

सरकारमा भएका मानिसहरुले आफ्ना छोराछोरीलाई देशविदेश पढ्न, घुम्न पठाउँछ । कसैको छोराछोरी अमेरिका, रुस जान्छ, हामी सबै जनतालाई मोहरा बनाएर, दलाली गरेर आफ्नो परिवारलाई मोजमस्तीमा राखेको छ । हाम्रो लागि यी कुराहरु असहनीय छ, सहने क्षमताभन्दा बाहिरको कुरा भएको छ ।

हाम्रो यही माग छ कि  हाम्रो कुरा सुनोस्, हाम्रो दुःख बुझोस् र खालानाला, बनजंगलको सुरक्षा गरोस् । खोलामा तटबन्धन बनाओस् । वैशाखमा पानी आइरहेको थिएन, अहिले गएर हेर, पूरै गाउँ नै डुबाएको छ, बगाएर लगेको छ। किन यस्तो स्थिति आउँछ ? पानी त आकाशबाट पर्छ तर गाउँघरमा पिउनको लागि पनि पानीको व्यवस्था छैन । कलमा पानी नै आउँदैन । एक एक घण्टा कल चलाएपछि बल्ल एउटा गाग्रो भरिन्छ । सरकारले यो कुरा सुन्छ, बुझ्छ र ? बुझ्दैन, सुन्दैन ।

म एउटा दलित महिला हुँ । भोट माग्ने बेलामा हाम्रो गाउँमा आएर के भन्छ ? प्रहरीले पनि हामीलाई ए दिदीहरु तपाईंहरु त भोट दिनेबेलामा मासु, रक्सीमा बिक्नु हुन्छ भन्ने गर्छ । के हामीले उनीहरुसँग मागेर वा खोसेर मासु रक्सी ल्याएको हो र ? हैन, हामीले त्यस्तो विल्कुलै गरेका छैनौं । जुन ठाउँमा सरकारले हामीलाई मासुरक्सी दिन्छ, त्यो ठाउँमा बरु सामान किनेर ल्याएर घर परिवारमा दिन्थ्यो भने सरकारले यस्तो सहयोग गरेको छ भनेर नाम नै चल्थ्यो । तर सरकार, दलालहरुले के गर्छ ?

हामीहरु त त्यसरी नखाने, नपिउनेमा पर्यौ, तर धेरैजसोलाई प्रलोभनमा पारेर बर्बाद बनाइदिन्छ , उनीहरुसँग भोट लिन्छ । म एउटा महिला छु आफ्नो गाउँमा, त्यो पनि दलित, तर भोटको बेलामा मेरो अघिपछि धेरै मान्छे लाग्छन् भोट लिनका लागि । मेरो पछाडि धेरै मानिसहरु लाग्छन्, अरुलाई भोट नदिओस् भनेर । किन म नजाने, म आफ्नै खुट्टामा उभिएको छु । म  आफैं सक्षम छु । म त्यसलाई भोट दिन्छु, जसले हाम्रो भावना बुझ्छ र हाम्रो लागि काम गर्छ । तर यी दोग्लाहरु हामीसँग भोट माग्छन् । अहिले उनीहरु गाउँमा के भइरहेको छ भनेर हेर्न गएको छ ? अहिले गएर हेर्नुपर्ने हो, बाढीले गाउँ कसरी तहसनहस भएको छ, धनसम्पत्ति कत्ति नाश भएको छ, कतिजना मरेका छन् ।

गाउँमा गरिब दुःखीका ससाना छोराछोरी हुन्छन्, उनीहरुलाई गाइभैंसी चराउन जानुपर्ने हुन्छ । त्यही बेलामा खोलानालामा बाढी आएर उनीहरुलाई बगाएर लैजान्छ । सरकारले बनजङ्गल खोलानालाको सुरक्षा गरेको भए त्यो बच्चा सुरक्षित घर फर्कन सक्थ्यो । जसको बच्चा मरेको छ, त्यसलाई सरकारले बचाएर फिर्ता दिन सक्छ ? दिन सक्दैन । त्यसैले त्यो कान नसुन्ने सरकारले जसरी गरोस्, जेसुकै गरोस्, हामी ८४ दिन भयो, माइती घर मण्डलामा ८४ महिनासम्म बस्नु परे पनि न्याय नपाएसम्म बसिरहन्छौं । हाम्रो माग पूरा नभएसम्म हामी माइतीघरबाट घर फर्कदैनौं ।

श्रुति झाको सहयोगमा भावानुवाद ।

सदाले प्रयोग गरेको ‘बहिरो’  शब्दले अपाङ्गता भएका व्यक्तिलाई चोट पुग्ने केही मित्रहरुको सल्लाहलाई सम्मान गर्दै  यसअघि यस आलेखमा प्रयोग गरिएको सो शब्दलाई संशोधन गरेर  ‘कान नसुन्ने’ शब्द प्रयोग गरिएको छ ।