संस्कार संस्कृति
संस्कार संस्कृतिका अनेकौँ प्रथा परम्परा र परिभाषाहरु छन् । संसारमा जति जात जाति र जनजाति छन् संस्कार संस्कृतिका प्रथा परम्परा र परिभाषा पनि त्यत्ति नै छन् । सवै संस्कृतिमा महान्तम प्रथा परम्परा र मूल्यवत्ता पनि छन् । नीचतम प्रथा परम्परा र मूल्यहीनता पनि छन् । यस कारण कसैले पनि मेरा संस्कृतिका सवै कुरा महान् छन् अरुका छैनन् भन्न मिल्दैन । महानतम भनिएका संस्कृतिमा पनि नीचतम सोच विचार र व्यवहारहरु सुरक्षित छन् । संस्कृतिका सवालमा पनि व्यापक विवेकको दृष्टि लागु हुनुपर्छ । अरुका संस्कृतिको पनि गुण छ भने त्यसको बखान गर्नु पर्छ, आफ्नै संस्कृतिको पनि दुर्गुण छ भने त्यसको पर्दाफास गर्नु पर्छ । अर्काका संस्कृतिको बदख्वाइँ गर्न त जो पनि अघि सर्छन् । मुख्य कुरा आफ्ना संस्कार संस्कृतिमा रहेका कमी कमजोरीहरुको आलोचना आफैं अघि सरेर गर्न सक्नुपर्छ । साबिती बयान दिन सक्नु पर्छ । अनि हुन्छ संस्कृतिमा क्रान्ति । अनि हुन्छ समाजमा प्रगति ।
हाम्रो संस्कृति महान् छ भने हामी किन महान् छैनौँ ? आज हामी सवैले आफूसँग गर्नु पर्ने महत्त्वपूर्ण प्रश्नहरुमध्ये यो पनि एउटा हो । हाम्रो संस्कार संस्कृतिमा कतै कुनै कमी छ, त्रुटी छ । यसै भएर हामी प्रगतिमा यति पछाडि छौँ ।
हामीसँग धेरै दर्शनहरु छन् भन्दै पुर्खाका विद्वत्ताको गफ हाँकेर हुँदैन, हामी ती दर्शनबाट कति लाभान्वित छौँ ? कति लतारिएका छौँ ? खोज्नुपर्ने कुरा त त्यो हो । हामी अध्ययन मनन र छलफलका क्षेत्रमा अल्छी छौँ ।
हामीसँग षट्दर्शनहरु छन् । हरेक दर्शनले संस्कार संस्कृतिको फरक परिभाषा गरेका छन् । हो, तिनमा खोजीपसे एकता पाइएला तर प्रस्तुति फरक फरक छन् । धर्मकै तहबाट हेर्दा पनि हामीसँग वैदिक सनातन, बोन सनातन र बौद्ध सनातन तीनवटा परम्परागत सनातन धर्महरु छन् । संस्कार संस्कृतिबारे यी तीनै धर्मका फरक फरक विचार परम्परा र अडानहरु छन् । हामी हाम्रो मुलुकमा धार्मिक सांस्कृतिक मेलमिलाप छ भनेर बडो गर्व गर्छौँ । मेलमिलाप नरहेको पनि होइन । रहिआएकै छ । आपसमा मिलेका भएर पनि हामीले हाम्रा यी धर्म संस्कृतिहरु बीच उत्कृष्ट के के छन्, निकृष्ट के के छन् मिलेर अध्ययन मन्थन गरेका छैनौँ । निकृष्ट छोडेर उत्कृष्टको संरक्षण सम्बर्धन गर्ने कोसिस पनि गरेका छैनौँ । हामीसँग धेरै दर्शनहरु छन् भन्दै पुर्खाका विद्वत्ताको गफ हाँकेर हुँदैन, हामी ती दर्शनबाट कति लाभान्वित छौँ ? कति लतारिएका छौँ ? खोज्नुपर्ने कुरा त त्यो हो । हामी अध्ययन मनन र छलफलका क्षेत्रमा अल्छी छौँ ।
हाम्रा धर्म संस्कृतिहरुको जाँच पडताल गरेर हेरौं । के भेटिन्छ– बुँदा बुँदामा निर्धक्क छलफल गरौँ । आग्रह पूर्वाग्रहमुक्त भएर छलफल गरौँ । जो निष्कर्ष निस्कन्छ त्यसको खुला मनमस्तिष्कले स्वागत गरौं ।
१, परिवार र समाजमा बालिका तथा महिलाहरुको आदर सम्मान, २, बालबालिकाका अधिकारप्रति सचेत सम्वेदनशीलता, ३, महिलापुरुषबीच भेदभावविहीनता, ४, जात जातिहरुका बीच समान व्यवहार अर्थात् भेदभावविहीनता, ५, श्रमको सम्मान । यी पाँच आदर्शलाई कसी बनाएर हाम्रा धर्म संस्कृतिहरुको जाँच पडताल गरेर हेरौं । के भेटिन्छ– बुँदा बुँदामा निर्धक्क छलफल गरौँ । आग्रह पूर्वाग्रहमुक्त भएर छलफल गरौँ । जो निष्कर्ष निस्कन्छ त्यसको खुला मनमस्तिष्कले स्वागत गरौं । सवैले व्यवहारमा लागु गरौँ । यसो गर्दा कसो होला ?
धर्म संस्कृतिहरुमा फाट्टफुट्टरुपमा कतै आदर्शका बुँदाहरु पढिनु सुनिनु र संस्कृतिको मूल धारका रुपमा व्यवहारका प्रवाहमान् रहेको भेटिनु फरक फरक कुरा हुन् । एकाध सिद्धान्त जसका पनि राम्रा हुन सक्छन्, परीक्षण त व्यवहार हो । यस यथार्थलाई हामी कसैले पनि पन्छाउन मिल्दैन ।
प्रतिक्रिया