ओली-देउवा भलाकुसारी र सत्ता राजनीतिमा कम्पन

राजनीतिबाट नीति हराएपछि प्रतिष्पर्धा कसले ‘राज’ गर्ने भन्ने विषयमा मात्र केन्द्रित हुँदोरहेछ ! अनि सत्ताको चलखेलमा नैतिकता हराउँदै गएपछि त्यसले अविश्वास, आशंका र अस्थिरतालाई जन्म दिनेरहेछ !

उल्लेखित दुई प्रस्तावनाको आधारमा के भन्न सकिन्छ भने राजनीतिमा  अविश्वासको बटवृक्ष झाँगिदै जाँदा स-साना घटनाक्रमहरुले पनि सत्ताको गल्लीमा ठूलै कम्पन पैदा गरिदिने गर्छ । हिजो (शनिबार) सत्तारुढ दल प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाको दम्पती नै ओली निवास बालकोट पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी नेकपा एकीकृत माओवादीमा बढेको त्रास माथि यहाँ विमर्श गरिएको छ  ।

झट्ट हेर्दा ‘रहस्यमय’ र आकस्मिक जस्तो देखिए पनि ओली-देउवा भेटबार्ता पछिल्ला केहि सातायता अपेक्षित नै थियो । केहीसाता अघि एकैदिन ओली र सत्तारुढ स्वतन्त्र पार्टीका एक मन्त्रीले प्रधानमन्त्री प्रचण्ड माथि धावा बोलेका थिए । ओलीले समीकरण परिवर्तनको संकेत गरेका थिए भने मन्त्रीले राजिनामा खल्तीमा नै रहेको बताएका थिए । जसले देउवासँगको दुरी रास्वपा र एमाले दुवै दलका शीर्ष नेतासँग घटाएको थियो ।

त्यसैले कतै तुरुन्तै सत्ता समीकरणमा नै परिवर्तन हुन लागेको त होइन भन्ने शंका–आशंका  हिजोको भेटघाट पछि धेरैले गरेका छन् । त्यस्तो आशंकाको आधार स्वयम् प्रचण्डले आफ्नो कुर्सी हल्लिएको कुरा लुकाउन आफूसँग सांसदको ‘जादुई नम्बर’ रहेको र खेल मिले आफू पाँच वर्षसम्म नै प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएर तयार गरिदिएका थिए ।  

त्यसो त नेपालको सत्ता राजनीतिमा विश्वास र न्यूनतम समझदारी भन्ने कुरा ‘कुन चरीको नाम’ भनेर सोध्नुपर्ने जस्तै भइसकेको छ । त्यसैले प्रचण्डलाई एमालेका अध्यक्ष केपी ओलीले तर्साएको घटनाको रुपमा मात्र हेर्दा पनि हुने देखिन्छ, हिजोको वार्तालाई । किनकि पछिल्ला दिनमा ओली र प्रचण्ड बीच दुरी बढेको कुरा जगजाहेर भइसकेको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा आफुले तोकेको व्यक्ति नियुक्ति नगर्ने खेलमा अर्थमन्त्री र प्रधानमन्त्री दुबैजना लागेपछि ओली रिसाएका छन् भन्ने टिप्पणीहरु केहिदिनयता सार्वजनिक भइरहेको थियो । ओलीले  सेबोन अध्यक्ष नियुक्तिमा हस्तक्षेप गर्दै प्रचण्ड र बर्षमान दुवैलाई ‘कि उनी (उनले रोजेको व्यक्ति) सेबोन अध्यक्ष बन्छन् कि त देउवा प्रधानमन्त्री बन्छन्, तपाईहरु नै रोज्नुस्’ भन्ने निष्कर्ष सुनाएको भन्ने कुरा पनि केही अघि नै चर्चामा आएको थियो । 

त्यसैमेसोमा शुक्रबार बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया नै रद्द गरेको सुचना छनौट समितिले जारी गर्नु र शनिबार नै ओलीले पुष्पलालसम्बन्धी एउटा महत्वपूर्ण कार्यक्रमलाई समेत ‘विरामीको बहानामा’ पन्छाउँदै देउवालाई आफ्नो निवासमा स्वागत गर्नु पनि संयोग मात्रै पक्का होइन । पछिल्लो पटकको संसदीय निर्वाचनपछि ‘पलटुराम’ को भूमिकामा देखिएका सत्तादुर्व्यसनी प्रचण्ड  ३२ सीटे नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जादु’ देखिरहेका छन् । उनले कहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस त कहिले दोस्रो ठूलो दल एमाले तथा अन्य स-साना दलहरुलाई आफ्नो पक्षमा पार्दै नयाँ नयाँ गठबन्धनहरु सिर्जना गरेर सत्ताको बागडोर हत्याउँदै आएका छन् । दलहरुलाई ‘खेलाएर’ प्रधानमन्त्री पद हत्याउने त्यो कलालाई प्रचण्डले ‘आफूहरुसँग जादुइ संख्या रहेको र यो त्यसैको परिणाम भएको’ भन्न भ्याइसकेका छन् ।

सत्ता गठबन्धनका पछिल्ला घटनाक्रमहरु त्यसले अंगीकार गरेको चरित्र हेर्दा नेपालमा किन र के कति कारणले गठबन्धनहरु सिर्जना हुन्छन् र त्यसका आधारभूत चरित्र एवं मान्यताहरु के के हुन् भन्न मुश्किल पर्ने अवस्था छ । नेपाली सत्ता–राजनीतिमा देखिएको यो अस्थिर चरित्रले आम जनता माझ राजनीति र सरकार चलाउने कुरा राजनीतिक भागबण्डा, राजनीतिक दलहरुको आफ्ना ‘कुकृत्य’हरुबाट बच्ने दाउपेच भन्ने जस्ता अत्यन्तै नकारात्मक छवि निर्माण भइसकेको छ । त्यसैको विकल्पमा जनताको आकर्षण स्थापित राजनीतिक दलहरुबाट विकर्षित भएर स्वतन्त्रहरुतिर तानिन पुगेको कुरा आजको वास्तविकता हो ।

यो स्थितिमा अहिले फेरि सत्ता गठबन्धनमा हेरफेर गर्न चलखेल हुनथालेको चर्चा परिचर्चा चल्नु कुनै अनौठो होइन । स्याल कराउँदा कुखुरा हराइहाल्यो भने त्यसको दोष स्याललाई जान्छ भन्ने नेपालमा प्रचलित भनाइ नै हो । अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको ‘एकलौटी र मनोमानी ढंगले सरकार चलाउने’ प्रवृत्तिविरुद्ध सत्ता गठबन्धनका मुख्य घटक नेकपा एमालेका अध्यक्ष असन्तुष्ट रहेको गाइँगुइ चल्नु, कतिपय प्रमुख नियुक्तिहरुमा एमालेको रुचि र चाहनालाई सम्बोधन गर्ने काम भइनरहेको कुरा प्रकाशमा आउनु, एमाले अध्यक्ष ओलीको ‘अभयदान’ पाएका एमाले नेता रामबहादुर थापा बादलको छोरा पक्राउ पर्नु, नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाका पत्नी आरजु देउवामाथि कानूनी डण्डा बज्राउने खालका अभिव्यक्तिहरु सत्ताघटककै प्रमुख व्यक्तिहरुबाट आउनु र उनको समेत नाम मुछिएको भुटानी शरणार्थी काण्डको फाइल पुनः खोलिनु लगायतका घटनाहरुले अहिलेको सत्ता गठबन्धनलाई आर्यघाटको ब्रम्हानालसम्म पुर्यायो भने कुनै अनौठो कुरा हुने छैन ।