बङ्गारामा लागेको किरा
मेरो एक बङ्गारामा किरा लागेको थियो, जसले मलाई निक्कै दुःख दिइरहन्थ्यो । किरा दिनको चहल–पहलमा आरामसाथ बास बस्थ्यो र रातको सन्नाटामा, जब दाँतका चिकित्सकहरु आरामले सुतेका हुन्थे र औषधि पसलहरु बन्द हुन्थे, तब त्यो किरा बेचैन भएर आफ्नो करामत शुरु गर्नथाल्थ्यो ।
यसो हुँदाहुँदै एक दिन यस्तो भयो मेरो धैर्यले ठाउँ छोड्यो । त्यसकारण म एक दन्त चिकित्सक–कहाँ गएँ र उसलाई भने, ‘कृपया मेरो यो बङ्गारा निकालिदिनुस् । यसले मेरो निद्रा, आराम सम्पूर्ण कुरा हरण गर्यो, पीडाका चित्कारमै मेरा रातहरु बित्दैछन् !”
चिकित्सकले टाउको हल्लाउँदै भन्यो, ‘जब बङ्गाराको उपचार हुनसक्छ, तब त्यसलाई निकालेर फाल्नु ठाडै मूर्खता हो ।”
उसले बङ्गारोलाई यताउतिबाट खोस्रन शुरु गर्यो र त्यसको जरो सफा गरिदियो । अजीव–अजीव तरिकाले उपचार गरेपछि जब उसलाई बङ्गारामा एउटा पनि किरा बाँकी छैन भन्ने विश्वास भयो, तब उसले त्यसमा भएका छिद्रहरुलाई एक विशेष प्रकारको सुनले भरिदियो र घमण्डका साथ भन्यो, “अब तिम्रो यो बङ्गारो निरोगी बङ्गारोभन्दा पनि बढी मजबूत भएको छ ।”
मैले उसका कुरामा सही थापें र उसको खल्ती असर्फीहरुले भरिदिएर म खुशीसाथ त्यहाँबाट हिँडे । तर जम्माजम्मी एक हप्ता पनि बित्न पाएको थिएन, अभागी बङ्गारोमा पुनः पीडा हुन शुरु भयो । मलाई यो दर्दले फेरि नारकीय यातनामा डुबाइदियो ।
तब म अर्कै डाक्टरकहाँ गएँ र ज्यादै सावधानीपूर्वक उसलाई भनें– “यो खतरनाक सुनौलो बङ्गारोलाई उखेलेर फालिदिनुस् । मलाई कति कडा दर्द भइरहेछ भन्ने कुरा म कसरी तपाईंलाई व्यक्त गरुँ ? त्यसकारण हे डाक्टर, संकोच नमानीकन यसलाई उखेलेर फालिदिनुस् ।”
डाक्टरले बङ्गारो निकालिदियो । त्यो समय यातनाहरु र कष्टहरुका दृष्टिले ज्यादै भयङ्कर थियो, तर पनि वास्तवमा त्यो ज्यादै नै शुभ घडी थियो ।
बङ्गारो निकाल्ने र त्यसको राम्रोसँग औषधि गर्ने काम गरेपछि डाक्टरले भन्यो, “तपाईंले साह्रै राम्रो गर्नुभयो । किराले निकै बलियोसँग त्यो बङ्गाराको जरो पक्रेको थियो, त्यो ठीक होला भन्ने कुनै आशा थिएन ।”
त्यो रात म बहुत आरामले सुतें र अब पनि आरामपूर्वक नै छु । बङ्गारो निक्लेर गयो, यसको लागि भगवानलाई धन्यवाद दिन्छु ।
मानव–समाजको मुखमा धेरै यस्ता बङ्गाराहरु छन्, जसमा किरा लागेको छ र यो रोग यति बढेको छ कि यो शरीरको हाडसम्मै पुगिसकेको छ । तर मानव–समाज बङ्गारो झिकेर फाल्ने बेलाको पीडाबाट बच्न यसलाई फुकाल्दैन र साधारण लिपोतमै सन्तोष मान्छ । ऊ यी बङ्गाराहरुलाई बाहिरबाट सफा गरेर तिनीहरुका छिद्रहरुमा चमकदार सुन भरिदिन्छ । बस् !
धेरै बैद्यहरु यस्ता छन्, जो मानवताको बङ्गाराको उपचार आँखालाई आकृष्ट गर्ने सुनको पानी र चमकदार बस्तुहरुले गर्छन् र धेरै रोगीहरु पनि यस्ता छन्, जो आफूलाई यी सुधारप्रिय चिकित्सकहरुकहाँ सुम्पन्छन् र रोगको कष्टलाई सहँदै आफूलाई धोका दिएर मर्छन् ।
अनुवाद: हरिगोविन्द लुइँटेल ।
अनुवादकको टिप्पणी:
विश्वप्रसिद्ध साहित्यकार खलिल जिब्रानको एक कथाको अंश भए पनि यसले पूर्ण कथाकै रुप लिएको छ । यस कथाले रोग हटाउनेबारे जुन संकेत गरेको छ, त्यसले आजको हाम्रो समाजको संक्रमणकालीन स्थितिबारे पनि केही संकेत गरेको छ । साँच्चै हामी अब हाम्रो राजनीतिक–सामाजिक क्षेत्रको ‘दाँतको उपचार’ कुन विधिबाट गर्छौं त ? यस कथामार्फत् खलिल जिब्रानले हामीलाई केही सिकाएका छन् ।
मूल्याङ्कन मासिकमा प्रकाशित
प्रतिक्रिया