किन र कसरी हुन्छन् यी कुराहरु ?

खरायो कुद्नुको सट्टा किन उफ्रेर भाग्ने गर्छ ?

खरायो हामी सबैको प्रिय जनवारहरु मध्ये एक हो । हेर्दा यो एकदमै सानो हुन्छ । यसका नरम रौँहरुले यसलाई अझै सुन्दर बनाइदिएको छ । यही खरायोको एउटा अनौठो बानी हुन्छ । यसका खुट्टा भए पनि यो कुद्नुको सट्टा उफ्रेर भाग्ने गर्छ ।

वास्तवमा खरायोहरु विशेष तरिकाले एक ठाउँबाट अर्को ठाउँ जाने गर्छन् । तिनीहरु हिँड्नुको सट्टा उफ्रदै यताउता गर्ने गर्छन् । तिनीहरुका पछाडिका खुट्टा एकदमै लामा र दह्रा हुन्छन् । जसको मद्दतले नै तिनीहरु उफ्रने गर्छन् । उफ्रनका लागि तिनीहरु आफ्नो पछाडिको खुट्टालाई भुँइमा ढकेल्ने गर्छन् । उफ्रेपछि भुँइमा टेक्नका लागि भने तिनीहरुले आफ्नो अगाडिको खुट्टाको प्रयोग गर्छन् ।

यसरी अगाडि र पछाडिका खुट्टाहरुको पालैपालो प्रयोग गरेर तिनीहरु उफ्रने गर्छन् ।

अग्लो चुचुरोमा किन चिसो हुन्छ ?

जब पृथ्वीको सतहमा रहेको हावा तातिने गर्छ । त्यो उडेर माथि जान्छ । यसो हुँदा त अग्लो स्थानमा तातो हावा जम्मा भएर झन् तातो हुनु पर्ने हो । अझ अग्लो स्थान र चुचुरोहरु समथर ठाँउभन्दा सूर्यको बढी नजिक हुन्छन् । तर पनि त्यहाँ अन्य ठाउँभन्दा निकै चिसो हुन्छ ।

अग्लो स्थानमा हावाको चाप निकै कम हुन्छ । अर्थात त्यहाँ निकै कम मात्रामा हावा पाइन्छ । तातेर माथि पुगेको हावा फैलिन थाल्छ । जसले गर्दा तातो हावा चिसो हुन्छ ।

यति मात्र होइन, हावाको मात्रा कम भएको हुँदा त्यहाँ धूलो पनि कम हुन्छ । जसले गर्दा सूर्यको नजिक भए पनि त्यहाँ सूर्यको तापलाई सोस्ने कुरा निकै कम हुन्छ । त्यहाँ निकै नै कम मात्रामा सूर्यको प्रकाश सोसिन्छ । समथर भागमा हावाको चाप धेरै हुँदा त्यहाँ हावाका अणुहरुले धेरै सूर्यको तापलाई सोसेर राख्छन् । त्यसैले त्यस्ता स्थानहरुमा भने निकै गर्मी हुन्छ । हाम्रो तराईमा गर्मी हुनाको कारण पनि त्यही नै हो । सामान्यत: के मानिन्छ भने प्रत्येक हजार फिट माथि चढ्दा ४ डिग्री फेरेन्हाइट तापक्रम घट्छ ।

हावामा कति प्रकारका ग्याँसहरु हुन्छन् ?

हाम्रो वरपर सबैतिर हावा हुन्छ । हामीले हावालाई देख्न सक्दैनौ“ । केवल महसुस मात्र गर्न सक्छौँ । देख्न नसके पनि यो एउटै ग्याँसले बनेको भने हुँदैन । यो विभिन्न ग्या“सहरु मिलेर बनेको हुन्छ ।

विभिन्न ग्याँसहरु मध्ये पनि हावा मुख्य तीन ग्याँसहरु मिलेर बनेको हुन्छ । तिनीहरु नाइट्रोजन, अक्सिजन र आर्गन हुन् । हावामा निकै कम मात्रामा कार्बोन डायोअक्साइड र पानीको बाफ पनि पाइन्छ । यिनीहरु बाहेक हावामा अन्य दश प्रकारका ग्याँसहरु पनि पाइन्छन् । हावामा तिनीहरु निकै नै थोरै मात्रामा पाइन्छन् । त्यसैले धेरैले यसको बारेमा चर्चा गर्दैनन् ।

यी भनेका त हावा शुद्ध हुँदा पाइने ग्याँसहरु मात्र हुन् । कहिलेकाहीँ हामी हावामा विभिन्न खाले गन्ध र वास्नाहरु पाउन सक्छौँ । उदाहरणको लागि कहिलेकाहीँ फूलबारीमा जाँदा हामी गुलाफको बास्ना सुघ्न सक्छौँ । यस्तो बेला हावामा अन्य ग्याँस र रसायनहरु पनि मिसिने गर्छन् । अन्य ठाउँमा भिन्न खाले रसायनहरु मिसिन सक्छन् ।

के चट्टान पनि बढ्छ ?

हो, चट्टान पनि बढ्ने गर्छन् । तर हामी जीवित प्राणीजस्तै भने अवश्य नै होइन । तिनीहरुको बढ्ने प्रक्रिया हामी जीवित प्राणीहरुको भन्दा निकै फरक हुन्छ । तिनीहरु अहिलेपनि बढी नै रहेका छन् । उदाहरणका लागि तपाईंहरुले गुफामा रहेका चट्टानहरु त देख्नै भएको हुनुहुन्छ होला । कोही गुफाको छतमा झुन्डिरहेका हुन्छन् । त्यहाँबाट बिस्तारै पानी चुहिरहेको हुन्छ । त्यसको साथै तिनीहरु बिस्तारै बढीरहेका पनि हुन्छन् । यस्तो किन हुन्छ भने त्यहाँबाट बग्ने पानीले त्यहाँ बिस्तारै क्याल्सियम कार्बोनेट जम्मा गरिरहेको हुन्छ । यसले गर्दा तिनीहरुको आकार निरन्तर रुपमा बढीरहेको हुन्छ । हामी जीवित प्राणीहरु बढ्दा अन्य कुराहरुमा पनि विकास भइरहेका हुन्छन् । तिनीहरु बढ्दा भने केवल तिनीहरुको आकारमा मात्र वृद्धि भइरहेको हुन्छ । यसलाई हामीलाई जस्तै बढ्नका लागि खाना चाहिँदैन । यसको सट्टा यसलाई विभिन्न रसायनहरु भने अवश्य चाहिन्छ ।

हिउँ किन सेतो हुन्छ ?

हिउँले त्यसमा पर्ने जति सबै प्रकाशलाई परिवर्तित गरेर फर्काउने गर्छ । यसो गर्दा त्यसले सूर्यको प्रकाशमा भएका सबै सातै रङ्गहरुलाई पनि एकै अनुपातमा फर्काउने गर्छ । त्यही भएर हिउँ सेतो हुन्छ । हामीलाई थाहा छ पानी रङ्गहीन हुन्छ । हामी त्यसबाट सजिलै हेर्न सक्छौं । त्यसैले शुद्ध पानीबाट बनेको बरफमा पनि पानीजस्तै केही हदसम्म पारदर्शी हुन्छ । तर त्यही बरफलाई स–सानो बनाएर टुक्राएर राख्ने हो भने बल्ल त्यो हिउँजस्तो सेतो देखिन्छ । यस्तो किन हुन्छ भने बरफका स–साना टुक्राले त्यसमा परेको थोरै प्रकाशलाई मात्र सोसेर अरु सबै प्रकाशलाई फर्काउने गर्छ । त्यही भएर त्यो पनि हिउँजस्तै सेतै देखिन्छ ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।